बुलेट सुन्दरीका अनुभूति

writer

सृजना खड्का

बुधबार, १६ जेठ २०७५


हाम्रो जस्तो पुरुषप्रधान समाजमा यस्तो मान्यता छ। महिलाले बाइक लिएर हिँड्दा टक्क अडिएर जिब्रो टोक्दै 'ओहो !' भन्नेहरू अहिले पनि प्रशस्तै भेटिन्छन्।हेभी बुलेट बाइकको भुटुटुटुटु.....आवाजमा सवार लक्ष्मी खतिवडालाई देखेर समाज 'अवाक्' हुन्छ। साझा यातायात चालक रेबिका थापालाई देखेर 'चकित' हुन्छ। त्यस्तै, डोजरको सिटमा बसेर डाँडो खारिरहेकी मुना घिमिरेलाई देखेर 'आश्चर्यचकित' हुन्छ। उनीहरू जस्ता धेरै महिला यो समाजमा छन्, जसले हाम्रो जस्तो पुरुषको वर्चस्व रहेको समाजलाई थप अवाक्, चकित र आश्चर्यचकित बनाएका छन्।

ललितपुर, सातदोबाटोकी मेरिना श्रेष्ठ सानी हुँदा उनको मन कहिल्यै भाँडाकुटी र खेलौनामा गएन। मनको कुरा बुझेर परिवार र आफन्तले पनि उनको जन्मदिनमा साइकल, बल र गाडी उपहार दिन्थे। 'साइकल गिफ्ट पाएको दिन एकदमै खुशी भएकी थिएँ,' उनले विगत सम्झिइन्, 'घरकी एक्ली छोरी भएकाले परिवारले छोरा जस्तै गरेर हुर्कायो। म मेकअप र नक्कल-झक्कलमा कहिल्यै रमाइनँ।' 

गाडीमा यात्रा गर्दा उनलाई निकै उकुसमुकुस हुन्थ्यो। 'झ्यालबाट टाउको निकाल्दा गाली खाइन्थ्यो,' उनले भनिन्, 'तैपनि, चियाएर रोडमा कुदिरहेका बाइकहरूलाई हेर्थें। मनमनै मलाई पनि चलाउन मन लाग्थ्यो।' सुरुमा बाइक चलाउने आँट गर्दा उनको खुट्टा बाइकमा पुगेन। उनले घरमै भएको स्कुटर सिकिन्। तर, उनको उद्देश्य भने बाइक चलाउनु थियो। आठ कक्षा पढ्दाताका उनी बाइक चलाउने भइसकेकी थिइन्। 'बेलाबेलामा घरको बाइक लुकीछिपी कुदाउँथेँ,' उनले भनिन्, 'प्लस टु पढ्दासम्म ढुक्कले सडकमा कुदाउन सक्ने भइसकेकी थिएँ।'

बाइकको क्षेत्रमा मेरिनाको देशदेखि विदेशसम्मको अनुभव छ।उनी पढाइको सिलसिलामा जर्मनी गइन्। त्यहाँको एउटा मोटरसाइकल कम्पनीमा काम पनि गरिन् त्यहाँको रोड, सेफ्टी र राइडरहरू देखेर उनको मन लोभिन्थ्यो।नेपाल पनि त्यस्तै भइदिए हुन्थ्यो भन्ने लाग्थ्यो। 'हाम्रो हजुरमाको उमेरको महिलाहरू सननन हार्ली बाइक लिएर आउनुहुन्थ्यो,' उनले सुनाइन्, 'उहाँहरू मलाई एकदमै कुल लाग्थ्यो। 

हाम्रोमा भने एउटी जवान युवतीले बाइक चलाउँदा पनि 'ओहो !' हुन्छ।' समाजमा अहिले पनि महिला राइडरहरूलाई विदेशको जस्तो सकारात्मक रूपले नहेर्ने उनको अनुभव छ।उनी प्रोफेसनल बाइक राइडर पनि हुन्। उनले नेपालमा भित्रिएका प्रायः सबै बाइक लिएर हिँडिसकिन्। आफ्नो 'प्यासन' र 'हबी' लाई नै प्रोफेसनमा परिवर्तन गरेको उनी बताउँछिन्। बुलेट बाइक उनको प्रिय र सदाबहार बाइक हो। 'बाइक चलाउनु भनेको एउटा 'प्यासन' हो,' उनले भनिन्, 'त्यसलाई हामीले फेसनका रूपमा विकास गर्नु हुँदैन।' 

उनलाई कहिल्यै कसैलाई पनि 'मलाई यहाँ पुर्‍याइदेऊ न' भन्न मन लाग्दैन। देशका विभिन्न जिल्लामा उनी आफ्नै बुलेट बाइक चढेर पुगिसकिन्। 'यसरी बाइकमा टाढाटाढासम्म पुग्दा म स्वतन्त्र भएको महसुस गर्छु,' उनले मुस्कुराउँदै भनिन्, 'आफैँले चलाएको बाइकमा यहाँसम्म आएर आफ्नै आँखाले सारा दुनियाँ देखेको अनुभव हन्छ।' उनलाई जहिल्यै लाग्छ- 'आफूले जे गरे पनि त्यसमा खुशी हुनुपर्छ।' उनी आफूले गरेको काममा खुशी छिन्। 

बुलेट लेडी लक्ष्मी

धरानमा जन्मिएकी लक्ष्मी खतिवडाले विसं २०४६ सालमा बाइक चलाउन सिकिन्। त्यति बेला उनी १६ वर्षकी थिइन्। नेपाली कांग्रेस महासमिति सदस्यसमेत रहेकी लक्ष्मी अहिले पनि आफ्नो रोयल इनफिल्डमा हुइँकिन्छिन्। 

उनी यसरी बुलेटमा हुइँकिन थालेको आठ वर्ष भयो। लक्ष्मी खतिवडालाई बुलेट बाइकको आवाज एकदमै मन पर्छ। बुलेटले दिने भुटुटुटुटु.....आवाजको उनी फ्यान हुन्। उनी आफ्नै भाषामा भन्छिन्, 'बुलेटको साउन्डले मलाई भित्रभित्रै कुत्कुत्याउँछ।' अरू बाइकले नदिएको आनन्द उनलाई बुलेटले दिन्छ। बुलेट बाइकले आफूलाई शान र सुरक्षा दुवै दिने उनी बताउँछिन्। 'अरू बाइकमा बेपत्ता हुइँकिने तन्नेरी पनि बुलेट चढ्ने युवती देखेपछि शान्त हुन्छन्,' उनले आफ्नो अनुभव साटिन्, 'सुरुमा मैले बुलेट लिएर हिँड्दा केटाहरूले पनि खासै बुलेट चलाएको देख्दिनथेँ।' 

सुरुमा उनले परिवारलाई थाहै नदिई बाइक सिकिन्। 'चिनेको एक जना दाइलाई बाइक सिकाउन अनुरोध गरेकी थिएँ,' उनी विगतमा फर्किइन्, 'आरएक्स बाइकबाट सिकेको थिएँ। त्यो बेला आरएक्स बुलेटकै मोडलमा आउँथ्यो।' उनको घरमा कसैको पनि बाइक थिएन। घरमा कोही पाहुना बाइक लिएर आयो भने उनी चाबी चोरेर कुदाइहाल्थिन्। यसो गर्दा उनले धेरै पटक गाली खानुपरेको छ। 'चलाउन जानेपछि मलाई बाइकको लत बस्यो,' उनले भनिन्, 'साथीभाइले पनि 'तँलाई बाइक असाध्यै सुहाँउछ' भनेर उचाल्न थाले।'

पहिला उनी एकदमै फिल्म हेर्थिन्। फिल्ममा आर्मी अफिसर, हिरोहरूले बुुलेट चलाएको देख्थिन्। उनलाई पनि त्यसरी नै हुइँकिन मन लाग्थ्यो। आफू कमाउने भएपछि उनले एभेन्जर बाइक किनिन्। केही वर्ष चलाइन्। एभेन्जर चढे पनि उनको मन भने बुलेटमा बसिसकेको थियो। केही समयपछि उनले बुलेट किनेरै छाडिन्। बुलेट चढ्न थालेपछि उनलाई सबैले हेरेर जिब्रो टोक्थे। ट्राफिक प्रहरीले भन्थे- 'भाइ, लाइसेन्स देखाउनुस् त !'

यसरी बाइकमा टाढाटाढासम्म पुग्दा म स्वतन्त्र भएको महसुस गर्छु। बाइक चलाउनु भनेको एउटा प्यासन हो।

दुईपांग्रे सवारी असुरक्षित साधनमा गनिए पनि बाइकमध्येमा बुलेट उनलाई सुरक्षित लाग्छ। यो किन्न र चढ्नभन्दा मेन्टिनेन्समा धेरै खर्च लाग्ने उनको अनुभव छ। 'मेरो बाइक आठ वर्षको भयो,' उनले भनिन्, 'तैपनि, जस्ताको तस्तै छ। यसलाई मैले बेलाबेलामा मेन्टिनेन्स गर्ने गरेकी छु।' उनी बाइकलाई नै आफ्नो सर्वस्व ठान्छिन्। भन्छिन्, 'कसैले अनुहारमा कालो पोतिदियो भने चिन्ता लाग्दैन। तर, बाइकमा थोरै पनि फोहोर लाग्यो भने चित्त दुख्छ।'

जस्तोसुकै हेभी बाइक चलाउन शरीरभन्दा आत्मविश्वास बलियो चाहिने उनी बताउँछिन्। 'बाइक टेक्निकल कुरा भएकाले त्यसबारे ज्ञान  र आत्मविश्वास भए पुग्छ,' लक्ष्मीले भनिन्, 'बाइक केटाका लागि मात्रै होइन, आम मानिसका लागि बनाइएको हो।' राइडिङ उनको प्यासन हो। तनाव र मुड अफ भएको बेला उनी बाइकमा हुइँकिन मन पराउँछिन्। 'बाइक चढेपछि म आफूलाई कुल भएको महसुस गर्छु,' उनले भनिन्, 'बुलेट चढेर मैले मेची–महाकाली यात्रा गरिसकेँ।' 

इखले बाइकर बनेकी दिव्या

काठमाडौँ, सामाखुशीकी दिव्या थापालाई दिदीले स्कुटर चलाउन नदिएपछि बाइक चलाएर देखाउने इख पलायो। त्यो उनको पाँच कक्षा पढ्दा पलाएको इख थियो। 'दिदीले स्कुटर चलाएको देखेर मलाई पनि चलाउन मन लाग्थ्यो,' उनले भनिन्, 'दिदीले चलाउने त के स्कुटर छुनसमेत दिनुहुँदैनथ्यो। एक दिन यसको अगाडि बाइक कुदाएर देखाउँछु भन्ने लाग्यो।'

एक दिन उनले सोफामा ढल्किएर टीभी हेरिरहेका बुबालाई सोधिन् 'बाबा, बाइक कसरी चलाउने ?' उनको कुरा सुनेर उनको बुबाले भने, 'तँलाई कहाँबाट बाइक चलाउने भूत चढ्यो ?' उनले आफ्नो मनको सबै कुरा बुबालाई भनिन्। 'बाबाले सुतीसुती क्लज यहाँ हुन्छ, एक्सिलरेटर यहाँ हुन्छ, गेयर भनेको यो हो भनेर सुनाउनुभयो,' दिव्या स्मृतिमा पुग्छिन्, 'मैले ध्यान दिएर सबै कुरा सुनेँ।' एक दिन बुबा घरमा नभएको मौका पारेर उनले बाइक चलाउने सुर गरिन्। 'भाइलाई कोही आउँछ कि भनेर हेर्न गेटमा राखेँ,' उनले हाँस्दै भनिन्, 'दुई घण्टासम्म प्रयास गर्दा पनि बाइक गुडेन। पछि पो थाहा भयो बाइक न्युट्रलमा रहेछ।' 

उनको बाइकप्रतिको मोह देखेर बुबाले बाइक सिकाउने निधो गरे। 'दिउँसो स्कुल जान्थँे, बेलुका बाइक सिक्थेँ,' उनले भनिन्, 'स्कुलमा पढ्नुभन्दा पनि कति बेला छुट्टी होला र घर गएर बाइक चलाउनु जस्तो लाग्थ्यो।' नागरिकता बनेको दिन उनी सबैभन्दा बढी खुशी भएको दिन थियो। 'मेरो नागरिकता बन्नु भनेकै लाइसेन्स बन्नु थियो,' उनले भनिन्, 'भाइलाई पास हुन धेरै पटक लाग्यो। मैले एकैपटकमा ट्रायल पास गरेँ।'

दिव्याले बाइक चलाउन थालेको १० वर्ष पूरा भयो। उनीसँग बुलेट, आरवन फाइभ, पल्सर, भीआर, डर्ट, क्रस फायर जस्ता सबै खालका बाइक चलाएको अनुभव छ। भर्खरै मात्र उनले आफ्नो बुलेट बेचेर नयाँ मोडलको एसडब्लूएम बाइक किनेकी छिन्। 'सामाखुशी वरपर सबैले मलाई बाइक चलाउने दिव्या भनेर चिन्छन्,' उनले खुशी व्यक्त गरिन्, 'चिन्दै नचिनेका मान्छे पनि मेरो साथी बन्न खोज्छन्।' सुरुमा बाइक चलाएर हिँड्दा उनलाई अरूले हेपेर हेरेको हो कि जस्तो लाग्थ्यो। अहिले भने सबैले राम्रो मानेर हेरेको जस्तो लाग्छ। दिव्या हाल जुम्बा इन्सट्रक्टरका रूपमा काम गरिरहेकी छिन्। 

ड्युक चढ्ने निर्मला

काठमाडौँ, लाजिम्पाटकी निर्मला महर्जनलाई नयाँनयाँ मोडलका बाइकमा सडकमा गुड्न मन पर्छ। महर्जन पेशाले फिटनेस ट्रेनर हुन्। चकचके स्वभावकी उनको पूरै बाल्यकाल साइकलमा बित्यो। 'मेरो खेलौना÷साथी जे भने पनि त्यही साइकल थियो,' उनले भनिन्, 'छ कक्षामा पढ्दादेखि नै त्यही साइकलमा पसलको सामान ओसारपसार गर्थें।'

बिहेपछि उनले स्कुटर किनिन्। 'स्कुटर चलाएर चित्तै बुझेन,' उनले भनिन्, 'लिएको एक वर्षमै त्यो बेचेर पल्सर बाइक लिएँ। सात वर्षसम्म पल्सर चलाएँ।' अहिले उनी २०० सीसीको केटीएम ड्युक चलाएर हिँड्छिन्। हालै मात्र उनले ४ लाख ५५ हजार रुपैयाँ हालेर उक्त बाइक किनेकी हुन्। उनको प्लस टू पढ्ने एक जना छोरा छ। आमाछोरा पालैपालो त्यही बाइक चढ्छन्। 'उसले कहिलेकाहीँ मात्र लिएर हिँड्छ,' निर्मलाले भनिन्, 'धेरैजसो मै चलाएर हिँड्छु।' 
 
उनी सबै प्रकारका बाइक चलाउन सक्छिन्। बुलेट पनि उनलाई मन पर्ने बाइक हो। उनले चढ्ने ड्युकमा भने बुलेटको भन्दा कन्ट्रोल गरेर चलाउनुपर्ने उनी बताउँछिन्। 'ड्युकमा अरू बाइकमा भन्दा बल पनि धेरै लाग्छ,' उनले भनिन्।

स्कुटर चलाउन बानी परेकाले उनलाई बाइक चलाउन खासै गाह्रो परेन। 'केही मान्छेले केटीले बाइक चलाउन सक्दैन भन्थे,' उनले भनिन्, 'बाइक हेभी हुन्छ, चलाउन गाह्रो हुन्छ, ढल्यो भने उठाउन गाह्रो हुन्छ भन्ने खालका कुरा हुन्थे।' बाइक लिएर हिँड्न थालेपछि भने उनलाई 'बाइक केटाहरूले मात्र चढ्ने चिज होइन रहेछ' भन्ने लाग्यो। बाइक चलाइरहेको बेलामा मान्छेहरूले फर्कीफर्की हेर्दा उनलाई छुट्टै खालको आनन्द आउँछ।

स्कुटरभन्दा छिटो कुद्ने भएकाले चलाउन मज्जा पनि लाग्छ। 'बाटोमा हिँड्दा कहिलकाहीँ केटाहरूले केटी भनेर हेप्दै वभरटेक गर्छन्,' उनले भनिन्, 'म तिनीहरूलाई पछाडि पार्दै अघि दौडाउँछु। निँहु खोज्नेलाई पछाडि पारेर कुद्दा आनन्द लाग्छ। त्यसले मलाई आत्मसन्तुष्टि दिन्छ। तर, आफू सुरक्षित भएर मात्र चलाउँछु।'

उनले ड्युक हाँकेर हिँड्दा धेरैले उनलाई तलदेखि माथिसम्म हेर्छन्। जिस्काउने आँट भने कसैले गर्दैनन्। 'बाइक चलाउनेलाई हत्तपत्त कसैले जिस्काउँदैन,' उनले भनिन्, 'हाम्रो पारा र हाउभाउ देखेर उल्टै डराउँछन्।' बाटोमा खेलिरहेका केटाकेटीले 'वाउ ! केटी मान्छेले पनि बाइक चलाएको हेर्नुस् न' भन्दै घरभित्र बसेको मान्छेलाई हातमा समाउँदै ल्याउँछन्। 'त्यतिबेला मलाई ठूलै काम गरेँ कि क्या हो भन्ने लाग्छ,' उनले भनिन्। 

राइडर बिन्जु 

काठमाडौँ, न्युरोडकी बिन्जु श्रेष्ठ बाइक र स्कुटर लिएर हिँड्दा साथीहरू उनलाई भन्थे, 'तँलाई बबाल सुहाँउछ।' छिमेकी भन्थे, 'बिन्जु नराम्ररी बिग्रिई।' अहिले पनि उनलाई धेरैले सुनाउँछन् 'बाइक स्टन्ट र रेस त गाँजा खाने मान्छेले मात्रै गर्छन्।' यो सुनेर उनलाई निकै नरमाइलो लाग्छ। 

उनी धेरैजसो केटा साथीहरूको संगतमा थिइन् र छिन् पनि। 'केटाहरूले जस्तो–जस्तो गेम खेल्थे, म पनि त्यस्तै खेल्थेँ,' उनले भनिन्, 'साइकल चढेर घाउ नै घाउ बन्थ्यो। तैपनि, चलाउन छाड्दिनथेँ।' शरीरमा चोट लाग्दा उनको परिवारले 'अबदेखि चलाउनुपर्दैन' भन्थे। उनले परिवारले भनेको कहिल्यै टेरिनन्।

ऊ बाइक थाम्न नसकेर लड्यो। म सहयोग गर्न भनेर गएँ। उल्टै 'कसरी स्कुटर चलाएको' भनेर गाली गर्‍यो।

एसएलसी दिएपछि उनले घरमा स्कुटर किन्न लगाइन्। 'प्लस टू पढ्दा राइडरहरूको विभिन्न कार्यक्रममा हिँड्न थालिसकेकी थिएँ,' उनले भनिन्, 'बिस्तारै बाइक र स्कुटरप्रति मोह बढ्दै गयो। त्यसमा नै लत बस्न थाल्यो।' अहिले उनी बाइक तथा स्कुटर स्टन्ट गर्न सिकिरहेकी छिन्। आफूलाई  रफ तर सेफ राइडर मान्ने उनले राइडिङसम्बन्धी धेरै अनुभव सँगालेकी छिन्। आफ्नो अनुभव साट्दै उनले भनिन्, 'एक पटक म स्पिडमा कुदिरहेकी थिएँ।

 एकजना केटाले मसँग रेस खेल्न खोज्यो। केही समय हामी बीचमा रेस भयो। ऊ बाइक थाम्न नसकेर लड्यो। म सहयोग गर्न भनेर गएँ। उल्टै 'कसरी स्कुटर चलाएको' भनेर गाली गर्‍यो। मेरो स्कुटरमा भएको राइडर्स क्लबहरूको स्टिकर देखेपछि 'ओ तिमी राइडर पो हौ' भन्दै खुरुखुरु गयो।' उनी उपत्यकाभित्र आफ्नो डियो स्कुटर लिएर हिँड्छिन्। बाहिर जानु पर्‍यो भने दाइको बाइक लिएर जान्छिन्। 

उनलाई चिन्ने धेरैले उनको स्कुटरलाई पनि चिन्छन्। 'तेरो स्कुटर यहाँ देखे नि, तेरो स्कुटर उहाँ देखे नि भनेर सोध्छन्,' उनले भनिन्, 'स्कुटरले मलाई आफ्नो पहिचान दिएको छ। त्यसैले आफूलाई जे भए पनि स्कुटरलाई चाहिँ केही नहोस् जस्तो लाग्छ।' 
उनी बाइक र स्कुटर चलाउने मात्र होइन, सर्भिसिङमा पनि उनी उत्तिकै चासो राख्छिन्। 'वर्कसपमा स्कुटर आफैँ वास गर्छु,' उनले भनिन्, 'मोबिल चेन्ज गर्ने, ब्रेक टाइट गर्नेदेखि धेरै कुरा गर्न आउँछ।' आफ्नो बाइक वा स्कुटर केही भयो भने कसरी बनाउने भन्ने उनलाई ज्ञान छ।  

स्टन्टमा रमाएकी सुजना

तनहुँकी सुजना श्रेष्ठ प्रोफेसनल स्टन्ट राइडर हुन्। उनले स्टन्ट गरेका केही भिडियोले युट्युबमा राम्रो चर्चा कमाएका छन्। उनी 'साइट स्केच', 'कम्पास', 'सुसाइड', 'बर्नआउट', 'रकेट', 'लेजी ब्वाई' जस्ता स्टन्ट सो गर्न पोख्त मानिन्छिन्। साथै उनी विसं २०७२ की मिस तनहुँ पनि हुन्।
उनले स्कुटर र बाइक स्टन्ट गर्न थालेको तीन वर्ष भयो। 'अरूले स्टन्ट गरेको देख्दा आफूलाई पनि एकदमै रहर लाग्थ्यो,' उनले भनिन्, 'हातखुट्टा भाँच्नलाई किन यस्तो काम गर्नु भनेर घरबाट गाली गर्नुहुन्थ्यो।'

सानोमा उनी एकदमै सोझी थिइन्। 'त्यस्ती सोझी केटी अहिले स्टन्ट राइडर बनी भनेर धेरै जना अवाक् हुन्छन्,' उनले भनिन्। सुजनाले आठ कक्षामा पढ्दा बाइक चलाउन सिकिन्। सिकेर मात्र उनलाई पुगेन, स्टन्ट पनि गर्न थालिन्। स्टन्ट गर्दा उनी निकै पटक लडिन्। लड्दा उनलाई लाग्थ्यो– 'घोडा चढ्ने मान्छे नै लड्छ।' यही सम्झेर उनी जुरुक्क उठ्थिन् र फेरि बाइकको ह्यान्डल समाउँथिन्। 'कडा मेहनत र आत्मविश्वासले यहाँसम्म आइपुगेँ,' उनले भनिन्, 'मान्छेहरूले राम्रो काम गरेर तनहुँको नाम राखेकी छौ भन्छन्।'

उनी 'पल्सर डेयर भेन्चर' प्रतियोगितामा टप टेनसम्म पुग्न सफल प्रतियोगी पनि हुन्। अहिले उनी त्यही डेयर भेन्चरले उपहार दिएको बाइक चढ्ने गर्छिन्। 'मेरो बाइक र हेलमेटले नै धेरैले मलाई चिनेर फर्कीफर्की हेर्छन्,' उनले भनिन्, 'बाइक लिएर म पोखरा, सोलुखुम्बु र चितवन जस्ता थुप्रै ठाउँ पुगिसकेँ।' उनका साथीहरू पनि उनीसँग बाइकमा चढ्न भनेपछि भुतुक्कै हुन्छन्। उनी बाइक र स्कुटर स्टन्टबिना आफ्नो जीवन अधुरो रहने बताउँछिन्। 'स्टन्ट मेरो प्यासन हो,' उनले भनिन्, 'सोहरूमा जाँदा पनि राम्रै पैसा पाउँछु। अब यसमा नै करिअर बनाउँछु।' 

लेडी राइडरमा वृद्धि 

विगत आठ वर्षदेखि लेडी राइडरको क्षेत्रमा काम गरेका राइडर्स अफ नेपालका फाउन्डर दीपेश श्रेष्ठ पहिलाको तुलनामा अहिले बाइक चलाउने महिला बढेको बताउँछन्। 'हामी प्रोफेसनली लेडी राइडर्सलाई रेस र स्टन्टको ट्रेनिङ दिन्छौँ,' उनले भने, 'त्यसमा महिलाको राम्रो सहभागिता छ। इच्छा र चाहना भएका महिला यो क्षेत्रमा आएर यसलाई एउटा प्लेटफर्मका रूपमा विकास गर्नुपर्न उनी बताउँछन्। राइडर भएर व्यावसायिक रूपमा  अगाडि बढ्ने हो भने त्यसमा रेस, स्टन्ट, कम्पनीको ब्रान्ड प्रमोसन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गेममा अवसर मिल्ने उनी बताउँछन्। बाइक चलाउने जो कोहीले पनि रोड सेफ्टीका लागि सुरक्षाका उपाय अपनाउन श्रेष्ठ सल्लाह दिन्छन्।

डोजर अपरेटर मुना

मुना घिमिरे श्रेष्ठ नेपालको पहिलो हेभी इक्विपमेन्ट चालक हुन्। गोरखामा जन्मेकी उनका दाजुभाइ थिएनन्। पढाइमा अब्बल भए पनि उनले नौ कक्षा पढ्दापढ्दै पढाइ छाडिन्। 'छोरा नभएको घर भनेर मान्छेहरू कुरा काट्थे,' उनले भनिन्, '१५ वर्षको उमेरमा पढाइ छोडेर काम गर्न थालेँ। काम गर्ने ठाँउमा ठूलठूला गाडीहरू देख्थेँ।' रिसेप्सनमा काम गर्ने उनको ध्यान भने सधैँ तिनै गाडीमा जान्थे। एक दिन अफिसका निर्देशकले उनलाई सोधे, 'मेसिन सिक्छौ ?' उनले जवाफ फर्काइन्, 'सर, पाए त सिक्थेँ नि।' आफ्नो काम सकेर उनले बिहान–बेलुका डोजर चलाउन सिकिन्। 'समाजले फलानाकी छोरी बिग्रिई भन्थ्यो,' उनले भनिन्, 'मेरो मनमा तिनीहरूलाई केही गरेर देखाउँछु भन्ने थियो।' 

उनले आँटिन् र मेहनत गरिन्। 'म नेपालको पहिलो महिला हेभी इक्विपमेन्ट चालक बन्छु भनेर डोजर चलाएकी थिइनँ,' उनले भनिन्, 'काम गर्दै जाँदा रस बस्दै गयो।' कामको सिलसिलामा देशका विभिन्न ठाउँमा उनी पुग्थिन्। त्यहाँ उनले डोजर चलाएको देखेर हेर्न आउनेको भीड लाग्थ्यो। 'एक पटक मैले डोजर चलाएको हेर्न थुप्रै मान्छे आइदिँदा अरनिको राजमार्गमा दिनभरि नै बाटो जाम भयो,' उनले भनिन्, 'अहिले पनि देख्नेबित्तिकै क्यामरा तेस्र्याउन थाल्छन्।' 

हाल उनी हेभी इक्विपमेन्ट डिभिजन कार्यालय, बानेश्वरमा कार्यरत छिन्। 'छिनेका चप्पलमा काठमाडौँ छिरेकी थिएँ,' उनले विगत सम्झिइन्, 'डोजरमा दक्ष भएपछि मैले जीवनमा कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेन।' उनी अहिलेसम्म दर्जनौँ सम्मानबाट सम्मानित भइसकिन्। नेपाल हेभी इक्विपमेन्ट संघको महासचिव उनी सडक विभागकी स्थायी कर्मचारी पनि हुन्। हक्की स्वभावकी मुना आफूलाई कसैले पनि हेपेको सहन सक्दिनन्। 'केटीले पनि डोजर चलाउँछन् भन्थे,' उनले भनिन्, 'तर, मैले कहिल्यै हिम्मत हारिनँ। डोजर चालक बनेरै छोडेँ।' 

मुना जस्तै काभ्रेकी विजया अधिकारी पनि डोजर चालक हुन्। डोजर चलाउने कामलाई उनी शरीर र दिमागको खेल मान्छिन्। उनी अहिले लोक सेवाबाट नाम निकालेर सिनियर अपरेटरका रूपमा विद्युत प्राधिकरणमा आबद्ध छिन्। 

साझाकी शान रेबिका

बुटवलकी रेबिका थापा एक मात्र साझा यातायात चलाउने माहिला हुन्। उनले सुरुमा टेम्पोबाट ड्राइभिङ पेशा अँगालिन्। सानो माइक्रो हुँदै अहिले उनी साझा बसमा यात्रु लिएर स्वयम्भूदेखि रत्नपार्क हुँदै धुलिखेलसम्म पुग्छिन्। 'साझा यातायात महिलामैत्री छ भन्ने सुनेकी थिएँ,' उनले भनिन्, 'महिलामैत्री गाडीमा चालक पनि महिला हुनुपर्छ भन्ने आँट गरेकी हुँ। 'साझा बस चलाउन मैले पुरुषको भन्दा कडा इन्टरभ्यू र ट्रायलको सामना गर्नुपर्‍यो। मैले पास गरेँ।' 

कसैकसैले उनलाई 'महिलाले चलाएको भएर गाडी ढिला भएको हो कि' पनि भन्छन्। 'साझामा अरूको जस्तो स्पिड राखिएको छैन,' उनले भनिन्, 'लामो पनि छ। जता पायो उतै ह्वात्तै मोड्न पनि मिल्दैन। एकदमै सतर्क भएर चलाउनुपर्छ।' धेरै महिलाको भीडमा आफू एउटा महिलाले मात्र साझा चलाउँदा उनी एकदमै गर्व महसुस गर्छिन्। साझा यातायातले पनि उनलाई आफ्नो शान ठान्ने गर्छ। यात्रुहरूले दिने हौसलाले उनी थप उत्साहित हुन्छिन्। 'ठूलो गाडी भएकाले चलाउँदा असाध्यै थकाइ लाग्छ,' उनले भनिन्, 'यात्रुहरू खुशी देख्छु। बाइक चढ्ने तन्नेरीले पनि बाइक रोकीरोकी 'ल है दिदी राम्रो छ' भन्छन्। त्यसले सबै थकान मेटाइदिन्छ।' 

तपाईको कमेन्ट