थुकले बल चम्काउन खोजेपछि

writer

सम्पूर्ण

बिहिबार, ०८ साउन २०७७


पाहुना टोली वेस्ट इन्डिजविरुद्धको दोस्रो टेस्टमा इंग्ल्यान्डका बलर डोम सिब्लेका कारण तनाव उत्पन्न भयो। म्यानचेस्टरको इमिरेट्स ओल्ड ट्राफोर्ड मैदानमा भएको दोस्रो टेस्टको चौथो दिन सिब्लेले बल चम्काउन थुक प्रयोग गरेपछि खेलमा तनावबढेकोहो। उनले बल चम्काउन थुक लगाएपछि खेल केहीबेर प्रभावित भएको थियो।

कोरोना महामारीका कारण गत मार्चबाट रोकिएको अन्तर्राष्ट्रिय क्रिकेट चार महिनापछि सुरु भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले केही नियम परिवर्तन गरेको थियो। कोरोनाको महामारीलाई मध्यनजर गर्दै आईसीसीले थुक प्रयोगलाई प्रतिबन्ध गरेको थियो। कोरोना भाइरस मानिसको हात, मुखबाट सर्ने भएकाले थुक प्रयोग निषेध थियो। तर, घरेलु टोली इंग्ल्यान्डका बलर सिब्लेले आईसीसीको नयाँ नियमविपरीत थुकले बल चम्काएमा थिए। उनले नियमविपरीत काम गरेपछि इंग्ल्यान्डका खेलाडीले नै अम्पायरको ध्यानाकर्षण गराएका थिए।

घरेलु टोलीका खेलाडीको ध्यानाकर्षणपछि फिल्ड अम्पायरले सिब्लेलाई चेतावनी दिँदै बललाई स्यानिटाइज गर्दै कीटाणुरहित बनाएका थिए। त्यसपछि मात्रै खेल पुनः सुचारु भएको थियो। सिब्लेले बल चम्काउन थुक प्रयोग गरेकोमा विपक्षी टोली वेस्ट इन्डिजले भने कुनै प्रतिक्रिया जनाएन।

कोरोना प्रकोपपछि आईसीसीले क्रिकेटका नियम परिवर्तन गर्दै केही नियमको पालना अनिवार्य गरेको छ। नयाँ नियमअन्तर्गत बलरले बल चम्काउन थुक र र्‍याल प्रयोग गरे दुई पटकसम्म चेतावनी दिने गरिन्छ। त्यसपछि पनि सोही घटना दोहोर्‍याए बलिङ गर्ने टोलीलाई पाँच रनको जरिवाना हुनेछ। सो रन ब्याटिङगर्ने टिमको स्कोरमा थपिनेछ। यो नियम कोरोना भाइरसको सन्त्रास नसकिञ्जेल लागू रहने आईसीसीले जनाएको छ। 

भारतका दिग्गज क्रिकेटर अनिल कुम्बलेको अध्यक्षतामा रहेको आईसीसीको अनुशासन कमिटीले कोरोना महामारीलाई मध्यनजर गर्दै बल चम्काउन थुक  प्रयोगमा प्रतिबन्ध लगाउन सिफारिस गरेको थियो। सो सिफारिसलाई आईसीसीले इंग्ल्यान्ड–वेस्ट इन्डिज टेस्टबाट लागू गरेको हो। 

महामारीकै बीच सुरु भएको पहिलो टेस्ट शृंखला पनि रोचक बनेको छ। तीन टेस्टको शृंखला १–१ को बराबरीमा सकिएको छ। पहिलो टेस्टमा वेस्ट इन्डिज चार विकेटले विजयी भएको थियो भने दोस्रो टेस्टमा इंग्ल्यान्डले १ सय १३ रनको जीत निकाल्न सफल भयो। तेस्रो तथा निर्णायक टेस्ट शुक्रबारबाट म्यानचेस्टरमा सुरु हुनेछ। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि