सुनसान रेडलाइट एरियाका उदास यौनकर्मी

writer

सम्पूर्ण

शनिबार, ०३ साउन २०७७


यौनकर्मीमाथि कोरोना कहर:

भारत, मुम्बईको कमाठीपुरादेखि नेदरल्यान्ड्सको एम्सटर्डमसम्मका यौन पेशा हुने थलोहरू अहिले शून्य छन्। संसारभरिका यौनकर्मी महिलासमस्यामा छन्। कमाइ छैन। कतैबाट सहयोग पाउँदैनन्।  


‘आठ दिन भइसक्यो, एक जना पनि ‘कस्टम्बर’ आएको छैन।’

भारत, मुम्बईकी ४९ वर्षीया यौनकर्मी सोनीले उनकै भाषामा कस्टम्बर अर्थात् ग्राहक नआएकोमा दुःख पोखिन्। मखमली म्याक्सी लगाएकी उनी ग्राहक आउने आशमा बारम्बार ढोकाको पर्दा हटाएर बाहिर नियाल्छिन्। सडक सुनसान छ। लकडाउन जारी छ।

मुम्बईस्थित कमाठीपुराको १० नम्बर गल्लीकी यौनकर्मी हुन्, सोनी।विगत २५ वर्षदेखि उनी यहीँ काम गरिरहेकी छन्। ‘पूरै जिन्दगी यहीँ बित्यो, कति बम पड्क्यो, कति आक्रमण भए, कति बिमारी आयो, तर यस्तो हालत कहिल्यै भएको थिएन,’ उनले भनिन्।

कोरोना भाइरस महामारी रोक्न लकडाउन सुरु भएयता उनले ग्राहक पाएकी छैनन्। जसको अर्थ हो, उनले एक पैसा पनि कमाएकी छैनन्। कमाठीपुराका अरू हजारौँ यौनकर्मीको अवस्था उस्तै छ। लकडाउन रहुञ्जेल अवस्था सुध्रिने छाँट उनले देखेकी छैनन्। त्यतिञ्जेल कसरी पेट पाल्ने, उनलाई थाहा छैन। ‘यस्तै भइरह्यो भने के खाने, कोठाभाडा कसरी तिर्ने?’ उनले भनिन्, ‘अलिअलि सरसामान किनेर ल्याएकी थिएँ। तर, त्यसले दुईतीन दिन मात्र पुग्छ।’

सोनीबाहेक कोठामा अरूतीन जना महिला थिए। लकडाउन नहुँदा उनीहरूले दैनिक दुईदेखि तीन हजार रुपैयाँसम्म कमाउने गरेका थिए। कमाठीपुरालाई कुनै समय भारतको सबैभन्दा ठूलो ‘वेश्यालय’भनिन्थ्यो। जुनसुकै उमेरका महिला यहाँ यौनकर्म गरिरहेका भेटिन्छन्। तीमध्ये धेरैजसो पश्चिम बंगाल, नेपाल र बंगलादेशबाट बेचबिखनमा परेर यहाँ आइपुगेका हुन्।

सामान्य अवस्थामा कमाठीपुर ‘गुलजार’ हुन्थ्यो।शहरबजारबाट ग्राहकको धुइरो लाग्थ्यो। तर, लकडाउनपछि यहाँ सुनसान छ।यहाँका साँघुरा गल्ली, पुराना घर उजाड देखिन्छन्। काम नभएपछि यौनकर्मीहरू समूह–समूहमा बसेका छन्। उनीहरू एकअर्काका फुलेका कपाल टिप्दै वा तास खेल्दै गरेका देखिन्छन्।

अर्की यौनकर्मी जया, जो ३० हाराहारीकी देखिन्छिन्, अब कसरी पेट पाल्ने भन्नेबारे चिन्तित छिन्। ‘यतिबेला मसँग न काम छ, न पैसा,’ उनले भनिन्। उनको छ वर्षको छोरो छ, जसलाई उनले पुनेमा एक नातेदारको घरमा राखेकी छन्।छोरालाई पढाउने खर्च उनैले पठाउनुपर्छ। ‘प्रत्येक महिना कम्तीमा १५ सय रुपैयाँ उसलाई पठाउनुपर्छ,’ उनले भनिन्, ‘यस्तो अवस्थामा कसरी पठाउने?मलाई निकै तनाव छ।’

यौनकर्मी किरणको माग छ– सरकारले उनीहरूलाई सहयोग गर्नुपर्छ। ‘हामीलाई पैसा पठाइदिनू भनेर मोदी (प्रधानमन्त्री नरेन्द्र मोदी) लाई भन्दिनू न,’ उनले एक जना पत्रकारसँग आग्रह गरिन्, ‘हामीले पनि बूढाबूढी भइसकेका आमाबुबा र छोराछोरी पाल्नुपर्छ।’

कोरोना–कालमा चुम्बनरहित सेक्स 
मे महिनादेखि नेदरल्यान्ड्समा व्यवसाय खुल्न थाले। तर, एम्स्टर्डमको रेडलाइट जिल्लाका झ्याल भने खाली थिए। सामान्यतयः खचाखच पर्यटक हुने नहरसामुन्नेका सडक सुनसान थिए। वेश्यालयहरू बन्द थिए।

‘यौनकर्मीको फोटो खिच्न मनाही,’ झ्यालमाथि लेखिएको थियो, ‘जरिवानाः ९५ युरो।’ 

तर, ती झ्यालमा यौनकर्मी थिएनन्, न फोटो खिच्ने पर्यटक नै। सैलुन, ब्युटी पार्लर र ड्राइभिङ सिकाउने स्थान मे ११ देखि खुले। जुनको सुरुदेखि नै रेस्टुरेन्ट खुल्न थाले।यहाँ पनि केही बार, सेक्स टोय पसल खुले। तर, यौनकर्मीलाई पर्खिन भनियो।यसरी पर्खिनुपर्दा अधिकांश यौनकर्मी गरिबीमा पुगे।

सार्लोट नामकी एक जना यौनकर्मी सामान्य अवस्थामा एक सातामा सात ग्राहक भेट्थिन्। तर, लकडाउन सुरु भएको साता सातै जना ग्राहक गुमे, जसका कारण उनलाई १५ सय डलर घाटा लाग्यो। ‘पछिपछि त मैले घाटा गन्ती गर्नै छाडिदिएँ,’ उनी भनिन्, ‘गन्ती गरेर के पाउनु छ र !’

लकडाउनभर बचतबाट खर्च गरेर सार्लोटले जीविका चलाइन्। तर, उनका कतिपय साथीहरूसँग बचत पनि थिएन। चार सयभन्दा बढी यौनकर्मीले स्वयंसेवकले जम्मा गरेको आपत्कालीन कोषबाट सहयोग लिए।कोषले आपत् परेकालाई ४५ डलरसम्म सहयोग गरेको थियो। तर, त्यति पैसाले पुग्ने थिएन। त्यसैले कतिपय यौनकर्मीले गुप्त रूपमा पनि काम गरे। यसले दुव्र्यवहार र संक्रमण दुवैको जोखिम बढाउँथ्यो।

अन्ततः जुलाई १ बाट एम्स्टर्डमको रेडलाइट जिल्ला खुल्यो। धेरै यौनकर्मी चकित परे। किनभने, सरकारले सेप्टेम्बरपछि मात्रै यो पेशा खोल्ने बताएको थियो। तर, भाइरस नियन्त्रणमा आएपछि सुरक्षाका केही उपाय अपनाउँदै उनीहरूलाई काम गर्न दिइयो।

‘काममा फर्किंदा निकै खुशी लागेको छ,’ रोमानियाबाट आएकी ३४ वर्षीया यौनकर्मी फेलिसिया अन्नाले भनिन्, ‘लकडाउनका क्रममा धेरै यौनकर्मी आर्थिक संकटमा परेका थिए। त्यसैले हामी काम पुनः सुरु भएकोमा खुशी छौँ।’ अन्ना रेडलाइट युनाइटेड ट्रेड युनियनकी अध्यक्ष पनि हुन्।

संक्रमण फैलिन नदिन यौनकर्मी र तिनका ग्राहकले अब केही नियम पालना गर्नुपर्नेछ। खासगरी, उनीहरूलाई चुम्बन नगर्न भनिएको छ।

सरकारले मार्चको मध्यमा रेडलाइट जिल्ला बन्द गराएको थियो। खुलेपछि पनि तत्कालै ग्राहकको संख्या धेरै नबढ्ने देखिएको फेलिसिया बताउँछिन्।

ग्राहकलाई समय दिनुअघि उनीहरूको स्वास्थ्य ठीक छ कि छैन, कुनै लक्षण देखिएको छ कि भनेर सोधपुछ गर्नुपर्ने अर्की एक यौनकर्मीले बताइन्। ‘त्यस्तै, ग्राहक आएपिच्छे डिसइन्फेक्ट गर्नुपर्ने, हात धुनुपर्ने, तन्ना फेर्नुपर्ने नियम छ,’ उनले भनिन्, ‘तर, मास्क लगाउनुपर्दैन।’

एचआईभी संक्रमितलाई झनै समस्या
लकडाउनका कारण सबैभन्दा बढी अफ्रिकाका यौनकर्मी पीडित भए।अझ मिग्नोनीजस्ता एचआईभी भएका यौनकर्मीलाई त बाँच्नै मुश्किल प र्‍यो।

२५ वर्षीय मिग्नोनी रुवान्डाकी हुन्। लकडाउनका कारण ग्राहक नपाएको उनले बताइन्। उनीसँग खाना किन्ने पैसा पनि थिएन। र, जब पर्याप्त खाना हुँदैन, तब उनले खाने एचआईभीको एन्टिभाइरल औषधिले थप पीडा दिन्छ। वाकवाकी आउँछ, कमजोर बनाउँछ र कहिलेकाहीँ त बेहोशसमेत बनाउँछ। ‘औषधि नखाँदा खतरा झन् बढी छ,’ उनले भनिन्, ‘ज्यानै जान सक्छ।’

अफ्रिकाभरि यौनकर्मीलाई यस्तै चुनौती छ। जिम्बावेको राजधानी हरारेका यौनकर्मीहरू पनि उपचार झेल्न गाह्रो भइरहेको बताइरहेका छन्।

सबैभन्दा बढी एचआईभी संक्रमित भएको महादेश हो, अफ्रिका। यो महामारीले स्थितिलाई झनै गम्भीर बनाउने विज्ञहरूको भनाइ छ। ‘बार, नाइटक्लब बन्द भएको छ। धेरैजसो यौनकर्मीले खाना किन्ने, भाडा तिर्ने र औषधि किन्ने पैसा पनि कमाउन छाडेका छन्,’ यौनकर्मीलाई सघाउने केन्याको एक संस्थाकी निर्देशक पेनिना म्वांगीले भनिन्। 

‘सेक्स वर्क फ्रम होम’
केल्पी हार्ट अमेरिकाको अरेगन राज्यमा बस्छिन्। उनको पेशा हो, नग्न नृत्य। धेरै पहिलेदेखि नै उनी आफ्नो कामलाई अनलाइनमार्फत प्रस्तुत गर्ने विषयमा सोचिरहेकी थिइन्। त्यत्तिकैमा कोरोना भाइरसको महामारी सुरु भयो। बारहरू बन्द भए। उनको रोजगारी गुम्यो। गत मार्चदेखि उनले घरबाटै लाइभ स्ट्रिमिङमार्फत प्रस्तुति दिन थालिन्। उनी हप्ताको एउटा सो गर्छिन्।

उनले यो काम सुरु गर्दैगर्दा विश्वको झण्डै आधा जनसंख्या लकडाउनमा थियो। अमेरिकामा १ करोड ६० लाख मानिसले रोजगारी गुमाएका थिए, जुन पछि साढे चार करोडसम्म पुग्यो। त्यसैले हार्टजस्तै अनलाइनमार्फत काम गर्ने यौनकर्मीको संख्या धेरै थियो। घर बस्ने मान्छेको संख्या अभूतपूर्व रूपमा बढ्दा तिनका ग्राहक पनि ठूलो संख्यामा बढेका थिए।

हार्टले क्यामसोडा नामक ‘क्यामिङ’ साइटमार्फत प्रस्तुति दिइरहेकी छन्। यस्ता थुप्रै साइट छन्। यस्ता प्रस्तुति दिनेलाई ‘क्याम मोडल’ भन्ने गरिन्छ। जो प्रत्यक्ष प्रसारणमार्फत नग्न नृत्य प्रस्तुत गर्छन् र दर्शकले तिनलाई मेसेज पठाउँछन्। उनीहरूले यसमार्फत टिप्स कमाउँछन्।

क्यामसोडाका उपाध्यक्ष डारेन पार्कर मार्चमा यो साइटमार्फत प्रस्तुति दिनेको संख्यामा ३७ प्रतिशतले वृद्धि भएको बताउँछन्। अर्को साइट मेनिभिड्समा यही अवधिमा ६९ प्रतिशतले वृद्धि भएको छ। क्यामसोडामा अघिल्लो वर्षको तुलनामा दर्शक संख्या पनि दोब्बर भएको छ। तर, यसको अर्थ क्याम मोडलले बढी पैसा कमाइरहेका छन् भन्ने होइन। आफूहरूले अहिले सजिलै पैसा कमाइरहेको धेरैलाई लाग्ने गरेको क्यामसोडाकी लोकप्रिय मोडल २४ वर्षीया मिलिना केन बताउँछिन्। नयाँ दर्शक धेरै आएपनि आफूले खासै धेरै टिप्स कमाउन नसकेको उनको अनुभव छ।

कोरोना भाइरस महामारी सुरु हुनुअघिसम्म यी मोडल यौन कर्मका अन्य रूप अपनाउँथे। कोही नग्न नृत्य गर्थे, कोही पोर्नोग्राफीमा थिए त कोही निश्चित अवधिसम्म कसैको यौनसाथी बन्थे। अरू साँझ परेपछि बारमा काम गर्थे, दिउँसो क्यामिङ गर्थे। कसैकसैले अफिसमा काम पनि गर्थे। अहिले धेरैसँग एउटा मात्रै काम छ।

जो पूरै समय लाइभ प्रस्तुति दिन्छन्, तिनका लागि यो काम निकै बोझिलो हुन्छ। केन दैनिक १२ घण्टा क्यामराअघि प्रस्तुति दिन्छिन्। गएको वर्षमा उनले जम्मा दुई दिन मात्रै छुट्टी लिएको बताइन्। शारीरिक रूपमा निकै कष्टदायी भएपनि यो काम निरर्थक नभएको उनको भनाइ छ। ‘एक उद्यमी भएपछि त्यो त बेहोर्नैप र्‍यो,’ केनले भनिन्, ‘म उमेर छउञ्जेल सकेसम्म धेरै काम गर्न चाहन्छु, ताकि पछि यस्तो काम गर्नु नपरोस्।’

आफूलाई ‘क्यामहोलिक’ बताउने केन आरामदायी तरिकाले काम गरेकैले यो पेशाप्रति लगाव उत्पन्न भएको बताउँछिन्। लम्बेतान स्ट्रिमिङको समयमा उनी आफ्नो आरामको ख्याल गर्छिन्। सजिलो कपडा लगाउँछिन्, खाजा खान्छिन् र नाच्छिन्।

अर्की क्याम मोडल एली असम सातामा ६० घण्टा काम गर्छिन्। उनको काम उठ्नेबित्तिकै सुरु हुन्छ। झन् महामारीमा घरभित्रै थुनिएपछि त उनी सबैभन्दा बढी काम गर्न थालिन्। मुख्यगरी, उनी डिसकर्ड नामक एपमार्फत ग्राहकसँग प्रत्यक्ष काम गर्छिन्। तर, आजभोलि उनी च्याटरबेट, वन्लीफ्यान्स र स्काइपका माध्यमबाट पनि काम गर्न थालेकी छन्।

यौन कर्मलाई हेर्ने दृष्टिकोणका कारण आफूहरूलाई कठिन भएपनि घरबाटै काम गर्न पाउँदा असम आफूलाई भाग्यमानी ठान्छिन्। ‘केही परिवर्तन भएको छ,’ उनले भनिन्, ‘तर, काम खोसिएर बेरोजगार बन्नुपरेको त छैन नि!’

(एजेन्सीको सहयोगमा कवि आचार्य ) 
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि