स्ट्रिक्सको हेयर सो

writer

सम्पूर्ण

शनिबार, २१ पुष २०७५


ब्युटिसियन सुभद्रा थापा बेला–बेलामा ब्युटीसम्बन्धी सेमिनारहरूमा गइरहन्छिन्। भक्तपुरको पुरानो ठिमीमा उनको आहा ब्युटिपार्लर छ। हालै, ‘प्रिमियम हेयर प्रोडक्ट ब्रान्ड स्ट्रिक्स प्रोफेसनल’ले नेपालमा पहिलो पटक आयोजना गरेको ‘हेयर एन्ड बियोन्ड’ मेगा हेयर सोमा उनी सहभागी भइन्। ‘यस्ता कार्यक्रमले ब्युटिसियनहरूलाई नयाँ कुरा सिकाउँछ,’ उनले भनिन्, ‘सजिलो तरिकाबाट कसरी कपाल काट्न सकिन्छ भन्ने कुरा यहाँ आएर सिकियो।’
 
काठमाडौँ, कलंकीमा ‘कलंकी ब्युटिपार्लर एन्ड ट्रेनिङ सेन्टर’ चलाएकी अनीता खड्का पनि हेयर सोमा सहभगी थिइन्। कार्यक्रमबाट आफूलाई धेरै फाइदा मिलेको उनले बताइन्। ‘कपाल स्टे«ट गर्दा नयाँ तरिकाले क्रिम प्रयोग गर्न सकिन्छ भन्ने कुरा कार्यक्रममा आएर सिकियो,’ उनले भनिन्, ‘कपालसम्बन्धी धेरै भ्रम पनि कार्यक्रमले छर्लङ्ग पारिदियो। अब आफ्नो पार्लरमा पनि यहाँ सिकाएजसरी नै कपाल स्ट्रेट गर्नेछु।’ 

काठमाडौँ, मैतीदेवीमा ‘कृति ब्युटिपार्लर’ चलाउँदै आएकी रक्की श्रेष्ठले कार्यक्रममा सहभागी हुँदा नयाँ–नयाँ प्रोडक्ट र प्रविधिबारे थाहा पाएको बताइन्। ‘नयाँ–नयाँ प्रोडक्टबारे थाहा पाइयो,’ उनले भनिन्, ‘नयाँ प्रविधि र प्रोडक्टबारे थाहा पाउन यस्ता कार्यक्रममा सहभागी भइराख्नुपर्छ।’ 

ब्युटिसियन नवीना राजथला पनि कार्यक्रममा पुगेकी थिइन्। ललितपुर, लुभुमा उनको ‘साई ब्युटिपार्लर’ छ। ‘कार्यक्रममा नयाँ किसिमको हेयर कलर प्रयोग गरेर देखाइयो,’ उनले भनिन्, ‘त्यो कलर नेपालमा खासै प्रयोगमा आएको छैन। प्रयोग गर्न थाल्ने हो भने, अवश्य फेसन बन्छ।’ त्यस्ता नयाँ प्रोडक्टले ग्राहकलाई आकर्षित गर्ने उनले बताइन्। 

कार्यक्रमले सहभागी ब्यूटिसियनहरूलाई स्ट्रिक्स प्रोफेसनलका टेक्निकल हेड तथा प्रसिद्ध हेयर स्टाइलिस्ट जावेद हबिब र एग्नस चेनले हेयर कटिङ, कलरिङबारे जानकारी दिएका थिए। उनीहरूले विभिन्न हेयर स्टाइल पनि सहभागी ब्युटिसियनलाई सिकाएका थिए। स्ट्रिक्सले आफ्नो नयाँ हेयर कलर मेरिगोल्ड बजारमा ल्याएको छ। मेरिगोल्ड गोल्डन, कपर र ब्लन्डलगायत सेडमा उपलब्ध छ। 


 

तपाईको कमेन्ट