इन्टरनेटबाट प्रेम गाँस्नुका पीडा

writer

सृजना खड्का

मङ्गलबार, २९ फागुन २०७४


‘डिस्ट्यान्स नेभर सेपरेट्स टू पिपुल ट्र्युली इन लभ' अर्थात् साँचो प्रेम गर्नेलाई दूरीले छुट्याउन सक्दैन।

दुई वर्षअघि काठमाडौँ, मैतीदेवी बस्ने सोना (नाम परिवर्तन) ले एउटा टिसर्टमा यो प्रसिद्ध भनाइ प्रिन्ट गरिन्। उनले यो टिसर्ट बेलायत बस्दै आएका आफ्ना प्रेमीलाई भ्यालेन्टाइन्स डेका दिन उपहार पठाइन्।

 

सामाजिक सञ्जाल फेसबुकबाट झाँगिएको उनीहरूको प्रेम चार वर्षमा पाइला टेक्दै थियो। तर, उनीहरूले एकअर्कालाई न प्रत्यक्ष देखेका थिए, न भेटेका नै। सोना भन्छिन्, ‘२०६८ सालदेखि हाम्रो चिनजान भयो। फेसबुकमा कुराकानी गर्दागर्दै कतिबेला माया बस्यो, पत्तै भएन। एकअर्कासँग जीवन बिताउने सपना बुनेका थियौँ। प्राय' च्याट र भिडियो कलमा धेरै समय बित्थ्यो। फेसबुके लभ बकवास हो भन्नेका लागि हामी उदाहरण बन्न चाहन्थ्यौँ।'

 

परिवारलाई उनको यो ‘लङ डिस्ट्यान्स रिलेसनसिप' बारे थाहा थिएन। घरमा बिहेको कुरा चलेपछि उनले लुकाउन सकिनन्। दुवैको परिवारमा यो सम्बन्धको खुलासा भयो। ‘उसको घरमा जाने/आउने समेत हुन थाल्यो,' सोनाले सम्झन्छिन्, ‘यसरी हामी पाँच वर्ष लामो लङ डिस्ट्यान्स रिलेसनसिपमा बस्यौँ।

 

बेलाबेलामा म उसलाई नेपाल आउन आग्रह गर्थें। पीआर प्रोसेसमा भएकाले आउन मिल्दैन भन्थ्यो। उसको कुरामा विश्वास गर्नुबाहेक अर्को विकल्प थिएन। उसले छिट्टै नेपाल आएर घरजम गर्ने वाचासमेत गरेको थियो। र, हाम्रो परिवारले बिहेको तयारी पनि गरेको थियो। चाहिने सरसामान किनेको थियो।'

2_1

तस्बिर :सञ्जय राैनियार

तर, सोनाको प्रेमी एकाएक टाढिन थाले। फोन र म्यासेज बिस्तारै कम गर्न थाले। ‘एक दिन एक्कासि मेरो भाइबरमा एक जना केटीको म्यासेज आयो,' सोनाले भनिन्, ‘म्यासेज हेरेपछि मलाई भाउन्न भयो।' म्यासेजमा उनको प्रेमी र ती केटीको फोटो थियो र लेखिएको थियो– ‘ऊ मेरो ब्वाइफ्रेन्ड हो। हामी तीन वर्षदेखि सँगै बसिरहेका छौँ।'

 

त्यतिबेलासम्म सबै खालका सामाजिक सञ्जालबाट प्रेमीले सोनालाई ब्लक गरिसकेका थिए। ‘उसको परिवारलाई यसबारे बताउँदा ‘तिमीहरूको आफ्नो समस्या आफैँ समाधान गर्नू' भन्ने खालको कुरा आयो,' सोना सम्झन्छिन्, ‘यसरी मैले मेरो जिन्दगीको पाँच वर्ष उसका लागि खेर फालेँ।

 

संसारमा सबैभन्दा बकवास कुरा के हो भनेर आज कसैले सोध्यो भने म भन्छु– लङ डिस्ट्यान्स रिलेसनसिप। जसले मेरो जिन्दगी नै बर्बाद गरिदियो। आफन्तहरू सबैलाई मेरो ब्वाइफ्रेन्ड छ भन्ने थाहा थियो।

 

आफ्नो जिन्दगी अगाडि बढाउन मलाई निकै गाह्रो भएको थियो। कसैले बिहेको कुरा लिएर आयो भने ‘यो त पाँच वर्ष लभमा परेर धोका खाएकी केटी' भनेर चिनेजानेकाले सुनाइदिन्थे।' सोनाले अहिले आफूलाई सम्हालिसकेकी छिन्। लङ डिस्ट्यान्स रिलेसनसिपको चोट भुल्न उनलाई साह्रै गाह्रो परेको थियो। २९ वर्षीया सोना अर्का महिना बिहे गर्दैछिन्।

 

आफ्ना पराई, पराई आफ्ना

समाजशास्त्री मीना उप्रेती भन्छिन्, ‘भर्चुअल वल्र्डले आफ्नालाई पराई र पराईलाई आफ्नो बनाइरहेको छ।' उनी प्रेम सम्बन्ध केलाई मान्ने ? ‘लामो दूरीको सम्बन्ध'लाई सम्बन्ध मान्ने कि नमान्ने ? भन्नेमा व्यक्ति आफैँले आफैँसँग प्रश्न गर्नुपर्ने बताउँछिन्। सम्बन्ध सुरु गर्नुभन्दा पहिला सम्बन्ध केका लागि ? भन्नेमा पनि स्पष्ट हुन जरुरी भएको उप्रेती बताउँछिन्। भन्छिन्, ‘पहिला प्रेम र सम्बन्धको परिभाषा भिन्नै हुन्थ्यो।

अहिले हरेक दिन ऊ फुर्सदमा भएका बेला मैले जसरी भए पनि कोठामा पुगेर एक घण्टा भिडियो कल गर्नुपर्छ। नत्र ऊ रिसाएर आगो हुन्छ।

प्रेमी–प्रेमिकाले एकअर्कालाई देखेका, हेरेका र भटेका हुन्थे। नचिनेका/नजानेको मान्छेसँग सम्बन्ध राख्ने चलन नै थिएन। अहिले त चिन्नु न जान्नु, फेसबुकमा पिरती लाउनु भन्या जस्तो भइरहेको छ।' सामाजिक सञ्जालले सम्बन्धमा प्रभाव पारिरहेको समाजशास्त्री उप्रेती बताउँछिन्। भन्छिन्, ‘अहिले नजिकका मान्छे टाढा भए, टाढाका मान्छे नजिक। टोलछिमेकका मान्छेसँग टाढा छौँ। चिन्दै नचिनेका, जान्दै नजानेका सामाजिक सञ्जालका मान्छेसँग एकदमै नजिक छौँ। यो हाम्रो समयको ठूलो जटिलता हो।'

 

ठगीको मारमा 


अधिवक्ता राजेश बटालाकहाँ डिभोर्सको केस लिएर एक दिन एक दम्पती आयो। प्रक्रियागत रूपमा उनीहरूको डिभोर्स पनि भयो। डिभोर्स गरेको केही समयपछि अधिवक्ता राजेशलाई श्रीमती चाहिँको एक जना अमेरिकी नागरिकसँग अफेयर भएको थाहा भयो।

 

ट्वीटरमा फलो गर्दागर्दै उनीहरूको अफेयर सुरु भएको उनी बताउँछन्। ‘पछि इन्स्टाग्राम, भाइबर, फेसबुक र स्काइपमा पनि उनीहरूको कुराकानी हुने रहेछ,' बटाला भन्छन्, ‘त्यो अमेरिकी नागरिकले नेपालमा आएर उनीसँग बिहे गर्ने वाचा गरेको रहेछ। त्यस्तै अन्य कुराको प्रलोभन पनि देखाएको रहेछ।'

 

बटालाका अनुसार ती महिलासँग अमेरिकी नागरिकले २ लाख ६० हजार रुपैयाँ उछिट्याएछन्। यो ठगीको कथा यस्तो छः ती अमेरिकी नागरिकले ‘म दिल्ली एयरपोर्टमा छु, यहाँको भन्सारले मेरो डलर समात्यो, मलाई आपद् पर्‍यो' भनेर २ लाख ६० हजार रुपैयाँ मागे।

 

ती महिलाले अमेरिकीसँग नयाँ संसार बसाउने चक्करमा पैसा पठाइदिइन्। पैसा पाएपछि उनी सम्पर्कविहीन भए। ‘सबै सोसल मिडियाबाट उनलाई ब्लक गरिदिएछ,' बटाला ती महिलाको कथा सुनाउँछन्, ‘यसरी योजनाबद्ध रूपमा आफू फसेको उनले चालै पाइनन्।'

 

महानगरीय अपराध महाशाखा, काठमाडौँ, टेकुका प्रहरी निरीक्षक प्रदिन ताम्राकार पनि लङ डिस्ट्यान्स रिलेसनसिपले ठगी निम्त्याउने बताउँछन्। ‘केटीहरू मात्र होइन, केटाहरू पनि विदेशी केटीहरूसँग फसेका धुप्रै घटना हाम्रोमा आउँछ,' उनी भन्छन्, ‘सबैले अपनाउने साझा उपाय भनेको प्रेमको बहाना नै हो। एसियनहरू पश्चिमा भनेपछि हुरुक्कै हुने कारणले पनि यस्ता खालको समस्या निम्तिने गरेका छन्।'

 

अन्नदाता प्रेमी


उनी आफ्नो फेसबुके प्रेमीलाई ‘अन्नदाता' भन्छिन्। काठमाडौँमा विलासी ढंगले बस्दै आएकी उनको सबै खर्च तिनै ‘अन्नदाता'ले पठाइदिन्छन्, जसलाई ऋतु (नाम परिवर्तन) ले एक पटक पनि भेटेकी छैनन्। ‘फेसबुकमा मैले पोस्ट गरेका फोटाहरू मन पराएर ऊ मेरो प्रेमी भएको हो,' ऋतु भन्छिन्, ‘हाम्रो डेटिङ च्याट रुममै भएको हो।

1_3

अहिले हरेक दिन ऊ फुर्सदमा भएका बेला मैले जसरी भए पनि कोठामा पुगेर एक घण्टा भिडियो कल गर्नुपर्छ। नत्र ऊ रिसाएर आगो हुन्छ।' फ्ल्याट भाडा, स्कुटी, महँगा आइफोन, ह्वाइट गोल्डको महँगो सिक्री, हिराको औँठी सबै अन्नदाताले नै जुटाइदिएका छन् उनलाई। ‘उसले ममाथि गरेको खर्च हेर्दा ऊ पक्कै पनि धेरै नै धनी हुनुपर्छ भन्ने लाग्छ,' उनी भन्छिन्, ‘मलाई श्रीमती बनाउँछु भनेर उसले यति धेरै लगानी गरिरहेको छ।

 

तर, बिहे नै गर्ने कि नगर्ने भन्ने त भेटघाटपछि मात्रै तय होला। मेरो अन्नदाता इन्डियन व्यापारी हो। नेपाल आएर एउटा घर किनेर घरजम गरेर बस्ने भनेको छ।' फेसबुकबाटै बसेको पिरतीले उनलाई जिउन सहज भएको उनी खुशीसाथ स्विकार्छिन्। ऋतु भन्छिन्, ‘नत्र काठमाडौँमा शानसँग बस्न कहाँ सकिन्थ्यो र ?'

 

समाजशास्त्री उप्रेती भन्छिन्, ‘प्रायः लङ डिस्ट्यान्स रिलेसनसिपमा एक जना मरिमेटेर लागेको हुन्छ। अर्कोले चिट गरिरहेको हुन्छ। त्यस्ताले सम्बन्धलाई अवसरका रूपमा लिएका हुन्छन्। कतिपयले विदेशिने दाउमा पनि त्यस्ता सम्बन्ध राख्छन्।

 

एडिट गरेर चिटिक्क परेको फोटोको मोहमा पर्छन्। वास्ताविकताबारे कसैलाई मतलब हुँदैन।' सामाजिक सञ्जलालकै कारण अहिले समाजमा मल्टिपल रिलेसनसिपका घटनाहरू बढिरहेको उनी बताउँछिन्। ‘बहुसम्बन्धमा बस्नेहरूले सम्बन्धलाई कहिल्यै गम्भीर र भावनात्मक रूपमा लिएका हुँदैनन्,' उप्रेती भन्छिन्, ‘सम्बन्धलाई मात्र रमाइलोका रूपमा लिएका हुन्छन्।'

 

‘लाइफ पार्टनर लाइभ खोज्नुपर्छ' 


लाइफ पार्टनर सामाजिक सञ्जालबाट होइन, लाइभ देखेर वा भेटेर बनाउनुपर्ने बताउँछन्, महानगरीय अपराध महाशाखा, काठमाडौँका प्रमुख दिवेश लोहनी। ‘अहिलेका सम्बन्धहरू टेक्नलोजीकै आधारमा चल्न थालिसक्यो,' उनी भन्छन्, ‘त्यसैले सम्बन्धहरू पनि टेक्निकल र जटिल हुन थालेका छन्। लाइफ पार्टनर त लाइभ खोज्नुपर्छ।'

‘लङ डिस्ट्यान्स रिलेसनसिपमा बस्नेहरूले सोसल मिडियालाई नै सबथोक मान्छन्। जुन एकदमै गलत हो।'

लाइफ पार्टनर लाइभ खोज्नुपर्नेमा अधिवक्ता बटाला पनि सहमत छन्। सोसल मिडियाबाट जोडिएका ९९ प्रतिशत सम्बन्धहरू असफल हुने उनी बताउँछन्। ‘त्यसको मुख्य कारण एकअर्कालाई राम्रोसँग नदेख्नु र नभेट्नु नै हो,' उनी भन्छन्, ‘लङ डिस्ट्यान्स रिलेसनसिपमा बस्नेहरूले सोसल मिडियालाई नै सबथोक मान्छन्। जुन एकदमै गलत हो। यस्तो सम्बन्धमा बोले मात्र पुग्छ। मेसेज र भिडियो च्याट गरिदिए पुग्छ। त्यसमा व्यवहार जोडिएको हुँदैन। त्यसमा परिवार र समाज जोडिएको हुँदैन।'

 

भेटेपछि टुटेको प्रेम 


काठमाडौँ, धुम्बाराही बस्ने रबिता (नाम परिवर्तन) सँग को लङ डिस्ट्यान्स रिलेसनसिपको तीतो अनुभव छ। उनी मलेसियामा रोजगारीको सिलसिलामा गएका एक जना युवासँग लगभग तीन वर्ष सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्धमा परिन्। भन्छिन्, ‘हाम्रो जोडी फेसबुकबाटै जुरेको थियो। आज कुरा गर्दा, भोलि कुरा गर्दा नजिक भयोँ। एकअर्कासँग दुःख–सुख बाँड्न थाल्यौँ। मैले ऊसँगै जीवन बिताउने सोच बनाइसकेकी थिएँ।'

 

रबिताको प्रेमी नेपाल आउने भए। आफूले माया गरेको मान्छेलाई उनी प्रत्यक्ष भेट्दै थिइन्। एकदमै उत्साहित थिइन्। ‘म उसलाई एयरपोर्टमा लिन गएँ,' उनी सम्झन्छिन्, ‘हामीले एकअर्कालाई पहिलो पटक देख्यौँ/भेट्यौँ।' काठमाडौँमा केही दिन बसेर उनका प्रेमी गाउँ गए। त्यसपछि उनीहरूको सम्पर्क पातलिन थाल्यो। ‘एक दिन उसले ‘घर परिवारले हाम्रो सम्बन्ध स्विकार्नुभएन, तिमी आफ्नो बाटो लाग, म आफ्नो बाटो लाग्छु' भन्यो,' रबिताले अतीत सम्झिइन्।

 

एक दिन ती युवाको एक जना साथीले रबितालाई एउटा स्क्रिनसट पठाइदिए। त्यसमा उनीहरू दुईजना बीचको कुराकानी थियो। प्रेमीको साथीले लेखेका थिए– ‘रबितालाई तिमीले किन छोडेको यार ?' उनको जवाफ थियो– ‘फेसबुकमा हेर्दा कस्ती राम्री लागेर पट्याएको थिएँ। भेटेपछि त खुट्टामा राख्दा नि नसुहाउने देखेँ। त्यसैले घर परिवारको बहाना गरेर पन्छाइदिएँ।'

 

विगतको फेसबुके प्रेमका कारण कतिपय केटीको हुन लागेको बिहे नै भाँडिएको पनि देखिएको छ।' 

 

रबिता त्यो घटना स्मरण गर्दै भन्छिन्, ‘सुन्नेलाई यो कुरा समान्य लाग्ला, तर भोग्नेलाई मात्र त्यसको पीडा थाहा हुन्छ।' सामाजिक सञ्जालमा प्रेमी खोज्ने प्रयत्नलाई उनी आफ्नो जिन्दगीको सबैभन्दा ठूलो भूल मान्छिन्। भन्छिन्, ‘मैले जिन्दगीकै ठूलो गल्ती गरेँ। फेसबुक प्रेम सम्बन्ध बनाउने ठाउँ होइन रहेछ।'

 

पैसामा मिलाउन खोजियो सम्बन्ध


कौशिला (नाम परिवर्तन) छ वर्षदेखि अस्ट्रेलियामा बस्ने एक युवासँग लङ डिस्ट्यान्स रिलेसनसिपमा थिइन्। ‘सुरुसुरुमा सम्बन्ध एकदमै राम्रो थियो,' उनी सम्झन्छिन्, ‘ऊ अस्ट्रेलियामा बस्थ्यो।

 

एक दिन फोन वा म्यासेज नआउँदा म छटपटाउँथेँ। उसले बिहे गरेर सँगै उतै सेटल हुने सपना देखाएको थियो। त्यसका लागि यता मैले ब्युटिपार्लरदेखि अन्य कुराको ट्रेनिङसमेत लिइसकेकी थिएँ। तर, अचानक ऊ मसँग टाढिन थाल्यो। मेरो हरेक क्रियाकलापमा शंका गर्न थाल्यो। बिस्तारै सम्पर्कविहीन भयो।'

 

कौशिला छ वर्षदेखिको प्रेम टुटेकोमा तनावग्रस्त भइन्। डिप्रेसनको शिकार भइन्। ‘मनोचिकित्सकसँग उपचार गराएँ,' उनी भन्छिन्। एक दिन उनी ती युवाको घरमा गइन् र भनिन्– ‘म तपाईंहरूकी बुहारी हुँ।

 

हामी छ वर्षदेखि प्रेम सम्बन्धमा छौं।' तुरुन्तै ती युवाको बुबाले अस्ट्रेलियामा रहेको छोरालाई फोन गरे र ‘कुरा के हो ?’ भनेर सोधे। ‘उसले ‘म त्यो केटीलाई चिन्दिन, तपाईंहरू झमेलामा नपर्नुस्' भनेछ,' कौशिला सम्झन्छिन्, ‘म त पागल जस्ती भएँ। समाजमा वरिपरि कसैले थाहा पाउलान् भनेर उसको परिवारले मलाई केही रकम दिएर पन्छाउन खोज्यो। तर, मलाई पैसा हैन, उसको मायो चाहिएको थियो।'

 

समाजशास्त्री उप्रेती भन्छिन्, ‘अफेयर र बिहेमा के फरक छ भन्ने कुरा सबैले बुझ्नुपर्छ। अफेयर नितान्त व्यक्तिगत हुन्छ। आफूमा सीमित राखिन्छ। यसलाई लुकाइन्छ। लुकेर सम्बन्ध गाँसिन्छ। बिहे भनेको सामाजिक हुन्छ, समाजलाई देखाइन्छ। हाम्रो जस्तो देशका युवायुवतीले अफेयरलाई विवाहमा पुर्‍याउन खोज्छन्। तर, विकसित देशमा बस्नेले अफेयरलाई रोमान्सका रूपमा लिएका हुन्छन्। उनीहरूलाई त्यहीँको हावाले छोएको हुन्छ।'

 

उप्रेती महिलाका सन्दर्भमा लङ डिस्ट्यान्स रिलेसनसिपले उनीहरूलाई हानि पुर्‍याउन सक्ने बताउँछिन्। भन्छिन्, ‘लङ डिस्ट्यान्स रिलेसनसिपमा रहेकी केटीको नाम त्यो सम्बन्ध समाप्त भए पनि केटासँग जोडिइराखिन्छ। त्यो फलानाको गर्लफ्रेन्ड भन्ने गरिन्छ। विगतको फेसबुके प्रेमका कारण कतिपय केटीको हुन लागेको बिहे नै भाँडिएको पनि देखिएको छ।' समाजशास्त्री उप्रेतीको सुझाव छ– ‘चिन्नु न जान्नु, पिरती लाउनुले जिन्दगीमा जटिलता ल्याउनसक्छ। त्यसैले लङ डिस्ट्यान्स रिलेसनसिप कायम नगरेकै राम्रो !'

 

‘नचिनेकोसँग पनि प्रेम हुन्छ ?'

Pradin-Tamrakar-(2)

प्रदिन ताम्राकार, प्रहरी निरीक्षक,महानगरीय अपराध महाशाखा, टेकु, काठमाडौँ


हामी कसैले पनि नचिनेको मान्छेसँग सामाजिक सञ्जालमा साथी बन्नु हुँदैन। प्रेम त टाढाको कुरा भयो। नचिनेकोसँग पनि प्रेम हुन्छ ? सम्बन्ध भनेको सधैँ उस्तै हुँदैन।कुनै समयमा आएर मनमुटाव हुन सक्छ। कथंकदाचित् झगडा भइहाले धेरैले यसलाई ब्ल्याकमेल गर्ने भाँडो बनाउँछन्।आपराधिक मानसिकता भएकाले दुःख दिन खोज्छन्। पैसा डिमान्ड गर्न सक्छन्।

 

लङ डिस्ट्यान्स रिलेसनसिपमा रहेका धेरै जोडी फोन र भिडियो कलमा रमाउँछन्।त्यसैमार्फत आफूलाई नजिक बनाउन खोज्छन्।कतिपय अवस्थामा नेकेड तथा भल्गर भिडियो कलसमेत गर्छन्। लङ डिस्ट्यान्स रिलेसनसिपमा भल्गर वा नेकेड भिडियो च्याट कदापि गर्नु हुँदैन।त्यसमा पनि नचिनेको मान्छेसँग त झन् निकै सावधान हुनुपर्छ। आफू कत्तिको सुरक्षित छु भन्ने कुरा ध्यानमा राख्नुपर्छ।

 

‘अँध्यारोमा हाम्फाले जस्तो'

Rajesh-Batala


राजेश बटाला, अधिवक्ता


कुराकानी गर्दै जाँदा, आफ्नो कुराहरू साट्दै जाँदा मन भनेको जोसँग पनि मिल्न सक्छ। सबैले सामाजिक सञ्जाल नितान्त व्यक्तिगत ढंगले चलाउँछन्।कोसँग कसको कस्तो सम्बन्ध गाँसिएको छ ? भन्न सकिँदैन।यो विशुद्ध व्यक्तिगत मामिला भएकाले कसैलाई हस्तक्षेप गर्न पनि मिल्दैन।

 

कसैले आफ्नो पोस्टमा लाइक र कमेन्ट गर्‍यो भन्दैमा मख्ख परेर सम्बन्ध गाँस्ने अहिलेको जमाना छैन। चिन्दै नचिनेको मान्छेसँग सोसल साइटकै माध्यमबाट डिस्ट्यान्स रिलेसनसिपमा बस्नु भने एकदमै ठूलो मूर्खता हो। त्यो सम्बन्ध अँध्यारोमा हाम्फाले जस्तै हुन्छ। अँध्यारोमा हाम्फालेपछि कहाँ पुगिन्छ ? ठेगान हुँदैन। त्यो बाटो सही पनि हुन सक्छ र गलत पनि।लङ डिस्ट्यान्स रिलेसनसिप आधार नै नभएको सम्बन्ध हो। जुन एकदमै कमजोर हुन्छ।

 

यस्तो सम्बन्धमा खटपट आएपछि साइबर क्राइम तथा नाता कायमको मुद्दा हाल्नेहरू पनि आजभोलि भेटिएका छन्। त्यसैले यदि कोही लङ डिस्ट्यान्स रिलेसनमा बसेको छ भने उसले आफूले माया गर्ने मान्छेलाई आफन्तको माध्यमबाट बुझ्न लगाउनुपर्छ।त्यस्तै, यस्तो सम्बन्धमा बस्दा च्याट तथा भिडियोका रेकर्डहरू राख्नु राम्रो हुन्छ।त्यसले सम्बन्धमा समस्या आयो भने प्रमाणको काम गर्छ।साथै, हरेक व्यक्ति सोसल मिडियामा आफ्नो अकाउन्टको युजर आफैँ बन्नुपर्छ।

तपाईको कमेन्ट