सोफियाको फरक तीज गीत

writer

सम्पूर्ण

शुक्रबार, ०९ साउन २०७७


तीज नजिक आउँदा गायकगायिकाले तीज गीत सार्वजनिक गर्ने क्रम तीव्र पारेका छन् । सोही क्रममा गायिका सोफिया थापाले पनि फरक सन्देशसहितको तीज गीत सार्वजनिक गरेकी छिन् । ‘अबको तीज नो व्रत प्लिज’ बोलको गीतमा शब्द, संगीत तथा स्वर सोफियाको छ । 

गीतले परम्परागत तीजको शैलीमा परिवर्तन खोज्न आग्रह गरेको छ । व्रत बस्नैपर्ने, श्रीमान्को खुट्टाको पानी खानैपर्ने बाध्यतात्मक संस्कारमा परिवर्तनको खाँचो गीतले औँल्याएको छ । 

‘नयाँ पुस्ताले व्रतबिनाको तीजको परिकल्पना गर्न थालिसके,’ गायिका सोफियाले भनिन्, ‘नयाँ पुस्ताको चाहनालाई सम्बोधन गर्दै यो गीत निकालिएको हो ।’

महिला–पुरुष बराबरी सिद्धान्तमा जोड दिइएको गीतमा गीतको भिडियो पनि निर्माण गरिएको छ । मनीष पन्तको निर्देशन रहेको भिडियो पनि तीजका परम्परागत भिडियोभन्दा फरक छ । प्रायः रातो साडी र चुरामा सजिएर खिचिने भिडियोभन्दा पर रहेको ‘अबको तीज नो व्रत प्लिज’मा आधुनिक नृत्य देख्न सकिन्छ ।

गीत सार्वजनिक भएलगत्तै हिन्दू जागरण नेपालले गीत हटाउन धम्की दिएको सोफियाले बताइन् । ‘‘गीतले हिन्दू धर्मको आस्थाप्रति विचलन ल्याउँछ, तुरुन्तै हटाउनुस्, नत्र कानुनी कारबाहीमा जान्छौँ’ भन्दै मलाई धम्की दिइयो,’ सोफियाले भनिन्, ‘मलाई मात्र होइन युट्युब च्यानल हाइलाइट नेपाललाई पनि यस्तै धम्की दिइएको छ ।’वर्षाैंदेखि चल्दै आएको परम्पराको विरोधमा गीत बनाइएको भन्दै हिन्दू जागरण नेपालले गीत हटाउन दबाब दिएको हो । 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि