रिसाहा र कुण्ठाग्रस्त (अन्)सोसल मिडिया

writer

सृजना खड्का

आइतबार, १८ साउन २०७७


  • संकीर्ण मान्छेहरूको भीड त बन्दै छैन सामाजिक सञ्जाल ? 
  • फेक आईडी बनाई–बनाई किन खेदिन्छ महिलालाई ?
  • सञ्जालको हूलमूलमा कसरी जोगाउने ज्यान ? 

-   छक्का पञ्जाले आफूलाई एक्का र बास्सासँग नदाँजेकै राम्रो !
-   आजदेखि दीपाश्रीको फिल्म हेरेर समय र पैसा खेर फ्याँकिदैन
-   दुई–तीनटा फिल्म हिट भयो भन्दैमा यत्रो फुर्ती ! राजेश हमालजस्तो चलचित्र जगत्को महानायकलाई जे पाए त्यही भन्ने ? 
-   नेपाली उखान याद होला नि, दीपाजी ! ‘बोल्न पायो भन्दैमा प्याच्च नबोल्नू, बस्न पायो भन्दैमा थ्याच्च नबस्नू।’
-   राजेश हमाल नभए को ? दीपकराज गिरी होला हैन तिम्रो महानायक ?

अभिनेता राजेश हमाललाई ‘महानायक’को उपाधि दिनु गलत भएको बयान दिएपछि अभिनेत्री दीपाश्री निरौलामाथि यस्ता खाले टीकाटिप्पणी सुरु भए। यी ‘कमेन्ट’ले कम्तीमा शिष्टता छोडेका थिएनन्। तर, हमालका सयौँ फ्यानले अश्लील भाषामा, ‘मुखै छोडेर’ निरौलामाथि जुन प्रहार गरे, त्यो हाम्रो समाजको चेतनास्तरको पनि प्रतिविम्ब हो। उनीमाथि सोसल मिडिया एकाएक उग्र रूपमा उर्लियो। उनीमाथि गरिएका टीकाटिप्पणी कतिपय पचाउनै नसकिने खालका छन्। अहिलेसम्म पनि तल्लो स्तरका गाली र कमेन्ट गरेर उनलाई खेद्न छाडिएको छैन। 

निरौलाले एक अन्तर्वार्तामा ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि उनलाई उडाउन र उनको उछित्तो काढ्न थालिएको थियो। उनले बोलेको उक्त भिडियोको अंश भाइरल भएपछि हमालका प्रशंसक उनीमाथि जाइलागेका थिए। 

विवादमा तानिएपछि उनले फेसबुकमा लामो स्ट्याटस लेख्दै माफी पनि मागिन्। तर, अवस्था सामान्य भएन। उनीमाथि गालीगलौजको वर्षा जारी रह्यो। कोरोनाका कारण फिल्म क्षेत्रका प्राविधिकहरू अप्ठ्यारोमा पर्दा अन्य फिल्मकर्मीले सहयोग गरे, पनि महानायक हमालले नगरेका कारण आफूले सो टिप्पणी गरेको बताएकी थिइन्। 

अभिनेत्री निरौलामाथि यसरी खनिनु उनीमाथि अन्याय भएको ठहर गर्दै चिन्तक आहुति कान्तिपुर दैनिकमा ‘महानायकको फजुल बहस’ शीर्षकको लेखमा भन्छन्, ‘अभिव्यक्ति स्वतन्त्रताको अति साधारण आम समझदारीलाई समेत आत्मसात् नगरी चलेको महानायकसम्बन्धी बहसमा क्षमायाचना र माफी बक्सको प्रकरण त्यस्तो ऐना हो, जहाँ सिनेमा क्षेत्रको बौद्धिकताको डरलाग्दो स्तर छर्लंग देखिन्छ।’ 
०००

केही समयअघि सोसल मिडियाको शिकार अभिनेत्री वर्षा राउत पनि भइन्। नेपाल–भारत सीमा विवादका सन्दर्भमा दिएको एक अभिव्यक्तिले उनलाई विवादमा तान्यो। उनले युट्युब अन्तवार्तामा दुई देशको झगडाले भारतीय साथीहरूसँग आफूलाई बोल्न अप्ठ्यारो भएको बताएकी थिइन्। मिडिया र सोसल मिडियामा आलोचित बन्न पुगेपछि उनले स्पष्टीकरण दिँदै माफी मागेकी पनि थिइन्। यसले आफूलाई भावनात्मक रूपमा ठेस पुगेको भन्दै उनले आफ्नो देश र राष्ट्रियताप्रतिको सम्मानमा अलिकति पनि नचुकेको बताएकी थिइन्।

तापनि, उनलाई तल्लो स्तरको भाषा प्रयोग गर्दै गालीगलौजमा लामो समयसम्म सोसल मिडिया प्रयोगकर्ता उत्रिए  ‘लिम्पियाधुरा फिर्ता गर्, त्यसको बदलामा वर्षालाई लैजा’, ‘वर्षा राउतलाई देश निकाला गराँै’, ‘हिजोसम्म वर्षाको फ्यान थिएँ, आजबाट छैन’, ‘यो वर्षा भन्ने हिरोइनको नेपाली नागरिकता खारेज गर्नुपर्छ’ भन्नेजस्ता अतिवादी र परपीडक अभिव्यक्ति सामाजिक सञ्जालमा उनीविरुद्ध ओइरिए। यसले आफूलाई ठूलो मानसिक तनाव दिएको राउतले बताउँदै आएकी छिन्।
०००

सोसल मिडियामा अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाहबीच दोहोरी नै चल्यो। उनीहरूले एकअर्कालाई आरोप लगाउँदै फिल्मको छायांकनका क्रममा भएको एकअर्काको व्यवहारमाथि टिप्पणी गरे। हालै केसीले शाहलाई १० करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै मानहानिको मुद्दा हालेका छन्। 

उनीहरूको यो विषयलाई लिएर पनि सामाजिक सञ्जाल निकै तात्यो। जापानमा आयोजित एक अवार्ड कार्यक्रममा केसीले घिनलाग्दो व्यवहार गरेको भन्दै शाहले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेकी थिइन्। यसकै आधारमा उनले धेरै गाली खानुप¥यो। 
०००

अभिनेत्री पूजा शर्माले एक अन्तर्वार्तामा नेपालमा ७२ प्रदेश र १४ वटा जिल्ला भएको बताएपछि ट्रोल हुन पुगिन्। आफ्नै देशको जिल्ला र प्रदेशजस्तो सामान्य ज्ञानसमेत नभएको भन्दै सोसल मिडिया प्रयोगकर्ताले उनको मजाक उडाए। त्यही अन्तर्वातामा उनी राजनीतिबारे गरिएका केही प्रश्नमा पनि चिप्लिएकी थिइन्। त्यसमा पनि उनले तथानाम गाली खानुपरेको थियो।
०००

सञ्जालः आक्रोशको पोखरी 
मनोविद् गोपाल ढकाल आजभोलि मानिसले आफ्ना कुण्ठा, आक्रोश, उत्तेजना, आवेग सबै सोसल मिडियामार्फत पोख्न थालेको बताउँछन्। उनी सामाजिक सञ्जाल आक्रोशको पोखरी बनेको देख्छन्। तर, मानिसहरू उग्र हिसाबले प्रस्तुत हुनुमा उनीहरूको दोष नभएको उनको धारणा छ। ‘सोसल मिडियामा जति पनि आक्रोश पोखिइरहेको छ, त्यो मानिस आफँैले जानेर गरेको होइन,’ उनी भन्छन्, ‘कोभिड–१९ ले गर्दा पहिलाभन्दा नकारात्मक सोच र तनाव बढेर गएको छ। मानिस निराश भएका छन्। त्यसैले उनीहरूले सकारात्मक कुरालाई पनि नकारात्मक देख्न थालेका छन्।’ उनका अनुसार मानिसहरू अहिले फुर्सदिला छन्। लामो लकडाउनले एकअर्कासँग भेटघाट गर्न पाएका छैनन्। त्यसैले बाहिरीभन्दा पनि भर्चुअल संसारलाई आफ्नो ठानिरहेका छन्। सोसल मिडियालाई गुनासो पोख्ने र आलोचना गर्ने माध्यमका रूपमा प्रयोग गरिरहेका छन्। 

अरूलाई नराम्रो देखाएर आफू त्योभन्दा राम्रो छु भन्ने प्रवृत्तिले अन्ततः व्यक्ति आफैँलाई हानि पु¥याउने मनोविद् ढकालको ठहर छ। ‘सामाजिक सञ्जाललाई प्रयोग गर्न जानिएन भने त्यो निकै घातक हुन्छ,’ उनी भन्छन्, ‘सही तरिकाले चलाउन नजान्दा मान्छेहरू आजभोलि आफ्नो पोल र कमजोरी आफँै खोलिरहेका छन्।’ स्वस्थ मानिसले कहिल्यै घृणा फैलाउन नसक्ने उनी बताउँछन्। ‘जसले सोसल मिडियामा घृणा फैलाउने काम गरिरहेको छ, त्यो व्यक्ति आफैँमा डिप्रेस्ड हुन्छ,’ उनी भन्छन्। 

सोसल मिडियामा जसलाई एकतर्फी आक्रमण भइरहेको छ, उनीहरूलाई मानसिक आघात पुग्ने ढकाल बताउँछन्। ‘वास्तविक जीवनमा होस् वा सामाजिक सञ्जालमा, कसैलाई बेइज्जती गर्न खोजिँदा व्यक्तिलाई मानसिक आघात पुग्छ,’ उनी भन्छन्, ‘कतिपयले आत्महत्याको बाटो पनि रोज्न सक्छन्। देख्दा सामान्य लागे पनि भोलिका दिनमा यस्ता क्रियाकलापले ठूलो दुर्घटना निम्त्याउन सक्छन्।’

संकीर्ण सञ्जाल 
समाजवादी पार्टीकी नेतृ सरिता गिरिलाई पार्टीले निष्कासन ग¥यो। त्यसपछि उनी सांसद् रहिनन्। उनले संसद्मा पार्टीको ‘ह्विप’ उल्लंघन गरेकी थिइन्। लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा उनले संशोधन प्रस्ताव गर्दा गराएकी थिइन्। पार्टीले प्रस्ताव फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन्।

यही सन्दर्भमा मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले गिरिलाई पार्टीबाट निष्कासन गरिनु खेदजनक भएको भन्दै ट्वीट गरिन्। संसद्मा आफ्नो धारणा स्वतन्त्र ढंगले राख्न पाइने कुरा उल्लेख गरेकी थिइन्। गिरिलाई पार्टीबाट निकाल्नु अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मान्यताविपरीत भएकाले निर्णय फिर्ता लिन अन्सारीले अनुरोध गरेकी थिइन्। सो ट्वीट गर्नेबित्तिकै उनीमाथि सोसल मिडिया प्रयोगकर्ताहरू आक्रामक भएर खनिए।

‘मेरो देशभन्दा ठूलो कसैको मानव अधिकार होइन’, ‘सरिता गिरिले नक्सा र भाषाप्रति गरेको अपराध चाहिँ कुन मानव अधिकार हो, अन्सारीजी’, ‘मोहना अन्सारी मुर्दावाद’, ‘अन्सारी भारतीय एजेन्ट हो, उसको नागरिकता छानबिन गर्नुपर्छ’ जस्ता प्रतिक्रिया त सामान्य भए, अपाच्य गाली गरेर अन्सारीलाई खेद्नुसम्म खेदियो। 

अन्सारीलाई समाज र सामाजिक सञ्जाल दुवै पूर्वाग्रही लाग्छन्। ‘संकीर्ण विचार भएका मानिस जताततै छन्,’ उनी भन्छिन्, ‘मानव अधिकारको कुरा आउँदा जात, धर्म र राष्ट्रियतालाई केही पर राखेर हेर्नुपर्ने हुन्छ। मैले आफ्नो कुरा राख्दा जुन तरिकाले खेदियो, त्यसले समाजको कुरूप चरित्र देखाउँछ।’ सोसल मिडियामा फेक आईडी बनाएर, मखुन्डो धारण गरेर अरूलाई आक्रमण गर्ने प्रवृत्तिलाई निस्तेज गर्नुपर्ने आवश्यकता उनले देखेकी छिन्। ‘हामी केही लेख्दा वा बोल्दा एकदमै ध्यान दिन्छाँै,’ उनी भन्छिन्, ‘आफूले लेखेको वा बोलेको कुराको जवाफदेही हुन्छु भनेर आफ्ना कुरा राख्दा पनि त्यसलार्ई नकारात्मक बनाएर फैलाउने काम गरियो। यसले एउटा व्यक्तिलाई एकदमै धेरै असर गर्छ।’ 

अन्सारीलाई आफूले मात्र नभई अभिनेत्री निरौलाले भोगेको पीडा पनि असह्य लागेको छ। ‘उनीसँग ज–जसले माफी मागे पनि त्यसको मूल्य चुकाउन सक्दैनन्,’ उनी भन्छिन्, ‘यस्ता कुराले भोलिका दिनमा शिर निहुराएर हिँड्नुपर्ने वातावरण सिर्जना गरिदिन्छ। व्यक्तिको निजी जीवनदेखि करिअरसम्मलाई यसले असर गर्छ।’ सोसल मिडिया सबैको पहुँचमा भएकाले यसका सकारात्मक र नकारात्मक दुवै पक्ष रहेको उनको धारणा छ। सोसल मिडिया एउटा माध्यम भए पनि मिडिया भने नभएको उनको भनाइ छ। ‘त्यसैले पनि म यसमा आउने कुराहरूलाई गम्भीरतापूर्वक लिन्नँ,’ उनी भन्छिन्, ‘सोसल मिडिया जवाफदेही छैन। कसैले गल्ती गरेर माफी मागिसकेपछि सोसल मिडिया फेरि पनि गाली मात्रै गरेर बसिरहन्छ।’

ढाड प्रकरणले तनावग्रस्त युवती 
केही समयअघि सरकारी नम्बर प्लेटको मोटरसाइकलमा यात्रारत पुरुष र महिलाको एउटा तस्बिर सामाजिक सञ्जालमा फिँजियो। महिलाले लगाएको पोशाकलाई लिएर धेरै थरी टीकाटिप्पणी भए। काठमाडौँ, बबरमहलस्थित निजामती किताबखानातर्फ जाने क्रममा कसैले पछाडिबाट उक्त तस्बिर खिचेको थियो।

पछि मोटरसाइकल धादिङस्थित गल्छी गाउँपालिकाको भएको पत्ता लाग्यो। मोटरसाइकलमा सवार पुरुष र महिला सोही गाउँपालिकामा कार्यरत इन्जिनियर र सब–इन्जिनियर थिए। केही महिनाअघि मात्रै जागिर सुरु गरेका उनीहरू प्रशासनिक कामले काठमाडौँ आएका बखत मोटरसाइकलमा सँगै हिँडेका थिए।

पूर्वसचिव भीम उपाध्यायले ‘सरकारी मोटरसाइकलको दृश्य’ भन्दै पोस्ट गरेको तस्बिर केही बेरमै फेसबुकभरि फैलिएको थियो। अहिले उक्त तस्बिरलाई लिएर निन्दा, आलोचना गर्नेदेखि ‘आफ्नो ढाड, आफ्नो अधिकार’ भन्दै समर्थन गर्नेसम्म छन्। तस्बिरमा कमेन्ट गर्दै कसैले ‘घुम्नै गए पनि अलि सुहाउँदो कपडा लगाएर जानू नि’ भनेका छन् भने कसैले ‘सरकारी कर्मचारी भएर मोडलको जस्तो कपडा लगाएपछि भाइरल हुनु कुन ठूलो कुरा भयो र ?’ भन्नेजस्ता अभिव्यक्ति दिएका छन्।

तस्बिर भाइरल भएपछि ती महिला कर्मचारीले आफूलाई मानसिक तनाव भएको बताएकी छिन्। ‘त्यो फोटोले मलाई मानसिक तनाव भएको छ,’ उनले भनेकी छिन् ‘सोच्दै नसोचेको कुरा यसरी भाइरल हुँदा म र मेरो परिवारलाई निकै अप्ठ्यारो परेको छ।’

‘घरभित्रको हिंसा घरबाहिर आयो’ 
महिला अधिकारकर्मी निर्मला ढकाल सामाजिक सञ्जालमा खेदिनेमा अधिकांश महिला भएको बताउँछिन्। ‘समाजले पहिलादेखि नै महिलालाई वस्तुका रूपमा प्रस्तुत गर्दै आएको छ,’ उनी भन्छिन्, ‘पहिला हिंसा घरभित्र हुन्थ्योे। अहिले त्यही हिंसा सामाजिक सञ्जालमा देखिन्छ। घरभित्रको हिंसा घरबाहिर आएको हो। हिंसाको मोडल परिवर्तन भएको हो।’ सोसल मिडियामा आफ्ना विचार राख्न थालेकाले महिलाहरू निशानामा पर्न थालेको उनी बताउँछिन्। ‘हिजो छोटो लुगा लगाउँदा बुबा, दाजु, श्रीमान्को गाली खान्थे,’ उनी भन्छिन्, ‘आज समाजका मानिसबाट गाली खाइन्छ। फेक आईडी बनाई–बनाई अहिले महिलालाई झनै दबाउन र सताउन थालिएको छ।’ कोही महिलाले आफूमाथि हिंसा भयो भनेर आवाज उठाउँदा पनि सोसल मिडिया प्रयोगकर्ताले उनीमाथि नै लाञ्छना लगाएको देख्दा अधिकारकर्मी ढकाल एकदमै दुःखी हुन्छिन्। ‘जे कुरामा पनि महिलालाई नै दोष दिने मानसिकता अहिले पनि परिवर्तन भएको छैन,’ उनी भन्छिन्, ‘अहिले झन् सोसल मिडिया हिंसा गर्ने ठूलो प्लेटफर्म भएर निस्किएको छ।’

हिजोको घरभित्रको पीडाले भन्दा आज सोसल मिडियाको पीडाले मानिसहरू डिप्रेसनमा जाने, एक्लो अनुभव गर्ने अधिकारकर्मी ढकालको ठहर छ। भुवन केसीलाई लिएर केही दिनअघि अधिकारकर्मी उनले एउटा स्ट्याटस लेखिन्। ‘त्यसको बदलामा मलाई कल्पनै गर्न नसक्ने गाली आए,’ उनी भन्छिन्, ‘पब्लिक फिगरको कुरा बाहिर आउँदा त्यसलाई लिएर आफ्नो विचार राख्न पाइन्छ। तर, यस्तो कुरामा पनि अंकुश लगाउन खोजिन्छ। बोलेको कुरा सही हुँदाहुँदै पनि यहाँ महिला भएकै कारण कमजोर पार्न खोज्नेहरू धेरै छन्।’

सञ्जाल अर्थात् भीड 
मनोविद् ढकाल सामाजिक सञ्जाललाई ‘बाघ र युवक’को कथासँग जोड्छन्। ‘युवकले बाघ आयो ! बाघ आयो ! भनेर समाजका मान्छेलाई बोलाएर पछि साँच्चै बाघ आएपछि कोही नआएको कथा हामी सबैले सुनेकै छाँै,’ ढकाल भन्छन्, ‘सोसल मिडियामा पनि त्यस्तै भएको छ। हामीले हुँदै नभएको कुरालाई बाघ आयो भनेर प्रचार गरिरहेका छौँ। अन्ततः त्यो बाघ आउँछ र हामीलाई सिध्याउँछ।’

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानसिक समस्या पनि बढ्दै गएको उनी बताउँछन्। ‘अहिले सेलिब्रिटीदेखि सर्वसाधारणसम्म बुलिइङबाट पीडित छन्,’ उनी भन्छन्, ‘सामान्य घटनालाई पनि नकारात्मकतातिर मोड्ने जमात एकदमै सक्रिय भइरहेको छ। सानो कुरामा अरूलाई खेदेर आफू आनन्दित हुने मनोविज्ञान मानिसमा छ। मानिसहरू अरूलाई दुःख दिने, अरूको दुःखमा रमाउने गरिरहेका छन्। 

सोसल मिडियामा छनोट नगरी जे भेट्यो, त्यही ग्रहण गर्ने भएकाले यस्तो खालका समस्या देखिएको ढकाल बताउँछन्। ‘सोसल मिडियामा आफूलाई चाहिने कुरा पनि आउँछ, नचाहिने कुरा पनि आउँछ,’ उनी भन्छन्, ‘त्यसमा हामीले आफूलाई चाहिने मात्र लिनुपर्छ। तर, विडम्बना के छ भने वास्तविकताबाट भागेर भर्चुअल सम्बन्ध र संसारमा बढी रमाइरहेका छाँै। परिवार र आफन्तलाई विश्वास गर्न छाडेर सञ्जालबाट सहयोग मिल्ला भन्ने भ्रम पालेर बसिरहेका छौँ।’ उनका अनुसार सामाजिक सञ्जालमा आउने लाइक, कमेन्ट र सेयरलाई मानिसले आफ्नो प्रतिष्ठासँग जोडेर हेर्न थालेका छन्। यसो हुँदा सञ्जालमा सकारात्मक मात्र नभई नकारात्मक चिजहरूको पनि प्रचारप्रसार हुने गर्छ। ‘यसले पूरै समाजलाई नकारात्मकतातिर डोहो¥याउन सक्छ,’ उनी भन्छन्, ‘सञ्जालमा कसैले आफ्नो समस्या राख्यो भने उसलाई उडाउनतिर नभई मद्दत गर्नतिर लाग्नुपर्छ। कुनै पनि कुराको अर्थ नबुझी अफवाहको पछि लाग्नु हुँदैन। घटनापछिको सत्यता के हो, त्यसमा ध्यान दिनुपर्छ।’ 

लकडाउनपछि मानिसहरू फुर्सदमा भएकाले उनीहरूले पहिलाका कुरा सम्झिएर मनको बह पोख्ने गरेको उनी बताउँछन्। ‘आफ्नो बह पोख्नै नहुने भन्ने होइन,’ उनले भने, ‘तर, कहाँ, कसरी पोख्ने भन्ने हो। सोसल मिडियामा सकारात्मक रूपमा पोख्न नजान्दा त्यसले दुुर्घटना निम्त्याउन सक्छ। त्यसैले भर्चुअल सहायताभन्दा कानुनी सहायता लिनु राम्रो हुन्छ। कसैलाई फेसबुकमा केही भन्नुभन्दा ऊविरुद्ध मुद्दा हाल्नु राम्रो हुन्छ। न्याय अदालतले दिने हो, फेसबुकले होइन।’ 

सोसल मिडिया भीडको मनोविज्ञानबाट पे्ररित भएको मनोविद् ढकाल बताउँछन्। भीडको आँखा हुँदैन। भीडले विवेक पु¥याउँदैन। भीड अनियन्त्रित हुन्छ। सामाजिक सञ्जाल भनेको अनियन्त्रित भीड हो। ‘समाजिक सञ्जाल अदृश्य र अप्रत्यक्ष भीड हो,’ उनले भने, ‘यो भीडमा सम्हालिनु जरुरी छ। ‘अनिकालमा बीउ जोगाउनू, हूलमूलमा ज्यान जोगाउनू’ भनेझैँ अहिलेको समयमा सोसल मिडियाको हूलमूलबाट ज्यान जोगाउनुपर्छ। शारीरिकभन्दा पनि मानसिक ज्यान जोगाउनुपर्छ।’ 

मनोविश्लेषक वासु आचार्य पनि सोसल मिडियालाई भीड मान्छन्। भन्छन्, ‘सोसल मिडियाको भीड एउटै कुरालाई कसैले राम्रो भन्यो भने त्यसैको पछि लाग्ने र कसैले फेरि त्यही नराम्रो भन्यो भने नराम्रो भन्दै पछि लाग्ने गर्छ। सरकारी मोटरबाइकमा ढाड देखाएर हिँडेकी युवतीमाथि रिसाएको सामाजिक सञ्जाल फेरि अहिले ‘मेरो ढाड मेरो अधिकार’ भन्दै हिँडिरहेको पनि हामीले पाएका छौँ।’ मानिस आफ्नो विवेक र दृष्टिकोणमा स्पष्ट नभएपछि क्षणिक आनन्दका लागि भीडको पछि लाग्ने उनको तर्क छ। 

न्यू मिडिया अभियन्ता प्रवेश सुवेदी सोसल मिडिया प्रयोगकर्ताले आलोचना र बेइज्जतीबीच फरक छुट्याउन जान्नुपर्ने बताउँछन्। ‘सार्वजनिक व्यक्ति वा विषयमा आलोचना गर्नु, असन्तुष्टि पोख्नु स्वाभाविक हो,’ उनी भन्छन्, ‘कसैले फरक मत राख्यो भनेर त्यसमा अप्ठ्यारो मान्नु हुँदैन। तर, त्यो बेइज्जतीको तहमा पुग्यो भने अपराध हो। कानुनले पनि त्यसलाई दण्डनीय भन्छ।’ विचार व्यक्त गर्ने क्रममा कसैलाई गाली–बेइज्जती गर्न वा कानुनविपरीत जान नहुने उनी बताउँछन्। ‘कुन हदसम्म सामाजिक सरोकारको विषय हो र कुन हदसम्म व्यक्तिगत गोपनीयताको कुरा हो भनेर बुझ्नुपर्छ,’ सुवेदी भन्छन्, ‘कसैको आलोचनाको नाममा बेइज्जती गर्नु हँुदैन।’  


‘मलाई सामाजिक सञ्जालमा देशद्रोहीझैँ बनाइयो’ 

वर्षा राउत, अभिनेत्री 
सामाजिक सञ्जालमा आफ्नाबारे आउने नकारात्मक कुराले हामी कलाकारलाई मात्र नभएर हरेकलाई असर गर्छ। अरूलाई फरक पर्ने, सेलिब्रिटीलाई फरक नपर्ने भन्ने हुँदैन। कोभिड–१९ ले गर्दा लामो समय लकडाउन भयो। मानिसहरू एकदमै फुर्सदिला भए। त्यसले पनि ‘खाली दिमाग शैतानको घर’ भनेझैँ भएको छ। सोसल मिडियालाई कुण्ठा र निराशा पोख्ने ठाउँ बनाइएको छ। 

सबैको बोल्न पाउने अधिकार हुन्छ। मनमा लागेका कुरा बोल्दा मलाई देशद्रोहीजस्तै बनाइयो। एकदमै नराम्रो लाग्यो। एकदमै गाह्रो पनि भएको थियो। कतिपय चिनजानका मानिसले समेत मलाई नराम्रो सोचे। 

आफूमाथि थोपरिएका आक्रोश र लाञ्छनाबाट बाहिर निस्किनका लागि परिवारको ठूलो हात हुँदो रहेछ। सोसले मिडियाले मलाई लखेट्दा परिवारका सदस्यले एकदमै सपोर्ट गर्नुभयो। तर, सबैका परिवार मेरोजस्तो नहुन सक्छन्। धेरैले व्यंग्य गर्ने, उडाउने पनि गर्न सक्छन्। 

कन्ट्रोभर्सी हुँदा जतिबेला पनि फेसबुकमा मात्रै ध्यान हुन्थ्यो। कसले के लेख्यो भन्नेमा आँखा गइहाल्थ्यो। नराम्रो कुरा लेखेको हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि हेर्न मन लाग्थ्यो। अहिले वास्तै लाग्दैन। सोसल मिडियाबाट टाढा बसिरहेकी छु। त्यहाँ नकारात्मक कुरा मात्रै फैलिरहेका छन्। पुराना अन्तरर्वार्ता पनि खोतली– खोतली हेरेर ‘त्यो बेलामा यसले यस्तो भनेकी रहिछ, त्यसले त्यस्तो भनेकी रहिछ’ भनेर गालीगलौज गर्न थालिएको छ। बोलिएका नराम्रा कुरालाई खोजेर भाइरल बनाउने काम भइरहेको छ। त्यसैले मैले सोसल मिडिया धेरै चलाउन छाडेँ। अहिले सोसल मिडियामा निश्चित मानिससँग मात्र जोडिएकी छु। उनीहरूसँग मात्र कुरा गर्छु। मेसेन्जरमा च्याट गर्छु, तर फेसबुक एप खोलेर न्युज फिड भने हेर्दिनँ। अहिले कति चिजहरू के भइरहेका छन्, मलाई थाहा छैन। कतिपय कुरा थाहा पाउनुभन्दा थाहा नपाउनु नै राम्रो हुँदो रहेछ। नकारात्मक कुराबाट टाढा बस्दा एकदमै आनन्द आइरहेको छ।


‘आलोचनाको नाममा बेइज्जत गर्नु हुँदैन’

प्रवेश सुवेदी, न्यू मिडिया अभियन्ता 
हाम्रो समाज विविधतापूर्ण छ। सबैका आ–आफ्नै जात, धर्म र संस्कृति छन्। त्यसले आ–आफ्नै मूल्य र मान्यता बनाएका छन्। एउटा समाजमा जे सही मानिन्छ, अर्को समाजलाई त्यो स्वीकार्य नहुन सक्छ। जमानादेखि चल्दै आएको समाजमा पनि हामी बाँचेका छाँै। त्यहाँ पनि हाम्रो जिन्दगी छ। त्यस्तै, इन्टरनेट र सोसल मिडियाले बनाएको अर्को समाजमा पनि सँगसँगै बाँचिरहेका छाँै। सामाजिक सञ्जालका मूल्य–मान्यता हामी दैनिक रूपमा बाँचिरहेको जीवनसँग समान छैन। 

सोसल मिडिया विश्वव्यापी छ। यसले ‘पपुलर कल्चर’को मान्यता बोकेर हिँड्छ। कसैले कुनै चिजलाई सही वा गलत भन्छ भने त्यो ऊ जन्मेहुर्केको समाजको मूल्य–मान्यताको आधारमा भन्छ। सामाजिक सञ्जालमा ‘ग्लोबल कन्टेन्ट’ आएका हुन्छन्। एउटा समाजलाई सामान्य लाग्ने कुरा अर्को समाजलाई भयंकर खराब लाग्न सक्छ। 

सोसल मिडियाले धेरै खाले समाजलाई घुलमिल गरेर एउटै समाज निर्माण गर्न खोजिरहेको छ। अहिले जति विषय आइरहेका छन्, केही वर्षपछि यिनै कुरा सामान्य लाग्दै जान्छ।

कसैलाई केही हुनेबित्तिकै नकारात्मक प्रतिक्रिया दिनेमा भने हामीले सामाजिक मनोविज्ञानको दृष्टिकोणले हेर्नुपर्छ। हाम्रो वास्तविक समाज टुक्रा–टुक्रा किसिमको हुन्छ। त्यहाँ प्रभाव जमाउनलाई आफ्नो क्षमता प्रदर्शन गर्न लामो समय लाग्छ। सोसल मिडियाबाट कुनै मानिस रातारात सेलिब्रिटी बन्न पनि सजिलो भएको छ। सोसल मिडियामा छोटो समयमै माथि पुगिन्छ। यसको क्षेत्र पनि व्यापक हुन्छ। ‘स्पिड’ र ‘स्पेस’का हिसाबले सजिलो माध्यम हो। तर, त्यही गतिमा मानिसहरूलाई बदनाम गर्न, आलोचना गर्न, एकैचोटि तल झार्न पनि यसमा केही बेर लाग्दैन। जसरी यसबाट सजिलै फाइदा लिन सकिन्छ, त्यसरी नै बेफाइदा पनि हुन सक्छ।

आलोचना र बेइज्जती फरक कुरा हन्। सार्वजनिक व्यक्ति वा विषयमा आलोचना गर्नु, असन्तुष्टि पोख्नु स्वाभाविक हो। कसैले फरक मत राख्यो भनेर त्यसमा अप्ठ्यारो मान्नु हुँदैन। तर, त्यो बेइज्जतीको तहमा पुग्यो भने अपराध हो। कानुनले पनि त्यसलाई दण्डनीय भन्छ। आफ्नो स्वतन्त्र विचार व्यक्त गर्दा कसैको बेइज्जती हुनु हुँदैन। कुन हदसम्म सामाजिक सरोकारको विषय हो र कुन हदसम्म व्यक्तिगत गोपनीयताको कुरा हो भनेर बुझ्नुपर्छ। अरूलाई पीडा दिनु हुन्न भनेर सोच्न सक्नुपर्छ। आलोचनाको नाममा कसैलाई पनि बेइज्जत गर्नु हुन्न। गर्न पाइँदैन। कानुनमा यस्ता कुरा लागू हुने हो भने मानिस अलि बढी सचेत हुन्थे।  

पछिल्लो समय सोसल मिडियाले आलोचनात्मक चेत बढाएर लगेको कुरा विभिन्न अध्ययनले देखाएका छन्। पहिला आफूलाई चित्त नबुझे पनि आफूभन्दा ठूलाले बोलेको ठाउँमा बोल्न पाइँदैनथ्यो। तर, सोेसल मिडियाले ‘क्रिटिकल’ भएर आफ्ना कुरा राख्न पाउने ठाउँ दिएको छ। सबै जना आफ्ना कुरा राख्न स्वतन्त्र छन्। त्यसैले अरू प्लेटफर्मभन्दा यहाँ मानिसहरू आलोचनात्मक भएर निस्कन्छन्।

तपाईको कमेन्ट

मुख्य समाचार