लुकीछिपी आउने,   कोरोना फैलाउने

writer

क्रान्ति शाह / वीरगञ्ज

बुधबार, १४ साउन २०७७


वीरगञ्जमा हरेक दिन कोराना संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमण समुदायस्तरमा फैलिसकेको चिकित्सकले बताइरहेका छन् । भारतबाट लुकीछिपी आएकाले संक्रमण फैलाएको आंशका गरिएको छ ।


वीरगञ्जको कोभिड अस्पतालमा संक्रमितहरू निको हुँदै घर फर्किन थालेपछि असारको अन्त्यतिर दुई जना मात्र बाँकी थिए । क्वारेन्टिन पनि प्रायः खाली भइसकेका थिए । तर, साउन सुरु भएसँगै फेरि संक्रमितको संख्या अप्रत्याशित रूपमा बढ्दै गएपछि वीरगञ्ज फेरि कोरोनाको भुमरीमा परेको छ ।

वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा साउनको १ देखि १३ सम्म मात्रै १ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये पाँच जनाको भने उपचारका क्रममा मृत्यु भइसकेको छ । साउनयता संक्रमण पुष्टि भएका अधिकांश संक्रमित लक्षणसहितका रहेको कोभिड अस्पतालका चिकित्सक बताउँछन् । अस्पतालमा रहेका ६२ मध्ये चार संक्रमितको अवस्था गम्भीर छ । 

असारसम्म क्वारेन्टिनमा बसेकाहरूमा मात्रै संक्रमण भेटिने गरेको थियो । तर, साउनयता आफैँ पैसा तिरेर परीक्षण गराएका, अस्पतालमा उपचाररत बिरामी, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, विद्यार्थी, मजदुर, भन्सारका कर्मचारी, प्रहरी हिरासतका थुनुवा लगायतमा संक्रमण फेला परिरहेको छ ।

क्वारेन्टिनमा नबसेकामा पनि संक्रमण फेला पर्न थालेपछि वीरगञ्जमा कोरोना भाइरस समुदायस्तरमै फैलिसकेको चिकित्सकहरू बताउँछन् । संक्रमण समुदायस्तरमै देखापरेपछि गत शनिबारदेखि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ । संक्रमणलाई नियन्त्रण तथा रोकथामका लागि त्यहाँ आइतबारदेखि मास टेस्टिङ (समुदायमै परीक्षण) पनि थालिएको छ । ‘एक घर एक पीसीआर जाँच’ नारा दिएर सुरु गरिएको मास टेस्टिङ अभियानअन्तर्गत ५० हजार व्याक्तिको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।  

सरकारले लकडाउन खोलेको एक महिनाअघिदेखि नै सामान्य अवस्थामा फर्किसकेको वीरगञ्ज, अहिले पुनः कोरोनाको ‘हटस्पट’ बनेको छ । निषेधाज्ञा लगाइएसँगै फेरि सुरुवाती लकडाउनको अवस्थामा फर्किएको छ । निषेधाज्ञामा अत्यावश्यक उपचारबाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । औषधि र अस्पतालबाहेक अन्य सबै पसल, बजार, उद्योग–व्यवसाय पूर्ण रूपमै बन्द छन् । महानगरका चोक–चोकमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । पर्साकै अन्य पालिका र छिमेकी जिल्लाबाट वीरगञ्ज महानगर प्रवेश रोक लगाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय, पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरका अनुसार वीरगञ्जको प्रयोगशालामा भइरहेको परीक्षणमा साउन सुरु भएदेखि नै दैनिक संक्रमितको संख्या थपिँदै गएको छ । ‘दैनिक कहिले नौ जना, कहिले १७ जना, कहिले १८ जना त कहिले ३२ जनासम्म संक्रमित फेला परिरहेका छन्, सोमबार रातिमात्रै १५ वटा केस भेटियो’ उनी भन्छन् ।

समुदायमा पुग्यो कोरोना

क्वारेन्टिनमा नबसेका, आफैँ पैसा तिरेर स्वेच्छाले परीक्षण गराएका र कुनै ट्राभल हिस्ट्री नभएकामा संक्रमण फेला परिरहेकाले कोरोना संक्रमण अब समुदायस्तरमै पुगेको भन्ने निष्कर्ष चिकित्सकहरूको छ । 

‘पहिले बिनालक्षणका संक्रमित हुन्थे, तर अहिलेका नयाँ केस अधिकांश लक्षणसहितका छन्, यो चिन्ताको विषय हो,’ कोभिड अस्पतालका चिकित्सक डा. यादवनारायण सिंह भन्छन्, ‘पहिले क्वारेन्टिनमा मात्रै पोजेटिभ केस भेटिन्थे । तर, अहिले अधिकांश केस क्वारेन्टिन बाहिरका छन् । संक्रमण समुदायस्तरमै पुगेको आशंका प्रबल छ ।’
‘वीरगञ्जमा अब कोरोनाको संक्रमण समुदायस्तरमा गइसकेको कुरा हामीले स्विकार्नुपर्छ,’ नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. मदन उपाध्याय भन्छन्, ‘किनभने, केही दिनयता जति पनि पोजिटिभ केस देखिएका छन्, अधिकांश सेल्फ टेस्टमा देखिएका हुन् ।’

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेत पनि वीरगञ्जमा सशुल्क परीक्षण सुरु भएसँगै संक्रमितको संख्या बढ्न थालेको बताउँछन् । भन्छन्, ‘आपैmँले पैसा तिरेर कोरोनाको परीक्षण सुरु नगर्दासम्म संक्रमितहरू निको हुँदै घर फर्किरहेका थिए । आइसोलेसनमा दुई जना मात्र बाँकी थिए । पेड टेस्ट सुरु गरेपछि धमाधम कोरोना पोजिटिभ देखिन थाले ।’ 

वीरगञ्ज महानगरका नगर प्रमुख विजय सरावगी पनि कोरोनाको संक्रमण समुदायस्तरमै फैलिसकेको ठोकुवा गर्छन् । भन्छन्, ‘संक्रमणलाई समयमै रोक्न सकिएन भने भयावह स्थिति आउने पक्का छ ।’

आइसोलेसनमा बेडको अभाव

वीरगञ्जमा संक्रमित बढेसँगै कोभिड अस्पतालमा संक्रमितलाई उपचारका लागि राख्ने बेडको समेत अभाव हुन थालेको छ । आइसोलेसनमा बेड खाली नहुँदा ५० जनाभन्दा बढी संक्रमित होम आइसोलेसन र पालिकाको क्वारेन्टिनमा छन् । 

वीरगञ्जको गण्डकस्थित अस्थायी कोभिड अस्पताल ५० बेडको मात्र बनाइएको छ । तर, त्यहाँ अहिले ६२ जना संक्रमित उपचाररत रहेको कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंह बताउँछन् । ‘पछिल्लो समय संक्रमण पुष्टि भएका अधिकांश संक्रमितमा लक्षण छ,’ उनी भन्छनु, ‘उनीहरूलाई बाहिर राख्नु जोखिमपूर्ण हुन सक्छ । होम आइसोलेसनमा राख्दा संक्रमितले मापदण्ड पालना गरेनन् भने परिवारका अन्य सदस्यलाई संक्रमण हुन सक्छ ।’ 

‘संक्रमितको संख्याका साथै जोखिम पनि बढिरहेको छ,’ नारायणी अस्पतालका मेसु डा. मदन उपाध्याय भन्छन्, ‘अहिले सञ्चालनमा रहेको ५० बेड मात्रको कोभिड अस्पतालले धान्ने अवस्था नरहेकाले तत्कालै थप व्यवस्था गरिहाल्नुपर्छ ।’ आइसोलेसन केन्द्रमा बेडका साथै आईसीयू र भेन्टिलेटर पनि थप्नुपर्नेमा उनको जोड छ । 
अवस्था जोखिमपूर्ण भइसक्दा पनि आइसोलेसन व्यवस्थापनमा सरोकारवाला निकाय गम्भीर नदेखिएको उनको गुनासो छ । भन्छन्, ‘संघ, प्रदेश र स्थानीय सरकार वा जिल्ला संकट व्यवस्थापन केन्द्र जसले भए पनि थप आइसोलेसन व्यवस्थापनका लागि ठोस निर्णय गरिहाल्नुपर्छ ।’ 

नगर प्रमुख सरावगी भने आइसोलेसन व्यवस्थापनको जिम्मेवारी महानगरको मात्रै नभएको बताउँछन् । ‘अहिलेको आइसोलेसन सेन्टर महानगरपालिकाकै खर्चमा चलिरहेको छ,’ उनी भन्छन्, ‘अन्य जिल्लाका संक्रमितको उपचार पनि यहीँकै आइसोलेसन सेन्टरमा भइरहेको छ । तर, न त कुनै पालिकाले सहयोग गरेको छ, न प्रदेश र संघ सरकारले नै सहयोग गरेको छ ।’ वीरगञ्जकै नेसनल मेडिकल कलेज वा नारायणी अस्पताललाई आइसोलेसन सेन्टर बनाउने प्रमुख जिल्ला अधिकारी नेतृत्वको संकट व्यवस्थापन केन्द्रले निर्णय लिनुपर्ने उनी बताउँछन् ।

लुकीछिपी आउनेले फैलाए संक्रमण 

नेपालसँग सीमा जोडिएको भारतको बिहारमा संक्रमितको संख्या बढिरहेको छ । तर, नाकामा आवागमन रोक्न खटिएका नेपाली सुरक्षाकर्मीको लापर्बाहीका कारण भारतबाट अवैध तवरले भित्रिएका भारतीयले वीरगञ्जमा पुनः संक्रमण फैलाएको आशंका छ । 

‘दुवै देशको नाका सिल छ, तर लकडाउन खुकुलो भएसँगै लुकीछिपी भारतबाट मान्छेहरू वीरगञ्ज छिर्न सुरु गरिसकेका थिए,’ सामाजिक अभियन्ता ओमप्रकाश सर्राफ भन्छन्, ‘नाकामा खटिएका सुरक्षाकर्मीले अलि लापर्बाही गरे । त्यसकै नतिजा हो ।’ 

‘वीरगञ्जमा कैयन् पसले र पसलमा काम गर्नेहरू रक्सौलका निवासी हुन्,’ सर्राफ थप्छन्, ‘उनीहरू बिहान रक्सौलबाट आएर पसल खोल्थे, साँझ घर फर्किन्थे । नाकामा कुनै किसिमको रोकटोक थिएन ।’ गत बिहीबार राति वीरगञ्जमा संक्रमण पुष्टि भएका पाँच थुनुवा भारतीय नागरिक रहेको तथ्यले सर्राफको कुरालाई बल पु¥याउँछ । 
‘बिहीबार संक्रमण पुष्टि भएका पाँच थुनुवा भारतीय नागरिक हुन्,’ पर्साकी प्रहरी उपरीक्षक गंगा पन्त भन्छिन्, ‘उनीहरू लुकीछिपी वीरगञ्ज छिरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।’ 

‘सरकार ‘बोर्डर सिल छ’ भन्छ,’ नगर प्रमुख सरावगी भन्छन्, ‘तर, वीरगञ्ज–रक्सौल नाकाबाट दिनहँु सयाँैै मानिस  आउजाउ गरिरहे । नाकामा तस्करीको धन्दा चली नै रह्यो । यहाँका कलकारखानामा भारतबाटै आएका मजदुरले काम गरिरहेका छन् ।’ 

नाकाबाट लुकीछिपी आएर काम गरिरहेका भारतीय मजदुर र कर्मचारीमा संक्रमण भेटिन थालेपछि स्थानीय प्रशासनले आइतबारदेखि उद्योगमा अनुगमन गर्न सुरु गरेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार मारुती फर्मामा मात्रै नौ जना भारतीय कामदार र जगदम्बा इन्टरप्राइजेजका सीईओमा कोरोना संक्रमण देखिएको छ । आइतबार जगदम्बा इन्टरप्राइजेज, नारायणी स्टिल उद्योग, विश्वकर्मा सिमेन्ट, श्री सिमेन्ट, इन्टरनेसनल सिमेन्ट प्रालिमा स्थानीय प्रशासन र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जको टोलीले अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले ५० वटा उद्योगको कर्मचारी विवरण माग गरेर अनुसन्धान गर्ने तयारी गरिएको बताए ।

तपाईको कमेन्ट

मुख्य समाचार