रंगमञ्चले अब हिँड्नुपर्ने नयाँ बाटो

writer

राजेन्द्र रिमाल

शनिबार, ०३ साउन २०७७


कोरोना भाइरसका कारण रंगमञ्च समाप्त भयोभनेर रोदन गर्नुपर्ने कुनै कारण छैन। हिजोका दिनमा पैसा बर्सिएको थियो र नेपाली नाट्यकर्मीहरूको खल्तीमा ?


धरानमा नाट्यशाला बनाउन दिनरात काम भइरहेको छ। सरकारको स्थानीय पूर्वाधार विकास कोषबाट बजेट विनियोजन भएपछि हाल त्यहाँ चौबीसै घण्टा अलग–अलग सिफ्टमा काम भइरहेको छ। संघीय सांसद् जयकुमार राईमार्फत बजेट विनियोजन भएपछि धरानका नाट्यकर्मीको अग्रसरतामा उक्त नाट्यशालाको जग हाल्ने काम सम्पन्नताको चरणमा छ। झापाको बिर्तामोडमा क्षितिज नाट्य समूहको सक्रियतामा नाट्यशाला निर्माणको काम तीव्रगतिमा भइरहेको छ, जुन निर्माणको अन्तिम चरणमा छ। त्यस्तै, झापाकै दमकमा स्थानीय कदम थिएटरको पहलमा नाट्यशाला निर्माणको काम धमाधम हुँदैछ। उदयपुरको गाईघाटमा पनि नाट्यशाला निर्माणका लागि पहल सुरु भएको छ। पोखराले नाट्यशाला निर्माण गरिसकेको छ। इटहरी र विराटनगरमा पहिले नै बनिसकेका छन् नाट्यशाला। झापाकै परिवर्तन थिएटरले आन्तरिक बहसको काम गरिरहेको छ। नाटक नै नभए पनि काठमाडाँैबाहिर नाट्य गतिविधि ठप्पै भएका चाहिँ छैनन्।

लकडाउनकै बीचमा काठमाडौँको थिएटर मलले भर्चुअल माध्यमबाट नाट्य महोत्सव आयोजना ग¥यो। विगतमा मञ्चन भइसकेका नाटकलाई लाइभ स्ट्रिमिङको माध्यमबाट दर्शकसम्म नाटक पु¥याउने प्रयास थियो, त्यो। त्यसबाहेक पनि भर्चुअल माध्यमबाटै नाट्य विमर्श, आगामी दिनबारे छलफल र अबको बाटोका बारेमा पनि चिन्तन भइरहेकै छ। 

काठमाडाँैमै शिल्पी थिएटरले दर्शकसँग कसरी पुग्ने भन्ने अभिप्रायले विभिन्न प्रस्तुतीकरणगरिरहेको छ। शिल्पीले केहीअघि बत्तीसपुतलीमा र भर्खरै पाटनदरबार क्षेत्रमा नाट्य प्रस्तुति दिएको थियो। त्यस्तै, अन्य कतिपय नाट्य समूह पनि विभिन्न माध्यमबाट क्रियाशील भइरहेको देख्न पाइन्छ। 

रंगमञ्च व्यावसायिक क्षेत्र होइन
कोरोनाले संसारभरि सबैथोक ठप्प पारिरहेको बेला नेपाली रंगमञ्च त्यसबाट अप्रभावित रहन सक्दैन। संसारभरि नै व्यावसायिकतामाथि असर गरेको भए पनि हेक्का राख्नुपर्ने कुरा चाहिँ के हो भने नेपाली रंगमञ्च आफैँ व्यावसायिक क्षेत्र होइन। नेपाली मात्र होइन, संसारकै रंगमञ्च आफैँमा व्यावसायिक क्षेत्र होइन। 

नेपाली रंगमञ्चको चरित्र नै ‘सोखिन’ हो। आधारभूत रूपमा नेपालमा रंगमञ्च सोखमा गरिने काम हो। कहिलेकाहीँ पैसा लिएर वा पैसाका लागि नाटक गरिए पनि त्यसलाई व्यावसायिक भनिहाल्ने अवस्था छैन। काठमाडाँैका केही थिएटर हलमा नियमित रूपमा टिकट काटेर नाटक हेर्ने अभ्यास भएको भए पनि त्यसैलाई आधार बनाएर नेपाली रंगमञ्चलाई व्यावसायिक भन्नु गलत हुनेछ। 

काठमाडौँमा भएका थिएटर हलको औसत दर्शक संख्या भनेको १ सय ५० जना मात्र हो। एउटा नाटक निकै जोडबल लाएर मञ्चन गर्दा पनि चल्ने भनेको मुश्किलले औसत १५ दिन हो। त्यही १५ दिन हाउसफुल चल्यो भने पनि त्यसले संकलन गर्ने रकम भनेको करिब पाँच लाख रुपैयाँ हो। त्यसको आधाभन्दा बढी त नाटक निर्माणमा नै खर्च हुन्छ। बाँकी रहेको रकम चिया, खाजा, खाना आदिमै सकिन्छ। थिएटर हलका लगानीकर्ताको अंश छुट्याउँदा त नाटक सकिँदा कलाकारको हातमा शून्य पर्छ। थिएटर हललाई केही फाइदा भइहाले पनि त्यो तिनै थिएटरका लगानीकर्तासम्मलाई होला। तर, बिछट्टै चलेको नाटकका कलाकारले पनि पारिश्रमिक हात पार्ने अवस्था भने छैन। बरु, ती सबै थिएटर हलले नाटक मञ्चनबाट होइन, उनीहरूले तीन–तीन महिनामा सञ्चालन गर्ने नाट्य कार्यशालाबाट भने थोरै फाइदा भएको लाग्छ। त्यसमा एकातिर कलाकारले निश्चित रकम भुक्तानी गर्छन्। र, त्यसैअन्तर्गत नै नाटक पनि मञ्चन गर्नुपर्ने हुन्छ। जसमा ती प्रशिक्षार्थी कलाकारलाई खेलाइन्छ रउनीहरूलाई पारिश्रमिक पनि दिनुपर्दैन। त्यही भएर केही थोरै औँलामा गन्न सकिने नाट्यकर्मीबाहेक अरू नाटकमा दोहोरिएर देखिँदैन। दोस्रो नाटक गर्ने बेलासम्म त फेरि अर्को तीनमहिने कार्यशालाका उत्पादन तयार भइसकेका हुन्छन्। 

त्योबाहेक पैसै आउने अर्को नियमित स्रोत भनेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हुन्, जसमा केही सीमित नाट्य संस्थाको मात्र पहुँच छ। जसको पहुँच छ, परियोजना उनैले मात्र पाउने गरेका छन्। तर, त्यहाँ पनि त्यसको उचित लाभ त्यसमा आबद्ध नाट्यकर्मीले सामान्यतया पाउँदैनन्। लाभ पाउने त परको कुरा भयो, त्यसको खर्चको फाँटवारीसम्म पनि पाउँदैनन्। नेपाली रंगमञ्चमा यौन शोषण र दुव्र्यवहारको कुरा त निकै उठ्यो। तर, आर्थिक शोषण र अन्यायको कुरा आजसम्म उठ्न सकेको छैन। 

त्यसैले हामी सबै प्रस्ट हुनैपर्ने कुरा के हो भने हाम्रो रंगमञ्च व्यावसायिक आचरणको रंगमञ्च नै होइन। त्यसैले कोरोनाको कारण सबै समाप्त भयो भनेर आत्तिनुपर्ने वा रोदन गर्नुपर्ने कुनै कारण छैन। हिजोका दिनमा पैसा बर्सिएको थियो र, नेपाली नाट्यकर्मीको खल्तीमा ?व्यावसायिकताबाहेक सबै सिर्जनात्मक काम गर्न अहिले पनि सकिन्छ। खालि यत्ति हो, ठूलो समूहमा, भीडमा असुरक्षित तरिकाले मात्र गर्न सकिन्न। सिर्जनशील अभिव्यक्ति आज पनि व्यक्त भइरहेका छन्। भौतिक निर्माणका काम भइरहेकै छन्। बौद्धिक बहसका काम भइरहेका छन्। ती नेपाली रंगमञ्चको सञ्चित सम्पत्तिका रूपमा भोलि उपयोग हुनेछन्। 

नयाँ–नयाँ अभ्यासको अवसर  
यो अवधिमा नेपाली नाट्यकर्मीले आफ्नो वरपर र बाहिरको समाज, जीवनशैली, दर्शन आदिको अध्ययन, विचार प्रवाह र नयाँ अभ्यास पनि गरेका छन्। आउने दिनमा यो क्रम अझ परिष्कृत भएर उजागर हुने निश्चित छ। नाट्यकर्मको निश्चित सीमा हुन्छ। खासगरी, यसको अव्यावसायिक चरित्र यसको सीमा हो। अनि, हामी बारम्बार व्यावसायिकताको चर्चा गरिरहन्छौँ। यस्तै खाले दिग्भ्रमको दोसाँधमा नेपाली नाट्यकर्मी रुमल्लिएका छन्। यो लकडाउनले त्यस्ता तमाम भ्रमलाई तोड्न सक्नुपर्छ।

हामीकहाँ बारम्बार चुनौती आइरहन्छन्। तर, चुनौतीसँगै अवसर पनि त आइरहेका हुन्छन्। चुनौतीले जहिले पनि योग्य र कर्मठकै दैलो ढकढक्याउँछ भनिन्छ। यसलाई अवसरका रूपमा उपयोग गर्ने अपार सम्भावना हाम्रासामु हुन सक्छन्, जुन अहिलेकै आँखाले चाहिँ नदेखिन सक्छ।

त्यसैले अबका दिन अझै कठिन छन्। किनकि, हिजोका दिनमा बनिसकेका राजमार्गजस्ता बाटोमा हिँड्न र आफँैले बाटो खनेर हिँड्नुपर्ने जस्तो अवस्था छ। कठिन त हुने नै भयो। तर, असम्भव छैन। आज प्रविधिले पनि छलाङ मारेको अवस्था छ। त्यो हाम्रो अतिरिक्त आर्जन हो। 

रंगमञ्चसँग स्थापित मान्यता र व्याकरणलाई तोड्ने स्वतन्त्रता रहन्छ। तर, रंगमञ्चमै यति धेरै ‘गर्ने र नगर्ने’ कुरा हुन्छन्। कोरोनाले विश्वको मानवीय सभ्यतालाई तोड्ने–फोड्ने क्रम जारी रहेको बेला हामी मात्रलाई केको मान्यता र व्याकरणका कुरा !अब हामीलाई भनिएजस्तै, पढाइएजस्तै, र अहिलेसम्म अभ्यास गरेजस्तै सबै मान्यतालाई बिदा गर्दै नयाँ परिष्कृत, परिमार्जित विचारका साथ नयाँ विश्वले अँगालेको वा नगरेका नयाँ–नयाँ अभ्यास रंगमञ्चमा पनि उपयोग गर्दै जानुपर्छ। त्यो भनेको अहिलेको भन्दा बिलकुलै फरक हुनुपर्छ। 

कोरोना निर्मूल हुँदैन भन्ने समाचार आइरहेका छन्। त्यसो हो भने अब कोरोनासँग अभ्यस्त हुँदै जानुबाहेक विकल्प छैन। फेरि कोरोना नै संसारको अन्तिम रोग पनि त होइन होला। त्यसैले सबैखाले सुरक्षाका विधि अपनाएर आ–आफ्ना नियमित काममा फर्कनु नै परिस्थितिको माग हो। 

त्यसैले नेपाली रंगमञ्चलाई फेरि पनि बचाउने हो भने नयाँ–नयाँ अभ्यास गर्न जरुरी छ। उपलब्ध सबै अवसरलाई उपयोग गर्दै अघि बढ्नुपर्छ। त्यो भनेको आधुनिक प्रविधि पनि हो। अहिले हामीसँग राम्रा–राम्रा स्तरीय प्रविधि, प्राविधिक र यन्त्र उपलब्ध छन्। जसको समुचित उपयोग गर्न अब ढिला गर्न हुँदैन। एकातिर हामी व्यावसायिकताको कुरा गर्ने अनि अर्कातिर गैरव्यावसायिक सीमाभित्र बस्नेजस्तो विरोधाभासपूर्ण क्रियाकलापबाट टाढा बस्नु नै बेस हुन्छ। अरूले के गर्दैछन् भन्ने पनि महत्त्वपूर्ण नहुन सक्छ, हाम्रा आवश्यकता, हाम्रा सीमा, हाम्रा परिस्थितिलगायतबढी महत्त्वपूर्ण हुन्। 

फेरि पनि नाटक भनेको अभिव्यक्तिको माध्यम नै हो। त्यसैले यसको मुख्य कार्य भनेको नै अभिव्यक्त गर्नु हो। र, अभिव्यक्त गर्नैका लागि आज पनि केही कुराले छेक्दैन। त्यसलाई कसरी पैसामा रूपान्तरण गर्ने भन्ने चाहिँ अलि गम्भीर प्रश्न हो। अभिव्यक्तिका सबै उत्पादनमा पैसामा रूपान्तरण हुने गुण भने हुँदैन। त्यसैले अभिव्यक्ति र अर्थ आर्जन दुई फरक कुरा हुन्। ती दुई बीचको सामञ्जस्य नै कठिन काम हो। हामीले हाम्रो हरेक कामलाई अर्थ उपार्जनसँग जोडेर हेर्न थाल्यौँ भने सिर्जनशीलतामा एकाग्र हुन सक्दैनौँ, अर्थात्न उत्कृष्ट अभिव्यक्ति नै दिन सक्छौँ, न अर्थ उपार्जन नै गर्न सक्छौँ। त्यसैले हरेक नाट्यकर्मीले यसको भेद खुट्याएर आफ्नो सीमा निर्धारण गर्न जरुरी छ। 

अहिले केही अवसर सिर्जना गर्न सक्ने अवस्था पैदा भएको छ। भर्चुअल माध्यमबाट नाट्य कार्यशाला सञ्चालन गर्ने, जसका लागि निश्चित शुल्क निर्धारण गर्ने। यो बालबालिकाका लागि पनि गर्न सकिन्छ, युवा, विद्यालयका शिक्षक आदिलाई पनि गर्न सकिन्छ। अभिनयको आवश्यकता सबै क्षेत्रका मानिसलाई पर्छ।ती क्षेत्र पहिचान गरी त्यहाँ अभिनयको आवश्यकता महसुस गराएर तालिमको आयोजना गर्न सकिन्छ। 

नाटकको लाइभ स्ट्रिमिङ
यसअघि नाटकको भिडियो निर्माण र प्रदर्शनलाई यसको मूल चरित्रभन्दा अलग भनेर त्यसलाई दुरुत्साहन गर्दै आइयो। त्यो पनि एउटा विकल्प हो भनेर सोचिएको छैन। स्तरीय भिडियो निर्माण गरी बिक्रीयोग्य उत्पादन बनाउन सकियो भने अहिले त्यस्ता भिडियो बिक्री हुने विश्वस्तरीय प्लेटफर्म उपलब्ध छन्। आफ्नो अभिलेखका लागि सामान्य ढंगले खिचिएका नाटकका भिडियो स्तरीय नहुन सक्छन्, तर प्राविधिक रूपमा स्तरीय भिडियो बनाउन सक्दा त्यो बिक्रीयोग्य हुन सक्छ। त्यसबाट नाट्यकर्मी पनि लाभान्वित हुन सक्छन्। त्यसैगरी नाटकको सशुल्क लाइभ स्ट्रिमिङ हुन सक्ने कोणबाट पनि सोच्न सकिन्छ। यदि त्यसो गर्न सकियो भने हाम्रा नाटकले पनि विश्व विचरण गर्न सक्ने योग्यता निर्माण गर्न सक्नेछन्। नाटकका कलाकारले पनि अलि ठूलो आकारको प्लेटफर्म प्राप्त गर्न सक्छन् र यो आर्थिक रूपमा पनि महत्त्वपूर्ण हुन सक्छ।

नेपाली नाट्यकर्मीले कहिलेसम्म गैरव्यावसायिक काम गरेर व्यावसायिक ‘फ्रस्ट्रेसन’को कुरा गर्दै पलायन भइरहने ? पलायन हुन नेपाली नाट्यकर्मी अभिशप्त छन् र ?

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि