चल्न थाल्यो सार्वजनिक यातायात

writer

सम्पूर्ण

शुक्रबार, ०२ साउन २०७७


सरकारले गत बिहीबार शर्तसहित सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपनि काठमाडौँ उपत्यकामा सोमबारदेखि मात्र छिटफुट सार्वजनिक यातायात सञ्चालन हुन थालेको छ। काठमाडौँमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णयलाई विज्ञहरूले आलोचना गरेका थिए। सरकारले तोकेका मापदण्ड पूरा हुनेमा उनीहरूले शंका व्यक्त गरेका छन्। 

तर, सरकारले तोकेको मापदण्डअनुसार सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन्। सरकारले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो। सोही निर्णयअनुुसार उपत्यकामा सञ्चालनमा रहेका केही यातायात कम्पनीले यातायातका साधन सञ्चालनमा ल्याएका हुन्। 

महानगर यातायात, मयुर यातायात, संयुक्त यातायात लगायतले सोमबारदेखि गाडी सञ्चालनमा ल्याएका हुन्। बस रोकिँदा व्यवसायीलाई नोक्सानी बढ्दै जाने भएकाले तोकिएको मापदण्डअनुसार बस सञ्चालन गरिएको व्यवसायीले बताएका छन्।

सरकारले एक पंक्तिको एउटा सिटमा एकजना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुचारु गर्न सकिने मापदण्ड तयार गरी सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो। बसमा यात्रा गर्ने यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्नेछ।

यातायात व्यवसायीका संगठनले भने विभिन्न माग राख्दै यातायात सञ्चालन नगर्ने बताउँदै आएका छन्। सरकारले लकडाउन खुकुलो बनाई केही क्षेत्रलाई सञ्चालन गर्न दिएपछि सार्वजनिक यातायात व्यवसायीले पनि यातायात सञ्चालन गर्नुपर्ने माग गर्दै आएका थिए। तर, तिनै व्यवसायीले सरकारले सार्वजनिक यातायात खुलाउने निर्णय गरेपछि भने आफ्ना माग पूरा नगेसम्म गाडी नचलाउने बताउँदै आएका छन्।

उनीहरूले गाडी मर्मतका लागि कर्जा उपलब्ध हुनुपर्ने, बैंकको ब्याज र किस्तालाई पुनःपुँजीकरण गर्नुपर्ने, चालक र सहचालकको स्वास्थ्य सुरक्षाको प्रबन्ध सरकारले मिलाउनुपर्नेलगायत माग राखी बस सञ्चालन गरेका छैनन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको गत शुक्रबार बसेको बैठकले बैंक किस्ता स्थगन, ब्याज मिनाहा, पुनःकर्जाको व्यवस्था, स्वास्थ्य सामग्रीको व्यवस्था, मुख्य नाका वा बसपार्कमा सवारीसाधन निर्मलीकरणका लागि टनेलको व्यवस्था आदि माग गरेको थियो। 

सञ्चालनमा आयो मयुर यातायात

मयुर यातायात प्रालिले सोमबारदेखि तीन वटा बसबाट सेवा सुरु गरेको जनाएको छ। कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि सार्वजनिक यातायात बन्द गरेकामा गत बुधबार बसेको मन्त्री परिषद् बैठकले सार्वजनिक यातायात खुलाउने निर्णय गरेको थियो। 

सरकारले बिहीबारदेखि सार्वजनिक यातायात खुलाउने भनेको पाँच दिनपछि मयुर प्रालिले बस चलाउन थालेको हो। यस बीचमा बसको मर्मतलगायत काम भइरहेको प्रालिका सञ्चालक दीपक भण्डारीले बताए। पहिलो दिनमा

काठमाडौँ–बनेपा र चक्रपथ रुटमा बस चलेको छ। उनका अनुसार प्रालिले आगामी दिनमा अरू बस थप्नेसमेत योजना बनाएको छ।    

बन्दाबन्दीमा बस सञ्चालन नहुँदा व्यवसायी मारमा परेको भन्दै सहुलियतका लागि सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको मागमा मयुरले पनि समर्थन गरेको जनाएको छ। 

पारिश्रमिक माग 
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, गण्डकी प्रदेश कमिटीले सरकारले सार्वजनिक सवारीसाधन सञ्चालनको तयारी गरेका सन्दर्भमा यातायात मजदुरको सेवासुविधा, स्वास्थ्य सुरक्षाका सम्बन्धमा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएको छ। 
    
कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण सार्वजनिक यातायात व्यवसाय तथा आश्रित श्रमिकको जीवनयापन अत्यन्तै कठिन भएको उल्लेख गर्दै संगठनले यात्रुवाहक सवारी चलाउँदा यातायात श्रमिकको बीमा, सुरक्षाको प्रबन्ध मिलाउन मुख्यमन्त्री गुरुङको ध्यानाकर्षण गराएको हो।
    
संगठनका प्रदेश अध्यक्ष विष्णुबहादर खत्री क्षत्रीले सवारी चलाउने यातायात श्रमिकलाई विश्वस्वास्थ्य संगठनले तय गरेका स्वास्थ्य सामग्री उपलब्ध गराउनुपर्ने बताए। यातायात श्रमिकको कोरोना बिमा अनिवार्य गराउनुपर्ने माग राख्दै ध्यानाकर्षण–पत्रमा निजी विद्यालय, डिस्ट्रिब्युटर्स, कम्पनी, उद्योगलगायत क्षेत्रमा कार्यरत यातायात श्रमिकले बन्दाबन्दी अवधिभर पारिश्रमिक नपाएको हुँदा तुरुन्त उपलब्ध गराउन पहल गर्न अनुरोध गरिएको छ। 
    
बन्दाबन्दीका कारण कामबाट वञ्चित श्रमिकलाई राहत उपलब्ध गराइनुपर्ने उल्लेख गर्दै संगठनले यातायात श्रमिकका छोराछोरीलाई लकडाउन अवधिभरको विद्यालयको अध्ययन शुल्क मिनाहा गर्नुपर्ने माग गरेको छ। 

पत्रमा एम्बुलेन्स चालकको हकमा संक्रमणबाट जोगिन व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)आदि अनिवार्य उपलब्ध गराउन आग्रह गरिएको छ। संगठनले प्रस्थान बिन्दुबाट यात्रुलाई गन्तव्य स्थानसम्म पु¥याइसकेपछि यातायात श्रमिकलाई सुरक्षाका साथ बस्ने प्रबन्ध गराउन माग गरेको छ। ट्याक्सीको मिटरमा भाडा समायोजन गराउन आग्रह गर्दै संगठनले बन्दाबन्दी अवधिभर यातायात श्रमिकलाई घरभाडा छुट गराउन मुख्यमन्त्री गुरुङको ध्यानाकर्षण गराएको छ। संगठनले बैंकबाट कर्जा लिएर कारोबार गरेका स्वरोजगार यातायात श्रमिकको हकमा बन्दाबन्दी अवधिभरको किस्तामा छ महिना थप गरी किस्ता व्यवस्था गर्न माग गरेको छ।

ध्यानाकर्षण–पत्र बुझ्दै मुख्यमन्त्री गुरुङले यातायात मजदुरको माग जायज भएको उल्लेख गरेका छन्। माग पूरा गर्न गण्डकी प्रदेश सरकारले पहल गर्ने उनले बताएका छन्।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि