‘सर पढाइरहने हामी अमिलो खाइरहने’

writer

मेनुका कोइराला

आइतबार, २२ पुष २०७५


काभ्रे, पनौतीस्थित ब्राइट स्टार बोर्डिङ स्कुलबाट ‘कखग’ पढ्न सुरु गरेँ। स्कुल घरनजिकै थियो। त्यहाँ मैले कक्षा दुईसम्म पढेँ। श्रीराम उच्च माविबाट एसएलसी दिएँ। दुवै स्कुलसँग मेरा रमाइला-नरमाइला स्मृति जोडिएका छन्। 

ब्राइट स्टारमा हुँदा सबै शिक्षककी प्यारी थिएँ। एकदमै रमाइलो वातावरण थियो। ‘सानी फुच्ची’ भनेर अरू क्लासको दिदीले बोकेर खूब माया गर्नुहुन्थ्यो। कहिलेकाहीँ त मिसहरूले बोकेरै घरसम्मै पुर्‍याइदिनुहुन्थ्यो। पढाइमा पनि राम्री थिएँ। सानैदेखि नृत्य प्रतियोगितामा भाग लिन्थेँ। कहिलेकाहीँ फस्ट पनि हुन्थेँ। 

सबैको माया पाएर म अलि पुलपुलिएकी थिएँ। घमण्डी स्वभावकी थिएँ। श्रीराम स्कुलमा पुगेपछि मेरो घमण्ड झन्झन् बढ्दै गयो। मेरा केही मिल्ने साथीबाहेक अरूसँग दिनैपिच्छे झगडा परिरहन्थ्यो। भनाभन भइरहन्थ्यो।

म प्रायः फस्ट नत्र सेकेन्ड बेन्चमा बस्थेँ। कहिलेकाहीँ सिट रोटेसन भएर लास्टतिर पुग्थेँ। तैपनि मलाई फस्ट-सेकेन्ड बेन्च नै प्यारो लाग्थ्यो। म ‘लेफ्टी’ थिएँ। स्कुलमा अक्षर लेखन प्रतियोगिता हुन्थ्यो। त्यसमा सहभागी हुन्थेँ। देब्रे हातले लेखे तापनि प्रतियोगितामा प्रथम पुरस्कार जित्थेँ। 

सात-आठ कक्षामा पुगेपछि झन् बदमासी गर्न थालेँ। क्लासमा साथीहरूलाई निकै सताउँथेँ। उनीहरूको सर्टपछाडि मसी छ्यापिदिन्थेँ। मेरो ग्याङमा मनीषा, रसिला, आरती, सुशिला थिए। उनीहरूसँग मिलेर खूब फट्याइँ गरियो। क्लासमा पढाइराखेको बेला अमिलो, पिरो कुचुकुचु खान्थ्यौँ। सरले चाल पाए एकअर्कालाई दोष लगाएरै टार्थ्याैँ। 

बच्चा बेलामा होलीको मज्जा बेग्लै हुन्थ्यो। केटीहरूको ग्याङले क्लासका केटा र अरू केटालाई लोला हान्थ्यौँ। त्यतिबेला केटाकेटीको ग्याङ फाइट नै पथ्र्यो। स्कुल छुट्टीपछि बारीमा सुन्तला चोर्न जान्थ्यो। बोटबाट स–साना सुन्तला टिपेर फाल्थ्यौँ अनि ठूलठूला सुन्तला चोरेर कुलेलम ठोक्थ्यौँ। 

नाच्न खूबै मनपथ्र्यो, मलाई। सरहरूको नाम राखेर पनि धेरै जिस्काइयो। साथीसँग मिलेर धेरै पटक क्लास बंक गरियो। स्कुलको गेटबाट गार्ड दाइले कराउँदा नसुनेको गरी गुटुङटुङ भाग्थ्यौँ। 

स्कुलनजिकै एउटा पार्क थियो। सबै मिलेर त्यहीँ घुम्न जान्थ्यौँ। भोलिपल्ट स्कुलमा हाम्रो रामधुलाइ हुन्थ्यो। सरहरूले चौरमा उभ्याएर कान समातेर माफी माग्न लगाउनुहुन्थ्यो। ‘अबदेखि गर्दिनँ’ धेरै पटक भनियो तर भाग्न भने छोडिएन। 

कक्षाका साथीहरू हाम्रो ग्याङसँग डराउँथे। क्लासका केटाहरूले पोस्टकार्डमा ‘लभ यू’ लेखेर दिन्थे। नै-दश कक्षामा मलाई धेरै लभ लेटर आए। तर, मेरो लभ कोहीसँग परेन। उल्टै चाहिने-नचाहिने लेखेर फिर्ता गरिदिन्थेँ। गणित मलाई मन पर्ने विषय थियो। 

 
 

तपाईको कमेन्ट