लयमा फर्किन प्रयत्नरत नेपाली खेलकुद

writer

विष्णु थापा

आइतबार, १८ साउन २०७७


ब्याडमिन्टन, कराते, क्रिकेटलगायत खेलको प्रशिक्षण सुरु भएको छ। संघहरूले आफैँ स्वास्थ्य सुरक्षा अपनाएर प्रशिक्षण गर्दै आएका छन्।


विश्वभरि फैलिएको कोराना भाइरसको संक्रमणका कारण अन्य क्षेत्रजस्तै विश्व खेलकुद पनि नराम्रोसँग प्रभावित बन्न पुगेको छ। नेपाली खेलकुद पनि यसबाट अप्रभावित रहन सकेन। चैत ११ मा सरकारले लकडाउन घोषणा गरेयता नेपाली खेलकुद ठप्प अवस्थामा रह्यो। चार महिना लामो लकडाउनको अन्त्य भएपछि खेलकुद पनि पुरानै अवस्थामा फर्किने प्रयासमा छ। नेपाली खेलकुदलाई कसरी अगाडि बढाउने, हाम्रा खेलाडीको फिटनेस र फर्मलाई कसरी कायम राख्ने भन्ने विषयमा सरोकारवाला निकायले सोच्नसम्म नभ्याए पनि सरकारले भने भदौ १ बाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलको प्रशिक्षण सुरु गर्न बाटो खोल्दिइसकेको छ। अधिकांश खेल विश्व खेलकुदसँग जोडिएकाले त्यसको प्रत्यक्ष असर नेपाली खेलकुदमा पनि प्रत्यक्ष रूपमा पर्ने भएकाले विश्व खेलकुदसँग प्रत्यक्ष सरोकार राख्ने खेलको प्रशिक्षण भदौ १ बाट सुरु गर्न सरकारले अनुमति दिएको हो। सरकारको अनुमतिअघि नै ब्याडमिन्टन, कराते, क्रिकेटलगायत खेलको अनौपचारिक रूपमा प्रशिक्षण सुरु भए पनि भदौ १ बाट फुटबललगायत खेलको विधिवत् प्रशिक्षण सुरु हुनेछ।  

राखेपसँग छैन कुनै योजना
नेपाली खेलकुदको मुख्य निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली खेलकुदलाई पूर्ववत् अवस्थामा फर्काउन अवलम्बन गर्नुपर्ने योजना अहिलेसम्म बनाउन सकेको छैन। राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले नेपाली खेलकुदलाई पुरानै ट्र्याकमा हिँडाउन विभिन्न योजना बनाएको बताए पनि खेलकुद विकास ऐन २०७७ अनुसार उनको पदावधि बीचैमा सकिएका कारण उनको योजना परिषद्ले कार्यान्वयन गर्न पाएन। असार १७ गते नयाँ खेलकुद ऐन लागू भएसँगै उनले परिषद् छाड्नुपरेको थियो। तर, सोही ऐनअनुसार साउन १२ मा सिलवाल पुनः सदस्यसचिवमा नियुक्त भएका छन्। उनी मन्त्री परिषद्बाट नियुक्त हुने पहिलो सदस्यसचिव हुन्  ।

राखेपको राष्ट्रिय टिम तयारी समितिका निर्देशक महेन्द्रकुमार राईले सदस्यसचिव नहुँदा नेपाली खेलकुदलाई अगाडि बढाउन विशेष तयारी भए पनि कार्यान्वयन हुन नसकेको बताए। ‘सोमबार मन्त्री परिषद्बाट सदस्यसचिव नियुक्त भए,’ उनले भने, ‘त्यसअघि सदस्यसचिव नहुँदा निकै अप्ठ्यारो भयो। खेलकुदलाई सुरक्षित रूपमा अगाडि बढाउन विभिन्न खाका तयार पारिए पनि कार्यान्यन गर्न सकेनौँ।’ 

राईले ब्याडमिन्टन, कराते, क्रिकेटलगायत खेलको प्रशिक्षण सुरु भए पनि परिषद्ले कसैलाई पनि लिखित रूपमा स्वीकृति नदिएको बताए। ‘अहिलेसम्म प्रशिक्षणका लागि कुनै खेललाई पनि हामीले स्वीकृति दिएका छैनौँ,’ उनले भने, ‘संघहरूले आफैँ स्वास्थ्य सुरक्षा अपनाएर प्रशिक्षण गर्दै आएका छन्।’

मन्त्री परिषद्ले नै निर्णय गरिसकेपछि स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलको प्रशिक्षण सुरु गर्न सकिने उनले बताए। ‘मन्त्री परिषद्ले नै स्वीकृति दिएपछि सम्बन्धित संघले प्रशिक्षण सुरु गर्न सक्छन्,’ उनले भने, ‘तर, मन्त्री परिषद्को निर्णय पनि स्पष्ट छैन। अन्तर्राष्ट्रिय प्रतियोगिता भनेर के–कस्ता प्रतियोगितालाई मान्ने भन्ने द्विविधा छ। अफिसियल गेमलाई मात्र अन्तर्राष्ट्रिय प्रतियोगिता मानेर प्रशिक्षण थाल्ने कि अरू आमन्त्रण प्रतियोगितालाई पनि मान्ने भन्ने समस्या देखिएको छ।’ उनका अनुसार अर्को वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिक र आगामी नोभेम्बरमा छैटौँ एसियन बिच गेम नेपाल सहभागी हुने अफिसियल गेम हुन्। पहिलो चरणमा यी खेललाई प्राथमिकतामा राखेर सुरु गरिने राईले जानकारी दिए। 

यसै गरी, आगामी अक्टोबर र नोभेम्बरमा नेपालमै आयोजना हुने विश्वकप छनोटअन्तर्गत एसियाली छनोटका खेलका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण पनि प्राथमिकतामा राखिएको छ। 

घरेलु मैदानमा तीन खेल
नेपालले ‘फिफा विश्वकप २०२२’ को एसियाली छनोटअन्तर्गत घरेलु मैदानमा तीन खेल खेल्दै छ। विश्वकप छनोटअन्तर्गत एसियाली देशको समूह ‘बी’मा रहेको नेपालले आगामी अक्टोबर ८ मा चाइनिज ताइपेई, अक्टोबर १३ मा अस्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग दशरथ रंगशालामा खेल्नेछ। यसअघि चैतका लागि तय भएको छनोट खेल महामारीका कारण स्थगित भएको थियो। 

विश्वकप छनोटअन्तर्गत नेपालले खेल्ने आठ खेलमध्ये पाँच खेल खेलिसकेको छ। बाँकी तीन खेल दशरथ रंगशालामा सञ्चालन हुनेछ। नेपालले यसअघिका खेलमा चाइनिज ताइपेईलाई मात्र २–० गोलले हराएको थियो। नेपाल आफ्नो पहिलो खेलमा कुवेतसँग ७–० र दोस्रो खेलमा १–० गोलले पराजित भएको थियो। नेपाल अस्ट्रेलियासँगको पहिलो खेलमा ५–० र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो।

अहिले समूहमा १२ अंकसहित अस्ट्रेलिया शीर्ष स्थानमा छ। कुवेत १० अंकसहित दोस्रो, १० नै अंक बनाएको जोर्डन तेस्रो, नेपाल तीन अंकसहित चौथो र अंक जोड्न नसकेको चाइनिज ताइपेई पुछारमा छ। 

खेलाडी क्वारेन्टिनमा 
सरकारबाट प्रशिक्षणको अनुमति पाएपछि एन्फाले राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई अनिवार्य क्वारेन्टिनमा राख्ने भएको छ। सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने टोलीका लागि भदौ १ बाट प्रशिक्षण सुरु गर्न स्वीकृति दिएसँगै एन्फाले खेलाडीलाई १४ दिन क्वारेन्टिनमा राखेर मात्र अभ्यास सुरु गर्न लागेको हो। खेलाडीलाई साउन १७ देखि ३० सम्म सेल्फ क्वारेन्टिनमा राख्ने भएको छ। 

मन्त्री परिषद्को निर्णयसँगै एन्फाले खेलाडीलाई साउन १६ भित्र उपत्यकामा आइसक्न सीमा तोकेको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिए। ‘सरकारको नियमअनुसार खेलाडीलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्नुपर्ने हुन्छ,’ उनले भने,  ‘त्यसैले समयमै तयारी सुरु गर्न खेलाडीलाई १६ गतेसम्म हाजिर हुन भनेका छौँ। अहिले २०÷२१ जना खेलाडी सम्पर्कमा आइसकेका छन्। उनीहरू घर र होटलमा सेल्फ क्वारेन्टिनमा बसेका छन्।’ 

उनका अनुसार सबै खेलाडीको पीसीआर परीक्षण गरेर मात्र बन्द प्रशिक्षणमा राखिनेछ। खेलाडी उपत्यका छिरेलगत्तै होटेलमा राख्ने र पीसीआर परीक्षण गरेर मात्र प्रशिक्षणका लागि तयार गरिएको एन्फाको होस्टेलमा राखिनेछ। 

गत फागुनमा शहीद स्मारक ‘ए’ डिभिजन लिग समाप्त भएलगत्तै एन्फाले ३४ खेलाडीलाई राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षणका लागि बोलाएको थियो। तर,  विश्वभर कोरोनाको संक्रमण फैलिएपछि प्रशिक्षण स्थगित गरिएको थियो। प्रारम्भिक टोलीमा परेका ३४ खेलाडीमध्ये १८ खेलाडी उपत्यकाभित्रै रहेको र बाँकी उपत्यका बाहिरबाट आउनुपर्ने एन्फाले जनाएको छ। 

स्वास्थ्य परीक्षणपछि मात्रै मैदान प्रवेश 
एन्फाले उपत्यकाभित्र र बाहिरबाट आएका सबै खेलाडीको स्वास्थ्य परीक्षणपछि मात्रै प्रशिक्षणका लागि मैदानमा प्रवेश गर्न दिने जनाएको छ। 

खेलाडीको क्वारेन्टिन र स्वास्थ्य परीक्षणको सबै खर्च एन्फाले बेहोर्नेछ। एन्फाले भदौ १ बाट राष्ट्रिय टोलीको औपचारिक प्रशिक्षण सुरु गर्नेछ। प्रशिक्षणका क्रममा पनि स्वास्थ्य सचेतना र अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को गाइडलाइनअनुसार प्रशिक्षण गराइने व्यवस्थापक उपाध्यायले जानकारी दिए। ‘प्रशिक्षणमा पनि स्वास्थ्य सचेतनालाई विशेष ध्यान दिइनेछ’, उनले भने, ‘फिफा र एएफसीको गाइडलाइनअनुसार समूह–समूहमा विभाजन गरेर प्रशिक्षण गराइनेछ।’ उनका अनुसार १०÷१२ जनाको समूह बनाएर प्रशिक्षण गराइनेछ। 

प्रमुख प्रशिक्षक कालिन स्विडेनमै 
नेपाली राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक योहान कालिन अहिले स्विडेनमै छन्। लामो समय नेपालमा बसेका उनी कोरोना संक्रमण फैलिन थालेपछि स्वदेश फर्किएका थिए। उनले ए डिभिजन लिगका सबै खेल हेरेर प्रारम्भिक टोली छनोट गरेका थिए। 

सरकारले भदौ १ बाट मात्र अन्तर्राष्ट्रिय उडानको अनुमति दिएकाले कालिन प्रशिक्षण सुरु भएको केही समयपछि मात्र राष्ट्रिय टोलीसँग जोडिने एन्फाले जनाएको छ। उनको अनुपस्थितिमा सहायक प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण सम्हाल्नेछन्। राष्ट्रिय टोलीका व्यवस्थापक उपाध्यायले उनी नियमित सम्पर्कमा रहेको र अन्तर्राष्ट्रिय उडान सुचारु भएपछि उनले राष्ट्रिय टोली सम्हाल्ने बताए। 

घरेलु भूमिमा हुने विश्वकप छनोट खेलका लागि तयारीमा कुनै कमी हुन नदिने दाबी व्यवस्थापक उपाध्यायको छ। सबै प्रशिक्षण स्वदेशमै हुने भए पनि अन्तर्राष्ट्रिय मापदण्डअनुसारकै प्रशिक्षण हुने उनले बताए। ‘तर, राष्ट्रिय टोलीको एक्सपोजरका लागि मैत्रीपूर्ण खेलको सम्भावना अत्यन्तै कम रहेको छ,’ उनले भने, ‘प्रमुख प्रशिक्षक कालिन आएपछि मात्र त्यसको निर्णय हुनेछ।’

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि