लोपोन्मुख सन्तान : माइला–माइली/साइँला–साइँली

writer

सुदर्शन सिग्देल

आइतबार, १८ साउन २०७७


जनसांख्यिक विश्लेषण-

माइला–माइली, साइँला–साइँलीको लोपोन्मुख ग्राफले देशको जनसांख्यिक घटबढको राम्रो विश्लेषण गर्नुपर्ने बिन्दुमा हामीलाई पु¥याएको छ। जनसंख्या घटाउने मात्र नीति अघि सारिएको वर्तमान राज्यमा भविष्यमा अहिलेको जन्मदरमा जन्मिने जनशक्ति पर्याप्त होला त ? 


एकै कोखका नौ दाजुभाइ। श्याम दाहाल सन्तानमा माइला हुन्। उमेरको श्रेणीअनुसार आफूभन्दा अघिल्ला जेठा, आफैँ माइला, साइँला, काइँला, ठाइँला, राइँला, अन्तरे, जन्तरे र कान्छा भाइ उनीसँग छन्। हिजोआज यो सुन्दा अहिलेका पुस्तालाई एउटा कथाजस्तो लाग्न सक्छ। तर, यो वास्तविकतासँग उदयपुर, लेखानीको दाहाल परिवार यतिबेला खुशीसाथ बाँचिरहेको छ। जेठाको २०२९ सालमा बिहे भयो, नवौँ छोरा अर्थात् कान्छाको भने २०६५ सालमा। जेठापछि माइला, माइलापछि साइँला हुँदै कान्छासम्म सबैको ‘रोलक्रम’अनुसार नै बिहेवारी भएको हो। जेठाबाट नवौँ छोरासम्म आइपुग्दा ३६ वर्षपछि कान्छाको पालो आएछ। 

श्याम आफ्नो भिनाजुका त ‘एघार भाइ’ अर्थात् ११ जना दाजुभाइ भएको बताउँछन्। ११ जनामा सुरुबाट क्रमशः बोलाउनुपर्दा जेठा, माइला, साइँला, काइँला, ठाइँला, राइँला, अन्तरे, जन्तरे, खन्तरे, मन्तरे र कान्छा भन्नुपर्ने रहेछ। 

श्याम भन्छन्, ‘हाम्रा नौ दाजुभाइको शहरमा आ–आफ्नै घर छन्। तर, हरेक दशैँ गाउँमै गएर एकै घरमा मनाउने गर्छाैं।’ आमासहित ४२ जना दाहाल परिवार दशँैमा जम्मा हुने गर्छन्। नौ दाजुभाइका अर्की आमापट्टिका पाँच दिदीबहिनी छन्। उनीहरूका सन्तानसमेत जम्मा हुँदा त ५३ जना पुग्छन्। हरेक दशैँ कहाँ मनाउने भन्नेबारे जनैपूर्णिमाका दिन पारिवारिक निर्णय हुने गर्छ। नौरथा लागेपछि षष्ठीमा जम्मा हुने र द्वादशीसम्म एकै ठाउँमा बसेर दशैँ मनाउनुपर्ने दाहाल परिवारको नियम छ। दशैँ मनाउने खर्चका लागि पनि संयुक्त कोषको जोहो गरिएको छ। 

युनिसेफको एउटा अध्ययनले नेपाल सन् २०३० बाट बुढ्यौलीमा लाग्छ भनेको छ। त्यतिबेला ४० वर्षमाथिको उमेर समूहको बाहुल्य हुनेछ। सन् २०५० सम्ममा त काम गर्नेभन्दा आश्रित जनसंख्या बढी हुनेछ। 

बुबा २०३१ सालमै बितेपछि जेठा छोरा विष्णुप्रसाद दाहालले बाँकी भाइको पढाइ र रेखदेखको जिम्मेवारी लिएका थिए। जेठाले जिम्मेवारी बोध र अरू सन्तानले विश्वास गर्ने अवस्था बन्दा संयुक्त परिवार उदाहरणीय बन्ने रहेछ। चाजोपाँजो पनि सबै मिल्ने रहेछ। दाजुभाइ वा दिदीबहिनीले आफूले प्रगति गर्ने मौका पाउँदा रहेछन्। अझ, आमाबुबामध्ये कसैको देहान्त हुँदाको बखत काजकिरियामा धेरै दाजुभाइको महŒव झनै हुने गर्छ। ‘संयुक्त परिवारको उपलब्धि त्यतिबेला हुन्छ, जतिबेला मिल्न सकिन्छ,’ श्याम अनुभवजन्य ज्ञान बोल्छन्। 

दाहाल परिवारले अहिलेसम्म अलिकति पनि पैतृक सम्पत्ति बेचेको छैन। गाउँमा ४२ रोपनी जग्गा छ। दाहाल परिवार कम्तीमा चाडपर्वमा एकीकृत भएर संयुक्त परिवारको मजा लिने गर्छ।

ठूलो परिवार अब कथा भइसक्यो। ‘जसका भैँसी उसका वन, जसका छोरा उसका धन’ भन्ने उखान ‘दुई मात्र सन्तान, ईश्वरको वरदान’ भन्ने परिवार नियोजनको नारामा टुंगिसकेको पनि लामो समय भइसक्यो। अझ अहिले त ‘सन्तान एउटै काफी’ निष्कर्षमा समाज पुगिसकेको छ। त्यसैले माइला–माइली, साइँला–साइँली लोपोन्मुख अवस्थामा पुगेका छन्।   

साइँला–साइँली नेपाली साहित्य र संगीतमा बढी प्रकट हुने शब्द हुन्। साहित्यकार भीमनिधि तिवारीले त ‘नेपाली सामाजिक कहानी’ भित्र ‘जन्तरे’को नालीबेली नै लेखिदिए। त्यसो त, नेपाली लोक अथवा आधुनिक गीत नै किन नहून्, ‘साइँला–साइँली’, ‘माइला–माइली’को फुँदामा गाँसिएर गुञ्जिने गर्छन्। ‘सुन साइँली...चालिस कटेसि रमाउँला...’ जस्ता गीतले नेपाली धड्कन बेस्सरी धड्काएकै छ। तर, गीतमा मिठासका लागि सम्बोधन गरिने हाम्रा ‘माइला–माइली’ अनि ‘साइँला–साइँली’देखि ‘कान्छा–कान्छी’सम्म अब अस्तित्वमा रहँलान् त ? यसो भन्नुको अर्थ सन्तान थोरै जन्मिन थाले, कतै यो वरदान नभएर देशका निम्ति भविष्यमा अभिशाप त हुने होइन ? भन्ने चिन्ता हो। 

एकदेखि दुई सन्तान अहिलेको ‘टे«न्ड’ हो। माइला–माइली, साइँला–साइँली, काइँला–काइँली, अन्तरे–अन्तरी, जन्तरे–जन्तरी, खन्तरे–खन्तरी अब नेपाली शब्दकोशमा मात्र भेट्टिने अवस्था बन्दै छ। अझ, नेपाली गाउँले जनजिब्रोमा लोकप्रिय माइला–माइली र साइँला–साइँली यति छिटो लोप हुन थाल्दा समाजको एउटा खास परिचय गुम्न थालेको हो कि ? भन्ने ठानिँदै छ। त्यसो त, आधुनिक व्यस्ततामा समाजको संरचना समुदायबाट पारिवारिक र पारिवारिकबाट बिलकुल व्यक्तिगतमा रूपान्तरण भइरहेको प्रष्ट छ। तर, कुरा यतिमा मात्र सीमित रहन्न। ‘साइँला–साइँली’को लोपोन्मुख ग्राफले देशको जनसांख्यिक घटबढको राम्रो विश्लेषण गर्नुपर्ने बिन्दुमा हामीलाई पु¥याएको छ। जनसंख्या घटाउने मात्र नीति अघि सारिएको वर्तमान राज्यमा भविष्यमा अहिलेको जन्मदरमा जन्मिने जनशक्ति पर्याप्त होला त ? जबकि, राज्यको मुख्य शक्ति भन्नु नै जनशक्ति हो। वर्तमान जन्मदरले अबको १० वर्षपछि देश अहिलेको जस्तो युवामै रहँदैन, ४० वर्ष उँभोका बुढ्यौली जनसंख्याको बाहुल्य हुन्छ भन्ने प्रक्षेपण नै भइसकेको छ। त्यो बेला घट्दो जनसंख्यामा जेठा र कान्छा बीचका अरू सन्तान पनि भइदिएका भए राम्रो हुने रहेछ भन्ने दिन नआउला भन्न सकिन्न। 

साइँला–माइला ‘भर्सस’ एकल परिवार  
धेरै सन्तान हुँदा मद्दत मिल्ने, बलशाली ठान्ने र काम पनि एकै छिनमा तमाम हुने अनुभव भुक्तभोगीहरू सुनाउँछन्। जेठा, माइला, साइँला, काइँला...कान्छा भन्नु नै संयुक्त परिवार हो। यस्तो घरपरिवार देशको दर्जनौँ क्षेत्रका निम्ति उपयुक्त अनि भरोसायोग्य बन्न सक्छ। कोही कृषक, कोही शिक्षक, कोही सुरक्षाकर्मी, कोही प्राविधिज्ञ त कोही वैज्ञानिक बन्न सक्छन्। तर, यो मान्यता समाजको विकास क्रमसँगै यतिबेला भंग भएको अवस्था छ। हाम्रो समाज आखिर बृहत्, संयुक्त हुँदै एकल परिवारमा खुम्चँदै छ। एकल परिवार पनि अति एकाकी हुँदै गइरहेको छ। शहरी क्षेत्रमा त एउटा छोरा वा छोरी पनि बाबुआमासित दोहोरो कुरा नगरी प्रविधिसँग मात्र संवाद गरिरहेका देखिन्छन्। एकल परिवारका वल्लो र पल्लोघरे एकअर्कामा वर्षाैं नहाँसेरै, नबोलेरै पनि छिमेकी बनिरहेका हुन्छन्। ऐँचोपैँचो, सरसहयोग केही चल्दैन। यसो भनेर एकल परिवारको अवगुण मात्र देखाउन खोजिएको भने पक्कै होइन। बाल मृत्युदर घट्नु, सन्तानलाई खानलाउन, शिक्षादीक्षा दिन सहज बन्नु, पोषण पुग्नु, स्वतन्त्रताको उपभोग गर्न पाउनु र औसत उमेर बढ्नु एकल परिवारका राम्रा सूचक हुन्। अझ, लैंगिक समता पनि एकल परिवारमा सम्भव रहेको भन्दै ‘एक छोरा–एक छोरी, सन्तान बराबरी’, ‘दुई मात्र सन्तान, ईश्वरको वरदान !’ जस्ता सन्देश सरकारीस्तरबाटै दिइयो र दिइँदै छ पनि। 

मूलतः मानवशास्त्रीय दृष्टिमा सानो परिवारलाई स्वाभाविक ठानिएको छ। मानवशास्त्री सुरेश ढकाल भन्छन्, ‘उत्पादनको स्वरूप र संरचना बदलिएपछि त्यसको प्रभाव परिवारमा र त्यसपछि जनसंख्यामा पर्छ। भएको यही हो।’ जेठो र कान्छा बीचका सन्तान लोप हुँदै जानुमा उनको सटिक विश्लेषण छ, ‘जहाँ पनि सुरुवात र अन्तिम महŒवपूर्ण हुन्छ। जसको मानक जेठा र कान्छा नै हुन्।’ हुन पनि, धेरै सन्तान हुँदाको बखत पनि जेठा र कान्छालाई विशेष रूपमा स्थान दिइने गरिन्थ्यो। पौराणिक प्रसंगमा पनि यस्तो प्रशस्तै सुन्न पाइन्छ। राजा हरिशचन्द्रको कथामा आमाबाले आफ्ना तीन छोरामध्ये एउटालाई बलि दिन पठाउनुपर्ने प्रसंग छ। त्यसमा जेठालाई बाबुले र कान्छालाई आमाले आफूसित राख्न रोजेपछि फाल्तु चाहिँ माइला छोरा बन्छ। ऊ नै बलिका लागि तयार हुनुपरेको मार्मिक वर्णन त्यस कथामा छ। त्यस्तै, महाभारतमा धृतराष्ट्रका सय भाइछोरामध्ये जेठा दुर्याेधनकै बढी चर्चा गरिएको छ। थोरै भाइ छोरा भएका पाण्डुका पाँचै पुत्र बल, यश र ज्ञानमा प्रख्यात थिए।    

नेपालमा संयुक्त परिवारपछि एकल र एकलबाट पनि वैयक्तिकतर्फ रूपान्तरण हुँदै जानुमा जनसंख्या कटौती मुख्य कारण हो भन्न सकिन्छ। घट्दो जन्मदर पछिल्लो कसी हो। अहिले नेपालमा जन्मदर १.९७ प्रतिशत रहेको छ। सन् १९६५ मा ५.९७ प्रतिशत थियो। सन् ६० को दशकमा ‘परिवार नियोजन’ कार्यक्रम सुरु भएपछि त्यसयता जन्मदरको ग्राफ क्रमशः ओरालो लाग्दै आयो। नेपाल डेमोग्राफिक हेल्थ सर्भे, २०११ अनुसार सन् १९९६ मा किशोरीहरूले बच्चा जन्माउने दर २४ प्रतिशत थियो। त्यसबाट घटेर १० वर्षको अवधिमा १९ प्रतिशतमा रह्यो। 

बसाइँसराइले जनसंख्यामा ठूलो प्रभाव पारेको देखिन्छ। खास गरी, रोजगारीका लागि करिब ३५ लाख जनशक्ति विदेशिएका छन्। जसमा बढीजसो प्रजनन उमेर समूहका पुरुष छन्। नेपाल परिवार स्वास्थ्य कार्यक्रम २००८÷२००९ को मध्यावधिक सर्वेक्षण र नेपाल डेमोग्राफिक हेल्थ सर्भे, २०११ अनुसार ३२ प्रतिशत जोडी बसाइँ–सराइकै कारण छुट्टिएर रहनुपरेको थियो। यसले पनि कम सन्तान जन्मिन थाले। त्यसो त परिवार नियोजनका स्थायी र अस्थायी साधन प्रयोग, थोरै सन्तान जन्माउनुपर्छ भन्ने मानसिकता, ढिलो विवाह गर्ने प्रवृत्ति तथा व्यस्त जीवनका कारण पनि जन्मदर कम भएको विभिन्न अध्ययनले देखाएका छन्। 

अझ, अहिले त सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिइएको अवस्था छ। गर्भ बसिसकेपछि पनि सन्तानलाई जन्म दिने कि नदिने भन्ने कुरा आमाबाबुको निर्णयमै निर्भर रहन्छ। यही क्रममा कयौँ माइला–माइली, साइँला–साइँली जन्मिन नपाई अन्त्य हुने गर्छन्। प्रसूति अस्पताल काठमाडौँले गरेको एक अध्ययनले के देखाउँछ भने विवाहित वा ‘लिभिङ टुगेदर’मा रहेका ९७ प्रतिशत जोडीको औसतमा दुई जना मात्र सन्तान रहेका छन्। ५७.४ प्रतिशत महिलाले अर्काे बच्चा जन्माउन नचाहेको अध्ययनले देखाएको छ।

शहरी क्षेत्रमा अहिले त पहिलो सन्तान जन्मेकै मितिमा दोस्रोलाई जन्म दिने अनौठो अभिरुचि अभिभावकमा देखिन्छ। अपरेसनबाट जन्माउने प्रविधि सामान्य हुन थालेपछि यस्तो सोख देख्न पाइएको हो। 

वास्तवमा जनतालाई सरकारले लालनपालन र शिक्षाका निम्ति सानो परिवार हुनुपर्छ भन्ने मन्त्र नै सिकायो। यहीअनुसार मानिसहरूमा चेत भरियो। र, परिवार नियोजनलाई अपनाउँदै कम सन्तान जन्माउन थालियो। 

‘परिवार नियोजन’ कि परिवार योजना ?
कम सन्तान जन्माउन सहयोग गरिरहेको ‘परिवार नियोजन’ नीति समाधान होला कि झन् समस्या ? जन्मिनुपर्ने आवश्यक सन्तानको नियोजन गरेर मात्र होला त ? यसमा बहस हुनुपर्छ भन्न थालिएको छ। कमसे कम राज्यले पनि एक जोडी दम्पतीको कति सन्तान हुनुपर्छ भन्नेमा स्पष्ट नीति निर्धारण गर्नुपर्ने देखिन्छ। अब ‘परिवार नियोजन’ नभई ‘परिवार योजना’चाहिँ हुनुपर्ने आवाज उठ्न थालेको छ। भोलि बूढो जनसंख्या अर्थात् काम गर्नेभन्दा आश्रितको मात्र बाहुल्य भएका दिन अहिलेको नियोजन हाम्रा लागि अभिशाप बन्न सक्छ। युनिसेफको एउटा अध्ययनले नेपाल सन् २०३० बाट बुढ्यौलीमा लाग्छ भनेको छ। त्यतिबेला ४० वर्ष उमेर समूहभन्दा माथिका जनसंख्याको बाहुल्य हुनेछ। सन् २०५० सम्ममा त जापानजस्तै बन्नेछ। देशमा काम गर्नेको भन्दा आश्रित जनसंख्या बढी हुनेछ। 

यसमा खास गरी देश चलाउने राजनीतिज्ञले बढी सोच्नुपर्ने हुन्छ। सांसद् र कांग्रेस केन्दीय सदस्य गगन थापा प्रायः जनसंख्याको भविष्यलाई लिएर विभिन्न फोरममा चिन्ता प्रकट गर्ने नेतामा पर्छन्। उनको भनाइ छ, ‘नेपालले अहिलेको युवा उमेरको जनसांख्यिक लाभलाई प्रयोग गर्न सकेन भने भविष्यमा ठूलो क्षति बेहोर्नुपर्छ।’ विकाससम्बन्धी विमर्श हुँदा जनसंख्या कति पु¥याउने भन्नेमा छलफल हुने नगरेको उनी सुनाउँछन्। देशको राष्ट्रिय योजना आयोग यति बेला पन्ध्रौँ योजना दौडाइरहेको छ। देशमा कस्तो जनशक्ति चाहिन्छ भन्नेबारे एउटा प्रक्षेपण गर्ने भनिए पनि जनसंख्याको विश्लेषण भने गरिएको देखिँदैन। भविष्यको लेखाजोखा पनि छैन। 

‘पूरै जनसंख्याका बारेमा राष्ट्रिय धारणा हुनुपर्छ,’ सांसद् थापा भन्छन्, ‘२०–२५ वर्षपछि कुन उमेर समूहका मान्छे हुन्छन् ? भन्ने हो। मान्छे एक दिन बूढो त हुन्छ तर सम्पन्न भएर बुढ्यौलीमा लाग्नुपर्छ भन्ने मेरो मत हो।’ 

नेपालमा अहिलेको अव्यवस्थाले जनता धनी नभईकनै बूढो हुनुपर्ने बाध्यता रहेको थापा बताउँछन्। जनता धनी हुन नसकेपछि नेपाल पनि स्वतः बूढो हुने नै भयो। नेपालको जनसंख्यालाई स्थायी रूपमा बूढो हुन नदिन राष्ट्रिय बहस सुरु हुनुपर्ने उनको भनाइ छ। 

मानवशास्त्री सुरेश ढकाल देश यतिबेला ‘डेमोग्राफिक डेभिडेन्ट’ अर्थात् जनसांख्यिक लाभ लिने अवस्थामा छ। यस्तो समय अब नआउने हुँदा देशका युवाबाट बढीभन्दा बढी काम लिन सक्ने कार्यक्रम आउनुपर्ने उनी बताउँछन्। 

विश्व जनसंख्यामा भारी कटौतीको भविष्यवाणी 
जनसंख्या कटौतीसम्बन्धी बहस अब नेपालको मात्र रहेन। खोज र अनुसन्धानले पनि विश्व जनसंख्यामा भविष्यमा हुने भारी कटौतीका तथ्य औँल्याएका छन्। वैज्ञानिक अनुसन्धानसम्बन्धी विश्वविख्यात मेडिकल जर्नल ‘ल्यान्सेट’ले विश्वको जनसंख्यासम्बन्धी एउटा ताजा अध्ययन सार्वजनिक गरेको छ। अमेरिकास्थित ‘युनिभर्सिटी अफ वासिङ्टन स्कुल अफ मेडिसिन’को ‘इन्स्टिच्युट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसन (आईएसएमई)’का अनुसन्धाताहरूले भनेका छन्– ‘सन् २०६४ सम्म जनसंख्याको वृद्धिदर उच्च हुनेछ। त्यो बेलासम्म विश्वको जनसंख्या ९ अर्ब ७० करोड पुग्नेछ। त्यसपछि घट्दै सन् २१०० सम्ममा ८ अर्ब ८० करोडमा ओर्लनेछ।’ परिवार नियोजनसम्बन्धी आधुनिक प्रविधि, किशोरी÷महिलामा शिक्षा बिस्तार आदिका कारण जन्मदरमा भारी कटौती हुने भविष्यवाणी गरिएको छ। अध्ययन भन्छ– ‘खास गरी, जनसंख्या तीव्र खुम्चने क्रम एसिया र मध्य र पूर्वी यूरोपमा देखिनेछ।’ अबको ८० वर्षपछि अर्थात् सन् २१०० सम्ममा जनसंख्या घट्ने क्रम तीव्र हुनेछ। जापानमा सन् २०१७ सम्ममा १२ करोड ८० लाख जनसंख्या थियो। त्यसमा आधाभन्दा बढी घटेर सन् २१०० मा छ करोड मात्र हुनेछ। त्यस्तै, थाइल्यान्डमा सात करोडबाट साढे तीन करोड, स्पेनमा साढे चार करोडबाट २ करोड ३० लाख, इटालीमा छ करोडबाट तीन करोडमा ओर्लिनेछ। साथै, ३४ वटा देशमा २५ देखि ५० प्रतिशत जनसंख्या घट्ने प्रक्षेपण गरिएको छ। चीनमा यतिबेला १ अर्ब ४० करोड जनसंख्या रहेकोमा सन् २१०० मा ७३ करोड २० लाख मात्र हुने भविष्यवाणी छ। 

काम गर्न नसक्ने आश्रित जनसंख्या अहिले ०.८ प्रतिशत मात्र रहेकोमा १.१६ प्रतिशत पुग्ने प्रक्षेपण छ। ८० वर्षमाथिको जनसंख्या अहिलेको तुलनामा धेरै हुनेछ। पाँच वर्षमुनिका बालबालिकाको संख्या ४१ प्रतिशतले घट्नेछ। जनसंख्या घट्नुलाई ‘कार्बन इमिसन’ कटौती र खाद्यप्रणालीको चाप न्यून गर्नका निम्ति त राम्रै समाचार होला, तर धेरै वृद्ध र थोरै युवाका कारण काम गर्न सक्ने अनि कर तिर्ने जनशक्ति भने कम भइदिन्छ। जसकारण वृद्धावस्थामा नागरिकलाई राज्यले दिनुपर्ने सामाजिक सुरक्षा र स्वास्थ्य सेवा पूरा गर्न हम्मेहम्मे पर्नेछ। 

जनसांख्यिक हिसाबले अहिले विश्वको दोस्रो ठूलो देश भारतमै काम गर्ने उमेर समूहका ७६ करोड २० लाख जनसंख्या छ। सन् २१०० मा कटौती भएर ५७ करोड ८० लाखमा सीमित हुने अनुमान छ। जबकि, चीनमा काम गर्न सक्ने जनसंख्या अहिले ९५ करोड रहेको छ। यो घटेर ३५ करोड ७० लाखमा ओर्लने प्रक्षेपण छ।  

अनुसन्धानको नेतृत्व गरेका आईएसएमईका निर्देशक डा. क्रिस्टोफर मुरे भन्छन्, ‘यो अध्ययनले सबै देशका सरकारलाई जनसांख्यिक परिवर्तनले उत्पन्न गर्ने चुनौतीलाई सम्बोधन गर्नका लागि बसाइँसराइ, श्रमशक्ति र आर्थिक विकाससम्बन्धी आफ्ना नीतिमाथि पुनर्विचार गर्ने एउटा मौका दिएको छ।’

नेपाललाई कति जनसंख्या चाहिन्छ ? 
डा. मुरेको उपर्युक्त सुझाव नेपालको सन्दर्भमा मननीय हुन सक्छ। यहाँ काम गर्न सक्ने जनशक्ति कि शहरमा कि त विदेश पलायन भइदिँदा उर्बर भूमि पनि बाझा हुन थालेका छन्। ती बाझा खेतबारी खन्न जनशक्ति चाहिन्छ। रेलको लिक ओछ्याउन पनि जनशक्ति नै चाहियो। नेपालमा अहिलेको उमेर समूहमा युवाको बाहुल्य छ। यस्तो अवस्था कहिल्यै यसअघि थिएन भनिन्छ। देशलाई त जनशक्ति नै चाहिएको हो। भएका माइला, साइँला, काइँला खाडी मुलुकमा श्रम बेचिरहेका छन्। तिनको पसिना देशमै बग्न पाएन। अब चाहिँ जनसांख्यिक लाभ उठाउन खाद्य सुरक्षामा ध्यान दिने गरी देशको उत्पादनमा युवालाई लगाउनुपर्ने नास्टका वैज्ञानिक डा. जगन्नाथ श्रेष्ठ बताउँछन्। उनका अनुसार नेपालमा एक व्यक्तिलाई वार्षिक अरू खाद्यबाहेक १ सय ८० केजी अन्न चाहिन्छ। अनुसन्धाता टोनी हेगनलाई उद्धृृत गर्दै उनले भनेका छन्– ‘नेपालमा प्रतिहेक्टर २ हजार ३ सय ९० केजी अन्न फलाउन सकिन्छ। देशको १४ लाख ४६ हजार हेक्टर जमिनलाई सिँचाइ गरी अन्न उब्जाउन सकिन्छ। मान्छेलाई बाँच्नका लागि आधारभूत तŒव हावा, पानी र खाद्य हुन्।’

‘खाद्य सुरक्षा मुख्य कुरा हो,’ उनी थप्छन्, ‘त्यसका लागि बाँझो जमिन सिँचित गर्नुपर्छ। सिँचाइका लागि फेदीमा बगिरहेका नदीका पानीलाई विद्युत्मार्फत पम्पिङ गरेर पहाडको टुप्पोमा पु¥याउनुपर्छ।’

जमिन सिँचाइ गरेर उत्पादन बढाउने हो भने जनशक्ति स्वदेशकै चाहिन्छ। किनकि, अबको १० वर्षपछि विदेशी कामदारले भन्दा स्वदेशीबाटै काम गराउन बूढो ऊर्जाले पक्कै सकिन्न। कोरोना भाइरस (कोभिड–१९)का कारण विदेशमा रोजगारी गुमाएर लाखौँ अद्र्धसीपका जनशक्ति स्वदेश भित्रिरहेका छन्। उसो त वार्षिक पाँच लाख युवा रोजगारीको खोजीमा रहने गरेको तथ्यांक छ। युवालाई काममा लगाउने र उनीहरूबाट लाभ लिने राज्यका निम्ति यो स्वर्णिम मौका हो। यस्तो स्थितिमा ती युवालाई सीप, अवसर र उत्पादनमा लगाउन राज्यको अर्जुनदृष्टि हुनुपर्ने देखिन्छ। 

विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश चीन त एक सन्तान नीतिबाट पछाडि फर्किएको अवस्था छ भने जनघनत्व भएकै देश सिंगापुरले गरेको प्रगति लोभलाग्दो छ। वास्तवमा नेपाललाई चाहिएको जनसंख्या कति हो ? आजसम्म कसैले पनि भन्न सकेको छैन। ‘प्लानिङ’ भनेको नियोजन पक्कै होइन। मानवशास्त्रीहरूको बुझाइमा देशको जनसंख्यालाई बोझ होइन, सम्पत्ति ठान्नुपर्छ। मान्छे हुनु भनेको वरदान हो।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि