कोयलाको क्विक सर्भिस

writer

ओमलाल अकेला

मङ्गलबार, २४ पुष २०७५


काठमाडौँको केन्द्र न्युरोड विभिन्न सामान किनमेलको केन्द्र पनि हो। किनमेलका लागि बजार निस्केकाहरू न्युरोड पुगेर किनमेल गरेपछि मात्रै आफ्नो किनमेल पूरा भएको ठान्छन्। नुनदेखि सुनसम्म पाइने न्युरोडमा किनमेल गरिसकेपछि एकछिन सुस्ताएर खाजा खाने स्थानको भने अभाव नै छ।

गरगहनाका पसल, विभिन्न ब्रान्डका आउटलेट तथा मोबाइल बजारको हबका रूपमा परिचित हुँदै गइरहेको न्युरोडमा प्लाजा तथा मल बन्ने क्रम बढ्दो छ। न्युरोड पिपलबोटको अपोजिट रहेको केशा प्लाजा पनि पछिल्लो समयमा चर्चित बन्दै गएको सपिङ मल हो। यही प्लाजाको आठौँ तलामा रहेको कोयला लाउन्ज एन्ड बार न्युरोडमा सपिङ गरेर थकित भएकाहरूलाई केही छिन थकान मेटाउने तथा स्वादिष्ट परिकारको स्वाद लिन पाउने स्थानका रूपमा पपुलर हुँदै गएको छ।

 

युवा व्यवसायी सञ्जयमान श्रेष्ठ, जयन श्रेष्ठ र अमर श्रेष्ठको संयुक्त लगानीमा खोलिएको कोयलाका वातावरण शान्त छ। आठौँ तलामा रहेकाले सडकमा गुडिरहेका गाडीको आवाजले त्यति डिस्र्टब गर्दैन। पहिलो पटक कोयलामा आउनेको प्रतिक्रिया नै ‘यस्तो भीडभाड हुने ठाउँमा पनि यति शान्त रेस्टुरेन्ट’ भन्ने हुने कोयलाका सञ्चालक सञ्जयमान श्रेष्ठले बताए। न्युरोडमा सपिङ गर्न आएकाहरू, बैंक तथा अन्य अफिसमा कार्यरतहरू कोयलामा ग्राहक रहेको म्यानेजर निमा दोर्जे लामाले बताए। 

बिहान १० बजेदेखि राति १० बजेसम्म खुल्ने रेस्टुरेन्टमा दिउँसो फास्टफुडको डिमान्ड बढी हुने म्यानेजर लामाले बताए। ‘मःमः, चाउमिन, मुस्ताङ्े आलु, सिज्लर, टयाङ्गो चिकेन, पिज्जाको अर्डर बढी आउने गर्छ,’ म्यानेजर लामाले भने। खानाको स्वाद र सरसफाइमा विशेष ध्यान दिइएको रेस्टुरेन्टको आन्तरिक सजावट पनि सुन्दर छ। अग्लो भवनमा रहेकाले काठमाडौँ दृश्य नियाल्दै खानाको स्वाद लिन पाइन्छ। यहाँ इन्डियन र चाइनिज परिकारको स्वाद पनि लिन पाइन्छ। 

अन्य बारभन्दा शुक्रबार र शनिबार दिउँसैदेखि यहाँ ग्राहकको चहलपहल बढी देखिन्छ। खानेकुरा अर्डरको ‘क्विक सर्भिस’ यहाँको अर्को विशेषता हो। यहाँ अरू लाउन्ज बारमा जस्तो ड्रिंक्स गर्नेभन्दा पनि बढी खानपिन गर्नकै लागि ग्राहक आउने गरेका छन्। ‘हामी खानेकुरामै बढी फोकस गर्दै सर्भिस र खानाको गुणस्तरलाई ध्यान दिँदै आएका छौँ,’ म्यानेजर लामाले भने। रेस्टुरेन्टमा हरेक शुक्रबार लाइभ म्युजिक सुन्दै खानाको स्वाद लिन सकिन्छ। 
 

तपाईको कमेन्ट

मुख्य समाचार