रियल मड्रिडले जित्यो ला लिगा उपाधि

writer

सम्पूर्ण

शुक्रबार, ०२ साउन २०७७


मड्रिड : स्पेनिस  ला लिगाको उपाधि रियल मड्रिडले जितेको छ । बिहीबार राति भएको खेलमा भिल्लारियललाई उसकै मैदानमा २–१ ले हराउँदै रियलले ३४औं पटक ला लिगाको उपाधि जित्न सफल भएको हो । 

२ खेल बाँकी छँदै दोस्रो स्थानमा रहेको साविक विजेता बार्सिलोनासँग ४ अंकको अग्रता बनाइसकेको रियलले एक खेल बाँकी छँदै ७ अंकको अग्रता बनाई उपाधि जित्न सफल भएको हो । 

रियलको जितका लागि करिम वेञ्जिमाले २९औं मिनेटमा पहिलो र ७७औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे । भिल्लारियलका इबोराले ८३औं मिनेतमा एक गोल फर्काएका थिए । 
३७ खेलबाट ८६ अंक बनाउँदै रियलले उपाधिमाथि कब्जा जामएको हो । दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ७९ अंक मात्रै छ । ला लिगामा रियल मड्रिड सर्वाधिक टाइटल जित्ने क्लब हो अहिलेसम्म ३४औं पटक ला लिगाको उपाधि जितेको छ । बार्सिलोनाले २६ पटक ला लिगा टाइटल जितेको छ ।

बार्सिलोना स्तब्ध

दोस्रो स्थानमा रहेको बार्सिलोना भने पराजित भएको छ । रियलको जितसँगै उपाधिको झिनो आशा गुमाएको बार्सिलोना तुलनात्मक रुपमा कमजोर मानिएको ओसासुनासँग २–१ ले पराजित भएको हो । 

१५औं मिनेटमै खोल खाएर पछि परेको बार्सिलानोका लागि मेसीले ६२औं मिनेटमा गोल गरी बराबरीमा पुर्‍याएका थिए । ९० मिनेटपछिको थपिएको समयमा ९४औं मिनेटमा अर्काे गोल खाँदा साविक विजेता बार्सिलोना स्तब्ध बनेको हो । 

 
लगातार अघिल्ला दुई सिजनको  उपाधि जितेको बार्सिलोना कोरोना महामारीका कारण खेल रोकिँदा रियल मड्रिडभन्दा २ अंकले अगाडी थियो । कोरोना महामारीपछि बार्सिलोनाले लगातार फितलो प्रदर्शन गर्दा अन्तिमतिर उपाधि होडमा पछि परेको हो । कोरोना महामारीले लिग रोकिँदा २७ खेलबाट बार्सिलोनाको ५८ र रियल मड्रिडको ५६ अंक थियो। 

रियल बाट बाहिरिएको १० महिनापछि गत सिजनको अन्तयतिर पुन रियलको प्रशिक्षकमा फर्किएका  जिनेदिन जिदानले यस सिजन सफलता हात पार्न सफल भएका छन् । 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि