‘त्रासदीको तटमा तन्नेरी’

writer

सम्पूर्ण

शुक्रबार, १३ पुष २०७५


जो अन्यायमा परेका थिए, तिनले नेपाल बदल्न खोजेका थिए। जो बहिष्करणमा परेका थिए, तिनले नयाँ नेपाल बनाउन चाहेका थिए। दलित तन्नेरीको सपना त्यस्तो नेपालको थियो, जहाँ जातले व्यक्तिको श्रेष्ठता तय नगरोस्। तन्नेरी महिलाको आकांक्षा त्यस्तो नेपालको थियो, जहाँ पितृसत्ताको दबदबा सकिन्छ भन्ने विश्वास जागोस्।

मधेशी युवाले त्यस्तो राज्यको परिकल्पना गरेका थिए, जसलाई उसले कुनै पहाडीले जत्तिकै आफ्नो सम्झन सकोस्। गरिबीको मारमा परेकाले शिक्षा, स्वास्थ्य एवं इज्जतिलो जिन्दगी जिउने वातावरण खोजेका थिए। उनीहरूको सपना नयाँ जिन्दगीको थियो। त्यो नयाँ जिन्दगी प्राप्त गर्न सहयोग गर्ने नयाँ राज्यसंरचनाको थियो।  

यी साझा सपना पूरा गर्ने जिम्मा लोकतान्त्रिक भनिएका राजनीतिक नेतृत्वमा थियो। संविधानको स्वीकार्यता बढाउँदै जनतालाई उत्पादनमा सहभागी गराउने मुख्य दायित्व थियो। नेतृत्वबाट यी सपना र उनीहरूलाई सुम्पिएको दायित्वप्रति न्यूनतम इमानदारीको अपेक्षा थियो। सुविधाजनक मत दिएर सत्तामा पुगेकाहरूले सपनाको बदलामा प्रोपागान्डा दिए। सपना देख्नेहरू इमानदार हुन्छन्। प्रोपागान्डा रच्नेहरू चाहिँ बिकाउ तुरुपको खोजीमा हुन्छन्। उनीहरू छलकपट गर्छन्। 

जातको जाँतोमा पिसिएकाले मुक्ति खोज्दा समृद्धि नै मुक्तिको बाटो हो भनियो। महिलाले समानता खोज्दा विकासले समानता कायम गराउँछ भनियो। जनजातिले पहिचानको सुरक्षा खोज्दा भौतिक समृद्धिले त्यो सुनिश्चित गरिदिन्छ भनियो। मधेशीले अधिकार खोज्दा आर्थिक उन्नति प्राथमिक हो भनियो।

आर्थिक वृद्धि, विकास र समृद्धि कसरी सम्भव तुल्याउने भनेर प्रश्न गर्दा पानीजहाज, पूर्वपश्चिम रेल र स्मार्ट सिटीको परिकल्पना अघि सारियो। सम्भवतः जनताले यी जवाफलाई पत्याए, समृद्धिको विज्ञापनमा भर गरे। त्यसो भन्नेहरूलाई सत्तामा उकाले। 

तन्नेरी भन्छन् : बस्नलायक छैन देश

‘समृद्ध नेपाल, सुखी नेपाली’ इमानदार सपना थिएन। साझा सपनाको नाममा बेच्न खोजिएको चुनावी विज्ञापन थियो। पञ्चायतको सिको गर्दै सामान्य जनतामा भौतिक सुखको आकांक्षा बढाउने त्यो विज्ञापनको असलियत खुल्न धेरै समय लागेन। मुलुकको कार्यकारी प्रधानमन्त्रीले गरेको एकपछि अर्को घोषणा ठट्टामा परिणत भएपछि त्यो प्रोपागान्डाको भ्रम च्यातियो। समृद्धिको अधिक प्रचारले प्रभावित जनताको ठूलो हिस्सा आफूलाई छक्याइएकोमा क्षुब्ध छ। 

उच्च शिक्षा लिन विश्वविद्यालय पुगेका युवा आफ्नै संस्थाप्रति विश्वस्त हुन सकेका छैनन्। विदेशमा श्रम गर्न पुगेकाहरू जति दुःख गरे पनि औसत जिन्दगी जिउन सकिनेमा ढुक्क छैनन्। राजनीतिमा लागेका युवा विचारशून्य छन्। उनीहरू दलालीमा सिपालु हुन कोसिस गरिरहेका छन्। कारण, इमानदारीले सफलता ल्याउँदैन भन्ने उनीहरूलाई बुझाइएको छ।

व्यापारमा लागेका तन्नेरीले ठगवृत्तिलाई नै व्यापार सम्झेका छन्। त्यसो नगरे बजारमा टिक्न सकिँदैन भन्ने विश्वास गर्न थालेका छन्। जो सुखद भविष्यको खोजीमा छन्, उनीहरूमा लोकतान्त्रिक व्यवस्था एवं सो व्यवस्था टिकाउन बनाइएका सारा संस्थाप्रति अविश्वास चुलिएर बसेको छ। 

‘सम्पूर्ण’ले भेटेका तन्नेरीले समृद्धिको सरकारी गफ नपत्याएको बताए। भ्रम च्यातिनु आफँैमा अनुचित होइन तर सिंगो व्यवस्थाप्रतिको अनास्थाले त्रासदी निम्त्याउँछ। लोकतान्त्रिक पद्धतिप्रतिको अविश्वास जगाउँदै धर्म वा राजाका नाममा राजनीति गर्ने दक्षिणपन्थीहरूले आफ्नो राजनीतिक सामथ्र्य बलियो बनाउन सक्छन्। समृद्धिको चटके गफ गर्ने केपी शर्मा ओलीको विकल्पका रूपमा ज्ञानेन्द्र शाहहरूलाई अघि सार्ने दुष्प्रयास हुन सक्छ। त्यो अर्को ठूलो त्रासदी हुनेछ। 

त्यसैले तन्नेरीमा लोकतान्त्रिक व्यवस्थाविरुद्ध बढ्न थालेको अनास्थालाई आलोचनात्मक चेतमा बदल्ने कोसिस जरुरी छ। 
(  उज्ज्वल प्रसाईसँगकाे कुराकानीमा आधारित)   

तपाईको कमेन्ट