दोस्रो लकडाउनको सँघारमा युरोप

writer

द गार्जियन

शुक्रबार, १६ साउन २०७७


स्पेन, बेल्जियम, फ्रान्स, जर्मनी आदि युरोपेली देशमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु हुन थालेको छ। विभिन्न शहरमा संक्रमण फैलिन थालेपछि पुनः लकडाउनको सम्भावना बढेको छ। 


युरोपमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु हुन थालेको छ। विभिन्न स्थानमा संक्रमण फैलिन थालेपछि पुनः लकडाउनको सम्भावना बढेको छ। महिनाँैसम्म चलेको महामारीको पहिलो लहर थामिएसँगै युरोपका दशौँ लाख मानिस यतिबेला बर्खे छुट्टी मनाउन यात्रामा छन्। यसले संक्रमणको सम्भावना झन् बढाएको छ।

बेल्जियममा गएको सातादेखिकोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ।बेल्जियमले आन्तेर्प क्षेत्रमा रात्रि कफ्र्यू लगाइएको छ भने मास्क अनिवार्य गरिएको छ। सरकारले दोस्रो पटक ‘पूर्ण लकडाउन’ लगाउन सकिने चेतावनी दिएको छ।

उता, स्पेनको कतालोनिया क्षेत्रमा पनि निरन्तर संक्रमण बढिरहेको छ। सरकारले आगामी १० दिनमा सो संक्रमण नियन्त्रणमा नआए फेरि लकडाउन लगाउने बताएको छ।फ्रान्सको स्वास्थ्य मन्त्रालयले युवामा अचानक संक्रमण वृद्धि भएको भन्दै होसियारी अपनाउन आह्वान गरेको छ। जर्मनीमा जनस्वास्थ्यसम्बन्धी सल्लाह दिने समितिले गएको केही सातामा कोरोना भाइरस संक्रमितको संख्यामा भएको उल्लेख्य वृद्धि चिन्ताजनक भएको बताएको छ।

सोमबार बेल्जियमकी प्रधानमन्त्री सोफी विल्म्सले महामारीको दोस्रो लहर रोक्न विभिन्न गतिविधिमा रोक लगाइएको घोषणा गरेकी छन्। उनले दोस्रो लकडाउन आवश्यक पर्न सक्ने पनि बताइन्। ‘यदि हामीले कोरोना भाइरस रोक्न सकेनौँ भने त्यो हाम्रो सामूहिक असफलता हुनेछ,’ उनले राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘विज्ञहरूको भनाइ छ– अर्को लकडाउन लगाउन नपर्ने स्थिति तयार गर्न सम्भव छ। तर, हामीले बिर्सन नहुने कुरा के हो भने विश्वका अगुवा वैज्ञानिकहरूले पनि परिस्थिति कसरी अगाडि बढ्नेछ भन्ने थाहा पाउन सकेका छैनन्। हामीले मानिसलाई तर्साउनु हुँदैन। तर, हामीले सबथोक जानेका छौँ भन्ने भ्रम छरेर उनीहरूलाई संकटमा पनि पार्नु हुँदैन।’

बेल्जियममा जुलाई १७ देखि जुलाई २३ सम्म सात दिनमा औसत ७१ प्रतिशतका दरले संक्रमितको संख्या बढेको थियो। प्रधानमन्त्री विल्म्सले शैक्षिक सत्र त्याग्नुपर्ने अवस्था आउनसक्ने बताइन्। साथै उनले घरबाट काम गर्न मिल्नेजतिलाई कार्यालय नजान पनि आग्रह गरिन्।बुधबारदेखि हरेक परिवारले घरबाहिरका पाँच जना मानिससँग मात्र सामाजिक सम्पर्क कायम राख्न पाउनेछन्।

किनमेलका लागि एक जना मात्र जाने, पसलमा ३० मिनेट मात्र समय गुजार्नेजस्ता नियम पनि लगाइएका छन्। त्यस्तै, १० जनाभन्दा ठूलो समूह बाहिर निस्किन नपाइने नियम लगाइएको छ।

स्पेनको कतालोनियाका क्षेत्रीय अध्यक्षक्विम तोराले सोमबार सो क्षेत्रको अवस्था अघिल्लो पटकको लकडाउन घोषणा गर्नुअघि जस्तै भएको बताएका छन्। स्पेनमा मार्चमा देशव्यापी लकडाउन लगाइएको थियो।‘हामी यो बर्खाको सबैभन्दा महŒवपूर्ण १० दिनमा छौँ,’ तोराले भने, ‘यस अवधिमा हामी परिस्थितिलाई ऐक्यबद्धता, सहकार्य र सामूहिक प्रयत्नका माध्यमबाट समाधान गर्न सक्छौँ कि सक्दैनौँ, त्यसमा धेरैथोक निर्भर रहनेछ। ‘तर, परिस्थिति निकै नाजुक छ। र, यदि हामीले यसलाई नियन्त्रणमा लिन सकेनौँ भने पछि हट्नुको विकल्प रहनेछैन।’

गएको १४ दिनमा कतालोनियामा आठ हजार नयाँ संक्रमित फेला परेका छन्। स्पेनभर त्यही अवधिमा १६ हजार नयाँ संक्रमित भेटिएका छन्। कतालोनियाको छिमेकी अरागनमा पनि संक्रमण बढिरहेको छ। शुक्रबार र शनिबार मात्रै सो क्षेत्रमा ७ सय ३८ जना नयाँ संक्रमित थपिएका थिए।

स्पेनमा धेरै संक्रमण बार र क्लबबाट फैलिएका छन्। त्यस्तै, फलफूल पसले, तरकारी टिप्ने कामदार, गरिब र सामाजिक दूरी कायम गर्न नसक्नेमाझ पनि संक्रमण फैलिएको छ।तीन महिना लामो कडा लकडाउन जुनमा हटाइएको थियो। त्यसयता गत साता स्पेनी स्वास्थ्य अधिकारीहरूले महामारीको दोस्रो लहर सुरु भइसकेको हुनसक्ने चेतावनी दिएका थिए।सोमबार मात्र स्पेनको स्वास्थ्य मन्त्रालयले ८ सय ५५ नयाँ संक्रमित फेला परेको बताएको थियो।हालसम्म स्पेनमा सम्पूर्ण संक्रमितको संख्या २ लाख ७८ हजार नाघेको छ। गतसात दिनमा स्पेनमा कोरोनाबाट छ जनाको ज्यान गएको छ। महामारी उत्कर्षमा हुँदा स्पेनमा ३१ मार्चका दिन ९ हजार २ सय २२ जना संक्रमित फेला परेका थिए।

कतालोनियाको क्षेत्रीय सरकारले १५ दिनका लागि सबै नाइटक्लब बन्द गर्न निर्देशन दिएको छ। बार्सिलोनालगायत शहरमा बारमा राति कफ्र्यू लगाइएको छ। बार्सिलोनाका बासिन्दालाई घरमै बस्न सरकारले सुझाव दिएको छ। तर, सरकारी सुझाव बेवास्तागरी समुद्री किनारमा जाने मानिसको संख्या ठूलो छ। केही युवाले सडकमै पार्टी आयोजना गर्न थालेका छन्।

फ्रान्सको स्थिति पनि उस्तै छ। फ्रान्सेली स्वास्थ्यमन्त्रीले युवालाई कोरोनाबाट सुरक्षित रहन आवश्यक उपाय अपनाउन आह्वान गरेका छन्। त्यसका लागि सामाजिक दूरी कायम राख्ने, हात धुने र मास्क लगाउने गर्न मन्त्री ओलिभिएर वेरानले आह्वान गरेका हुन्।‘आम परीक्षण गर्दा हामीले संक्रमितमध्ये धेरै युवा भेटेका छौँ,’ मन्त्री वेरानले भनेका छन्, ‘अहिले अघिल्लो लहरमा भन्दा संक्रमित युवाको संख्या धेरै छ। खासगरी, पेरिसमा यस्तो अवस्था छ।’ 

फ्रान्सेली चिकित्सकहरूको युनियनका अध्यक्ष जेरोम मार्टी महामारीका लागि बर्खे छुट्टी महŒवपूर्ण हुने बताउँछन्। ‘अबको तीन सातासम्म सबथोक जोखिममा छ, किनभने हामी निकै खतरनाक चरणमा प्रवेश गर्दैछौँ,’ उनले भने, ‘सबैभन्दा धेरै आवतजावत र भीडभाड हुने समय यही हो। कुनै–कुनै क्षेत्र यस्ता छन्, जहाँका बासिन्दाको संख्या १० हजार छ। तर, यो अवधिमा त्यहाँको जनसंख्या अचानक ८० हजारसम्म पुग्ने गर्छ। एकैदिनमा अस्पताल भर्ना हुनेको संख्यामा ह्वात्तै वृद्धि हुन सक्छ।’

जर्मनीमा पनि कोरोना महामारीको दोस्रो लहरको भय पैदा भएको छ। केही विज्ञले दोस्रो लहरको सँघारमा मुलुक पुगेको चेतावनी दिइरहँदा केहीले भने दोस्रो लहर सुरु भइसकेको दाबी गरेका छन्। अझ केही विज्ञको तर्क त कोरोनाको एउटा मात्रै ‘स्थायी लहर’ हुने गर्छ, जुन खोप नआइपुगुञ्जेल जारी रहनेछ।

खासगरी,शहरी क्षेत्रमा, पर्यटकीय गन्तव्य र किसानमाझ भाइरस चाँडो फैलिएको छ। जसले गर्दा कतिपय क्षेत्रमा फेरि लकडाउन गर्नुपर्ने अवस्था आइपरेको छ। पछिल्ला साताहरूमा संक्रमितको संख्यामा भएको वृद्धिले आफूहरू चिन्तित भएको स्वास्थ्यसम्बन्धी सल्लाह दिने रोबर्ट कोक इन्स्टिच्युटले जनाएको छ। जर्मनीमा शुक्रबार आठ सयभन्दा बढी संक्रमित फेला परेका थिए। हप्तौँसम्म यो संख्या तीनसय र चार सयको बीचमा थियो। महामारीको उत्कर्षमा जर्मनीमा प्रतिदिन छ हजारभन्दा बढी संक्रमित फेला परेका थिए।

स्वास्थ्यमन्त्री येन्स स्पानले खासगरी छुट्टी मनाउन स्पेनको मायोर्का र इबिजातर्फ गएकालाई सुरक्षाका उपाय नबिर्सिन सुझाएका छन्। उनले बिदामा गएकाहरू फर्केपछि अनिवार्य परीक्षण गर्ने घोषणा पनि गरेका छन्।

जर्मनीको पूर्वी राज्य स्याक्सनीका नेता माइकल क्रेस्मारले दोस्रो लहर सुरु भइसकेको दाबी गरे। ‘हरेक दिन संक्रमितको नयाँ झुण्ड हामी फेला पारिरहेका छौँ। यसले चाँडै नै धेरै ठूलो संख्या उत्पन्न गर्नेछ,’ उनले भनेका छन्।

तर, दक्षिणी शहर फ्राइबर्गका चिकित्सकीय तथ्यांकशास्त्री गर्ड आन्तेस ‘दोस्रो लहर’को अवधारणाले मानिसहरूमा गलत धारणा सिर्जना गरेको बताउँछन्। भाइरस निरन्तर बढिरहने उनको भनाइ छ। भाइरसलाई रोक्न हटस्पटहरूलाई नियन्त्रणमा लिनुपर्ने र त्यसलाई फैलिन दिननहुने उनको सुझाव छ।

अनुवादः कवि आचार्य


 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि