मेसीको सातौँ गोल्डेन बुट

writer

सम्पूर्ण

बिहिबार, ०८ साउन २०७७


कोरोना भाइरसले प्रभावित पारेको चर्चित घरेलु लिग ‘स्पेनिस ला लिगा’ को यो सिजन समाप्त भएको छ। ला लिगाको उपाधि रियल मड्रिडले जित्यो भने बार्सिलोनाका स्टार अर्जेन्टिनी खेलाडी लियोनल मेसी यो सिजनको ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडी बने। उनले ‘गोल्डेन बुट’ अवार्ड पाए। उनले समग्रमा सातौँ र लगातार चौथो पटक ‘गोल्डेन बुट’ पाएका हुन्। 

यो सिजनको अन्तिम खेलमा पनि मेसीले डेपोर्टिभो आल्भेसविरुद्घ दुई गोल गरे। उक्त खेलमा बार्सिलोना ५—० गोलले विजयी भएको थियो। बार्सिलोनाका कप्तानसमेत रहेका मेसी जारी सिजनको ला लिगामा कुल २५ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो स्थानमा रहे। सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहेका रियल मड्रिडका करिम बेन्जेमाले कुल २१ गोल गरे। १८ गोलसहित भिल्लारियलका जेरार्ड मोरेनो तेस्रो, १६ गोलसहित बार्सिलोनाका लुइस स्वारेज चौथो र १५ गोलसहित एथ्लेटिक बिल्बाओका राउल गार्सिया पाँचौँ स्थानमा रहे।

८७ अंकसहित रियल मड्रिड पहिलो भयो भने ८२ अंकसहित साबिक विजेता बार्सिलोना दोस्रो, ७० अंकसहित एट्लेटिको मड्रिड तेस्रो र समान अंक जोडेको सेभिल चौथो भए।

तालिकामा पहिलोदेखि चौथो स्थानसम्म आउने क्लब आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट भए। ६० अंकसहित पाँचौँ भएको भिल्लारियल आगामी सिजनको युरोपा लिगका लागि छनोट भयो।

५६ अंकसहित छैटौँ भएको रियल सोसिएडाडले भने युरोपा लिगको छनोट चरण खेल्न पाउने भयो। त्यसै गरी, ३६ अंक जोडेको लेगानेस, ३३ अंक बटुलेको मलोर्का र २५ अंक हात पारेको स्पान्योल रेलिगेसनमा परेर तल्लो डिभिजनमा घटुवा भए। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि