बेवास्ताले बेहाल हुन सक्छ

writer

सम्पूर्ण

बिहिबार, ०८ साउन २०७७


 

सरकारले असार १५ गतेदेखि दैनिक १० हजार ‘स्वाब स्याम्पल’को पीसीआर टेस्ट गर्ने बताएको थियो । पीसीआर टेस्टको दायरा बढाउनुपर्ने भन्दै चौतर्फी दबाब बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले दैनिक १० हजार नमुना टेस्ट गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, असार १५ गतेदेखि पीसीआर परीक्षण गरिने नमुनाको संख्या घटाउँदै लगिएको छ । अहिले दैनिक करिब पाँच हजारको हाराहारीमा नमुना परीक्षण हुने गरेको छ । टेस्ट गरिने संख्या कम भएसँगै संक्रमितको संख्या पनि ओरालो लाग्दै गएको देखिन्छ । 

छिमेकी देश भारतमा दैनिक ४० हजार नयाँ केस थपिइरहेका बेला नेपालमा भने कुनै दिन दुई सयभन्दा कम र कुनै दिन त एक सयभन्दा पनि कम संक्रमण पुष्टि भएका छन् । परीक्षण संख्या घटाउँदै लगिएकाले संक्रमितको संख्या पनि घटेको भन्दै जनस्वास्थ्यविज्ञहरू अहिले नै नेपालमा कोरोना भाइरसको संक्रमण कमजोर भइसकेको भनेर ढुक्क हुने अवस्था नरहेको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । सरकारले कोरोना संक्रमितको संख्या घट्दै गएपछि लकडाउन खुकुलो बनाउँदै जनजीवनलाई सामान्य अवस्थामा फर्काउन गरिरहेको पहलमा सावधानी र तोकिएका मापदण्ड कडाइका साथ पालना नहुने हो भने संक्रमणले एकै पटक धेरै नेपालीलाई गाँज्न सक्ने चिन्ता विज्ञहरूको छ । जनस्वास्थ्यविज्ञ तथा चिकित्सकले बारम्बार दिइरहेका सल्लाह र सुझावलाई सरोकारवाला पक्षले भने त्यति वास्ता गरेको देखिँदैन । बेवास्ताले स्थिति बेहाल हुन सक्छ ।

सरकारले लकडाउन खुकुलो बनाउँदै लैजाने क्रममा जे जस्ता पेशा–व्यवसाय बन्द गर्नुपर्ने भनेको थियो, ती नै पहिला खुलेका थिए । भीडभाड नगर्न तथा सामाजिक दूरी कायम गर्न भनिए पनि मानिसहरूले त्यसलाई पछ्याएका थिएनन् । मास्क अनिवार्य रूपमा लगाउने अवस्था बनाउन प्रहरीले कारबाहीसम्म गर्नुपर्ने परिस्थिति बनेको थियो । जुन–जुन क्षेत्रमा सावधानी अपनाउनुपर्छ भनिएको छ, त्यही क्षेत्रमा बढी असावधानी भइरहेको देखिन्छ । यी–यी मापदण्ड पूरा गरेपछि बन्द रहेका पेशा तथा व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने सरकारको निर्णयलाई सम्बन्धित निकायले कडाइका साथ अनुगमन गर्न जरुरी छ । लकडाउन खुलेपछि त झनै बेवास्ता गर्न थालिएको छ । जुन महँगो सावित हुन सक्छ । 

सरकारले मापदण्ड तोकेर सार्वजनिक यातायात सञ्चालन गर्न भने पनि यात्रु र सवारी चालकले त्यसलाई टेरेको देखिएको छैन । सवारी साधनमा आधा मात्र यात्रु, त्यसमा पनि भौतिक दूरी कायम गर्नुपर्ने भनिए पनि टन्न यात्रु राखेर सवारी गुड्न थालेका छन् । आवश्यक स्वास्थ्य सामग्री व्यवस्था तथा सवारीधनी, चालक र सहचालक सबैका समस्या समाधान भएपछि मात्र आ–आफ्ना सवारी साधन गुडाउन राजी भएका सवारीधनीले तोकिएका मापदण्ड अनिवार्य रूपमा पूरा गर्नुपर्छ । आधा यात्रु बोक्ने तर भाडा भने ५० प्रतिशत बढाएर लिन पाउने भएकाले यात्रु पाइयो भन्दैमा लोभ गर्नु हुँदैन । यात्रुले पनि ‘हतार छ, गइहाल्छु’ भनेर भौतिक दूरी कायम नहुने गरी भीडभाड गरेर गाडी चढ्नु हुँदैन । 

पसल, बजार, मल र रेस्टुरेन्टमा अनिवार्य रूपमा भौतिक दूरी कायम गर्ने र सरसफाइमा विशेष ध्यान दिएर नै हामी कोरोना भाइरसको संक्रमणबाट जोगिन सक्छौँ । एक पटक नियन्त्रणमा आइसकेपछि पनि विश्वका कतिपय देशमा कोरोनाको दोस्रो लहर सुरु भइसकेकाले हामीले पनि उच्च सर्तकता अपनाउनैपर्छ । यही महामारीका बीच अविरल वर्षाका कारण प्राकृतिक विपत्ति आइलागेकाले हामीले अहिलेसम्म अपनाएको सावधानी पनि खलबलिने अवस्था छ । जस्तोसुकै परिस्थितिमा पनि कोरोना भाइरससँग जोगिने उपायबारे भने हामी सजग हुनैपर्छ । 

सबै क्षेत्र क्रमशः खुल्दै गएपछि स्कुलमा पनि पठनपाठन सुरु गर्नुपर्छ भन्ने तर्क आइरहेको छ । निजी विद्यालयहरूले सञ्चालन गरिरहेको अनलाइन कक्षा अवरुद्ध छ । विद्यालय बन्द रहेका बेलाको शुल्क लिन पाउनुपर्ने विद्यालय सञ्चालकहरूको अड्डी र विद्यालय सञ्चालन नभएकाले शुल्क लिन पाइँदैन भन्ने शिक्षा मन्त्रालयको अडानका कारण विद्यार्थीहरूको अनलाइन सिकाइमा पनि बाधा पुगेको छ । यही बेला निजी विद्यालयहरूको जोड सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गराउनेतिर छ । सरकारले पनि अन्य क्षेत्रमा जस्तै मापदण्ड पूरा गरेर विद्यालय खोल्न दिन हतार गर्नु हुँदैन । कतिपय सामुदायिक विद्यालयमा क्वारेन्टिन बनाइएका छन् भने विद्यार्थी र अभिभावकमा कोरोनाको मनोवैज्ञानिक त्रास कायमै छ । निजी विद्यालयहरूले भनेजस्तै उनीहरूले उठाउन बाँकी शुल्क उठाउन दिने र अनलाइन कक्षाका लागि न्यूनतम शुल्क लिन पाउने व्यवस्था गर्न सकेको भए विद्यार्थीको सिकाइ प्रक्रिया अलिअलि भए पनि सुचारु रहन्थ्यो । 

विश्वका कतिपय देशले विद्यालय बन्द राखेका छन् भने कतिपयले अनलाइन कक्षालाई प्राथमिकता दिएका छन् । विद्यालय पुनः सुरु भएका देशमा डेनमार्क, फ्रान्स, चीन र न्युजिल्यान्ड पर्छन् । सुरक्षा मापदण्ड अपनाएर जोखिम न्यूनीकरण गरेर विद्यालय खुला गरिएको छ । जोखिममा रहेका शिक्षकलाई घरमै बस्न भनिएको छ । कक्षामा विद्यार्थीको संख्या घटाइएको छ । विद्यालयका गेट, क्यान्टिन र परिसरमा भीडभाड नहुने समय तालिका मिलाइएको छ । यसै गरी विद्यार्थी बस्ने बेन्च र डेस्कलाई छ फिटको दूरीमा राखिएको छ । अन्तर्राष्ट्रिय स्तरमा अपनाइएका मापदण्ड हामी कति अपनाउन सक्छौँ, त्यसकै आधारमा विद्यालय खोल्ने कि नखोल्ने, निक्र्यौल गर्नुपर्छ । अन्य क्षेत्रमा जस्तै कलिला बालबालिका पठनपाठन गर्ने विद्यालयलाई जोखिम न्यूनीकरण नगरी खोल्ने मूर्खता नगर्नु नै बेस हुन्छ । 
 

तपाईको कमेन्ट