ट्राफिक प्रहरीको निबन्ध प्रतियोगिता

writer

सम्पूर्ण

बिहिबार, ०८ साउन २०७७


महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथ र इम्पेरियल बिजनेस कलेजको सहकार्यमा निबन्ध प्रतियोगिता भएको थियो। ‘कोरोना भाइरस रोकथाम तथा नियन्त्रण’ विषयक निबन्ध प्रतियोगितामा ट्राफिक प्रहरी सहभागी भएका थिए। उत्कृष्ट निबन्ध लेख्ने ट्राफिक प्रहरीहरूलाई एक कार्यक्रम गरी पुरस्कृत गरियो। 

बन्दाबन्दीको समयमा ट्राफिक प्रहरी चौबीसै घण्टा ड्युटीमा खटिएकाथिए। खाली समय सदुपयोग गर्न उनीहरूलाई सिर्जनशील र अध्ययनशील बनाउन प्रतियोगिता आयोजना गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए। ‘नागरिकलाई कोरोना भाइरसबाट जोगाउन सकिने उपायको चिन्तन–मनन गर्नका लागि पनि निबन्ध प्रतियोगिता आयोजना गरिएको हो,’ उनले भने। 

निबन्ध प्रतियोगितामा महानगरीय ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्ट प्रथम भएका छन्। उनले प्रथम पुरस्कारबापत चार हजार रूपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरे। त्यसैगरी, दोस्रो प्रनानि शम्भुसुस्केरा, तृतीय प्रज प्रकाश ढकाल, चौथो प्रसनि विष्णुप्रसाद न्यौपाने र पाँचौँ प्रसनि गोपाल तामाङले क्रमशःतीन हजार, दुई हजार, १५ सय रूपैयाँसहित प्रमाणपत्र प्राप्त गरे। 

विजेतालाई महाशाखा प्रमुख ढकाल, इम्पेरियल कलेजका प्रमुख कार्यकारी अधिकृत जीवन लामा गोले, घुन्सा फाउन्डेसनका अध्यक्ष याङ्जोङ् शेर्पा र प्रहरी उपरीक्षक वामदेव गौतमले पुरस्कार प्रदान गरेका थिए। यो प्रतियोगितामा काठमाडाँै उपत्यकामा कार्यरत ५१ जना ट्राफिक प्रहरी सहभागी भएका थिए।निबन्ध प्रतियोगिताको छनोट तथा मूल्यांकन सेन्ट जेभियर्सका लेक्चरर खेम प्रसार्इंले गरेका थिए। 

विश्वभर फैलिरहेको कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन भएसँगै ट्राफिक प्रहरीले आफ्नो ड्युटीको क्रममा कोरोनाबाट उत्पन्न समस्या, संक्रमणबाट बच्ने उपाय, ट्राफिक प्रहरीको कर्तव्य  र नागरिकमैत्री व्यवहारलगायत विषय समेटी ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका ट्राफिक प्रहरीबीच गत चैत २४ देखि २९ सम्म निबन्ध लेखनका लागि समय दिइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक  ढकालले बताए। ‘निबन्ध नितान्त गैरराजनीतिक,चेतनामूलक, सामाजिक सद्भाव बढाउने,सांगठनिक मर्यादाभित्र रही सकारात्मक र मौलिक रूपमा लेख्न लगाइएको थियो,’ ढकालले भने।

‘कोरोना भाइरस संक्रमण तथा यसबाट बच्ने उपाय’, ‘कोरोना भाइरस संक्रमणको समयमा ट्राफिक प्रहरीको कर्तव्य र जिम्मेवारी’, ‘कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणमा खटिँदा ट्राफिक प्रहरीको आचरण र नागरिकमैत्री व्यवहार’, ‘ट्राफिक प्रहरीले कोरोना भाइरस संक्रमणको अवधिमा समाजमा देखिएका समस्या र समाधानका उपाय’ र ‘कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणको अवधिमा भएको आफ्नो अनुभव’ लगायत पाँच वटा शीर्षकमा निबन्धलेखिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक वामदेव गौतमले बताए।

कार्यक्रममा घुन्साका अध्यक्ष शेर्पा र इम्पेरियलका प्राचार्य प्रजितकुमार तिमल्सिनाले मन्तव्य राखेका थिए। यस्ता कार्यक्रमले ट्राफिक प्रहरीको हौसला र मनोबल बढाउने उनीहरूको भनाइ थियो। कार्यक्रममा महाशाखा मातहतका कार्यालय प्रमुखलगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि