सुदूरमा संकट वरवर

writer

शिवराज भट्ट/धनगढी

शुक्रबार, १६ साउन २०७७


सुदूरपश्चिममा सोमबारसम्म ४ हजारभन्दा बढी संक्रमित फेला परेकामा २८ सयभन्दा बढी निको भएर घर फर्किसकेका छन्। भारतबाट आएका नेपाली क्वारेन्टिनमा नबसेर सीधै घर जाँदा समुदायमा संक्रमण फैलिने जोखिम बढेको छ।


सुदूरपश्चिमका सीमानाकाबाट नेपाल फर्किनेबाट समुदायमा संक्रमणको सम्भावना बढेको विज्ञहरूले बताएका छन्। लकडाउनका बेला ठूलो संख्यामा मानिस नेपाल फर्किएपछि स्थानीय तहले आफैँव्यवस्था गरेर क्वारेन्टिन गर्दै आएका थिए।तर, अहिले सीमा नाकाको आवागमन घटेपछि उनीहरू मनलाग्दी तरिकाले घर जान थालेका छन्। कैलालीको गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकी नाका भएर दैनिक दुईतीन सयको संख्यामा मानिस स्वदेश फर्किरहेका छन्। सुदूरपश्चिमका नौ जिल्लाका ८८ वटा स्थानीय तहका मानिस फर्किने भएकाले हरेक पालिकाले उनीहरूको यातायातको व्यवस्था गर्न कठिनाइ भएको छ।

‘अहिले समुदायमा संक्रमणको खतरा भारतबाट आएर, आफ्नै तरिकाले घर जाने र क्वारेन्टिन नबस्नेबाट हो,’ सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने, ‘एक स्थानीय तहका चारपाँच जना मात्रै आइरहेका बेला पालिकाहरूलाई पनि उनीहरूलाई सीमानाकाबाटै बोकेर क्वारेन्टिन गर्न कठिनाइ भइरहेको छ।’

डा. अवस्थीले लकडाउन पनि खुलिसकेको, अन्तरजिल्ला यातायात पनि चलिसकेको अवस्थामा अब काठमाडौँको जस्तै सीमा नाकामा पनि ‘होल्डिङ सेन्टर’ बनाउनुपर्ने बताए। ‘काठमाडौँमा जहाजबाट आउनेलाई होल्डिङ सेन्टरमा राखेजस्तै कैलाली–कञ्चनपुरका सीमा नाकामा पनि भारतबाट आएका मान्छेका लागि होल्डिङ सेन्टर बनाउनुपर्छ,’ उनले भने, ‘जसले गर्दा उनीहरूलाई कम्तीमा पनि सात दिनको क्वारेन्टिनमा राख्न सकियोस्।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ जारी गरेको कोभिड–१९ निर्देशिकामा विदेशबाट आएका हरेक नागरिकलाई कम्तीमा पनि सात दिन क्वारेन्टिनमा राख्नुपर्ने उल्लेख छ।विदेशबाट आएका हरेक नागरिकको क्वारेन्टिन बसेको छैटौँ दिन स्वाब संकलन हुने र सातौँ दिन पीसीआरको नतिजा आउने भनिएको छ। नेगेटिभ भए एक हप्ताको होम क्वारेन्टिन बस्ने गरी घर पठाउने र पोजिटिभदेखिए १४ दिन अनिवार्य आइसोलेसनमा बस्नुपर्ने नयाँ निर्देशिकामा उल्लेख छ। 

यसअघि पीसीआररिपोर्ट आउन नसकेको, स्वाब संकलन गरेपनि चेकजाँचको क्षमता कम भएको जस्ता समस्याले भारतबाट फर्केका नागरिकले दुई महिनासम्म पनि क्वारेन्टिन बस्नुपरेको थियो। तर, अब भने सुदूरपश्चिमका पाँचवटा प्रयोगशाला सञ्चालनमा आउने तयारीमा छन्। 

पशुरोग अन्वेषण प्रयोगशालामा रहेको एकमात्र पीसीआर मेसिनले नधानेपछि त्यही क्षमताको पीसीआर मेसिन डडेल्धुरा अस्पतालमा पनि सञ्चालनमा आएको छ। अबको चारपाँच दिनमा सेती प्रादेशिक अस्पतालमा पनि दैनिक आठ सयदेखि एक हजार स्वाबका नमुना जाँच गर्ने मेसिन सञ्चालनमा आउने भएको छ। 

क्षेत्रीय निर्देशक डा. अवस्थीले डोटी अस्पतालका लागि मगाइएको दैनिक आठ सयदेखि एक हजार नमुना जाँच गर्ने क्षमताको मेसिन मंगलबार मात्रै धनगढीबाट डोटीका लागि पठाइएको बताए। प्रदेश सरकारले कैलालीको सेती प्रादेशिक अस्पताल, डोटीको जिल्ला अस्पताल र बैतडीको जिल्ला अस्पतालमा आठ सयदेखि एक हजार क्षमताका तीन वटा रियल टाइम मेसिनसहितको प्रयोगशाला जडान गरिरहेको छ।

समुदायमा परीक्षण सुरु
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले कोरोना परीक्षणका लागि समुदायमा गइसकेको जनाएको छ। पहिलो चरणमा यसअघि संक्रमित भएर घर गएका परिवारका, नजिकका दुईजनाका दरले स्वाब संकलन सुरु भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।‘बाजुरामा यातायातका कारण सामग्री पठाउन समस्या भएको छ,’ डा. अवस्थीले भने, ‘त्यसबाहेक आठ जिल्लामा संक्रमितका परिवारका दुई जनाको स्वाब संकलनका लागि सामग्री पठाइसकिएको छ।’ 

उनले यस परीक्षणबाट कोरोना समुदायमा छ वा छैन भन्ने पत्ता लाग्ने बताए। ‘अहिलेसम्म कोरोना पोजिटिभ भएका परिवारका दुई जना सदस्यलाई पहिलो चरणमा, त्यसपछि बढी संक्रमित भएको जिल्ला, स्थानीय तह र वडामा पनि नमुना परीक्षण गरिनेछ,’ उनले भने, ‘तीन वटा नयाँ प्रयोगशालाले दैनिक तीन हजार, डडेल्धुरा जिल्ला अस्पताल र अहिलेको धनगढीमा रहेको पशु रोग अन्वेषण प्रयोगशालामा दैनिकपाँच सय गरी हरेक दिन साढे तीन हजारको परीक्षण क्षमता भएपछि मात्रै विस्तृत रूपमा समुदायमा जान सकिन्छ।’

जोखिमपूर्ण समय
लकडाउन खोलिसकेको, अन्तरजिल्लाको यातायात पनि चल्न थालेको, कलकारखाना, उद्योग चलिसकेको अवस्थामा संक्रमणको दर बढ्ने विज्ञहरूले अनमान गरेका छन्। लकडाउन खुलेको दुईतीन हप्तापछि मात्रै समुदायमा संक्रमण देखिने उनीहरूको भनाइ छ। सेती प्रादेशिक अस्पतालका कोभिड–१९ को उपचारमा खटिएका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले भने,‘अहिले जोखिमको पिरियड हो। समुदायमा कत्तिको संक्रमण छ भन्ने कुराका लागि टेस्ट बढाउनुपर्छ।’

अहिले नै समुदायमा संक्रमण भइसकेको वा नभएको भनेर भन्न सकिने अवस्था नरहेको डा. कमरले बताए। ‘भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिन गर्न सकिएन र एकजना मात्रै पनि कडा खालको भाइरस भएको व्यक्ति गाउँमा पस्यो भने अवस्था जटिल बन्नसक्छ,’ उनले भने,‘अहिले प्रदेश र स्थानीय सरकारले ध्यान  दिने भनेको भारतबाट आएकालाई क्वारेन्टिन गराउनेमा हो।’

अब परीक्षणको दायरा बढाउनुपर्ने पनि उनले बताए। ‘मानिसहरूमा डर मरेको हो वा लापर्बाही हो, समुदायको लय पुरानै अवस्थामा आइसक्यो,’ उनले भने,‘मानिसहरू भीडभाडको पर्वाह गरिरहेका छैनन्। अस्पतालमा त्यस्तै घुइँचो छ। बसपार्क र उद्योगहरूमा पनि भीडभाड छ। त्यसैले अब सुरक्षाकर्मी, मजदुर लगायतको जाँच गर्नुपर्छ।’

यसअघि समुदायमा खासै संक्रमण नभएको डा. कमरको अनुमान छ। ‘समुदायमा संक्रमण भएको भए लक्षण भएका बिरामीको संख्या बढ्नुपर्ने हो,’ उनले भने,‘तर,बढेको छैन। त्यसैले अहिलेसम्म समुदायमा खासै संक्रमण भएको छैन भन्ने अनुमान हो। भए पनि लक्षणबिनाको हुनसक्छ।’

डा. कमरले पनि होल्डिङ सेन्टर आवश्यक रहेको बताए। ‘कोरोना संक्रमणजति दिन बढी भयो, त्यति सार्ने क्षमता पनि घट्दै जान्छ,’ उनले भने, ‘त्यसैले होल्डिङ अति आवश्यक छ।’

दैनिक पाँच सयको मात्रै जाँच
सुदूरपश्चिममा रहेका दुई वटा प्रयोगशालामा आजभोलि दैनिक पाँच सय जनाको मात्रै स्वाबको परीक्षण भइरहेको छ। सुदूरपश्चिममा सोमबारसम्म ४ हजार १ सय ३ जना संक्रमित फेला परेकोमा २८ सय १९ जना घर पठाइसकेका छन्। यसमा केही अन्तिम पीसीआर गरेर घर गएका छन् भने केहीलाई १४ दिन आइसोलेसनमा राखेर लक्षण नदेखिएपछि घर पठाइएको छ।‘परीक्षणको दायरा बढाएमा मात्रै यकिन तस्बिर आउँछ,’ प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक रामप्रसाद ओझाले भने। संक्रमितको नजिकको दुईजनाको स्वाब संकलनको कार्य स्थानीय तहमा रहेका स्वास्थ्य इकाईहरूले सुरु गरिसकेको उनले बताए।

धनगढीका एक हजार क्षमताको प्रयोगशाला सुरु भयो भने आजभोलिको भन्दा दोब्बर स्वाब परीक्षण हुने ओझाले बताए। ‘धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशाला सञ्चालनको अन्तिम चरणमा छ,’ उनले भने,‘चारपाँच दिनमा प्रयोगशालाको सेटअप सकिन्छ भन्ने जानकारी आएको छ। त्यसपछि अझ परीक्षण सजिलो हुन्छ।’

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि