लकडाउनमा किन बढ्यो आत्महत्या ?

writer

त्रिचन्द्र प्रतीक्षा

शुक्रबार, १६ साउन २०७७


जेठ १५ मा रूपन्देही, बुटवल उपमहानगरपालिका वडा नं. १९ स्थित पत्थरगञ्जमा उदयपुरका २४ वर्षीय हिराकुमार श्रेष्ठ र गुल्मीकी २२ वर्षीया गीता खड्काले सँगै आत्महत्या गरेका थिए। 

अछामको बयलपाटा अस्पतालले सामूहिक अवकाश दिएका कर्मचारीमध्ये २५ वर्षीय सिद्धार्थ आउजीले जेठ २७ मा आत्मदाह गरे। लकडाउनका बेला जागिर गुमाएका उनले पुनर्बहालीको माग पूरा नभएपछि आफ्नै ज्यान लिएका हुन्। यस्तै, बाजुराको बडिमालिका नगरपालिका वडा नं. २ भौनेरास्थित सत्यवादी माध्यामिक विद्यालयको क्वारेन्टिनमा माझिगाउँका ४५ वर्षीय भूपेन्द्र दमाईले जेठ ३० मा झुण्डिएर आत्महत्या गरे भने यता काठमाडौँ महानगरपालिका वडा नं. १८ टेंगलटोलमा जेठ २७ मा १६ वर्षकी रितिका श्रेष्ठले आत्महत्या गरेकी हुन्। 

कतिपयले आजभोलि सामाजिक सञ्जालमा लाइभ गरेर आत्महत्या गर्ने गरेका छन्। असार १७ को मध्यरातमा फेसबुक लाइभ गरेर तुलसीपुर–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतमले झुण्डिएर आत्महत्या गरेकी थिइन्। 

चैत ११ देखि नेपाल सरकारले लकडाउन घोषणा गरेपछि बन्दाबन्दीमा थुप्रैले आत्महत्या गरेका छन्। चार महिनापछि लकडाउन खुलिसकेको छ। तर, संसारभर बढी आत्महत्या हुने मुलुकमध्ये नेपाल सातौँ स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन्। आत्महत्या गर्ने महिलाको तथ्यांक हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ। नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गइरहेको छ। 

धेरैजसो आत्महत्याको मुख्य कारण मानसिक रोग भएको मनोचिकित्सक निराकारमान श्रेष्ठ बताउँछन्। ‘उदासी, मादक पदार्थको सेवन, लागुऔषध दुव्र्यसनी लगायतले धेरैजसो आत्महत्या गर्ने गरेका छन्,’ उनी भन्छन्। लागुऔषध दुव्र्यसनीमध्ये १५ प्रतिशतले आत्महत्या गर्ने गरेको डा. श्रेष्ठ बताउँछन्। 

प्रहरीको अनुसार चैत ११ देखि साउन ४ सम्म आत्महत्या गर्नेमा पुरुष १ हजार १ सय ७२, महिला ८ सय ११, बालक ९४ र बालिका १ सय ४१ रहेका छन्। प्रहरीका अनुसार झुण्डिएर १ हजार ८ सय २८, विष खाएर ३ सय ४६, हाम्फालेर १९, पानीमा डुबेर १२, हातहतियार प्रयोग गरेर आठ, आगो लगाएर चार र करेन्ट लगाएर एक जनाले आत्महत्या गरेका छन्। लकडाउन सुरु भएयताको तथ्यांक हेर्दा दैनिक १० जनाभन्दा बढीले आत्महत्या गरेको नेपाल प्रहरीका प्रवक्ता नीरजबहादुर शाही बताउँछन्। 

वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायले पछिल्लो समय सबै खालका मानसिक तनाव बढेको बताउँछन्। ‘कोरोनाबाट पीडित सबै मुलुकमा अनेक किसिमका मानसिक रोग बढिरहेका छन्,’ उनी भन्छन्, ‘धेरैमा भाइरससँगै अब जीवन कसरी चलाउने भन्ने डर छ। मान्छेले काम गर्न पाएका छैनन्, आर्थिक संकट विकराल बन्दै छ, कतिका योजना तुहिएका छन्। अरू रोग लाग्दा उपचार गर्न पाइएको छैन, आफन्त, साथीभाइसँग भेटघाट ठप्प छ।’

मनोवैज्ञानिक, समाजशास्त्री र मनोचिकित्सकहरूले आत्महत्या गर्नुमा मनोवैज्ञानिक कारणको महŒवपूर्ण भूमिका रहन्छ भन्ने कुरा निश्चित गरेका छन्। फ्रान्सका समाजशास्त्री डेभिड इमाइल दुर्खीमले व्यक्तित्वमा तनाव बढेर चरम निराशा पैदा भएपछि आत्महत्या गर्ने र सामाजिक कारणबाट निराशा पैदा हुने जस्ता आत्महत्यासम्बन्धी कुरा आफ्नो सिद्धान्तमा उल्लेख गरेका छन्। तनावको प्रमुख कारक गरिबी पनि हो। यसलाई उनले समाजको संरचनागत प्रकार्यका रूपमा हेरेका छन्। 

आर्थिक दुरावस्था, बेरोजगारी, कोलाहलयुक्त शहरी परिवेश र निम्न आयबाट महँगो शहरमा जिउनुपर्ने बाध्यताले निराशा बढ्ने अपराधशास्त्री प्रा. माधवप्रसाद आचार्य बताउँछन्। ‘अहिलेको बढ्दो निराशा र यस कारण बढिरहेको आत्महत्यालाई राज्यविहीनताको स्थितिका रूपमा लिनुपर्छ,’ उनी भन्छनु, ‘यसलाई सामान्य ढंगले लिएर राज्य पन्छिन पाउँदैन। राज्यले नागरिकका लागि गर्नुपर्ने दायित्व निर्वाह नगरेकोले यस्तो भयावह स्थिति आएको हो।’

अमेरिकाको कोलम्बिया विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक युवल नेरिया कोरोनाको प्रकोप मानसिक रूपमा कति दर्दनाक हुन्छ, अहिले नै अनुमान गर्न नसकिने बताउँछन्। ‘यसले दीर्घकालसम्म आघात पार्नेमा कुनै शंका छैन,’ उनले भनेका छन्। अहिले विभिन्न देशले आफ्नो जनताका लागि मानसिक समस्या सामना गर्न गृहकार्य सुरु गरिसकेका छन्। अमेरिकाको न्युयोर्कमा कोभिड–१९ नियन्त्रण नहुँदै त्यहाँका गर्भनर एन्ड्यू क्वमोले छ हजार कर्मचारी नियुक्ति गरेर मानसिक परामर्श थालनी गरिसकेका छन्। नेपालमा राज्यस्तरबाट प्रभावकारी कदम चालिएको नदेखिए पनि आर्थिक वर्ष २०७७÷७८ को बजेटमा भने मनोवैज्ञानिक त्रास निराकरणका लागि खर्च विनियोजन गरिएको छ। अर्थमन्त्री युवराज खतिवडाले मानसिक स्वास्थ्य संवद्र्धन गर्न स्थानीय र सामुदायिक संघसंस्थाको सहभागितामा आरोग्य केन्द्र, व्यायामशाला र योग केन्द्र सञ्चालन गर्ने घोषणा गरेका छन्। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि