कोरोना उपचारमा पर्दापछाडिका हिरो

writer

शिवराज भट्ट/धनगढी

शुक्रबार, ०९ साउन २०७७


अहिलेसम्म धनगढीमा पीसीआर मेसिनबाट १२ हजारभन्दा बढीको कोरोना जाँच भइसकेको छ। प्राविधिकहरूले दिनरात नभनी दुई–दुई सिफ्टमा नौदश घण्टा काम गरिरहेका छन्।


कञ्चन विष्ट, सेभ द चिल्ड्रेनको तर्फबाट सेती प्रादेशिक अस्पतालमा ल्याब टेक्नोलोजिस्ट पदमा कार्यरत छिन्। उनको डेढ वर्षको छोरा छ। घरमा ७५ वर्षकी सासूपनि छिन्। कञ्चनले पीसीआर मेसिनमा दैनिक नौ घण्टा काम गर्दै आएकी छिन्। 

सामान्य सावधानी अपनाए पनि हुने एआईभीको ल्याबमा कार्यरत उनलाई कोरोना जाँचमा खटाइयो। ‘पेशाले टेक्नोलोजिस्ट, पीसीआरमा काम गर्नै पर्ने थियो,’ उनले भनिन्,‘एक आमा र बुहारी पनिहुँ। सुरु–सुरुमा त धेरै डर लागेको थियो। तर, स्वास्थ्यकर्मी नै डराए भने बिरामीलाई झन् कस्तो होला सोचेर काम गरियो।’

अहिले कोरोनाको डर एकदमै कम भइसकेको छ। तर, जतिबेला विश्वका समाचार मात्रै हेरिने तर नेपालमा कोरोनाका संक्रमित नदेखिएका बेला अधिकांश स्वास्थ्यकर्मी पनि त्रासमा रहेको उनको अनुभव छ। ‘स्वास्थ्यकर्मी भए पनि मान्छे न हो, डर त भइहाल्छ,’ कञ्चनले भनिन्।

उनी एक शिक्षित परिवारमा हुर्किइन्। विवाह पनि शिक्षित परिवारमै भयो। उनका बुबा रोजिन कर्पोरेसन नेपालका सेवानिवृत्त कर्मचारी हुन्। आमा अहिले पनि ग्रामीण विकास बैंकमा कार्यरत छिन्। कञ्चनका श्रीमान् चिकित्सक हुन्। उनी पनि सेती प्रादेशिक अस्पतालमा कार्यरत छन्। 

घरबाट श्रीमान् र सासूको सहयोग पाइएपनि माइतीले बच्चाका कारण अरू केही काम गर्ने कि भन्ने सल्लाह दिएको उनले बताइन्। ‘तर, मेरो पेशा स्वास्थ्य हो,’ उनले भने, ‘अप्ठ्यारोमा मैले हिच्किचाउनु हुन्न। आमाबालाई कन्भिन्स्ड गरेर पीसीआरमा खटिएँ।’

कोरोना प्रयोगशालामा एकपटक पीपीई लगाएर भित्र पसेपछि दुई सिफ्टको पीसीआर जाँच नगरीकन बाहिर निस्कन मिल्दैन। त्यसका लागि कम्तीमा पनि नौ घण्टाभन्दा बढी लाग्छ। ‘पीपीई जोगाउनका लागि पनि हामीले नौ घण्टा ल्याब भित्रै बसेर काम ग¥यौँ,’ कञ्चनले भनिन्, ‘डाइपर लगाएर पनि पीसीआर मेसिनमा काम गरियो।’

ल्याबमा छिरिसकेपछि सामान्यतया बाहिर आउन मिल्दैन। बाहिर आएमा, लगाएको पीपीई सेट फाल्नुपर्छ र भित्र जाँदा फेरि अर्को लगाउनुपर्छ। ‘सुरु–सुरुमा त पीपीई पनि कत्ति महँगोमा आए, अभाव पनि थियो,’ उनले भनिन्, ‘त्यस्तो जटिल अवस्थामा कसरी बाहिर आउनु?’

कसरी हुन्छ पीसीआर ?
पीसीआर जाँचका लागि दुईवटा लामो प्रक्रिया हुन्छन्। पहिला प्रक्रियामा संकलन भएको थ्रोट स्वाबको आरएनए निकाल्ने काम हुन्छ। भीटीएममा राखेको स्वाबबाट भाइरस निकाल्ने काम नै आरएनए निकाल्नु हो। यसका लागि स्वाबको नमुनापिच्छे फरक–फरक समय लाग्ने गर्छ।४८ वटा स्वाबका लागि चार घण्टा, ७२ वटा स्वाब लागि पाँच घण्टा र मेसिनको पूरै क्षमताअथवा ९६ स्वाबका लागि छ घण्टाको समय लाग्ने गर्छ। आरएनए निकाली सकेपछिको अर्को प्रक्रियालाई मास्टरमिक्स भनिन्छ। आरएनए निकालेपछि त्यसलाई रिएजेन्ट (केमिकल)मा मिसाउने काम गरिन्छ। यसलाई मिक्स गरेर पीसीआर क्युबमा राखिन्छ। त्यसपछि मात्रै पीसीआरले कोरोना भाइरसको रिड गर्ने गर्छ। यसमा पनि सामान्यतया एकदेखि डेढ घण्टासम्म लाग्ने गर्छ। 

यत्तिकैमा कोरोना नेगेटिभ वा पोजेटिभ त आइहाल्छ तर सरकारको एकद्वार सूचनाका कारण र दैनिक अपडेटका कारण रिपोर्टिङको कार्यपनि बाहिर आउनुअगावै गर्नुपर्छ। जुन प्रक्रियाबाट स्वाब आएको हो, त्यही प्रक्रियामा रिपोर्टिङ पनि हुनेगर्छ भने अझ माथि मन्त्रालयसम्मको रिपोर्टिङ पनि त्यही टोलीले गर्नुपर्छ।

कोरोना प्रयोगशालाका अर्का महŒवपूर्ण पात्र हुन्, रमेश शाही। उनी सेती प्रादेशिक अस्पतालका ल्याब टेक्नोलोजिस्ट हुन्। करारमै उनलाई सेतीमा काम गर्न थालेको १७ वर्ष भयो। उनी सेती प्रादेशिक अस्पतालको प्रयोगशाला विभागका प्रमुख पनि हुन्। कोरोना परीक्षण टोलीको समेत नेतृत्व गरिरहेका उनले चैतको ७ देखि एक दिन पनि बिदा लिएका छैनन्।‘थोरै जनशक्ति छ, बिदा बस्यो भने पीसीआर परीक्षणमा समस्या आइहाल्छ,’ उनले भने,‘त्यसले बिदा बसेको छैन।’ अस्पतालमा खटिएका चिकित्सकहरूलाई पहिला पहिला १४ दिन ड्युटी र १४ दिन क्वारेन्टिन गरिएको थियो। अहिले त्यो अवधि सात दिन पु¥याइएको छ। तर, कोरोना संक्रमितको स्वाबसँगै खेल्ने यी पर्दा पछाडिका हिरो भने अहिलेसम्म एक दिन पनि बिदा बसेका छैनन्। 

कोरोनाको महामारीले विश्व आक्रान्त भएका बेला उनको दिमागमा सेट भइसकेको थियो कि कुनै दिन उनले पनि वुहानको प्रयोगशालाजस्तै गरी काम गर्नुपर्नेछ। भयो पनि उस्तै। अहिले दैनिक अनुपातमा २ सय ५० भन्दा बढी पीसीआर जाँच भइरहेको छ। 

चैतको दोस्रो हप्ता नेपालमा पनि कोरोना जाँचको तयारी सुरु भयो। भारतबाट धेरै मानिस फर्किन थाले। सरकारले लकडाउनको घोषणा गरेपछि त भारतबाट थेगी नसक्नु भीड उर्लियो। त्यतिबेला सेती प्रादेशिक अस्पतालमा एक घण्टामा एकजनाको मात्रै पीसआिर गर्ने क्षमताको मेसिन जडान भयो। त्यतिबेला पनि उनीहरू दैनिक नौदश घण्टा काम गर्थे। 

तर, त्यो मेसिनले नथेगेपछि पशु रोग अन्वेषण महाशाखाले प्रदेश स्तरीय पशुरोग अन्वेषण प्रयोगशालालाई एउटा पीसआिर मेसिन पठायो र अहिले सेती प्रादेशिक अस्पतालको प्रयोगशालाको टोलीले त्यसै मेसिनमा कोरोना जाँच गरिरहेको छ। 

कोरोना जाँचमा अहिले शाहीको नेतृत्वमा ल्याब टेक्नोलोजिस्ट कञ्चन विष्ट, अर्जुन भुसाल, पवन धामी र नरेश खड्का कार्यरत छन्।प्रयोगशालाकादुईजना माइक्रोबायोलोजिस्ट योगेन्द्र शाह र आनन्दकुमार मण्डलले व्यवस्थापन गरिरहेका छन्।

प्रयोगशालामा ल्याब टेक्नोलोजिस्ट कृष्ण गौतम र दुईजना कार्यालय सहयोगी चन्द्र भट्ट र प्रकाश चौधरी पनि कार्यरत छन्। अस्पतालका चिकित्सक, नर्सको धेरै नाम आउँछ तर प्रयोगशालामा कोरोनाले भरिएका भीटीएमसँग खेल्ने यी हिरोहरूको खासै चर्चा हुँदैन।

प्रयोगशालामा हरेकले दुई सिफ्ट काम गरिरहेका छन्। सामाजिक विकास मन्त्रालयले करारमा राखेका केही प्राविधिकहरूको करार सकिएपछि फेरि जनशक्तिको अभाव देखिएको छ। 

‘सिफ्ट दुई, भनाइ मात्र हो,’ रमेश शाहीले भने,‘अस्पतालमा मृत्यु भएका हरेकको पीसीआर गर्नुपर्ने प्रावधान छ। कुनै व्यक्तिको मृत्यु भयो भने मध्यराति पनि पीसीआरमा काम गर्नुपर्छ।धेरैपटक साथीहरू मध्यरातमा ल्याबमा आएका छन्।’

यसरी रातदिन नभनेर खटिएको ल्याबको टिममाथि सुरुमा केही प्रश्न पनि उब्जाइपछि साह्रो चित्त दुखेको उनीहरूको भनाइ छ। सुरुका एक महिनासम्म कोरोना पोजेटिभ नै आएन।‘किनकि, त्यतिबेला कोरोना कसैलाई सरेको थिएन होला,’ शाहीले भने, ‘तर, हाम्रो टिममाथि प्रश्न उठाइयो। यो टिमले कोरोना जाँच गर्न जानेन भने। त्यतिबेला तनाव भएको थियो, हाम्रो कार्यक्षमतामाथि प्रश्न उठाइएको केही दिनपछि कोरोनाका धेरै सेम्पल पोजेटिभ आए। त्यो पनि पत्याइएन, धेरै सेम्पल री–कन्फर्मका लागि काठमाडौँ पठाइए। उता पनि पोजेटिभ आएपछि बल्ल हाम्रो ल्याबमाथि विश्वास गरियो।’ 

अहिले कोरोनाका बिरामी बढेकाले हरेक दिनजसो रिपोर्ट पोजेटिभ आइरहेको छ। अहिलेसम्म धनगढीमा मात्रै रहेको पीसीआर मेसिनबाट १२ हजारभन्दा बढीको कोरोना जाँच भइसकेको शाहीले बताए। उनले सेती प्रादेशिक अस्पतालको ल्याबभन्दा पशुरोग अन्वेषण प्रयोगशालाको ल्याब धेरै सुरक्षित रहेको बताए।‘बायोसेफ्टी लेबल–२भन्छ, पशुरोग अन्वेषण प्रयोगशाला यही लेबलको ल्याब हो,’ उनले भने, ‘त्यहाँ धेरै सुरक्षित छौँ।’ 

सेतीकै अर्को ल्याबको तयारी
सेती प्रादेशिक अस्पतालका लागि नयाँ पीसीआर मेसिन आएको छ। अटोमेटिक मेसिनले दैनिक आठ सयदेखि एक हजार नमुनाको जाँच गर्नेछ। अहिले साविकको जिल्ला जनस्वास्थ्य कार्यालयको भवनमा नयाँ पीसीआर मेसिन जडानका लागि मर्मत, टायल लगाउने कार्य अन्तिम चरणमा पुगेकोछ। 

‘यो मेसिन जडान भएपछि अहिलेको पीसीआरको प्रेसर घट्नेछ,’ शाहीले भने,‘अहिले धेरै सेम्पल काठमाडौँ पठाउनु परेको छ। यो मेसिन जडान भएपछि काठमाडौँ पठाउने झन्झट हट्नेछ।’्

सरकारले तेस्रो मुलुक र भारतबाट आएका हरेकलाई अब पीसीआर गरेर मात्रै घर पठाउने निर्णय गरेपछि जाँचको दर बढ्ने देखिएको उनले बताए। ‘अब भारतबाट आएका सबैको पीसीआर गर्ने हो भने अहिलेको परीक्षणको दर बढ्नेछ,’ उनले भने,‘नयाँ मेसिन जडान भएपछि केही सहज हुनेछ।’ 

तपाईको कमेन्ट