मेसिनसरी खटिरहेका स्वास्थ्यकर्मी : सातै बार १५ घण्टा

writer

सृजना खड्का

शुक्रबार, ०९ साउन २०७७


– समाजको व्यवहारले स्वास्थ्यकर्मीलाई टर्चर
– ‘डाक्टरलाई डराउने छुट छैन’
– प्रोत्साहन भत्ताः आँखामा छारो

हालै कोरोना भाइरस संक्रमितको सेवामा खटिएका स्वास्थ्यकर्मीले डाइपर लगाएर काम गरिरहेको खबर बाहिर आएको थियो। कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशालामा खटिने प्राविधिकहरूले पीपीई लगाएर १२ घण्टा ड्युटी गरुञ्जेल शौचालय जान नमिल्ने भएकाले कोहीले कम पानी खाने र कोहीले डाइपर लगाएर काम गर्ने गरेको बताएका थिए। केही महिला स्वास्थ्यकर्मीले भने महिनावारी भएका बेला लामो समय प्याड नफेरी काम गर्नुपर्ने बाध्यता सुनाएका थिए। 

रौतहटको सुर्खेत प्रादेशिक अस्पतालको पशुपक्षी रोग अन्वेषण प्रयोगशालाका माइक्रोबायोलोजिस्ट हुन्, सञ्जय चौधरी। पीसीआर परीक्षणका लागि ल्याइएका स्वाबको नमुनाबाट रिपोर्ट निकाल्ने उनले भनेका थिए– ‘ल्याबमा पीपीई सेट लगाएर काम गर्दा सुरुका दिनमा लामो समयसम्म पिसाब रोक्न गाह्रो हुन्थ्यो। आजभोलि घण्टौँ पिसाब रोक्ने बानी परिसक्यो।’

सुदूरपश्चिम, धनगढीस्थित सेती प्रादेशिक अस्पतालको पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा कार्यरत मेडिकल टेक्नोलोजिस्ट कञ्चन विष्टले पीसीआर ल्याबमा काम गर्दा महिनावारीमा एकै पटक तीन वटासम्म प्याड लगाएर काम गरेको बताइन्। ‘पीपीई लगाएर पटक–पटक प्याड कसरी फेर्नु ?’ उनले भनिन्, ‘कहिलेकाहीँ प्याडै नफेरी काम गर्नुपर्ने बाध्यतासमेत आउँछ।’

सोही प्रयोगशालामा काम गर्ने माइक्रोबायोलोजिस्ट आनन्द मण्डलले कहिलेकाहीँ डाइपर लगाउने गरेको बताए। ‘काम गर्दागर्दै बीचमै ट्वाइलेट जानुपर्ने आपत आइलाग्ला कि भनेर डाइपर लगाउँछु,’ उनले भने। 
०००

केही समयअघि अमेरिकामा कोरोना संक्रमितको उपचारमा खटिएकी डाक्टरले आत्महत्या गरिन्। ‘द न्युयोर्क टाइम्स’का अनुसार न्युयोर्कको प्रेस्बिटेरियन एलेन अस्पतालमा कार्यरत डाक्टर लोर्ना ब्रिनले आत्महत्या गरेकी थिइन्। उनी अस्पतालमा आपतकालीन विभागकी मेडिकल निर्देशक थिइन्।

लोर्नाका बुबा डा. फिलिप ब्रिनले न्युयोर्क टाइम्ससँग भनेका थिए, ‘उनले आफ्नो काम गरिरहेकी थिइन्। त्यही कामले उनको हत्या गरिदियो।’ फिलिपले आफ्नी छोरीमा कुनै पनि मानसिक रोग नभएको दाबी गरेका छन्। फिलिपका अनुसार उनी कोरोना संक्रमितको उपचार गर्दागर्दै आफैँ संक्रमित भएकी थिइन्। करिब डेढ हप्ता घरमै बसेर उपचारपछि उनी अस्पतालमा काममा फर्किएकी थिइन्। तर, अस्पतालले उनलाई फेरि घर फिर्ता पठाएइदिएको थियो। उनी फ्रन्टलाइनमा काम गर्दागर्दै निकै अतालिएकी थिइन्।’

न शनिबार, न सार्वजनिक बिदा
काठमाडौँ, वीर अस्पतालकी कन्सल्ट्यान्ट क्लिनिकल जेनेटिसिस्ट डा. नीलम ठाकुरलाई चार महिनादेखि न शनिबारे बिदा लागेको छ, न सार्वजनिक बिदा। ‘यो चार महिनामा हामीले शनिबार र सार्वजनिक बिदा भन्ने नै बिर्सिसक्यौँ,’ उनले भनिन्, ‘यसरी आराम नगरी काम गर्ने म मात्रै होइन, अस्पतालका प्राविधिकदेखि कार्यालय सहयोगीसमेत धेरै जना हुनुहुन्छ।’

नीलमका अनुसार वीर अस्पतालमा चिनजानका दुई महिला स्वास्थ्यकर्मी छन्। एक जनाको १८ र अर्कोको सात महिनाको बच्चा छ। प्राविधिक पाटोमा काम गर्ने एक जना युवा छन्। जो आफैँ क्षयरोगको औषधि खाएर पीसीआर रिपोर्ट निकाल्न खटिइरहेका छन्। 

नीलमको पनि चार वर्षको छोरा छ। उनको परिवार अमेरिकामा छ। ‘घरमा म र छोरा मात्र छु,’ उनले भनिन्, ‘एक जना आफन्तको भरमा छोरालाई छाडेर बिहान ९ बजे नै अस्पताल आइपुग्छु।’ बेलुका घर फर्किदा रातको कति बज्छ उनी आफैँ भन्न सक्दिनन्। उनको छोरालाई अस्पताल ‘राक्षस’जस्तो लाग्छ। नीलमलाई देख्नेबित्तिकै उनी भन्न थाल्छन्, ‘हस्पिटल इज अ मनस्टर, इट टेक्स अवे माई मम (अस्पताल राक्षस हो। जसले मेरी आमालाई मबाट टाढा बनाउँछ)।’ 

‘बिहान हिँडेका मान्छे बेलुका कतिबजे फर्किने टुंगो हुँदैन,’ उनले भनिन्, ‘घर फर्किएपछि छोराले ‘अरूका ममी किन डाक्टर छैनन् ? तिमी मात्रै किन डाक्टर भयौ ? अरूका ममी सधैँ घरमा बस्छन्, तिमी किन सधैँ अस्पताल बस्छौँ ?’ भनेर सोध्छ। दिनहुँ बच्चालाई रुवाउँदै हिँड्नुपर्छ।’

दिनभरि सुरक्षित भएर काम गरे पनि घर फर्किने बेला कता–कता मन अत्तालिने उनले बताइन्। ‘म नै आत्तिएँ भने १८ महिना र १० महिनाको बच्चा भएका साथीहरूमाथि के बित्ला भनेर उनीहरूलाई हौसला दिँदै काम गर्छु,’ उनले भनिन्, ‘कामको चाप धेरै हुने गर्छ। अहिलेको अवस्थामा हामीले के पाउँछाँै भन्दा पनि के दिन सक्छौँ भनेर काम गरिरहेका छौँ।’

मानसिक रोग विशेषज्ञ डा. रितेश थापाका अनुसार चीनको वुहानमा लगभग १३ सय स्वास्थ्यकर्मीमा गरिएको एक अध्ययनमा ५० प्रतिशतमा डिप्रेसन, ४५ प्रतिशतमा एन्जाइटी देखिएको थियो। ‘नेपालमा पनि केही अध्ययन भएका छन्,’ उनले भने, ‘नेपालमा पनि ३०÷४० प्रतिशत स्वास्थ्यकर्मीमा डिप्रेसन, एन्जाइटी र निद्रासम्बन्धी समस्या देखिन थालेका छन्। कतिपयमा काम गर्न मन नलाग्ने, चिडचिडापन हुने, ‘गलत क्षेत्रमा पो आए कि क्या हो !’ भन्दै आफूलाई धिक्कार्ने गरेको पनि पाइएको छ।’

क्वारेन्टिनमा बसिरहेका स्वास्थ्यकर्मीमा ‘पोस्ट ट्रमेटिक स्टे«स डिसअर्डर’ देखिन सक्ने उनले बताए। ‘समुदायका मानिसले गर्ने अपमान र परिवारसँग छुटेर बस्नुपर्ने बाध्यताको असर बिस्तारै देखिन सक्छ,’ उनले भने। 

मनोचिकित्सक प्रा.डा. रवि शाक्यले धेरै डाक्टर ‘ड्युटीमा जान नपरे हुन्थ्यो’ भन्ने मनस्थितिमा पुगेको बताए। ‘कतिपय डाक्टरले ‘म बिरामी छु, मलाई मुटुको रोग, छातीको रोग छ’ भनेर बहाना गर्न थालेका छन्,’ उनले भने, ‘यसो भनेर उनीहरूले ठग्न खोजेका होइनन्। एन्जाइटी भएको हो। स्वास्थ्यकर्मीभन्दा पहिला उनीहरू मानिस हुन्। उनीहरूलाई पनि डर लाग्छ।’

‘डाक्टरलाई डराउने छुट छैन’ 
काठमाडौँ, टेकुको शुक्रलाल ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ल्याब टेक्निसियनको रूपमा कार्यरत छन्, दीपेन्द्र मण्डल। पीपीई लगाएर दिनभरि पीसीआर रिपोर्ट निकाल्न उनी व्यस्त हुन्छन्। सुरक्षाका उपाय अपनाएर काम गर्दा पनि ‘कतै आफूलाई पनि कोरोना भई पो हाल्ने हो कि’ भन्ने डर उनको मनमा लागिरहन्छ। ‘ल्याबमा काम गर्ने तीन जना छाँै,’ उनले भने, ‘कामको लोड एकदमै धेरै छ। बिहान ८ बजेदेखि राति ११÷१२ बजेसम्म काम गरिन्छ। कति रात त ल्याबमै बिताइयो। कोरोना सुरु भएदेखि दिनरात नभनी काम गरिरहेका छाँै।’ 

ल्याबमा काम गर्ने उनीसँग समुदायका मानिस मात्र नभई आफ्नै साथीभाइसमेत तर्किन्छन्। ‘ल्याबको डिपार्टमेन्टबाट अर्को कुनै डिपार्टमेन्टमा जाँदा नै साथीहरू सकेसम्म नआइदिए हुन्थ्योजस्तो गर्छन्,’ उनले भने। 

धेरैले उनलाई ‘कुन दिन दशा लागेर यस्तो विषय पढेछस्’ भन्छन्। तर, उनलाई यसमा कुनै पछुतो छैन। ‘माइक्रोबायोलोजी पढेर २०६० सालदेखि ल्याबमा छिरेको हुँ,’ उनले भने, ‘जिन्दगी यसैमा बित्यो। ल्याबबाहेक बाहिरी दुनियाँबारे मलाई केही थाहा छैन। त्यसैले हरेक दिन ड्यूटी आवरभन्दा बढी खट्नुपर्दा पनि ‘मेरो जिन्दगी यही हो’ भनेर चित्त बुझाउँछु।’

जेनेटिसिस्ट डा. नीलम ठाकुरले ल्याब्रटोरीको महŒवबारे नेपालमा बल्ल चेत खुलेको बताइन्। ‘अरू स्वास्थ्यकर्मी जहिल्यै अगाडि आउँछन्,’ उनले भनिन्, ‘तर, ल्याब्रटोरी प्रोफेसन कहिल्यै अगाडि आउँदैन। ल्याबका साथीहरू जहिल्यै ओझेलमा पर्छन्। तर, जोखिम मोल्दै सबैभन्दा गुपचुप भएर काम गर्ने उनीहरू नै हुन्।’ 

काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालमा २० वर्षदेखि काम गर्दै आइरहेका छन्, डा. राम गुरुङ। उनी मेडिसिन विभागका प्रमुख हुन्। धुलिखेल अस्पताल स्थानीय मात्र नभई बाहिरी जिल्लाबाट पनि मानिस आउने भएकाले धेरै जोखिम मोलेर काम गर्नु परिरहेको उनले बताए। ‘धुलिखेल अस्पतालमा धेरै ठाउँबाट मानिस सेवा लिन आउने भएकाले यो बिरामीहरूको हटस्पट हो,’ उनले भने, ‘त्यसमाथि सरकारले ‘लेभल थ्री’ अस्पताल भनेर छुट्याएको छ। कोरोना र कोरोनासँगै अन्य जटिल रोगको समस्या भएका बिरामी यहाँ आउँछन्। त्यसैले हामी एकदमै सर्तक भएर काम गरिरहेका छाँै।’

कोरोना संक्रमितको सेवामा खटिएकै कारण अस्पतालका धेरै कर्मचारीलाई समुदायले छिःछिः–दुरदुर गर्ने गरेको गुनासो उनले गरे। ‘अपहेलनाले स्वास्थ्यकर्मीको मनोबल गिर्छ,’ उनले भने, ‘आफ्नो ज्यान जोखिममा पारेर, घरपरिवार नभनेर दिनरात खट्ने स्वास्थ्यकर्मीमा मनोवैज्ञानिक असर पर्छ। अहिले नै हाम्रोमा स्वास्थ्यकर्मीको अभाव छ। भोलि यिनै कारणले डाक्टर र नर्सले धमाधम जागिर छाड्न थाले र धेरै बिरामी एकैचोटि ह्वारह्वारी अस्पतालमा आएर थुप्रिए भने हाम्रो हेल्थ केयर सिस्टमले धान्न सक्दैन।’ 

सोही अस्पतालका इपिडिमियोलोजिस्ट डा. दीपेश ताम्राकारले कामको अत्यधिक चाप र समुदायको व्यवहारका कारण धेरै स्वास्थ्यकर्मीमा एन्जाइटीको समस्या देखिएको बताए। ‘यस्तै हो भने साइकोलोजिकल एक्सपर्ट नै ल्याएरै काउन्सिलिङ गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘कोरोना सर्ला भनेर स्वास्थ्यकर्मीलाई गाउँमै छिर्न नदिनेदेखि हेय दृष्टिले हेर्नेसम्मको व्यवहार गरेको पाइएको छ।’ समाजले स्वास्थ्यकर्मीलाई स्विकार्न नसकेकोमा उनको गुनासो छ। ‘महामारीलाई कम गर्न सकिन्छ तर जित्न सकिँदैन,’ उनले भने, ‘भोलि महामारी समुदायमा फैलियो भने उनीहरू आउने अस्पताल नै हुन्। उनीहरूलाई चाहिने स्वास्थ्यकर्मी नै हुन्।’

लामो समय फ्रन्टलाइनमा खटिएर काम गरिरहेकी छिन्, नर्स सृष्टि सिलवाल। कोरोना सुरु भएको केही दिनपछि सासूससुराले उनलाई भने– ‘बुहारी काम छाडिदिने पो हो कि !’ कोरोनाको बेलामा पनि दिनदिनै अस्पताल धाउने बुहारीले कोरोना घरमै भिœयाउने हो कि भन्ने चिन्ता उनीहरूलाई थियो। ‘‘मेरो चिन्ताले उहाँहरूले त्यसो भने पनि मैले जिम्मेवारीबाट भाग्नु हुँदैन’ भनेर जागिर छाडिनँ,’ उनले भनिन्, ‘बाहिर जसले जे भने पनि मतलब गरिनँ। यस्तो अवस्थामा जस्तो जोखिम भए पनि काम गर्नुपर्छ भन्ने लाग्यो।’ 

काम गर्दा के होला, कसो होला भन्ने डर उनलाई भइरह्यो। ‘आफू नै डरायो भने घरका मान्छे झनै डराउँलान् भनेर हरेक दिन नाटक गर्छु,’ उनले भनिन्, ‘काम गर्दागर्दै केही गल्ती हुने हो कि भन्ने डर बेग्लै छ। तर, पनि डर नलागेको जस्तो नाटक गर्नुपर्छ। किनभने, स्वास्थ्यकर्मीलाई डराउने छुट छैन।’ बिरामीको प्रत्यक्ष सम्पर्कमा हुने भएकाले उनी अहिले अस्पतालमै बस्छिन्। हप्ताको छ दिन १२ घण्टा काममा खटिन्छिन्। 

मानसिक रोग विशेषज्ञ डा. थापाले यसरी आफूलाई खुम्चाएर काम गर्दा भोलिको दिनमा जस्तोसुकै अवस्था पनि सिर्जना हुन सक्ने बताए। ‘धेरै स्वास्थ्यकर्मीले अहिले आफ्नो कम्फर्ट जोनभन्दा बाहिर गएर काम गर्नुपरेको छ,’ उनले भने, ‘कतिपय अवस्थामा के गर्ने÷के नगर्ने भन्ने योजना र नीति नहुँदा धेरै स्वास्थ्यकर्मी जोखिममा छन्।’ सरकारले प्रोत्साहन भत्ता भनेर भनिए पनि कसैले केही नपाएको उनले बताए। ‘प्रोत्साहन भत्ता कुनै स्वास्थ्यकर्मीले पाएका छैनन्,’ उनले भने, ‘जोखिम मोलेर स्वास्थ्यकर्मी बिनातलब काम गरिरहेका छन्। कतिपयलाई अस्पतालबाटै निकालिएको छ। कसैको ५० प्रतिशत तलब कटौती गरेको पाइएको छ। यसरी फ्रन्टलाइनमा बसेर फाइट गर्नुपर्ने बेलामा उनीहरूको मनोबल झनै गिरेको छ।’

डा. थापाले धेरै जना स्वास्थ्यकर्मी परिवार र कामको तालमेल मिलाउन नसक्दा पनि तनावमा रहेका बताए। उनलाई एक जना साथीले केही समयअघि आफ्नो अनुभव सुनाएकी थिइन्। ‘ड्युटी सकेर घर जाँदा उनलाई भेदभावपूर्ण व्यवहार गरिँदो रहेछ,’ उनले भने, ‘कोहीसँग बोल्न नदिने, कोठामा एक्लै राखिदिने, खाना त्यही पुर्‍याउने गरिँदो रहेछ। जसकारण उनी एकदमै तनावमा थिइन्।’ सुरक्षाका हिसाबले परिवारले त्यस्तो व्यवहार गरे पनि मानसिकताको हिसाबले यस किसिमको व्यवहारले निकै ठूलो असर पर्ने उनले बताए। ‘आफ्नै बच्चासँग खेल्न नपाउँदा, आफ्नै परिवारका सदस्यसँग घुलमिल हुन नपाउँदा मानसिक असर पर्छ,’ उनले भने, ‘सबैले आफ्ना समस्यालाई सामान्य तरिकाले सामना गर्न सक्छन् भन्ने छैन।’ 

स्वास्थ्यकर्मीलाई मानसिक तनाव दिनेमा उनीहरूका घरबेटी र छरछिमेकी पनि रहेको उनले सुनाए। ‘कहिले उनीहरूलाई डेरामा छिर्न नदिएको समाचार आउँछ,’ उनले भने, ‘कहिले ‘टोलमा छिर्न दिदँनौँ’ भनेर नाराबाजी गरेको सुनिन्छ। उनीहरूमाथि भएको दुव्र्यवहार अपराध हो।’

अछुत व्यवहार
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुना झा काठमाडौँको एक अपार्टमेन्टमा बस्छिन्। दिनभरि कोरोना संक्रमितको ज्यान बचाउन खटेर आएकी उनको घर फर्किने बेलामा सधैँ ‘मुड अफ’ हुन्छ। ‘दिनभरि कामको तनाव आफ्नै किसिमको हुन्छ,’ उनले भनिन्, ‘घर फर्किने बेलामा अर्को तनाव हुन्छ। अस्पतालमा काम गर्छ भन्ने थाहा पाएदेखि म चढेको लिफ्टमा कोही छिर्दैनन्। लिफ्ट खाली भए पनि मानिस जहाँ छन्, त्यही उभिइन्छन्, भित्र आउँदैनन्।’ मानिसहरूले अछुतो व्यवहार गरेको जस्तो लाग्छ उनलाई। ‘हामीले अपनाउनुपर्ने सुरक्षाका उपाय सबै अपनाएका हुन्छाँै,’ उनले भनिन्, ‘कोरोना कस्तो अवस्थामा सर्छ, कस्तो अवस्थामा सर्दैन भन्ने हामीलाई थाहा छ। सबै प्रोटोकल फलो गरेर काम गरिरहेका हुन्छाँै। तर, पनि मानिस हामीसँग डराउँछन्।’

बढी तनाव भएपछि उनले केही समयअगाडि आफ्नो फेसबुक एप नै डिलिट गरिन्। ‘फेसबुकले मलाई झनै तनाव दियो,’ उनले भनिन्, ‘कतैबाट पनि राम्रो खबर सुन्न पाइएन। फेसबुकमा सबैले निराशा मात्र पोख्ने गरेको देखेपछि नकारात्मक कुराबाट टाढै बस्ने सोच बनाएर डिलिट गरेँ।’ यो सबैले मिलेर सामना गर्नुपर्ने समस्या भएको उनले बताइन्। ‘कोरोना एक जनाको लागि मात्र आएको होइन,’ उनले भनिन्, ‘यो सबैको साझा समस्या हो। त्यसैले सबैले मिलेर योसँग लड्नुपर्छ। 

बढी काम हुँदा उनी १५ घण्टासम्म खटिएकी छिन्। ‘दिनमा छ÷सात सयभन्दा बढीको स्वाब परीक्षणका लागि ल्याइन्छ,’ उनले भनिन्, ‘त्यसैका लागि ल्याबमा १२ देखि १५ घण्टा काम गर्नुपर्छ।’ 

डा. झाका अनुसार प्रयोगशालामा ल्याइएको स्वाबलाई सुरुमा ‘सर्टिङ’ गरेर विशेष ‘आईडी’ दिइन्छ। बारकोड स्टिकर टाँसेपछि फ्रिजमा राखेर नमुना प्रयोगशालामा पठाइन्छ। त्यहाँ नमुनालाई तीन भागमा विभाजन गरेर राखिन्छ। केही गरी एउटा नमुना बिग्रियो भने प्रयोग गर्न वा अन्य कुनै अनुसन्धानका लागि सुरक्षित राख्न यसरी विभाजन गरिने उनले बताइन्। ‘त्यसपछि उक्त नमुनाबाट आरएनए निकालिन्छ,’ उनले भनिन्, ‘प्रयोगशालालाई एक लटमा आइपुगेका नमुनामा यति काम गर्न तीनदेखि चार घण्टासम्म लाग्छ।’

आरएनए निकालेपछि ‘मास्टर मिक्स’ तयार गरिने उनले बताइन्। ‘यो काममा एक घण्टा समय लाग्छ,’ उनले भनिन्, ‘मास्टर मिक्सलाई ‘टेम्प्लेट’सँग राखिन्छ र उक्त नमुनालाई पीसीआर गराइन्छ। पीसीआर गराएको केही घण्टापछि नतिजा आउँछ। त्यसपछि नतिजा एन्ट्री गराएर प्रमाणीकरण गराइन्छ।’

मनोचिकित्सक डा. विश्वबन्धु शर्माले फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीमा स्वाभाविक रूपमा मानसिक समस्याको जोखिममा देखिने बताए। यस्तो बेलामा स्वास्थ्यकर्मीलाई भत्ताले मात्र काममा प्रोत्साहित नगर्ने उनले बताए। ‘मानिसका सबै अवस्थामा पैसाले मात्रै पूर्ति गर्दैन,’ उनले भने, ‘सुरक्षित हुने व्यवस्था भएन, टिम राम्रो भएन, ड्युटी आवर मिलेन र काम गर्ने वातावरण राम्रो भएन भने स्वास्थ्यकर्मीले राम्रोसँग काम गर्न सक्दैनन्।’

लकडाउन खुकुलिएर मानिसहरू जथाभावी हिँड्न थालेकोमा डा. थापाको गुनासो छ। यसलाई पनि उनी स्वास्थ्यकर्मीमा देखिएको मानसिक समस्याको अर्को जड मान्छन्। काठमाडौँको लकडाउनलाई लकडाउन नै भन्न नमिल्ने उनले बताए। ‘स्कुलबाहेक सबै ठाउँ खुल्न थालिसकेका छन्,’ उनले भने, ‘एकातिर स्वास्थ्यकर्मी दिनरात डाइपर लगाएर ड्यूटी गर्ने, अर्कोतिर मानिसहरू सामान्य दूरी पनि कायम नगर्ने, मास्क नलगाउने गर्दा स्वास्थ्यर्मी र सर्वसाधारणबीच तालमेल मिललिरहेको छैन।’ भोलिको दिनमा संक्रमितको संख्या ह्वात्तै बढ्दा स्रोतसाधन र स्वास्थ्यकर्मीको अभाव हुने उनले बताए। ‘हजार जना मानिस एउटा अस्पतालले धान्न सक्दैन,’ उनले भने, ‘भेन्टिलेटर सीमित छन्। यो पनि स्वास्थ्यकर्मीका लागि चिन्ताको विषय हो। भोलि एकैचोटि भयावह अवस्था आयो भने के होला भनेर धेरै स्वास्थ्यकर्मी छटपटाउन थालेका छन्।’ 

स्वास्थ्यकर्मीमा देखिने मानसिक समस्या सामाधानको लागि सरकारी, संस्थागत र व्यक्तिगत तीनै तहबाट पहल हुनुपर्ने उनले बताए। ‘सरकारले तलबको राम्रो व्यवस्था गरेर सुरक्षामा कुनै हेलचेक््रयाइँ गर्नु हुँदैन,’ उनले भने, ‘पीपीई लगाउँदा लगाउँदै पनि मानिस संक्रमित हुन सक्छ। त्यसैले समाजसेवाको नाममा बाँडिने पीपीईलाई छाडेर सरकारी तहबाटै गुणस्तर मापन गरिएका पीपीई उपलब्ध गराउनुपर्छ।’ यस्तै स्वास्थ्यकर्मीमाथि हुने अपमानजनक र भेदभावपूर्ण व्यवहारलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने उनले बताए।

स्वास्थ्यकर्मीलाई मानसिक समस्याबाट टाढा राखेर राम्रो काम गर्ने वातावरण निर्माण गर्ने जिम्मेवारी सम्बन्धित संस्थाको समेत रहेको उनले बताए। ‘बिहानीको नियमित मिटिङमा टिम लिडरले ‘आज के काम गर्ने’ भनेर मात्र मिटिङ सक्ने होइन,’ उनले भने, ‘कसैलाई केही समस्या भए÷नभएको पनि जानकारी लिनुपर्छ। मानसिक स्वास्थ्यकबारे पनि कुराकानी गर्नुपर्छ।’ त्यस्तै, हरेक अस्पतालले ‘मेन्टल हेल्थ डेस्क’ बनाउनुपर्नेमा उनले जोड दिए। ‘कसैलाई समस्या परे त्यहाँ गएर भन्न सकून्,’ उनले भने, ‘त्यस्तै बेला–बेलामा स्टे«स म्यानेजमेन्ट कार्यक्रम गर्नुपर्छ। सिनियर र जुनियर स्टाफलाई मिलाएर राख्नुपर्छ। यसो गर्दा अनुभव आदानप्रदान हुन्छ। स्वास्थ्यकर्मीको आत्मबल बढोस्।’ कसैलाई धेरै गाह्रो भएको छ भने बिदा मिलाइदिने, आराम दिने, ड्युटी सिफ्ट मिलाइदिने, यातायातको सुविधा मिलाइदिने जस्ता काम गर्नुपर्ने उनले बताए। 

त्यस्तै, व्यक्तिगत रूपमा भने निद्रा र खानपिनमा ध्यान दिनुपर्ने, योग वा ध्यान गर्नुपर्ने उनले बताए। स्वास्थ्यकर्मीले आफूमा समस्या भएको हत्तपत्त देखाउन नचाहने उनले बताए। ‘धेरैलाई ‘हामीले सेयर गरे मानिसले के भन्लान्’ भन्ने हुन्छ,’ उनले भने, ‘मानसिक समस्या जसलाई पनि आउन सक्छ। यसले डाक्टर वा सर्वसाधारण भन्दैन। स्वास्थ्यकर्मीहरू काममा यति खटिन्छन् कि आफ्नो ख्याल राख्न बिर्सिन्छन्। ‘यो हाम्रो काम हो यसबाट हामी भाग्नै पाउँदैनाँै’ भन्ने मानसिकता हुन्छ। तर, ‘हामी पनि मानव हौँ। हामीलाई पनि समस्या देखिन सक्छ’ भन्ने विचार पुर्‍याउनुपर्छ।’


‘स्वास्थ्यकर्मीलाई हतोत्साहित होइन, प्रोत्साहित गरौँ’

प्रा.डा. रवि शाक्य, मनोचिकित्सक

कोरोनाको कारण जसरी आममानिस मानसिक स्वास्थ्यको हिसाबले जोखिममा छन्, त्यसरी नै स्वास्थ्यकर्मी पनि जोखिममा छन्। मानसिक रोग भनेको जसलाई जतिबेला पनि हुन सक्छ। स्वास्थ्यकर्मी आफूलाई गाह्रोसाह्रो पर्दा पनि कामबाट पछि हट्दैनन्। जसरी हुन्छ, काम गर्नुपर्छ भन्ने मान्यता राख्छन्। स्वयं स्वास्थ्यकर्मी भएकाले उनीहरूलाई कहिल्यै कसैले ‘केही मद्दत चाहिन्छ कि ? केही अप्ठ्यारो परेको छ कि ?’ भनेर सोध्दैन। 

कोभिड–१९ को समयमा काम गरिरहेका स्वास्थ्यकर्मीमा मानसिक समस्या उत्पन्न हुन थालेको छ। यसलाई हामी नकार्न सक्दैनौँ। आफ्नो ज्यान  जोखिममा पारेर संक्रमितको सेवामा खटिएका उनीहरूमाथि आफ्नै टोलछिमेकमा भेदभाव भइरहेको छ। स्वास्थ्यकर्मीलाई समाजले समस्याको जडको रूपमा लिएको छ। यसले गर्दा उनीहरू आहत भएका छन्। धेरैको चित्त दुखेको छ। यो सबैभन्दा ठूलो मानसिक समस्याको स्रोत हो। भोलिको दिनमा अप्ठ्यारो परेर अस्पताल जाँदा सहयोग गर्ने तिनै स्वास्थ्यकर्मी हुन्। 

केही अस्पतालले त्यही बस्ने व्यवस्था मिलाइदिएका छन्। तर, सबैले त्यो व्यवस्था गर्न सक्दैनन्। स्वास्थ्यकर्मीलाई घर पठाउन नपरोस् भनेर हामी आफँैले कलेजको होस्टलमा डेरा खोज्न जाँदा टोलवासीले ‘यहाँ बस्न पाइँदैन’ भनेका थिए। स्वास्थ्यकर्मीकोे दोष यति हो कि उनीहरूले कोरोना संक्रमितको सेवा गरिरहेका छन्। त्यही कारण आज उनीहरूसँग शत्रुजस्तो व्यवहार भइरहेको छ। काम गरेबापत उनीहरूले मानसिक तनाव झेलिरहनुपरेको छ। यो सरासर गलत हो। स्वास्थ्यकर्मीले अहिलेसम्म कुनै सेवासुविधा पाएका छैनन्। वफादार भएकाले नै स्वास्थ्यकर्मी यो क्षेत्रमा टिकिरहेका छन्। आफ्नो समस्याभन्दा अरूको समस्या ठूलो देखेर काम गरिरहेका छन्। 

टोलछिमेकमा स्वास्थ्यकर्मीबाट कोरोना सर्ने सम्भावना एकदमै कम हुन्छ। यो सबैले बुझ्नुपर्छ। किनभने, उनीहरू जानकार हुन्छन्। सावधानी अपनाइरहेका हुन्छन्। त्यसैले उनीहरूलाई हतोत्साहित होइन, मनोभाव बढाउने काम र व्यवहार गर्नुपर्छ। 

स्वास्थ्यकर्मीलाई नैतिकताले बाँधेर मात्रै हुँदैन। उनीहरूको शारीरिक, मानसिक र आर्थिक पक्षमा पनि ध्यान पुर्‍याउनुपर्छ। नेपालको हकमा प्रोत्साहन भत्ता भनेको आँखामा छारो हाल्ने काम मात्रै भएको छ। भत्ताको कुरा छाडौँ, कतिले नियमित तलब नै पाएका छैनन्। यस्तै हो भने भोलि धेरै स्वास्थ्यकर्मी जागिर छाड्ने अवस्थामा नपुग्लान् भन्न सकिँदैन। 

मानसिक स्वास्थ्यका हिसाबले बलियो हुन स्वास्थ्यकर्मीलाई गलत सूचनाबाट टाढै बस्नुपर्छ। कतिपयलाई सामाजिक सञ्जालले पनि तनाव दिइरहेको छ। त्यसैले नचाहिने समाचारबाट टाढा हुनुपर्छ। कामको बीचमा रमाइलो र ख्यालठट्टा गर्ने गर्नुपर्छ। आराम गर्नुपर्छ। आफ्नो ख्याल राख्नुपर्छ। आफ्ना शारीरिक आवश्यकतालाई बेवास्ता गर्नु हुँदैन। खाना नखाई, दिसापिसाब नै नगरी काम गर्नु हुँदैन। आज शारीरिक आवश्यकतालाई बेवास्ता गर्दा भोलि मनोवैज्ञानिक पक्ष पनि गडबड हुन सक्छ। काम गर्ने क्षमतामा पनि ह्रास आउन सक्छ। 


‘हाम्रो कामको कदर छैन’

डा. नीलम ठाकुर, कन्सल्ट्यान्ट क्लिनिकल जेनेटिसिस्ट, वीर अस्पताल  

कामको दबाबले गर्दा अहिले स्वास्थ्यकर्मी तनावमा छन्। यति धेरै तनाव मैले जीवनमा कहिल्यै भोगेकी थिइनँ। म एकदमै ‘कुल’ मान्छे हुँ। हत्तपत्त रिसाउँदिनँ। तर, आजभोलि एकदमै रिस उठ्न थालेको छ। सानोे–सानो कुरामा पनि झनक्क रिसाउँछु। ठूलो स्वरले कराउन थालेकी छु। अहिले मेरो व्यवहारमा धेरै परिवर्तन आएको छ। साथीहरू ‘यत्रो वर्षको संगतमा तपाईंले यसरी बोलेको कहिल्यै सुनेका थिएनौँ, आजभोलि एकदमै कराउन थाल्नुभएको छ’ भन्छन्। 

हाम्रो ड्युटी आवर भन्ने नै छैन। जति बेलासम्म काम हुन्छ, त्यति बेलासम्म ड्युटी आवर। बिहान ८ बजे घरबाट निस्केको मान्छे राति कति बज्छ ठेगान हुँदैन। तर, मानिसहरूले हाम्रो कामको कदर गर्दैनन्। रिपोर्ट लिनका लागि ल्याबमै बिनामास्क आउन खोज्छन्। रिपोर्ट लिन तछाडमछाड गर्छन्। हामीले धैर्यले काम गरिरहेका हुन्छौँ। तर, मानिसहरूमा अलिकति पनि धैर्य छैन। सबैलाई हतार छ। ल्याबको काम एकदमै गाह्रो छ। एकदमै जोखिमपूर्ण छ। तर, पनि यो पेशा आझेलमा परेको छ। प्राविधिकहरू सधैँ गुपचुप भएर काम गरिरहेका हुन्छन्। फरक–फरक किट आउँदा, त्यसमा कसरी अभ्यस्त हुने भन्ने हुन्छ। रिपोर्ट चाँडो आउँदैन भनेर मानिसहरू रिसाउँछन्। तर, हामी सधैँ कसरी रिपोर्ट चाँडो दिने भनेर काम गरिरहेका हुन्छौँ।

आठ वर्षअघि पहिलो क्लिनिकल जेनेटिसिस्ट भएर वीर अस्पतालमा काम गर्न आएँ। वीरमा ‘एउटा जेनेटिक ल्याब बनाऊ’ भन्दा धेरैले मेरो मजाक उडाए। सिटामोल नपाएर बिरामी मर्नेे ठाउँमा जेनेटिक ल्याबको काम छैन भने। पछि सानै भए पनि जेनेटिक ल्याब सुरु गर्‍यौँ। आज त्यही ल्याबले ठूलो काम दिएको छ। कुनै पनि रोगको उपचारका लागि रोग पत्ता लाग्नु सबैभन्दा महŒवपूर्ण रहेछ भन्ने कुरा कोरोनाले प्रमाणित गरिदिएको छ। नत्र, हाम्रा प्राविधिकहरूले यस्तो बेलामा झनै जोखिम मोलेर काम गर्नुपर्ने हुन्थ्यो। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि