‘मनोबल दह्रो हुने सन्देश दिनुपर्‍यो’

writer

सम्पूर्ण

बुधबार, २४ भदौ २०७७


प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९)को संकटको समयमा उत्पन्न हुने मनोसामाजिक समस्याको विषयमा मनोचिकित्सकसँग छलफल गरेका छन्। प्रधानमन्त्रीसँगको छलफलमा प्रा.डा सुदर्शन नरसिंह प्रधान, डा. पशुपति महत, प्रा.डा. सरोजप्रसाद ओझा, प्रा.डा. दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा. रोशन पोखरेल लगायत विज्ञ सहभागी थिए।

घरभित्रै लामो समय बस्नुपर्दा, रोजगारी र आम्दानीका स्रोत सुक्दै जाँदा दिक्दारी, त्रास, तनावलगायत मनोसामाजिक समस्या देखा पर्न थालेको छ। सम्भाव्य जोखिमलाई ध्यान दिई प्रधानमन्त्री ओलीले त्यस्तो मनोवैज्ञानिक त्रास अन्त्य गर्ने गरी कार्ययोजना बनाएर अगाडि बढ्न आग्रह गरेका छन्।

यसै सन्दर्भमा मानसिक अस्पताल लगनखेलका प्रमुख मनोचिकित्सक डा. अनन्त अधिकारीसँग अन्नपूर्णकर्मी दिनेश गौतमले गरेको कुराकानी :

प्रधानमन्त्रीसँगको भेटवार्ता कस्तो रह्यो ?

कोरोनाको महामारीसँगै मानसिक समस्या बढेकामा प्रधानमन्त्रीज्यूलाई चासो भएछ। म्याडम (राधिका शाक्य) पनि मानसिक स्वास्थ्य उपचारमा सक्रिय हुनुहुँदो रहेछ। मनोचिकित्सक समाजका तर्फबाट प्रा. सुदर्शनराजसिंह प्रधान र मनोविद्का तर्फबाट डा. पशुपति महतले प्रस्तुति दिनुभयो। करिब दुई घण्टा छलफल भयो।

प्रस्तुतीकरण कुन–कुन पक्षमा केन्द्रित रह्यो ?

मानसिक स्वास्थ्यको वर्तमान अवस्थाका विषयमा प्रस्तुति भयो। हामीले काम गर्दाका अप्ठ्यारा र बाधाहरू, महामारीसँगै बल्झेको मानसिक स्वास्थ्य समस्यालगायत विषयमा प्रस्तुतीकरण केन्द्रित भएको थियो।

प्रधानमन्त्रीको चासो के कुरामा थियो ?

कोरोना संक्रमणसँगै मनोसामाजिक समस्याका कारण केही विचलन देखा परेको छ। जनतालाई विचलित हुनबाट जोगाउन कस्तो कदम चाल्न सकिन्छ ? यसका लागि मनोचिकित्सक एवं मनोविद्को भूमिका कस्तो हुनुपर्छ र कसरी प्रभावकारी भूमिका निर्वाह गर्न सकिन्छ ? यस्ता विषयमा प्रधानमन्त्रीज्यूको चासो थियो।

मनोसामाजिक समस्या न्यूनीकरणमा सञ्चारमाध्यमको उपयोग गर्न सकिन्छ कि ?

हो। यसमा प्रधानमन्त्रीज्यूले पनि सुझाव दिनुभयो। मान्छेमा कोरोना संक्रमण हुने हो कि भन्ने डर छ। उपचारमा पहुँच पुग्न सकेको छैन। यसमा जतिसक्दो मिडियाको उपयोग गर्न सकिन्छ। पत्रपत्रिका, रेडियो, टेलिभिजनको उपयोग गरी चेतना फैलाउन सकिन्छ। विचलित मनलाई शान्त बनाउन सकिन्छ। प्रधानमन्त्रीज्यूले कार्ययोजना बनाउन सुझाव दिनुभएको छ।

सरकारले दैनिक रूपमा कोरोना संक्रमित र मृत्यु हुनेको तथ्यांकगत विवरण प्रस्तुत गरिरहेको छ। के यसमा सुधार गर्नुपर्ने खाँचो देख्नुहुन्छ ?

जनतालाई सुसूचित गराउन संक्रमित र मृत्युको विवरण त दिनु परिहाल्यो। साथै निको भएका व्यक्तिको अनुभव पनि दिनुपर्छ। संक्रमित र मृत्युको विवरण मात्र दिँदा त्रास फैलन सक्छ। कोरोनाबारे सुसूचित गराउनुका साथै मनोबल दह्रो हुने सन्देश प्रवाह गर्नुपर्छ। प्रधानमन्त्रीको पनि यस्तै खालको आशय थियो।

कोरोनाका कारण के कस्ता मानसिक समस्या देखा परेका छन् ?

सामाजिक सम्बन्धबाट अलग भएको झन्डै ६ महिना भयो। सुरुमा पहुँच नहुँदा बिरामी आएनन्। पछि उपचार गर्न आउने नयाँ बिरामीमा चिन्ता र तनावजन्य समस्या पाइयो। मादक पदार्थ सेवनका कारण निम्तिने मानसिक समस्या पनि बढ्दो छ। बिरामीको औषधि छुटेको छ। रोग बल्झिएर कडा मानसिक समस्या पनि देखिन थालेको छ। भर्ना गर्नुपर्ने बिरामी धेरै हुँदा अस्पतालले धान्नै नसक्ने अवस्था पनि आयो।

 

बालबालिका, युवा र वृद्धवृद्धामा हुने मानसिक समस्या उस्तै हुन्छ कि फरक ?

मनोरोगले उमेर भन्दैन। बालबालिकामा निद्रा नलाग्ने र झिँझिने (इरिटेसन) समस्या देखिन्छ। सहरका बालबालिकामा सोसल मिडिया तथा इन्टरनेट एडिक्सनको समस्या देखिएको छ। यस्तो समस्या स्कुले बालबालिकामा बढेको छ। युवा समूहमा चिन्ता र तनावजन्य समस्या बढेको छ। एन्जाइटी, डिप्रेसन र एडजस्टमेन्ट डिसअर्डरको समस्या पनि बढेको छ। ज्येष्ठ नागरिकमा पनि तनावजन्य समस्या बढेको पाइन्छ।

कोरोनाले गर्दा फरक खाले मनोरोग पनि देखा परेको छ। कतिपय बिरामीमा कोरोनाबाट जोगिन ५ वटा मास्क लगाउने र हात धोइरहने बानी देखिएको छ। आधाभन्दा बढी समय हात धोइरहँदा हातमा दाग आउनेजस्तो अब्सेसिभल कम्पल्सिभ डिसअर्डर खालको समस्या भएका बिरामी पनि बढ्न थालेका छन्।

वैदेशिक रोजगारीबाट फर्केका र फर्कन नपाई विदेशमै रहेका व्यक्ति र तिनका परिवारमा कस्तो समस्या देखिन सक्छ ?

यो अर्को ठूलो विकराल पाटो हो। विदेश गएपछि मनोरोगको सिकार हुने सम्भावना बढिरहेको एक अध्ययनमा देखिएको छ। दुई वर्षअघि कोरियामा रहेका नेपालीमा आत्महत्याको घटना बढेको थियो। यो समस्या अहिले पनि छ। दुबईमा काम गरेर फर्केका मानसिक समस्याका बिरामी केही दिनअघि उपचार गर्न आउनुभएको थियो। यस्तो समस्या धेरै छ।

घरमै बसिरहनुपर्दा धेरैमा मनोटोनस बढेको हुन सक्छ। यसले गृहकलह निम्त्याउने सम्भावना कत्तिको छ ?

सक्रिय दिनचर्या छैन। कमाउनुपर्ने व्यक्ति घरमै बसिरहेका छन्। जीवन चलायमान छैन। मादक तथा लागू पदार्थलगायत कारणले पनि घरेलु हिंसाका घटना देखिन थालेको छ। समग्रमा कोरोना संक्रमणले जति असर पारेको छ, त्योभन्दा कयौं गुणा बढी मानसिक स्वास्थ्यमा असर परेको छ।

आइसोलेसन एवं क्वारेन्टाइनमा बसिरहेका नागरिकमा मनोपरामर्शको आवश्यकता कत्तिको छ ?

शारीरिकसँगै मानसिक स्वास्थ्यको ख्याल गर्नुपर्छ। मनोस्वास्थ्यलाई सबल राख्नुपर्छ। आइसोलेसन एवं क्वारेन्टाइनमा बसिरहेका व्यक्तिलाई पनि बेला–बेला मनोपरामर्श दिनु आवश्यक छ।

मनोरोगबाट निको हुन औषधि नै सेवन गर्नुपर्छ ?

समयमै उचित मनोपरामर्श पाउन सके धेरै समस्या टार्न सकिन्छ। समयमै उपचार भए छिटो निको हुन्छ। अन्यथा मनोरोगको गहनता बढ्दै जान्छ। मनोरोग निको पार्न औषधि आवश्यक पर्छ भन्ने छैन। समयमै उपचार भए पुरानै अवस्थामा फर्कन सकिन्छ। ढिलाइ भए आत्महत्या गर्न सक्ने सम्भावना पनि आउन सक्छ।

परिवारका सदस्यको भूमिका कस्तो हुनुपर्छ ?

कुनै पनि व्यक्तिले त्यत्तिकै आत्महत्या गर्दैन। जीवनकै माया लाग्न छाड्नु भनेको मानसिक समस्या भएको हुन सक्छ। यसमा सामाजिक र आर्थिक कारण नै जिम्मेवार छन्। मानिसले आफूलाई समाप्त पार्ने विषयमा सोच्छ भने त्यसको केही पूर्वसंकेत दिन्छ। टोलाएर बस्ने हुन्छ। पहिला रमाइलो लाग्ने कुरामा रमाउन छोड्छ। जीवनप्रति वितृष्णा बढाउने कुरा गर्छ। यस्तो स्थितिमा मनोसामाजिक परामर्श आवश्यक पर्छ। परिवारका सदस्यले पनि आत्महत्याबाट जोगाउन ठूलो भूमिका निर्वाह गर्न सक्छन्।

विश्व आत्महत्या रोकथाम दिवस (सेप्टेम्बर १०)को पूर्वसन्ध्यामा के सन्देश दिनुहुन्छ ?

निद्रामा गडबड हुन थाल्यो। बिनाकारण बेचैनी हुन थाल्यो। ससाना समस्यामा रिस उठ्यो र झर्को लाग्यो भने पनि मानसिक समस्या सुरु भएको हुन सक्छ। त्यसतर्फ परिवारका सदस्य सचेत हुनुपर्छ। समस्या लुकाउनु हुँदैन। जुनसुकै उमेरको व्यक्तिमा पनि मानसिक समस्या तथा मनोरोग हुनसक्छ। उपचार गरे मानसिक समस्या निको हुन्छ भन्ने सन्देश दिन चाहन्छु।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि