घरमा श्रीमतीकै नीति लागू हुन्छ’

writer

सम्पूर्ण

सोमबार, २८ फागुन २०७४


म विसं २००१ मा काठमाडौँमा जन्मेँ। मेरो पुख्र्यौली घर नुवाकोटको थान्सिङ हो।बुबाहरू काठमाडौँमा बसाइँ सरेर आइसकेकाले म यही जन्मेँ।बुबाका आठ दाजुभाइ हुनुहुन्थ्यो।मेरो बुबा वेदप्रसाद लोहनी, आमा नारायणीका हामी दुई दाजुभाइ र चार दिदीबहिनी हौँ। म जेठो छोरा हुँ।

 

हाम्रो शिक्षत परिवार हो, जहाँ पढाइलाई धेरै महत्‍व दिइन्थ्यो।मेरो बुबा नेपालमा आरसीसी (रिइन्फोस्र्ड सिमेन्ट कंक्रिट) भवन सुरु गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो।उहाँले पहिलो पटक आरसीसी डिजाइनबाट बनाएको भवन सरस्वती सदन हो। पुरानो भवन भए पनि २०७२ को भूकम्पबाट त्यसमा केही पनि असर परेको छैन।

 

उहाँले भारतको लखनऊबाट इन्जिनियरिङ गर्नुभएको थियो। उहाँले कुलरत्न तुलाधरसँग मिलेर नेपालको पहिलो इन्जिनियरिङ स्कुल पनि खोल्नुभएको थियो। इन्जिनियरिङबाहेक उहाँ व्यापारमा पनि लाग्नुभएको थियो।मैले १४ वर्षमा एसएलसी, १८ वर्षमा बीकम पास गरेँ। नेपालमा फुलब्राइट छात्रवृत्ति आएको दोस्रो वर्ष भएको थियो। बीकम गरिसकेकाले मैले पनि त्यसमा दरखास्त दिएँ।

 

अन्तर्वार्ता भयो र छात्रवृत्तिका लागि छनोट पनि भएँ। छात्रवृत्ति पाएर म थप पढाइका लागि अमेरिका गएँ। त्यहाँ गएर इन्डियाना विश्वविद्यालयबाट दुई वर्षमा एमबीए गरेँ। त्यसको चार वर्षमा युनिभर्सिटी अफ क्यालिफोर्निया लसएन्जलस (यूसीएलए)बाट मैले वित्त शास्त्रमा विद्यावारिधि गरेँ। मेरो विद्यावारिधिको शीर्षक चाहिँ ‘मूल्य वृद्धि र नगद अनुपात’ भन्ने हो।

Lohani-famly

 डा. प्रकाशचन्द लोहनी परिवारका साथमा । 

मेरो त्यो अनुसन्धानलाई विश्वविद्यालयले उत्कृष्ट भनेर स्विकारेको थियो। त्यसपछि प्रसिद्ध अमेरिकी जर्नल 'जर्नल अफ पोलिटिकल इकोनोमी'मा पनि प्रकाशित भएको थियो। विद्यावारिधिपछि मैले एक वर्षजति क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा सहायक प्राध्यापकका रूपमा वित्तशास्त्र पढाएँ। २०२५ सालतिर नेपाल फर्किएँ।

 

२५ वर्षको उमेरमा मृदुलासँग मेरो मागी बिहे भयो। अहिले मेरो परिवारमा श्रीमती मृदुला लोहनी र तीन छोरी जयन्ती, ज्योत्स्ना र प्रज्ञा छन्। श्रीमतीले बीएड गरेकी छिन्। उनले केही समय स्कुलमा पढाइन् पनि। बच्चा जन्मिएपछि उनले शिक्षण पेशा छोड्नुपर्‍यो।

 

जयन्ती र ज्योत्स्नाले अमेरिकाको टेक्सास युनिभर्सिटीबाट कम्प्युटरमा इन्जिनियरिङ गरेका छन्। प्रज्ञाले हावर्ड विश्वविद्यालयबाट आईटीमा स्नातकोत्तर गरेकी छिन्। पढाइपछि सबैले नेपालबाटै अमेरिका पढ्न गएका नेपालीहरूसँग बिहे गरे।

 

जयन्तीको डा. सञ्जय खनालसँग बिहे भएको छ। उनी अमेरिकाको एउटा अस्पतालमा मुटुरोग विशेषज्ञ हुन्। ज्योत्स्नाको प्रशान्त उप्रेतीसँग बिहे भएको छ। उनी एउटा इलेक्ट्रोनिक कम्पनीको म्यानेजरका रूपमा काम गर्छन्। प्रज्ञाको कुमोद नेपालसँग बिहे भएको छ। उनले अमेरिकाको बोस्टनबाट कम्प्युटर साइन्समा विद्यावारिधि गरेका छन्। उनीहरू दुवै जना त्यहीँ काम गरेर बसेका छन्।

 

मैले नेपाल फर्किएपछि त्रिभुवन विश्वविद्यालयको आर्थिक विकास केन्द्र (सेडा)मा सहायक निर्देशकका रूपमा काम गरेँ। त्यहाँ पशुपतिशमशेर राणा पनि काम गर्नुहुन्थ्यो। त्यहीँबाट नेपालको तत्कालीन राजनीतिक अवस्थाबारे टिप्पणी लेख्न सुरु गरेँ। त्यो बेला पञ्चायत सुरु भएको थियो। त्यसविरुद्ध लेख्नेमध्ये म पनि एक हुँ। ‘राजाले सक्रिय शासन चलाउनु हुँदैन, त्यो काम जनप्रतिधिलाई नै दिनुपर्छ’ भन्ने मेरो लेखनको आशय हुन्थ्यो। त्यसले उबेला निकै हल्लीखल्ली पनि मच्चाउँथ्यो। त्यसले गर्दा नै म राजनीतिमा तानिएँ।

 

स्नातक गरेका विद्यार्थीहरूको संगठन 'ग्य्राजुएट कन्स्टिचुएन्सी' भन्ने थियो। नेपालभरका स्नातकले भोट दिएर त्यसमा जम्मा चार जनालाई निर्वाचित गर्थे। सेडाको काम छोडेर म त्यसमा लागेँ। त्यसमा चुनिएँ पनि। जितेर आएपछि पनि मैले ‘राजा नेता बन्न मिल्दैन, भन्ने लाइनलाई निरन्तरता दिएँ। त्यही कारणले मलाई पक्राउ गरी नक्खु जेल पनि पुर्‍याइयो। त्यहाँ म करिब १७ महिना बसेँ। त्यसपछि मेरो राजनीतिक यात्रा झन् अघि बढ्यो।

 

२०४३ देखि ०५९ सम्म अर्थमन्त्री भएँ। आर्थिक उदारीकरण त्यही बेलादेखि मैले सुरु गरेको हुँ। त्यस्तै, परराष्ट्र, कृषि, यातायात र आवास तथा भौतिक योजना मन्त्रीका रूपमा पनि काम गर्ने अवसर पाएँ।

 

जिन्दगीको यो यात्रामा मैले श्रीमतीबाट राम्रो साथ र सहयोग पाएको छु। राजनीतिक यात्रामा पनि उनको ठूलो सहयोग छ। श्रीमतीको सहयोग नहुने हो भने राजनीतिमा टिक्न गाह्रो छ। मान्छे धेरै भेट्नुपर्छ, घरमा धेरै समय दिन सकिँदैन। यो सबै कुरा स्वीकार गरेर उनले मलाई सहयोग गरेकी छिन्। घरको व्यवस्थापन उनले राम्ररी गरेकी छिन्।

 

एउटै बच्चा त्यो पनि सानो हुँदासम्म हामी बुढाबुढी प्रायः शनिबार मोटरसाइकलमा घुम्न जान्थ्यौँ। त्यो पहिलेको कुरा भयो। अहिले भने अलि व्यस्त भइयो। कहिलेकाहीँ उनले समय नदिएको गुनासो गर्छिन्।

 

राजनीतिक जीवनमा धेरै मान्छेसँग सम्पर्कमा आइरहनुपर्छ। निजी जिन्दगी हुँदैन। तर, पनि मैले सकेसम्म जिम्मेवारी निर्वाह गरेको छु। मलाई मेरो परिवार र सन्तानप्रति गर्व छ। उनीहरूले राम्रो गरेर बसेका छन्। उनीहरू हरेक कुरामा असल छन्।

 

हाम्रो परिवारमा ठूलो जमघट दसैं–तिहारका बेला हुन्छ। कुलदेवताको पूजामा पनि सबै जम्मा हुन्छौँ। जमघटका बेला राजनीतिक घटनाक्रमबारे कुराकानी हुन्छ।सकेसम्म हामी श्रीमान्, श्रीमती सँगै खान खाने कोसिस गर्छौं। बिहान नभ्याइए पनि साँझ भने प्रायः सँगै खाना खान्छौँ।

 

घरमा बुढाबुढीबीच पनि राजनीतिबारे सामान्य कुराकानी भइहन्छन्।तर, मेरो कम बोल्ने स्वभावका कारण राजनीतिक घटनाक्रमहरूको 'अपडेट' कम गराएको गुनासो श्रीमतीबाट आउँछ।

 

बिहे गर्दा राजनीतिक करिअर बिग्रिन्छ भन्ने मलाई कहिल्यै पनि लागेन। यद्यपि, दुवै जना राजनीति गर्ने भए घर व्यवस्थापन गर्न चाहिँ गाह्रो हुनसक्छ। प्रेम, स्नेह, विश्वास नभई मान्छे बाँच्न सक्दैन। त्यसका लागि परिवारको आवश्यकता पर्छ।

 

सामान्यतया हामी दुवै जनाको सल्लाहमै घरव्यवहार चल्ने गर्छ।तर, घर व्यवस्थापनमा श्रीमतीकै नीति लागू हुन्छ। उनैले निर्णय गर्छिन्। म त किनाराको साक्षी जस्तो मात्रै हुँ।

मेरा नजरमा मेरो परिवार

 

श्रीमती मृदुला
उनी एकदमै असल छिन्। मान्छेलाई मैलेभन्दा बढ्ता उनी चिन्छिन्।दुःखसुखमा सध‌ैं साथ दिन्छिन्। उनी मसँग कुनै कुरा लुकाउँदिनन्, खुला किताब जस्तै छिन्। मेरो राजनीतिक उद्देश्यलाई राम्रोसँग बुझिदिन्छिन्।

 

छोरीहरू
जयन्ती 
सानै उमेरमा बाहिर पढ्न गइन्। त्यहाँ गएर दुई सेमेस्टरपछि मैले भनेअनुसार नै आफैँ कमाएर पढिन्। उनी आत्मनिर्भर छिन्।

 

ज्योत्स्ना 
नेपालको राजनीतिमा उनको चासो रहन्छ।उनी एकदमै 'अपडेटेड' पनि छिन्। मैले थाहा पाउनुअघि नै उनले अमेरिकामा नेपालको राजनीतिक घटनाबारे थाहा पाइसकेकी हुन्छिन्। राजनीतिक विश्लेषणमा पनि उनको राम्रो दक्खल छ।

 

प्रज्ञा
उनको पढाइ निकै राम्रो छ। आफ्नो काम पनि राम्रो गरेकी छिन्। उनी पछि राजनीतिमा लाग्छिन् कि जस्तो लाग्छ।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि