रमाइलो र स्वादिलो ‘सिलौटी’

writer

प्रकाश देवकाेटा

बिहिबार, २६ पुष २०७५


ललितपुर, महालक्ष्मीस्थानबाट दक्षिणतर्फ जाँदा एक किमी दूरीमा नक्खु आउँछ। नक्खु खोलाले भैँसेपाटी र नक्खुको सीमा छुट्याएको छ। नक्खु खोलाको छेउमा छ, सिलौटी रिसोर्ट। चार वर्षअघि खुलेको यो रिसोर्ट धेरैका लागि रमाइलो गन्तव्य बनेको छ। 

रिसोर्टको गेटभित्र रंगबिरंगी फूल छन्, हरियो चाइनिज दुबोले बगैँचा सजाइएको छ। बगैँचामा डल्ले धुपीका बोट लगाइएका छन्। जसले रिसोर्टको शोभा बढाएका छन्। बगैँचाको छेउमा दुइटा स्विमिङ पुल निर्माण भइरहेका छन्। 

मदनबहादुर लिम्बू र कविन श्रेष्ठले सञ्चालनमा ल्याएको रिसोर्टमा हरेक उमेर समूहका मानिस आउने गरेका छन्। ‘रिसोर्टमा हरेक उमेर समूहका ग्राहक आउने भएकाले हामीले दुई वटा स्विमिङ पुल बनाइरहेका छौँ,’ सञ्चालक कविन श्रेष्ठ भन्छन्, ‘वयस्कहरूका लागि बनाइएको स्विमिङ पुल गहिरो छ भने साना उमेर समूहका लागि बनाइएको स्विमिङ पुलको गहिराइ तीन फिटसम्म छ। जसमा स–साना नानीबाबु पनि रमाउन सक्छन्।’ 

कतिपय अभिभावकसँग उनीहरूका छोराछोरी पनि रिसोर्टमा आउने भएकाले बच्चाहरूको मनोरञ्जनका लागि बालमैत्री स्विमिङ पुल बनाएको सञ्चालक श्रेष्ठ बताउँछन्। स्विमिङ पुलको बायाँतर्फ सुनौला माछा पालिएका छन्। रिसोर्टमा कृत्रिम झरना पनि बनाइएको छ। यसले रिसोर्टलाई अझ सुन्दर बनाउन मद्दत गरेको छ।

रिसोर्टमा म्युजिक भिडियोको सुटिङ पनि हुने गरेको छ। ‘अहिलेसम्म दुई दर्जनभन्दा बढी म्युजिक भिडियोको सुटिङ भइसकेको छ,’ सञ्चालक मदनबहादुर लिम्बू भन्छन्, ‘म्युजिक भिडियोको सुटिङका लागि थुप्रै सुटिङ युनिट यहाँ आउने गरेका छन्।’ 

रिसोर्टमा आठ वटा हल छन्। सानादेखि ठूला यी हलमा २० जनादेखि १ सय ८० जनासम्म अट्छन्। हलमा विभिन्न सेमिनार, बैठक, विवाह, व्रतबन्धलगायत कार्यक्रम गर्न सकिने सञ्चालक बताउँछन्। हलहरूलाई फरक–फरक तरिकाले सजाइएको छ। हलमा राखिएका फर्निचर पनि हलअनुसार फरक–फरक छन्। 

कुनै हलमा बाँसबाट बनाइएका आरामदायी तथा आकर्षक कुर्ची र टेबुल राखिएका छन् भने कुनै हलमा आधुनिक स्टाइलिस सोफा राखिएका छन्। 
खाली बियरका बोतलले हलका भित्ता बनाइएका छन्। ‘रातमा बत्ती बल्दा सिसाका बोतलले बनेका भित्ता पनि टिलिक्क टल्किन्छन्,’ श्रेष्ठ भन्छन्। 

रिसोर्टलाई आकर्षक बनाउन बाँसको छ्वालीको कलात्मक प्रयोग गरिएको छ। पौने चार रोपनी जग्गामा फैलिएको यो रिसोर्टलाई सात रोपनी जमिन थप गरी पौने एघार रोपनी बनाउने सञ्चालक लिम्बू बताउँछन्। रिसोर्टभित्र विभिन्न विदेशी जातका चरा जस्तैः डोभ, टर्की, वेन्डम, गोल्डेन, सिल्भर, कोचिङ, परेवाका सात प्रजाति आदि पालिएका छन्। ‘यहाँ आउने साना बाबुनानी चराचुरुंगी देखेर रमाउँछन्,’ सञ्चालक श्रेष्ठ भन्छन्। 

रिसोर्टभित्र तीन तले पक्की भवन छ। परिवारसहित रात बिताउन आउने ग्राहकका लागि एसी, हिटर जडान गरिएका सुविधायुक्त आठ कोठा यहाँ छन्। ‘मौसमअनुकूल कोठा डिजाइन गरेका छौँ,’ श्रेष्ठ भन्छन्। नेपाली, इन्डियन परिकार रिसोर्टमा खान पाइन्छ। फास्ट फुडका विभिन्न आइटम, अग्र्यानिक चिया, कफीको मीठो स्वाद पनि यहाँ चाख्न पाइन्छ। 

नक्खुपोट क्षेत्र एकदमै शान्त, सफा भएकाले रिसोर्टका लागि यो ठाउँ रोजेको सञ्चालक लिम्बू बताउँछन्। रिसोर्टबाट चन्द्रागिरी हिल्स, चम्पादेवीको हरियो डाँडालगायत पहाड देख्न सकिन्छ। 
 

तपाईको कमेन्ट

मुख्य समाचार