प्रौढावस्थाका यौन जटिलता

writer

डा. सुबोधकुमार पोखरेल, वरिष्ठ यौन विशेषज्ञ

शनिबार, १० साउन २०७७


पुरुष र स्त्रीबीच यौन सम्बन्धमा आउन सक्ने जटिलता मूलतः तीन कारणबाट आउँछन्–मानसिक, शारीरिक अनि मनोशारीरिक। प्रौढावस्था यस्तो उमेर हो, जसमा तीनवटै कारणले यौन जटिलता आउन सक्छ। महिलाको महिनावारी बन्द बेलाको उमेर बढी संवेदनशील हुन्छ। 

इस्ट्रोजन हर्मोनमा एक्कासि आउने कमीले यस उमेरमा विभिन्न मानसिक र शारीरिक परिवर्तन आउँछन्। मानसिक परिवर्तनमा डिप्रेसनका लक्षण देखिन सक्छ भने शारीरिक परिवर्तनमा महिनावारी छिटो–ढिलो हुने, कम–बेसी हुनेजस्ता गडबडी हुन्छन्। यसबाहेक यौन चाहना भएका बेला योनिमा निस्कने चिप्लो खालको योनिस्राव कम हुँदै गएर ठ्याप्पै बन्द हुन सक्छ, जसकारण सम्भोगका बेला हुने लिंग र योनिबीचको सहज घर्षण सम्भव हुन छाड्छ र यौनसम्पर्कका बेला महिलालाई अप्ठ्यारो हुने मात्र होइन, पीडा पनि हुनसक्छ। यस्तो अप्ठ्यारो वा पीडाले योनिको मांसपेशीमा संकुचन ल्याएर झन् साँघुरो बनाउन सक्छ। साँघुरो र ओभानो भएको योनिमा यौन आनन्द प्राप्त हुनुको सट्टा पीडा वा अप्ठ्याराका डरले यौन चाहना नै घटेर जान्छ। अर्कातिर डिप्रेसनसमेत भयो भने त निश्चित रूपमा यौन चाहना घट्ने मात्र होइन, आफ्नो पार्टनरले ‘माया चाहिँ गरोस् तर सम्भोग नगरोस्’ भन्ने मानसिकताको समेत विकास हुन्छ। 

यस अवस्थामा पुरुषको भूमिका अत्यन्त महŒवपूर्ण हुन्छ। कतिपय पुरुष योनिबाट चिप्लो स्राव ननिस्कँदा यौन सम्पर्कका बेला हुने आनन्दमा आउने कमीका लागि स्त्रीलाई जिम्मेवार ठान्छन् र स्त्रीले यौन क्रियाकलापमा ध्यान दिन छाडेर हेलचेक्य्राइँ गरेको आरोप लगाउँछन्।यसले गर्दा असमझदारीको बीजारोपण हुन सक्छ। अर्कातिर, यस्तो जटिलता स्वाभाविक भएको बुझेका वा पढेलेखेका समझदार पुरुषले स्त्रीलाई पनि यसको कारण बुझाएर आफू यसबाट विचलित नभएको सम्झाउनुपर्छ। यस अवस्थाको सामना जीवनका प्रत्येक सुखदुःखमा जस्तै गर्न तयार रहेको आश्वासन दिनुपर्छ। सहजरूपमा धैर्यसहित प्रस्तुत हुनुपर्छ। 

योनि ओभानो भएको अवस्थाका लागि शरीरलाई हानि नगर्ने विशेष किसिमका जेली बजारमा पाइन्छन्। तिनीहरूको विश्वसनीयताको मापन उपभोक्ता स्वयंले प्रयोग गरेर जाँच्नुपर्छ। मानिसको थुक प्राकृतिक र सबैभन्दा भरपर्दो लुब्रिकेन्ट अर्थात् चिप्लो पदार्थ हो। 

योनिद्वारमाथि रहेको केराउको दानाजस्तो भगनासिका भन्ने अंगमा यस्तो चिप्लो जेली वा थुक लगाएर हलुका मर्दन गर्ने, लामो प्राक्क्रीडा गर्ने र योनिभित्र पनि जेली वा थुकको प्रयोगबाट कृत्रिम चिप्लोपन वा ढिलो भएपनि केही प्राकृतिक चिप्लोपन पैदा गर्ने, स्त्रीसँग प्रेमपूर्ण वार्तालाप (खासगरी विगतका मधुरस्मृतिका प्रसंग निकाल्न सकिन्छ) गर्नेजस्ता क्रियाकलाप गर्न सकिन्छ। महिलालाई अप्ठ्यारो वा पीडा भएको भए प्राक्क्रीडामा अझ विविधता ल्याई योनिमा लिंग प्रवेश गर्नुको साटो आपसी सल्लाहले हस्तमैथुनद्वारा भए पनि पुरुषले स्खलन गरेर यस्तो अवस्थाको व्यवस्थापन गर्न सक्छन्। आफ्नो अप्ठ्यारोलाई पुरुषले बुझेको अनुभूति गर्दा स्त्रीमा आफ्नो साथीप्रति कृतज्ञताको भाव बढ्छ र यौनजीवन सुखद रहन्छ। 

उता पुरुषबाट यस्तो समझदारी र आश्वासन नपाएका नारीहरूको मानसिक अवस्था अर्कै हुन्छ। उनीहरू आफ्नो यौनेच्छा र यौन व्यवहारमा आएको यस हठात् परिवर्तनका कारण कुण्ठा र ग्लानिले ग्रस्त हुन सक्छन्।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि