पूजालाई मिस पूर्वाञ्चलको ताज

writer

गोपाल दाहाल

बिहिबार, १९ पुष २०७५


‘तपाईंको विचारमा नेपाल अल्पविकसित देश हो कि अव्यवस्थित ?’ धेरैका आ–आफ्नै धारणा होलान्। झापा, भद्रपुरकी पूजा श्रेष्ठलाई चाहिँ यही प्रश्नको जवाफले पूर्वकी सुन्दरी अर्थात् नवौँ ‘मिस पूर्वाञ्चल’ बनाएको छ।

प्रदेश नम्बर १को ठूलो सौन्दर्य प्रतियोगिता ‘नेपाल आइस मिस पूर्वाञ्चल २०१८’ को अन्तिम चरणमा पुगेका पाँच सुन्दरीलाई मुख्य निर्णायक वरिष्ठ वातावरणविद् राजेन्द्र खनालले सोधेको प्रश्नमा पूजाले ‘हाम्रो देश अविकसितभन्दा पनि अव्यवस्थित हो। त्यसैले हामी युवाले देशलाई विकासको बाटोमा लैजान दिगो विकासको अवधारणा अवलम्बन गर्नुपर्छ। सँगसँगै हामीले आफूलाई पनि विश्वास गर्नुपर्छ’ भनेर जवाफ दिइन्। र, निर्णायकको नजरमा उत्कृष्ट ठहरिइन्। त्यही जवाफले उनको शिरमा मिस पूर्वाञ्चलको ताज प¥यो अनि यामाहा कम्पनीको स्कुटर र हङकङ भ्रमणको अवसरलगायत पुरस्कार पाइन्। 

प्रतियोगितामा प्रदेश नम्बर १का विभिन्न जिल्लाबाट जम्मा १४ प्रतिस्पर्धी सहभागी थिए। त्यसमध्ये धनकुटा, हिलेकी अनीला क्षत्री फस्ट रनरअप बनिन्। उनले नगद एक लाख रुपैयाँ पुरस्कार पाइन् भने इटहरीकी तपस्या रणपहेली सेकेन्ड रनरअप बनेर नगद ५० हजार रुपैयाँ पाइन्।

सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतिस्पर्धामा ‘फेस अफ डिभाइन’सहित ‘डिभाइन मिस फोटोजेनिक’ र ‘बराह मिस मल्टिमिडिया’ टाइटल आकृति आचार्यले जितिन्। ‘इजी राइडर वेस्ट वाक’ र ‘पेप्सी मिस ट्यालेन्ट’ सोनेता दाहाल, ‘क्विक्स मिस पब्लिक च्वाइस’ र ‘सुरेश स्टडी भिसा मिस इन्टिलेक्चुअल’ रुसाली केसी भइन् भने ‘वाइवाई मिस कन्जेनियालिटी’ सलिना राजवंशी र ‘पीएलओ मिस फिटनेस’ स्वस्तिका विसुंखे घोषित भए। उनीहरूले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए। प्रतिस्पर्धीहरू प्रियारानी लामाको कोरियोग्राफी, मुन्धुम बुटिक एन्ड मेख्ली हाउसको पहिरन र तरुना राईको मेकअपमा मञ्चमा उत्रिएका थिए। बराह ज्वेलरीको प्रस्तुति तथा नेपाल आइस वियरको मुख्य प्रायोजनमा भएको कार्यक्रममा मुख्य निर्णायक खनालसहित कवि सुदिप पाख्रिन, गायक डिल्ली फोम्बो, सेफ्टी हाइजिनका सीईओ भुवन ढकाल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.रोहित रिजाल, मिस पूर्वाञ्चल २०१५ प्रियंका श्रेष्ठ, फिल्मका पटकथाकार तथा पत्रकार सामिप्यराज तिमल्सेना, गायिका तथा अभिनेत्री विष्णु चेम्जोङ, हिडन ट्रेजरका निर्देशक गिरेन्द्रमान राजवंशी, डिभाइन वाइनका ब्रान्डम्यानेजर सञ्जु शाक्य र मिस्टर नेपाल २०१८ विकल्पराज श्रेष्ठ निर्णायक रहेका थिए।

होटल इजी राइडरको खुल्ला ठाउँमा गरिएको कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति थियो। कार्यक्रम निर्धारित समयभन्दा केही ढिलो सुरु भयो। चिसो मौसममा पनि मध्यरातसम्म दर्शक नयाँ मिस पूर्वाञ्चल को बन्छ भनेर प्रतीक्षामा थिए। 

पूर्वमा धेरै वटा सौन्दर्य प्रतिस्पर्धा हुन्छन् तर मिस पूर्वाञ्चलको बेग्लै पहिचान छ। यसका विजेता उद्घोषण, कोरियोग्राफी, मोडलिङजस्ता क्षेत्रमा सक्रिय छन्। मिस पूर्वाञ्चलकी विजेताले सोझै मिस नेपालमा सहभागी हुन पाउने भएकाले पनि युवतीहरू मिस पूर्वाञ्चलप्रति आकर्षित हुन्छन्। 

पूजा भेडेटारकी सद्भावनादूत

मिस पूर्वाञ्चलका विजेतालाई हरेक वर्ष होटल एसोसिएसन भेडेटारले पर्यटन सद्भावनादूत नियुक्त गर्ने गरेको छ। यस पटककी विजेता पूजा श्रेष्ठलाई पनि एसोसिएसनले फुड फेस्टिभलको अवसरमा सद्भावनादूत नियुक्त गरेको छ ।

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र एसोसिएसनका अध्यक्ष जितेन्द्र रुम्दाली राईले पूजालाई सद्भावनादूतको प्रमाणपत्र प्रदान गरे। फेस्टिभलमा पुगेका विजेताले मगर जातिको हुर्रा नाच नाचेर रमाइलो गरे। त्यस्तै, यूएन कलेज धरानले मिस पूर्वाञ्चल विजेता पूजा, फस्ट रनरअप अनिला र सेकेन्ड रनरअप तपस्यालाई सम्मान गरेको छ। 
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि