चिन्ता र उदासीको उपचारमा स्मृति ध्यान

writer

डा. कपिलदेव उपाध्याय

शुक्रबार, ०२ साउन २०७७


मनलाई चित्त, चेतना, होश, दिमाग आदि नाम दिइएका छन्। संसारमा आविष्कार भएका सबै कुरा मनकै उपज हुन्। मन हाम्रो मित्र हुन सक्छ र शत्रु पनि हुन सक्छ। तालिम नपाएको मन जंगली हात्तीजस्तै हो। तालिमप्राप्त मनलाई तालिम पाएको हात्तीलाई जस्तै काम लगाउन सकिन्छ।


डिप्रेसन (उदासी) का धेरै बिरामीमा एंग्जाइटी (चिन्ता रोग) पनि देखिन्छ।संसारमा ३० करोड मानिसडिप्रेसनबाट पीडित छन् भनिन्छ। नेपालमा जनसंख्याको करिब चारदेखि पाँच प्रतिशतमा यो रोग भएको अनुमान छ। चिन्तारोग त १० प्रतिशतभन्दा बढी जनसंख्यामा छ भन्ने मानिन्छ। 

डिप्रेसन हुने कारण धेरै छन्। शारीरिक रोगमा थाइरोइडको समस्या, मुटुसम्बन्धी विभिन्न रोग, मधुमेह, छारेरोग, बाथ रोग, विभिन्न क्यान्सर आदि मानिन्छन्। मद्यपान र लागुपदार्थको लतले पनि डिप्रेसन गराउन सक्छ। 

त्यस्तै, विभिन्न मनोसामाजिक कारणले पनि डिप्रेसन हुन्छ। जस्तैःबाल्यावस्था वा किशोरावस्थामा यदि शारीरिक यातना, भावनात्मक यातना, यौन हिंसा भएको रहेछ भने डिप्रेसनलगायत अन्य स्वास्थ्य समस्या देखिन सक्छन्। 

लगातारको मानसिक तनाव महिनौँ रहँदा, प्रेम सम्बन्धमा असफलता हात लाग्दा वा वैवाहिक जीवन तनावपूर्ण रहँदा पनि डिप्रेसनलगायत स्वास्थ्य समस्या देखिन्छन्। त्यस्तै, आमाबुबालाई डिप्रेसन छ भने छोराछोरीलाई हुन सक्छ। तर, हुनैपर्छ भन्ने चाहिँ छैन। 

डिप्रेसनका मुख्य लक्षणमा मन उदास हुने, कुनै कुरामा पनि रमाउन नसक्ने र छिट्टै थकाइ लाग्ने हुन्। त्यस्तै, शरीरका विभिन्न भागमा दुख्ने, जिन्दगी बेकार लाग्ने, पश्चात्ताप हुने, रुन मन लाग्ने, भोक र निद्रा हराउँदै जाने हुन्छ। मन निराश सबैभन्दा बढी बिहान हुन्छ र बेलुका केही सजिलो लाग्छ। 

डिप्रेसनका केही बिरामी भन्ने गर्छन्–‘मैले के गल्ती गरेँ? किन मलाई यस्तो रोग लाग्यो ? कुनै निर्णय लिन सक्दिनँ। आत्तिन्छु। बिर्सन्छु। नराम्रा विचार मात्र आउँछन्। कसैको माया लाग्दैन।’ यस्ता सबै लक्षण डिप्रेसनका हुन्। याद राख्नुपर्ने कुरा के हो भने डिप्रेसन रोग हो। उपचार गरेर निको हुन्छ। उपचार गर्ने तरिका धेरै छन्। औषधि पनि थरी–थरी छन्। आफ्ना लागि कुन औषधि ठीक छ वा कुन उपचार विधि ठीक छ, रोज्न सकिन्छ। 

स्मृति ध्यान
मनलाई चित्त, चेतना, होश, विज्ञान वा दिमाग विभिन्न नाम दिइएको छ। मन नै हामी सबैको केन्द्रबिन्दु हो। संसारमा आविष्कार भएका सबै कुरा मनकै उपज हुन्। मन नै विज्ञान हो। मन हाम्रो ठूलो मित्र हुनसक्छ र शत्रु पनि हुन सक्छ। तालिम नपाएको मन जंगली हात्तीजस्तै मानिन्छ र राम्रोसँग तालिमप्राप्त मनलाई तालिम पाएको हात्तीलाई जस्तै काम लगाउन सकिन्छ। 

मनलाई कसरी तालिम दिने ?
मनमा विचार आउँछन् र जान्छन्। तिनलाई चिन्ने र ती विचार आएको र गएकोे हेर्ने अर्थात् ‘प्य्राक्टिस’गर्ने। दिनमै हजारौँ विचार आउँछन् र जान्छन्। सबै हेर्न सकिँदैन। जति सकिन्छ हेर्न प्रयास गर्ने। विचारलाई हेर्न थालेपछि एकाग्रता बढ्छ। विचारजस्तै विभिन्न भावना आउँछन्। जस्तैः रिस, खुशी, डर, घृणा, लोभ, बदला, प्रेम आदि। तिनलाई पनि चिन्ने र ती भावना आएको र गएको हेर्ने। यहाँ हेर्ने भनेको आफ्नो मनले हेर्ने भनेको हो। 

त्यस्तै, पाँच ज्ञानेन्द्रिय आँखा, कान, नाक, जिब्रो र छालाले राम्रो हेर्ने, राम्रो सुन्ने, स्वादिलो खाने÷पिउने, सुगन्धको आनन्द लिने र मुलायम स्पर्श गर्ने चाहना राख्छन्। तिनलाई पनि हेर्ने र चिन्ने। मनको तालिमपछि यस्ता इच्छा पनि घट्न थाल्छन्। किनकि, असीमित वासना पूरा हुन सक्दैनन् भन्ने बुझ्न थालिन्छ। 

मनलाई तालिम दिने सबैभन्दा सहज उपाय ध्यान हो। आजकल ध्यानको महत्त्व थाहा भएर धेरै व्यक्ति यसतर्फ आकर्षित भएका छन्। आउने दिनमा अझ धेरै आकर्षित हुने अनुमान गरिएको छ। 

ध्यान धेरै किसिमका हुन्छन्। हिजोआज स्मृति ध्यान अर्थात्‘माइन्डफुलनेस मेडिटेसन’मा अध्ययन भएका छन्। यसका फाइदा धेरै छन्। केही व्यक्ति मानसिक तनाव घटाउन र आरामका लागि ध्यान गर्छन्। अन्य व्यक्ति स्वास्थ्य राम्रो राख्न, खुशी हुन ध्यान गर्छन् भने केही चिन्ता घटाउन वा निद्रा राम्रो आओस् भनेर ध्यान गर्दा रहेछन्। 

के हो स्मृति ध्यान ?
आफ्नो मनलाई बेला–बेलामा ‘अहिले र यहाँ’मा राख्नुपर्छ। मन भागेर बितेका कुरा सोच्न पुग्छ। याद गरेर मनलाई अहिलेको अवस्थामा ल्याउनुपर्छ। मनले भविष्यको योजना बनाउँछ। त्यसलाई पनि अहिलेको अवस्थामा ल्याउनुपर्छ। यति गर्नुमात्र स्मृति ध्यान होइन। सास लिने र छोड्ने गर्दा मन भाग्न त कम हुन्छ, तर त्यतिले पुग्दैन। मनमा के कस्ता विचार र भावना आइरहेका छन्, त्यो हेर्नुपर्छ। विचार र भावनालाई सकभर उत्पन्न भएकै बेलामा चिन्न सक्नुपर्छ। यहाँ हेर्ने भनेको आँखाले होइन, मनले हेर्ने भनेको हो। 

मनलाई ‘अहिले र यहाँ’ को अवस्थामा राख्न सास लिन र सास छोड्नमा ध्यान दिनुपर्छ। यो पहिलो चरण भयो। दोस्रो चरणमा सास लिने र छाड्नेमा ध्यान त छँदै छ, मनमा आउने विचार र भावनालाई चिन्ने अभ्यास गर्नुपर्छ।

आफ्ना विचार, आफ्ना भावनाको साथसाथै पाँच ज्ञानेन्द्रियबाट आउने अनुभव, रूप, शब्द, गन्ध, रस र स्पर्शको पनि स्मृति राखिराख्नु नै स्मृति ध्यान हो। यसरी प्रत्येक क्षण आफ्ना विचार, भावना र अनुभवलाई हेर्दै जाँदा थाहा हुन्छ कि विचार आउँछन् र हराउँछन्। फेरि अरू विचार आउँछन्। त्यस्तै, भावनाहरू बदलिरहन्छन्। अनुभवहरू पनि बदलिरहन्छन्। स्मृति ध्यान गर्दा नराम्रा विचार आउँछन्, नराम्रा भावना आउँछन्, शरीरको कुनै भाग दुख्छ, चिलाउँछ, निदाउँछ वा रमाइला विचार वा भावना आउलान्, ती सबै आफू प्रभावित नभईकन हेरिराख्ने हो। 

यसरी ध्यान गर्दा मन भागेर अर्को ठाउँमा पुग्छ। सुरु–सुरुमा त मन ज्यादै भाग्छ।स्थिर राख्नै सकिन्न, तर यो सामान्य हो। मन अर्कैतिर गयो भने याद आउनेबित्तिकै फेरि आफ्नो स्मृतिमा ल्याउने हो। हामीले गर्ने प्रत्येक कार्यको स्मृति राख्ने हो। यसो हेर्दा सबै कुरा अलि ढिलो भएजस्तो लाग्छ, तर वास्तवमा सबै काम राम्रोसँग गर्न सकिन्छ र बढी काम गर्न सकिन्छ। 

धेरै व्यक्ति भन्ने गर्छन्–‘सकारात्मक सोच राखे भइहाल्यो नि, किन ध्यानस्यान गरिराख्नु पर्‍यो ?’ तर, सकारात्मक सोच र स्मृति ध्यानमा धेरै फरक छ। स्मृति ध्यान गर्ने भनेको सोच्ने होइन। आउने विचार चाहे सकारात्मक हुन् वा नकारात्मक, तिनलाई हेर्ने वा तिनीहरूको स्मृति राख्ने हो र तीबाट प्रभावित नहुने हो।

स्मृति ध्यान गर्दा ध्यान केन्द्रित गर्न सजिलो होस् भनेर यसलाई श्वासप्रश्वास लिनेक्रमसँग जोडिएको छ। अर्थात्, स्मृति ध्यानले शरीर र मन दुवैलाई शान्त पार्न सहयोग गर्छ। ध्यान श्वास–प्रश्वासमा केन्द्रित गर्ने त भनियो, तरश्वास–प्रश्वासको क्रमलाई यथावत् चल्न दिनुपर्छ। बलपूर्वक लामो श्वास लिने वा छोड्ने गर्नु हुँदैन। हामीले श्वास लिँदा पेटबाहिर आएको र श्वास छोड्दा पेट भित्र गएको हुन्छ। 

डिप्रेसनको उपचारमा स्मृति ध्यान 
डिप्रेसनका बिरामीलाई रोगको निदान भएपछि मनोचिकित्सक वा तालिमप्राप्त अन्य चिकित्सकले उपचार गर्दा एन्टी–डिप्रेसेन्ट औषधि दिन्छन्। औषधिले ‘साइड–इफेक्ट’ गरे अर्को औषधि दिनुपर्छ। तीन महिना औषधि खाँदा पनि खासै फाइदा भएन भने त्योसँगै अर्को डिप्रेसनको औषधि थप्ने वा औषधि बदल्ने गरिन्छ। प्रायः औषधिको प्रयोगले करिब ५० प्रतिशत डिप्रेसनका बिरामीलाई निको पार्छ। 

डिप्रेसन बेला–बेलामा बल्झिने रोग भएकाले निको भएको व्यक्तिलाई फेरि डिप्रेसन हुन सक्छ। त्यसैले निको कसरी पार्ने र निको भएका बिरामीलाई फेरि रोग नफर्कियोस् भनेर के गर्ने भन्ने सवाल महत्त्वपूर्ण छ। औषधिले राम्रो नभएका व्यक्तिलाई निको पार्न र रोग निको भएपछि नबल्झियोस् भन्नका लागि स्मृति ध्यान लाभदायक भएकाले यो उपचार विधि सिक्ने र नियमित ध्यान गर्ने सुझाव पश्चिमी देशमा दिइन्छ। ध्यान गर्न नचाहने वा गर्न नसक्ने बिरामीलाई दैनिक ४५ मिनेट शारीरिक व्यायाम गर्न र दिनको आधा घण्टा शास्त्रीय संगीत सुन्नसुझाव दिइन्छ। 

आसनमा बसेर ध्यान गर्दा सर्वप्रथम आफ्नो श्वास लिने र छोड्नेमा ध्यान दिने। श्वास–प्रश्वास ध्यान दिने भनेको सास भित्र गएको, भित्र जाँदा नाक र घाँटी हुँदै दुवै फोक्सोमा पुगेको र सास बाहिर फेर्दा त्यही बाटो बाहिर पुगेकोमा ध्यान दिने या मनले हेर्ने र अनुभव गर्ने। 

डिप्रेसनमा मन उदास हुन्छ वा निराश हुन्छ वा दुःखी हुन्छ, त्यो विचार मात्र हो भनेर चिन्ने। उदास विचार आएको र गएको हेर्ने र यस्तो विचारले आफूलाई नियन्त्रण गर्न नदिने। मनको काम विचार उत्पादन गर्ने पनि हो। चाहे राम्रो विचार होस् वा निराश विचार होस्, त्यो विचार मात्र हो भनेर बुझ्ने वा अनुभव गर्ने हो। साथसाथै श्वास–प्रश्वासमा ध्यान दिँदै गर्ने। त्यस्तै, आफैँप्रति रिस उठ्ने, हुने÷नहुने कुरा मनमा आउने हुन्छन्। ती सबैलाई विचार मात्र हुन् भन्ने र ती आएको र गएको हेरिराख्ने।

नकारात्मक विचार डिप्रेसनका लक्षण मात्र हुन्। ती सत्य होइनन्। डिप्रेसन निको हुँदै गएपछि त्यस्ता विचार हराउँदै जान्छन् भन्ने बुझ्नुपर्छ। त्यस्ता विचार आएर आफूलाई असर गर्दैनन् भने विचार आउँदैमा नआत्तिने। 

स्मृति ध्यान बसेरमात्र गर्नुपर्छ भन्ने छैन। हामी जुन बेला जे गरिरहेका छौँ, त्यसको स्मृति राख्ने वा त्यसैमा ध्यान दिने हो। जस्तैः हामी हिँड्दा हिँडाइमै ध्यान दिने, खानेकुरा खाँदा त्यसमै ध्यान दिने, सिँढी चढ्दा वा झर्दा त्यसमै ध्यान दिने। जे गरिरहेका छौँ, त्यसमै ध्यान दिने गर्‍यो भने मन विगतमा जान वा भविष्यबारे कल्पना गर्न पाउँदैन र मनमा आउने नकारात्मक विचार आउन कम हुँदै जान्छन्। सकभर स्मृति ध्यान सिकाउने व्यक्तिसँग केही सेसन यो ध्यान सिकेर गर्‍यो भने राम्रो हुनेछ। नियमित यो ध्यान गर्दा डिप्रेसनले बेला–बेला बल्झिएर दुःख दिँदैन। 

(उपाध्याय वरिष्ठ मनोचिकित्सक हुन्।) 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि