सप्तकोशीमा साना ‘पानीजहाज’

writer

गोपाल दाहाल

बुधबार, २५ पुष २०७५


संसद्को हिउँदे अधिवेशनमा केही दिनअघि पानीजहाजको चर्चा चल्यो। सांसद्हरूले प्रधानमन्त्रीलाई पानीजहाजको टिकट कहाँ पाइन्छ ? भनेर व्यंग्य गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘पानीजहाज चढ्नका लागि धैर्य गर्न’ आग्रह गरे। 

त्यसो त प्रधानमन्त्री ओलीले दुई वर्षअघि एउटा कार्यक्रममा हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झण्डा गाडेका पानीजहाज चलाउने घोषणा गरेका थिए। गत जेठमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासेको संयोजकत्वमा छ सदस्यीय ‘इन्यान्ड वाटर वे अध्ययन समिति’ पनि बनाएका थिए।

समुद्रमा पानीजहाज चलाउने सरकारको योजनाले त अहिलेसम्म मूर्त रूप लिएको छैन तर नेपालकै सप्तकोशी नदीमा भने निजी क्षेत्रका लगानीकर्ताले धमाधम नेपाली झण्डा गाडिएका साना पानीजहाज (जेट बोट) धमाधम चलाउन थालेका छन्।

हालै ‘बराहक्षेत्र मेरिन रिसोर्ट प्रालि’ले नयाँ २५ जना अट्ने जहाज ल्यायो। नेपाली झण्डा गाडिएको त्यो जहाज अहिले चाइनिज प्राविधिकले सप्तकोशीमा परीक्षणका रूपमा कुदाइरहेका छन्। प्रालिले अझै एक सय यात्रु अट्ने ठूलो जहाज र १०-१० जना अट्ने साना जहाज ल्याउन लागेको प्रालिका सञ्चालक नवीन पौड्याल बताउँछन्। बराहक्षेत्र नगरपालिकाका मेयर नीलम खनालले जहाजको उद्घाटन गरेका थिए।

अहिले प्रालिले चार वटा जहाज चलाउन मिल्ने गरी सुनसरीको बराहक्षेत्र नगरपालिका १, चतराघाटमा आफ्नै पोर्ट र काउन्टर बनाइरहेको छ। प्रालिले चार वटा जहाज ल्याउन र कोसी टापुमा रिसोर्ट बनाउन गरी जम्मा करिब ८ करोड १२ लाख रुपैयाँको लगानी गरेको सञ्चालक पौड्यालले बताए। ‘हामी घुम्न आउने पर्यटकलाई पनि घुमाउँछौँ, पहाडका बासिन्दालाई यातायातको सुविधा पनि दिन्छौँ,’ उनले भने, ‘विपद्मा परेकालाई र तत्कालै अस्पताल लैजानुपर्ने बिरामी, सुत्केरीलाई निःशुल्क सेवा दिनेछौँ।’

यसअघि ‘बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि’ले २०७४ चैत १९देखि कियान नामको एउटा जहाज चलाइरहेको छ। जहाजले चतराघाट पोर्टबाट विशेष गरी धनकुटा, भोजपुर र खोटाङका गाउँमा जाने यात्रुलाई सेवा दिइरहेको छ। करिब तीन करोड रुपैयाँ लगानी भएको भनिएको प्रालिका सञ्चालकमध्ये एक पर्शुराम राई ‘कवि’का अनुसार एउटा जहाजमा दैनिक सरदर दुई सय यात्रु ओहोरदोहोर गरिरहेका छन्। ‘नियमित यात्रुबाहेक घुम्न आउनेहरू पनि बढिरहेका छन्,’ उनले भने, ‘बोट चढ्न आउनेहरू खुशी भएर फर्किन्छन् र फेरि अरू साथी लिएर आउँछन्।’

सप्तकोशीमा नेपाल रिभर ट्रान्सपोर्ट र वरुण वाटरवेजले २०५५ सालदेखि नै जेटबोट सञ्चालन थालेको थियो। करिब साढे चार करोड रुपैयाँ लगानी गरेर स्थानीय अशोक थापा लगायतले सञ्चालनमा ल्याएको जेटबोट सुरुमा राम्रै चलेको थियो तर बीचमा दक्ष चालक अभाव र विभिन्न समस्याले बन्द भएको बोट अहिले पुनः सञ्चालनमा छ। ‘बीचमा बन्द भए पनि अहिले चलाइरहेका छौँ,’ प्रालिका म्यानेजर शंकर कार्कीले भने, ‘दैनिक दुई सय हाराहारी यात्रु बोक्छौँ। नयाँ कम्पनी थपिँदै जाँदा यात्रुको संख्या पनि बढिरहेको छ।’

त्यसो त प्रदीप नेपाल, हरिवैरागी दाहाल लगायतको टोलीले पनि केही वर्षअघि सुम्निमा जल यातायातमार्फत जहाज सञ्चालन गरेका थिए। तर, जहाज दुर्घटना भएर सप्तकोशीमै हरायो। एक स्थानीय युवा पनि जहाजसँगै बेपत्ता भए। त्यसपछि कम्पनी पनि बेपत्ता भयो। दुर्घटनापछि केही समय सप्तकोशीमा जहाज चलेनन्। तर, अहिले धमाधम नयाँ कम्पनी बढिरहेका छन्। 

सप्तकोशी टुरिज्म एन्ड वाटर ट्रान्सपोर्टेसन प्रालिले सप्तकोशीमा चलाउनका लागि नेपालमै जहाजको फिटिङ गरिरहेको छ। करिब डेढ करोड रुपैयाँ खर्च गरेर जहाज फिटिङ गरिरहेको प्रालिका सञ्चालकमध्ये एक राजेन्द्र कार्कीका अनुसार बाहिरबाट समान ल्याएर काठमाडौँ युनिभर्सिटीका मेकानिकल इन्जिनियरको टोलीले जहाज तयार पारिरहेको छ। ‘अरू सबै बाहिरबाटै तयार पारेर ल्याउँछन्,’ कार्कीले भने, ‘हामी चाहि नेपालमै जहाज तयार गर्छौं।’

हालसम्म सुनसरीको चतराघाटबाट मात्र जहाज चलिरहेका छन्। तर, अब उदयपुरतर्फ पनि व्यवसायीले जहाज चलाउने तयारी गरिरहेका छन्। यही वर्ष अन्य कम्पनी पनि थपिने क्रममा छन्। निजी क्षेत्रका लगानीकर्ता बढेसँगै सुनसरीको बराहक्षेत्र नगरपालिका १ मा पर्ने चतराघाट जलयात्रा गर्नेका लागि पर्यटनको केन्द्र बन्न थालेको छ।

चतराघाटबाट चल्ने जहाज धनकुटाको त्रिवेणी, अरुण नदीको किनार सिम्ले, सुनकोसी नदीतर्फ चुवार, मचुवालगायत ठाउँसम्मका स्थानीयको यातायातको साधन बनेका छन् भने नेपालका विभिन्न ठाउँसँगै भारतका दार्जिलिङ, सिक्किमदेखि विभिन्न देशबाट जलयात्रा गर्न आउने पर्यटकको रमाइलो गर्ने अवसर पनि बनेका छन्। सप्तकोशीका विभिन्न खण्डमा बराहक्षेत्रदेखि भोजपुरसम्म रिसोर्ट बनिरहेका छन्। ‘निजी लगानीकर्ता र सरकार मिलेर अघि बढे केही वर्षमै यो क्षेत्र पर्यटकको केन्द्र बन्ने सम्भावना छ,’ स्थानीय युवा अजित राईले भने। 

विभिन्न समस्या
हाल सप्तकोशीमा जहाज सञ्चालन गरिरहेका व्यवसायीहरूका अनुसार नेपालमा हालसम्म जलयातायातसम्बन्धी स्पष्ट कानुन छैन। त्यसैले उनीहरूले र्‍याफ्टिङ वा अन्य बोट सञ्चालन अनुमति लिएर चलाइरहेका छन्। व्यवसायी राजेन्द्र कार्की भन्छन्, ‘जहाज चलाउने, यात्रु बोक्ने भनेर सम्भवतः कसैले पनि अनुमति पाएका छैनन्। यो कानुनी समस्याले हामी अहिले रहरमा मात्र चलाएजस्तो भएको छ।’

हुन त सरकारले २०२७ सालमै पानीजहाज दर्ता ऐन र २०२८ सालमा ‘नेपाली पानीजहाज दर्ता नियमावली २०२८’ जारी गरेको थियो। तत्कालीन राजा महेन्द्रले ‘पञ्चायतको सल्लाह र सहमतिमा’ बनाएको ऐनले नेपाली जहाजले समुद्र यात्रा गर्ने परिकल्पना गरेको थियो। तर, महेन्द्रको त्यो सपना साकार हुन सकेन।

ओली सरकारले नेपाली ध्वजावाहक पानीजहाज चलाउने घोषणा गरे पनि देशकै नदी नालामा त्यसको चलाउने वातावरण छैन। सप्तकोशी र अरुण, सुनकोसीलगायत नदीका बीचमा ठूला ढुंगा हुँदा जहाज चलाउन समस्या रहेको उनीहरू बताउँछन्। बराहक्षेत्र मेरिनका सञ्चालक नवीन पौड्याल भन्छन्, ‘बीचका ढुंगा फुटाउन सरकारले सहयोग गरे धनकुटा, भोजपुर मात्र होइन रानीटार, तुम्लिङटार, दोलालघाट, रसुवाघाटसम्म चलाउन सकिन्छ।’

विश्वमा पानीबाट देश र जनताले राम्रो आम्दानी गरे पनि जलस्रोतमा विश्वकै दोस्रो धनी देश भनिने नेपालमा पानीबाट फाइदा लिन नसकिएको कार्की बताउँछन्। उनी भन्छन्, ‘हामीसँग पानीका स्रोत प्रशस्त छन्, यहाँ प्रशस्त मात्रामा जलयातायात, मनोरञ्जन र साहसिक खेल सञ्चालन गरेर देश र यहाँका जनता धनी बन्न सक्छन् तर सरकारले योजना बनाएर अघि बढ्नुपर्छ।’
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि