कस्तो मेहदी कसरी लगाउने ?

सुषमा महरा, ब्युटीसियन
आइतबार, १८ साउन २०७७
आजभोलि मेहदी लगाउनु फेसन भएको छ। साउनमा हातमा मेहदी नलगाउने महिला कमै भेटिन्छन्। हातखुट्टामा आकर्षक बुट्टा बनाएर मेहदी लगाएर हिँड्ने महिला शहरबजारमा थुप्रै हुन्छन्।
परापूर्वकालदेखि नै मेहदीको आयुर्वेदिक उपयोगिता रहँदै आएको छ। कपाल झर्न रोक्ने, खुट्टा फुटेको निको पार्ने, हातको छालाको सौन्दर्य बढाउन यसको प्रयोग हुँदै आएको छ। तर, हिजोआज मेहदी उपचारका लागि भन्दा पनि सुन्दर देखिन बढी प्रयोग गरिन्छ। विवाह, साउन महिना, तीज र अन्य चाडपर्वमा महिलाले अन्य शृंगारसँगै मेहदीलाई पनि अनिवार्य रूपमा समावेश गर्न थालेका छन्। आकर्षक देखिन हिजोआज महिलाले हत्केलामा मात्र नभई पाखुरा, गोडा र शरीरका अन्य भागमा पनि मेहदी लगाउने गरेका छन्।
- मेहदीको पात सुकाएर धुलो बनाउने। धुलो मेहदीलाई मलमलको कपडामा दुईतीन पटक छान्ने।
- कागतीको रसमा ८÷१० थोपा नीलगिरीको तेल हालेर धुलो मेहदीलाई भिजाउने र पानीमा इमली र चियाको पात राखी उमाल्ने। त्यसपछि पानी छानेर आवश्यक मेहदी धुलो हाली दुई घण्टा भिजाउने।
- गिलो मेहदीलाई कोनमा हालेर प्रयोग गर्नुपर्छ।
- हात र खुट्टामा लगाएको मेहदी सुकेर नखसोस् भन्नका लागि कागतीको रस र चिनीको मिश्रणलाई मेहदीमा मिलाउनुपर्छ। मेहदी लगाएको चार÷पाँच घण्टापछि निकाल्नुपर्छ। मेहदी निकालेपछि १२ देखि १४ घण्टासम्म मेहदी लगाएको भागमा पानी पर्न दिनु हुन्न।
- मेहदी निकालेपछि त्यसमा तोरीको तेल लगाउनुपर्छ।
- मेहदी तयार पार्नका लागि मेहदी पाउडर, सेलोटेप, गिफ्टपेपर, रबर, कागती, चिनी, मेहदीको तेल, पिपरमेन्टको तेल, ल्वाङको तेल, सञ्चो, तोरीको तेल, कफी, चियापत्ती, तारपिनको तेल र डेटोल चाहिन्छ।
- रिजर्भ मेहदी लगाउने तरिका
चाहिने सामग्रीः फेबिकल र रातो (नेचुरल) मेहदी
फेबिकोल र रातो मेहदीको छुट्टाछुट्टै कोन बनाउने। त्यसपछि फेबिकोलको कोनले हातमा बुट्टा कोर्ने र पाँच मिनेटसम्म सुक्न दिई फेरि फेबिकोलको बुट्टामाथि मेहदीको कोनले लेप लगाउने। यसलाई तीन÷चार घण्टासम्म सुक्न दिने। फेबिकोल लागेको ठाउँमा मेहदी बस्दैन। तर, मेहदी लागेको ठाउँमा मेहदी बस्छ। यस्तो मेहदी लगाउने कामलाई रिजर्भ मेहदी भनिन्छ।
गर्मीमा मेहदी बनाउने विधिः
मेहदीको पाउडर मनतातो पानीमा मिसाएर धुलोलाई लेदो बनाउने र दुईतीन घण्टासम्म भिजाउने। राम्रोसँग भिजेको मेहदीमा चारपाँच थोपा तारपिनको तेल, चारपाँच थोपा ल्वाङको तेल, चार थोपा नीलगिरीको तेल हालेर राम्रोसँग मिसाउने।
फेब्रिक र मेटालिक मेहदी लगाउने तरिकाः
जुन ठाउँमा मेहदी लगाउने हो, त्यही भागमा स्किन गम लगाई कालो फेब्रिक र मेटालिक कलरले बुट्टाको आउटलाइन कोर्ने र भित्री भागमा मेहदी लगाउने। फेब्रिक र मेटालिक कलरको एलर्जी हुनेहरूले यो मेहदी लगाउनु हुँदैन।
ब्ल्याक–ब्राउन मेहदी लगाउने तरिकाः
ब्ल्याक र ब्राउन मेहदीको छुट्टाछुट्टै कोन बनाउने। ब्ल्याक कोन बनाई आउटलाइन तानी १०÷१५ मिनेट सुक्न दिई पानीले धुने र सुकेपछि बाँकी भित्री भागमा ब्राउन मेहदीले बुट्टा कोरी चारपाँच घण्टासम्म सुक्न दिने। सुकिसकेपछि तोरीको तेल लगाई सफा गर्ने। यस्तो किसिमको मेहदीलाई ब्राउन मेहदी भनिन्छ। ब्ल्याक मेहदीले छालामा हानि गर्न सक्छ। त्यसका लागि शरीरको कुनै भागमा एक थोपा मेहदी लगाउने। त्यसबाट कुनै नकारात्मक असर देखिएन भने मात्र यो मेहदी लगाउनुपर्छ। अन्यथा, यसले छालामा नराम्रो असर गर्न सक्छ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७ -
नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंलाई
शनिबार, १३ भदौ २०७७