‘झिगु भ्वय् छेँ’मा ठेट नेवारी स्वाद

writer

ओमलाल अकेला

मङ्गलबार, २४ पुष २०७५


काठमाडौँ : ठमेलमा रहेका अधिकांश रेस्टुरेन्ट विदेशी पर्यटकलाई लक्ष्य गरेर खोलिएका छन् । विश्वका धेरै देशको परिकार चाख्न पाइने ठमेल क्षेत्रमा नेपाली परम्परागत खानाको स्वाद लिन पाइने रेस्टुरेन्ट पनि छन् । ठमेलको ज्याठामा रहेको ‘झिगु भ्वय् छेँ (हाम्रो भोज घर)’ टिपिकल नेवारी परिकार पाइने रेस्टुरेन्ट हो । 

यो रेस्टुरेन्ट नेपाल मण्डलको एउटा मिनी संग्राहालय जस्तो लाग्छ । हाकु पटासीको पर्दा, भुइँमा बिछ्याइएका सुकुल, आँखीझ्याल, डोरीमा झुन्ड्याइएका लसुन तथा मकैका घोगाका झुप्पा, खुर्सानीको माला आदिले रेस्टुरेन्टलाई पुरानो नेवार बस्तीको झझल्को दिन्छ । नेवार जातिले प्रयोग गर्ने विभिन्न परम्परागत भाँडाकुँडालाई सजाएर राखिएको छ रेस्टुरेन्टमा ।

सस्तो, स्वादिलो तथा ठेट नेवारी परिकारको स्वाद लिन चाहनेहरूका लागि यो रेस्टुरेन्ट उपयुक्त विकल्प हुनसक्छ । राजेश डंगोल र उनको परिवारका अन्य सदस्य मिलेर सञ्चालन गरिरहेको यो रेस्टुरेन्टमा दिउँसोको खाजादेखि रातिको खानासम्म खान पाइन्छ । राजेशका भाइ साथीभाइ महर्जनले भान्सा सम्हाल्दै आएका छन् । २० वर्षदेखि नेवारी परिकार पकाउँदै आएका उनले स्वादिला परिकार तयार पारेर ग्राहकलाई सर्भ गर्छन् । रेस्टुरेन्टको व्यवस्थापन भने अनिश ताम्राकारले हेर्दै आएका छन् । 

पूर्ण पारिवारिक वातावरण रहेको यो रेस्टुरेन्टमा काठमाडौँवासीले लगभग प्रयोग गर्न छाडिसकेका अथवा यसो भनौ विस्थापित भइसकेका भाँडाकुँडाहरू आकर्षक ढंगले सजाइएका छन् । ‘विदेशीहरू नेपाल आउँदा अक्सर ठमेल पस्दा यहाँको मौलिक नेवारी स्वाद चाख्न बिर्सन्नन्,’ म्यानेजर अनिशले भने । 

ठमेल प्रवेश गर्ने ठाउँमा खोलिएकाले रेस्टुरेन्टको मेनुमा विभिन्न देशका परिकार पनि राखिएका छन् । तर, विदेशीहरूले नेवारी परिकारको फोटो हेरेर त्यही नै खाना अर्डर गर्ने गरेको उनले बताए । 
‘खानेकुराको स्वादमा जति विविधता हुन्छ, परिकारमा पनि त्यस्तै विविधता दिने प्रयास गर्छौं,’ अनिशले भने, ‘एउटा राँगोको ५० देखि ५५ थरीका परिकार यो रेस्टुरेन्टमा पाक्ने गर्छन् ।’ बारा, चटामरी, समय बजिदेखि नेवारी परम्परागत भ्वय् ( भोज ) समेत यहाँ खान पाइन्छ । नेवारी परिकार प्रायः सबै यो रेस्टुरेन्टमा पाइन्छन् । शाकाहारीका लागि पनि यहाँ विशेष परिकार उपलब्ध छन् । ‘नेवारी परिकार भनेपछि बढी चिल्लो र पिरो हुने भन्ने आम धारणा छ तर हामीले कम पिरो र चिल्लो प्रयोग गरेर स्वादिष्ट नेवारी परिकार पस्कने गरेका छौँ,’ म्यानेजर अनिशले भने । 

सुकुल, मेच वा आरामदायी सोफामा बस्ने तपाईंको रोजाइमा भर पर्छ । एक पटकमा ९० देखि १०० जनासम्म अट्ने यस नेवारी रेस्टुरेन्टमा पार्किङको राम्रो व्यवस्था छ । ‘नेवारहरू खानाको विविध स्वादिष्ट परिकार पस्किनमा माहिर कहलाइन्छ,’ अनिशले भने, ‘तर, व्यस्तताले गर्दा अधिकांश नेवारको चुल्होबाट लोप हुँदै गइरहेका छन् । झिगु भ्वय् छेंमार्फत हामीले ती परिकारलाई जोगाउन प्रयास गरिरहेका छौँ ।’ 
 

तपाईको कमेन्ट

मुख्य समाचार