‘चिसो वर्ष’लाई एक करोड

writer

सम्पूर्ण

शुक्रबार, ०९ साउन २०७७


‘कालो पोथी’ फेम्ड निर्देशक मीनबहादुर भामको आगामी प्रोजेक्ट ‘चिसो वर्ष’ (अ इयर अफ कोल्ड) ले ७५ हजार युरो (करिब एक करोड रुपैयाँ) को पुरस्कार प्राप्त गरेको छ।

टर्कीको राजधानी इस्तानबुलमा आयोजित टीआरटी १२ पुन्टो स्क्रिप्ट ल्याबले ‘अन्तर्राष्ट्रिय सह–निर्माण’का लागि उक्त अवार्ड दिएको हो। भामको आगामी फिल्म ‘चिसो वर्ष’को सह–निर्माण टर्कीले गर्नेछ।

पटकथाका आधारमा विश्वभरका फिल्ममध्ये तीन वटालाई टीआरटी १२ पुन्टो अवार्ड प्रदान गरिन्छ। फिल्ममेकरको सहभागितामा विशेष समारोहबीच प्रदान गरिने उक्त अवार्ड यसपालि भने कोरोनाका कारण अनलाइनबाट घोषणा गरिएको थियो। 

‘चिसो वर्ष’मा दुई पात्रको हिमाली यात्राको कथा छ। हराएका पतिको खोजीमा निस्किएकी गर्भवती महिला पेमा र दाइको खोजीमा निस्किएका बौद्ध भिक्षुबीच संयोगले भेट हुन्छ। उनीहरू एकसाथ आफन्तका खोजीमा निस्कन्छन्। त्यस क्रममा उनीहरूको जीवनमा आउने उतारचढाव नै फिल्मको कथा हो। 

भामको यस प्रोजेक्टले यसअघि पनि विभिन्न समयमा फन्ड जितिसकेको छ। सन् २०१७ मा ‘चिसो वर्ष’ले एसियन प्रोजेक्ट मार्केट बुसान (कोरिया)को सरफन्ड पिचिङ अवार्ड जितेको थियो भने सन् २०१८ मा स्विट्जरल्यान्डको लोकार्ने फिल्म फेस्टिभलमा छ हजार युरो जितेको थियो। त्यसै गरी, सन् २०१९ मा यसको स्क्रिप्टले नर्वेजियन साउथ फिल्म फन्ड (सरफन्ड)बाट ६० हजार डलर ग्रान्ट प्राप्त गरेको थियो। एसियन सिनेमा फन्डअन्तर्गत १० हजार अमेरिकी डलरलगायत सिनेमाज डू मोन्डे प्रोडक्सन फन्ड पनि प्राप्त गरिसकेको छ।

यही वर्षको वैशाख–जेठमा छायांकनमा जाने चर्चा रहे पनि बीचैमा कोरोना महामारी सुरु भएपछि यो फिल्म अर्काे वर्षको सुरुतिर मात्र फ्लोरमा जाने अनुमान छ। 
    
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि