लकडाउनको पाठ

writer

सुमित सुवेदी

आइतबार, १८ साउन २०७७


कोरोना संक्रमण बढ्न थालेपछि चैत ११ मा घोषणा भएको लकडाउन चार महिनापछि अन्त्य भएको छ। यस अवधिमा धेरैले आफूलाई चिन्ने, परिवारको महत्त्व बझ्ने मौका पाएको बताएका छन्। 


चैत ११ बाट सुरु भएको लकडाउन झण्डै चार महिनापछि अन्त्य भएको छ। लकडाउन अवधिमा रोग, भोक, डर, अभावलगायत विभिन्न समस्या नेपालीहरूले भोगे। धेरैका लागि समस्या रहेको लकडाउनलाई कतिपयले पाठका रूपमा लिएका छन्। उनीहरूले लकडाउनले आफूलाई समस्यासँग जुध्न, अभावमा बाँच्न र जीवनमा आउन सक्ने चुनौतीको सामना गर्न सिकाएको बताएका छन्। 

बदलियो जीवन जिउने तरिका
लकडाउनले आफूलाई ‘एड्जस्टमेन्ट’ गर्न सिकाएको, एक गैरसरकारी संस्थामा काम गर्ने विराटनगरका प्रेम मग्राती बताउँछन्। ‘लकडाउनअघि केही कुरा मन प¥यो भने किन्न आनाकानी गर्दिनथेँ,’ उनी भन्छन्, ‘तर, लकडाउनले एड्जस्टमेन्ट गर्न सिकायो। पैसाको महत्त्व बुझायो। जे उपलब्ध छ, त्यसैमा एड्जस्ट गर्न सिकाएको छ।’ 

लकडाउनले धेरै मानिसको जीवनमा नकारात्मक प्रभाव पारे पनि केही सकारात्मक परिवर्तन पनि ल्याएको काठमाडौँकी स्नेहा थपलिया बताउँछिन्। ‘धेरैले लकडाउनका नकारात्मक पक्षलाई मात्र हेर्छन्,’ उनी भन्छिन्, ‘तर, यसले हाम्रो जीवनशैली नै परिवर्तन गरेको छ। जुन निकै सकारात्मक छ।’ 

परिवारको महत्त्व बुझायो
कार्य व्यस्तताले परिवारसँग समय बिताउन नपाएका व्यक्तिलाई लकडाउनले परिवारको महत्त्व बुझाएको उनी बताउँछिन्। ‘म आफैँ पनि दिनहुँ कलेज जान्थेँ, आउँथेँ,’ उनी भन्छिन्, ‘घरमा आएपछि आफ्नै काममा व्यस्त भइन्थ्यो। आमाबुबा पनि आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो। मुश्किलले खाना खाने बेला मात्र सँगै बसिन्थ्यो। तर, लकडाउनमा लामो समय एकअर्कासँग रमाउन पाइयो।’

अहिलेका युवाले बढी समय सामाजिक सञ्जालमा बिताउने भएकाले उनीहरू घरपरिवार र सामाजिक जीवनबाट टाढिएको उनी बताउँछिन्। ‘घण्टौँ मोबाइलमा घोत्लिने युवाहरूले पारिवारिक र सामाजिक सम्बन्धलाई खासै महत्त्व दिँदैनन्,’ उनी भन्छिन्, ‘लकडाउनले सबैलाई परिवारसँग रमाइला पल बिताउने अवसर प्रदान ग¥यो।’ 

लकडाउनमा उनले परिवारसँग खूब लुडो खेलिन्। भन्छिन्, ‘लकडाउन नभएको भए त्यो सम्भव थिएन होला।’ लकडाउनले ‘खुशी एक्लै बाँच्नमा होइन, सबैसँग अगाडि बढ्नमा हुन्छ’ भन्ने पाठ सिकाएको उनी बताउँछिन्। ‘घरका सम्पूर्ण सदस्यसँग बसेर खाना खाँदा छुट्टै मजा हुने रहेछ,’ उनी भन्छिन्, ‘परिवारलाई खासै महत्त्व नदिने आजका युवाका लागि यो ठूलो सिकाइ हो।’

त्यस्तै, नवलपरासीका सुरेश पौडेल पनि लकडाउनले परिवारको महत्त्व बुझाएको बताउँछन्। ‘लकडाउन भएको एक महिनासम्म जाँजरकोटमा अड्किएको थिएँ,’ उनी भन्छन्, ‘परिवारबाट टाढिएर बस्दा कतिसम्म नरमाइलो लाग्ने रहेछ भन्ने कुरा थाहा पाएँ।’ पछि उनी पास मिलाएर घर फर्किएका थिए। घर आएपछि तीन महिना परिवारसँग समय बिताउँदा धेरै कुरा सिकेको उनी बताउँछन्। ‘पहिलो पटक परिवारसँग लामो समय बस्न पाइयो,’ उनी भन्छन्, ‘अप्ठ्यारो परिस्थितिमा परिवारको साथ र सहयोगको महत्त्व लकडाउनले सिकायो।’ 

लकडाउनमा परिपक्व
‘दुःखमा न आत्तिनु, सुखमा न मात्तिनु’ भन्ने उखानको अर्थ नवलपरासीकी इशा गुरुङले लकडाउनमा बुझिन्। ‘यो चार महिना हामीले रोग देख्यो, भोक देख्यो, महँगी देख्यो र अभाव पनि देख्यो,’ उनी भन्छिन्, ‘तर, त्यसलाई पार गर्न पनि सिकियो। समस्या जुनसुकै समयमा पनि आउन सक्छ। त्यसको नडराई सामना गर्नुपर्छ र धैर्य राख्नुपर्छ। लकडाउनमा मैले यही सिकेँ।’ 

लकडाउन सुरु हुँदाताका उनलाई घरमा बस्न निकै गाह्रो भयो। भन्छिन्, ‘लकडाउनका सुुरुका दिन निकै कठिन भए। बाहिर निस्किन नपाउँदा गाह्रो भयो। त्यसमाथि रोगको डर। तर, धैर्य राखेँ। पछि चार महिना बितेको पत्तै पाइनँ।’ लकडाउनले आफूलाई परिपक्व बनाएको उनी बताउँछिन्। ‘लकडाउनमा घरायसी कामदेखि स्वास्थ्यका कुरासम्म सिकेँ,’ उनी भन्छिन्, ‘लकडाउनले मलाई परिपक्व बनाएको छ।’

काठमाडौँकी ज्योत्स्ना देव पनि लकडाउनपछि आफू धैर्यवान् भएको बताउँछिन्। ‘धैर्यले जस्तो अवस्थामा पनि सजिलै नियन्त्रण गर्न सकिने रहेछ,’ उनी भन्छिन्, ‘फलामलाई रापमा तताएजस्तै हामीलाई लकडाउनले कठिन परिस्थितिमा जिउन सिकाएको छ। अब अगाडिको जीवन कसरी जिउने ? त्यो हामीमा निर्भर हुन्छ।’

लकडाउनले सीमित स्रोतसाधनलाई पूर्ण प्रयोग गरी बाँच्न सिकाएको उनी बताउँछिन्। ‘लकडाउनभन्दा अगाडि घरमै बसेर पनि काम गर्न सकिन्छ भन्ने कसलाई थाहा थियो ?’ उनी भन्छिन्, ‘तर, बन्दाबन्दीमा घरबाटै अफिसको काम गरियो। लकडाउनले गर्दा हामी काम गर्ने वैकल्पिक बाटा खोज्न सक्षम भयौँ।’

शिक्षण सिकाइमा वैकल्पिक बाटो 
अनलाइन शिक्षालाई शिक्षण सिकाइको वैकल्पिक बाटोको रूपमा विभिन्न देशले प्रयोग गर्दै आएका छन्। तर, नेपालमा भने यो लागू हुन सकेको थिएन। अहिले वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ सम्भव छ भन्ने कुरा प्रमाणित भएको प्राध्यापक ईश्वर बराल बताउँछन्। ‘एकदुई वर्षअगाडि घरमै बसेर पढाउन सकिन्छ भनेर तालिम लिएका थियौँ,’ उनी भन्छन्, ‘तालिम लिए पनि लागू गर्न सकिएन। तर, अहिले बाध्यता भएपछि गर्नुप¥यो। गर्दागर्दै सजिलो पनि हुने रहेछ।’ पढ्न र पढाउन कक्षामा भौतिक उपस्थिति नै चाहिन्छ भन्ने सोचलाई लकडाउनले परिवर्तन गरिदिएको उनी बताउँछन्। जुम, गुगल मिटलगायत एप्स प्रयोग गरी उनले विद्यार्थीलाई पढाइरहेका छन्।

‘यसअघि किताबमा मात्र निर्भर हुन्थेँ,’ उनी भन्छनु, ‘तर, अहिले अन्य स्रोत पनि कसरी प्रयोग गर्न सकिन्छ भन्ने सिकेँ।’ पहिले विभिन्न वेबसाइटमा गएर सम्बन्धित विषयमा गरिएका अनुसन्धान, लेख, किताब खोज्ने गरेका थिएनन्। भन्छन्, ‘लकडाउनले त्यसका लागि समय मिलाइदियो। इन्टरनेटबाट धेरैभन्दा धेरै सामग्री बटुलेर विद्यार्थीलाई पस्किन पाइयो।’ अब कक्षामा पढाउँदा अहिले बनाएका पावर प्वाइन्ट निकै काम लाग्ने उनी बताउँछन्। ‘यसो हुँदा शिक्षण सिकाइ झनै प्रभावकारी हुनेछ,’ उनी भन्छन्। 

लकडाउनले विद्यालय स्तरमा शिक्षाको वैकल्पिक बाटोबारे सिकाएको लटिनाथ माध्यामिक विद्यालय, दार्चुलाका प्रधानाध्यापक केशव विष्ट बताउँछन्। ‘वैकल्पिक माध्यमबाट पढाउन सकिन्छ भन्ने थाहा थियो,’ उनी भन्छन्, ‘तर, लकडाउनले व्यवहारमा लागू गर्ने वातावरण बनाइदियो। शिक्षामा प्रविधि प्रयोग गर्न सिकायो।’ 

आफूलाई चिन्ने अवसर 
अभिनेत्री नीता ढुंगानाका लागि लकडाउन आफूलाई चिन्ने अवसर बन्यो। ‘मैले लकडाउनमा बस्दा आफूलाई चिन्ने मौका पाएँ,’ उनी भन्छिन्, ‘ममा कति शक्ति रहेछ, के कुरामा कमजोर रहेछु भन्ने कुरा पत्ता लगाउन सक्ने भएकी छु।’

लकडाउन अवधिमा अभिनेत्री बेनिशा हमालले पनि आफूबारे सोचिन्। ‘लकडाउनले हामीलाई थुप्रै समय दियो,’ उनी भन्छिन्, ‘त्यो समयमा मैले आफूबारे सोच्ने मौका पाएँ। मलाई पेन्टिङ गर्न आउँछ भन्ने कुरा थाहा थिएन। तर, गर्दै जाँदा राम्रो भयो। सबैले प्रशंसा गरे। मसँग त्यो कला पनि रहेछ भन्ने कुरा लकडाउनले महसुस गरायो। लकडाउनले मलाई सिर्जजशील बनायो।’ 

अनलाइन सेवाको महत्त्व  बढ्यो
लकडाउनमा सबै मानिस घरभित्र थुनिए। पोखरा बस्दै आएका पर्वतका प्रकाश पौडेललाई लकडाउनमा सामान किन्न जान आपत प¥यो। त्यसपछि उनले अनलाइन सेवा लिन सुरु गरे। भन्छन्, ‘बाहिर निस्किँदा कोरोनाको डर ! त्यसपछि अनलाइनतिर लागेँ।’ लकडाउनले मान्छेलाई प्रविधिमैत्री हुन सिकाएको उनी बताउँछन्। 

लामो समययता किराना पसल चलाउँदै आएका तुलाराम कार्कीले पनि लकडाउनबाट केही कुरा सिकेका छन्। ‘लकडाउनमा दैनिक उपभोग्यका सामान बढी बिक्री भए,’ उनी भन्छन्, ‘त्यसैले व्यापार गर्दा दैनिक उपभोग्य वस्तुको मात्र गर्नुपर्छ भन्ने बुझेँ। लत्ताकपडा, इलेक्ट्रोनिक सामानको व्यापार ठप्प हुँदा, किराना पसल अलि–अलि भए पनि चलिरह्यो। त्यसैले अरू व्यापारभन्दा यही ठीक लाग्यो।’


लकडाउनको शिक्षा : स्वस्थ बानी, स्वस्थ शरीर

शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ

एउटा उखान छ– ‘न लडेसम्म उठ्न सिकिँदैन।’ अहिलेको अवस्था पनि त्यस्तै हो। लकडाउन एउटा चुनौती थियो। जसलाई हामीले अवसरको रूपमा लियौँ। कोभिड–१९ का कारण नेपालमा मात्र नभएर विश्वमा नै ठूलो परिवर्तन आउने अवस्था बनेको छ। अमेरिकाका ‘मै हुँ’ भनेर मास्क नलगाई हिँड्ने मान्छे त अब मास्क लगाउन थालिसके भने नेपालमा पनि लकडाउनले हामीलाई केही न केही पाठ अवश्य सिकाएको छ।

कोरोना आउनुअगाडि सरुवा रोगलाई खासै महत्त्व दिइँदैनथ्यो। सरुवा रोग कति खतरनाक हुने रहेछ भन्ने कुरा अहिले थाहा पायौँ। कोरोनाका कारण देशमा लकडाउन नै गर्ने स्थिति आएपछि सरुवा रोगको जोखिम अन्य रोगजस्तै रहेछ भन्ने कुरा सरकारदेखि जनतासम्मले बुझे। 

महामारीले हाम्रो बानीबेहोरामा पनि परिवर्तन ल्याएको छ। व्यक्तिगत सरसफाइमा सबैलै विशेष ध्यान दिन थालेका छन्। पहिले वर्षा याममा झाडापखाला, टाइफाइड, रुघाखोकीलगायत समस्या देखिन्थे। मानिसहरूले व्यक्तिगत स्वास्थ्य र सरसफाइमा ध्यान दिइरहेकोले यस वर्ष समस्या कम भएको हो कि जस्तो लाग्छ। मान्छेलाई सरसफाइमा ध्यान दिने समय लकडाउनले नै जुराइदिएको हो।

लकडाउनले हाम्रो जिउने तरिकामा केही हदसम्म परिवर्तन ल्याएको छ। अहिले मान्छेहरू स्वस्थ जीवनशैली अपनाइरहेका छन्। योग गर्ने, अभ्यास गर्ने, घरको पोषणयुक्त खाना खाने, प्रशस्त पानी खानेलगायत। लकडाउनअघि बाहिरको जंकफुड बढी खानेहरू अहिले घरमा बनेको खानाका स्वाद मन पराइरहेका छन्। यो पनि लकडाउनको उपलब्धि हो। लकडाउनले मान्छेहरूलाई स्वस्थ बानी भए शरीर पनि स्वस्थ हुन्छ भन्ने सिकाएको छ।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि