मौद्रिक नीतिको स्वागत

writer

सम्पूर्ण

शुक्रबार, ०९ साउन २०७७


फिल्मकर्मीले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको स्वागत गरेका छन् । आफूहरूले पेश गरेका मागको अधिकांश बुँदा सम्बोधन भएको भन्दै चलचित्र निर्माता संघले नीतिको स्वागत गरेको छ । संघका अध्यक्ष आकाश अधिकारीले आफूहरूको माग नीतिमा समेटिएकोमा खुशी व्यक्त गरेका छन् । ‘मौद्रिक नीतिमा मनोरञ्जन क्षेत्र भन्ने उल्लेख छ,’ उनले भने, ‘यसले सम्पूर्ण मनोरञ्जन क्षेत्रलाई सम्बोधन गर्छ । असारसम्म तिर्न भनिएको ब्याज पुससम्म तिर्न सकिनेछ । ब्याज तिर्न नसकेको खण्डमा त्यसैलाई साँवा बनाएर तिर्दा पनि हुन्छ भनिएको छ । योसुखद कुरा हो ।’

अध्यक्ष अधिकारीले फिल्म क्षेत्रलाई पनि कोरोनाबाट अति प्रभावित क्षेत्रको सूचीमा राखिएकाले अन्य थुप्रै सुविधा प्राप्त हुने बताए । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा भनिएको छ–‘कोभिड १९ को नियन्त्रण र रोकथामका लागि चालिएको कदमका कारण पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत सबै पेशा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र ब्याज बन्दाबन्दीको अवधिमा भुक्तानी गर्न कठिनाइ भएको अवस्थालाई दृष्टिगत गरी कर्जा भुक्तानी अवधिको म्याद थप र कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकणको व्यवस्था गरिनेछ ।’

अधिकारीले लकडाउनको अवधिमा तिनुपर्ने ब्याजमा ५० प्रतिशत छुटको माग आफूहरूले राखेपनि त्यो पूरा नभएको भन्दै यसका लागि प्रक्रिया अगाडि बढाउने बताए । बजेटले समेट्न नसकेका धेरै पक्षलाई मौद्रिक नीतिले समेटेको भन्दै उनले खुशी व्यक्त गरे ।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि