‘हेप्ने साथीले नै ज्यान बचायो’ : निर्देशक मनोज पण्डित

writer

सम्पूर्ण

शनिबार, २८ पुष २०७५


मैले कक्षा एकदेखि नौसम्म सिन्धुपाल्चोकको श्री सेतीदेवी माध्यमिक विद्यालयमा पढेँ। सानैदेखि धेरै नबोल्ने, आफूमै रमाउने खालको स्वभाव थियो मेरो। स्कुल जाँदा पनि आफ्नो बेन्चमा आनन्दले बस्थेँ, सर-मिसले पढाउनुभएको ध्यान दिएर पढ्थेँ। 

छुट्टी भएपछि घर फर्केर आउँथेँ। सधैँ पहिलो बेन्चमै बस्न रुचाउँथेँ। साथीहरूको भीडभाड र होहल्लाबाट टाढा शान्त ठाउँमा बस्थेँ। मसँग कक्षाका सबै साथी मिल्थे। विनोद श्रेष्ठ, प्रसन्न श्रेष्ठ, मणिराज तिमल्सिना र म सँगै बस्थ्यौँ। 

उनीहरूसँग मेरो विचार मिल्थो। परेको बेलामा सबैलाई सहयोग गर्थें। कसैलाई नोट कपी दिएर त कसैलाई सिकाएर। त्यसैले कक्षाका सबै विद्यार्थी मसँग मिल्थे। कक्षामा सधैँ फस्ट नै हुन्थेँ। सर-मिसले पनि खूब माया गर्नुहुन्थ्यो। साथीहरूसँग खेल्नुभन्दा पनि सोचेर समय बिताउँथेँ। आफ्नै कल्पनामा हराइराख्थेँ। 

स्कुल पढ्दाताका बाघचाल खेल्न एकदमै मन पथ्र्यो। फुटबल, भलिबललगायत खेलसँग नजिकिन सकिनँ। विद्यालयमा हुने वादविवाद, वक्तव्य प्रतियोगितामा प्रथम हुन्थेँ, पुरस्कार जित्थेँ। मलाई विज्ञान विषय पढ्न एकदमै मन पथ्र्यो। 

अकाउन्ट भने फिटिक्कै मन पर्दैनथियो। स्कुल पढ्दा दुब्लो, लुरे थिएँ। बदमास केटाहरूले मलाई खूब हेप्थे। गर्मीमा साथीहरू पौडी खेल्न जान्थे। मलाई पौडी खेल्न खासै आउँदैनथ्यो। तर, पनि साथीहरूसँग जान्थेँ। एक दिन मलाई पनि पौडी खेल्न मन लाग्यो। पौडिन सिक्छु भनेर खोलामा जाँदा झण्डै डुबेको थिएँ। त्यति बेला कक्षामा सधैँ हेप्ने साथीले नै मलाई बचायो। त्यहाँदेखि ऊ मेरो मिल्ने साथी बन्यो। 

कक्षा चार पढ्दा मलाई एक जना केटी मन पर्थी। तर, मैले उसलाई भन्न सकिनँ। उसको दाइ देखेर डर लाग्थ्यो। मेरो लभ स्टोरी मनबाट सुरु भएर मनमै सकियो। गाउँमा नौ कक्षा पास गरेर भक्तपुरको श्री वासुकि माध्यमिक विद्यालयमा पढ्न आएँ। 

यहाँ आउँदा कोही साथी थिएन। नयाँ ठाउँ, नयाँ वातावरण थियो। एलएलसीमा फस्ट भएपछि कक्षाका विद्यार्थी मसँग मिल्न थाले। जाडोमा हामी घाममा बसेर पढ्थ्यौँ। विज्ञान विषय एकदमै ध्यान दिएर पढ्थेँ। इंग्लिस पढाउने सर राम्रो लाग्थ्यो। यहाँ पनि सरहरूको प्रिय विद्यार्थी बनेँ। एकान्तमा बसेर कल्पनामा हराउँथेँ। कहिले आफू प्रधानमन्त्री भएको कल्पना गर्थें त कहिले बाटोमा राम्री केटी देख्दा ऊसँग प्रेम गरेर बिछोड भएकोसम्म कल्पना गर्न भ्याउँथेँ। 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि