न फिटनेस, न फर्म, न आम्दानी

writer

विष्णु थापा

मङ्गलबार, १३ साउन २०७७


फिटनेस र फर्मसँगै नेपाली खेलाडी आर्थिक समस्याबाट पनि गुज्रिरहेका छन् । नेपालमा पैसा पाउने खेल भनेको फुटबल र क्रिकेट हो । यी दुई खेलबाहेक अरू खेलका खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्था छैन । हाल फुटबल र क्रिकेट खेलाडी पनि नराम्रोसँग प्रभावित भएका छन् । 


नेपालमा कोरोना भाइरसको महामारी सुरु भएको चार महिना नाघिसकेको छ । कोरोनाका कारण विश्वले ठूलो मानवीय क्षति बेहोर्नुपरेको छ भने नराम्रोसँग आर्थिक क्षति पनि भोग्नुपरेको छ । यसबाट तंग्रिन विश्वका सम्पन्न देशलाई पनि लामो समय लाग्ने देखिएको छ । हाम्रोजस्तो विकासशील मुलुकले कोरोनाबाट कति आर्थिक तथा मानवीय क्षति बेहोर्नुपर्ने हो, त्यसको लेखाजोखा अहिलेसम्म हुन सकेको छैन । 

कोरोनाले गर्दा मानिसको दिनचर्यामा मात्र असर पु¥याएको छैन, आर्थिक, सामाजिक, राजनीतिक र खेलकुद क्षेत्रमा पनि ठूलो प्रभाव पारेको छ । कोरोनाकै कारण विश्व खेलकुद पनि नराम्रोसँग प्रभावित बन्न पुग्यो । अर्बौं रुपैयाँ लगानी गरिएका प्रतियोगिता अनिश्चित बने । युरोपका ठूला क्लब टाट पल्टिने अवस्थामा पुगे । खेलाडीले राम्रो आम्दानी गर्न पाएनन् । चर्चित खेलाडी पनि तलब कटौतीको मारमा परे ।

सुचारु भएन गतिविधि  

अहिले विश्व खेलकुद फेरि पुरानै अवस्थामा फर्किने प्रयासमा छ । त्यसका लागि विभिन्न तवरबाट पहल पनि भइरहेको छ । तर, नेपाली खेलकुद भने अहिले पनि शिथिल अवस्थामै छ । नेपाली खेलकुदलाई कसरी अगाडि बढाउने र हाम्रा खेलाडीको फिटनेस र फर्मलाई कसरी कायम राख्ने भन्ने विषयमा सरोकारवाला निकायले सोच्नसम्म भ्याएका छैनन् । नेपालभित्र हुने र नेपालले आयोजना गर्ने विभिन्न खेलका साना÷ठूला राष्ट्रिय तथा अन्तर्राष्ट्रि«य प्रतियोगिता अन्योलमा परेका छन् । अधिकांश खेल विश्व खेलकुदसँग जोडिएकाले त्यसको प्रत्यक्ष असर नेपाली खेलकुदमा परेको हो । २०७२ सालको विनाशकारी भूकम्पले महŒवपूर्ण पूर्वाधारमा क्षति पु¥याएपछि चार वर्षसम्म सुस्ताएको नेपाली खेलकुद गत मंसिरमा आयोजना भएको तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) कारण जुर्मुराएको थियो । तेह्रौँ सागपछि नेपाली खेलकुद निश्चित ट्र्याकमा हिँड्ने विश्वास गरिएको थियो । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुदले थुप्रै आशा पनि जगाएको थियो । तर, कोरोना भाइरसको महामारीले नेपाली खेलकुदलाई नराम्रोसँग थला पारेको छ । 

कोरोना संक्रमण बढेपछि सुरु गरिएको लकडाउनका कारण सिंगो देशसँगै खेलकुद पनि घरभित्रै सीमित भयो । कराते, तेक्वान्दोलगायत केही खेलको अनलाइन प्रतिस्पर्धा भए पनि अन्य खेलकुद गतिविधि भने अहिलेसम्म सुचारु हुन सकेका छैनन् । लामो समय घरभित्रै थुनिँदा खेलाडीले फिटनेसका लागि सक्दो मेहनत गरेका थिए । तर, लकडाउन खुलेपछि उनीहरूलाई फिटनेससँगै खेल स्तर (फर्म) को पनि चिन्ता थपिएको छ ।

विदेशका खेलाडीले घरभित्रै बसेर विभिन्न प्रविधिमार्फत फिटनेसमा आधारित व्यायामलाई ध्यान दिए पनि हाम्रा खेलाडी भने यी सबै कुराबाट टाढा छन् । केही खेलाडीले घरमै सामान्य शारीरिक कसरत गरे पनि अधिकांश खेलाडीले भने न फिटनेसमा ध्यान दिन सकेका छन्, न त खेलस्तरका बारेमा नै चिन्तित देखिएका छन् । यही अवस्था अझै केही समयसम्म रहेमा नेपाली खेलकुद क्षेत्र नराम्रोसँग प्रभावित हुने देखिएको छ ।

आम्दानी ठप्प

फिटनेस र फर्मसँगै नेपाली खेलाडी नराम्रोसँग आर्थिक समस्याबाट पनि गुज्रिरहेका छन् । नेपालमा पैसा पाउने खेल भनेको फुटबल र क्रिकेट हो । यी दुई खेलबाहेक अरू खेलका खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने अवस्था छैन । खेलकुदमा आकर्षणका रूपमा हेरिएको फुटबल र क्रिकेटका खेलाडी पनि कोरोनाका कारण नराम्रोसँग प्रभावित बनेका छन् । 

अहिले फुटबलका ११ वटै ए डिभिजन क्लबले खेलाडीसँग गरेको सम्झौता सकिइसकेको छ । केही क्लबसँग एकदुई जना विदेशी खेलाडी भए पनि नेपाली खेलाडी भने कुनै क्लबसँग पनि आबद्ध छैनन् । तीन विभागीय टोलीका खेलाडी मात्र उनीहरूसँगै छन् । शहीद स्मारक ए डिभिजन लिगका लागि क्लबले सरदर २० जना नेपाली खेलाडी अनुबन्ध गरेका थिए । उनीहरूले मासिक २५ हजारदेखि एक लाख रुपैयाँसम्म पारिश्रमिक पाएका थिए । 

क्लबहरूले नेपाली खेलाडीलाई तीनचार महिनाका लागि मात्रै अनुबन्ध गर्ने गरेका छन् । शहीद स्मारक लिगअघि एक महिना प्रशिक्षण, दुई महिना लिग र एक महिना मोफसलमा हुने गोल्डकप प्रतियोगिताका लागि खेलाडी अनुबन्ध गर्ने गरिएको छ । अहिले विभागबाहेक सबै क्लबले नेपाली खेलाडीसँग गरेको सम्झौता सकिइसकेको छ । उनीहरू खेलाडीसँग तत्कालै सम्झौता नवीकरण गर्ने पक्षमा छैनन् । महामारी र लगातारको लकडाउनका कारण स्थानीयदेखि राष्ट्रिय स्तरका खेलाडी बेरोजगार बनेका छन् । राष्ट्रिय खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट मासिक भत्ता पाउने गरे पनि त्यो पर्याप्त भने छैन । एन्फाले पुरुषतर्फका राष्ट्रिय टोलीका सदस्यलाई मासिक १५ हजार र महिलालाई सात हजार रुपैयाँ दिँदै आएको छ । 

यसै गरी, क्रिकेटका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता ठप्प छन् । प्रतियोगिता ठप्प हुँदा खेलाडी मारमा पर्दै आएका छन् । राष्ट्रिय टोलीलाई खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले तीन वर्गमा विभाजन गरी मासिक रूपमा पारिश्रमिक प्रदान गर्दै आएको छ । तर, आईसीसीले गत वर्षदेखि खेलाडीको पारिश्रमिक पठाएको छैन । ‘ए’ वर्गका खेलाडीले ३५ हजार, ‘बी’ले २५ र ‘सी’ वर्गमा परेका खेलाडीले १५ हजार रुपैयाँ मासिक तलब पाउँदै आएका छन् । त्यो रकम पनि रोकिँदा उनीहरू मारमा परेका छन् ।  

खेलाडीको मुख्य आम्दानी भनेको प्रतियोगितामा खेल्दा आउने म्याच फी, क्लोज क्याम्पमा रहँदा प्राप्त गर्ने दैनिक भत्ता, विभिन्न व्यापारिक कम्पनीसँगको सहकार्य र उपाधि जित्दा प्राप्त हुने रकम हो । नेपाली खेलाडीले यसअघि त्यही रकमबाट दैनिक जीवन गुजारा गर्दै आएका थिए । महामारीमा आम्दानीका सबै स्रोत ठप्प हुँदा खेलाडी समस्यामा पर्दै आएका छन् । कोरोनाका कारण नेपाली खेलाडीले चरम आर्थिक संकट बेहोरिरहेका छन् ।

लामो समयसम्म घरभित्रै सीमित हुँदा तत्कालका लागि मात्र नभई खेलाडीको खेल जीवनमा पनि दीर्घकालीन असर पर्ने देखिएको छ । लामो समयसम्म प्रशिक्षणबाट टाढा रहँदा उनीहरूको प्रदर्शन खस्किने मात्र होइन, खेल क्षेत्रबाट पलायन हुने अवस्था पनि आउन सक्ने देखिएको छ । खेलाडीहरूले एउटा निश्चित उमेर वा प्रतियोगितासम्म खेल्ने र त्यसपछि सन्न्यास लिने सोचेका हुन्छन् । आफ्नो बढ्दो उमेरका कारण उनीहरूले विभिन्न प्रतियोगिता खेल्ने अवसर गुमाउँछन् भने उमेर समूहका खेलाडी पनि प्रत्यक्ष मारमा पर्छन् । त्यसैले जतिसक्दा चाँडो सरोकार निकायले खेलाडीका विषयमा सोच्नुपर्ने बेला आइसकेको छ । 
 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि