सिटी भन्छः ‘न्याय पाइयो’

writer

सम्पूर्ण

शुक्रबार, ०२ साउन २०७७


इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले आगामी सिजनको युरोपियन प्रतियोगिता खेल्न पाउने भएको छ। द कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (सीएएस) ले सोमबार म्यानचेस्टर सिटीको पक्षमा फैसला सुनाएपछि उसले आगामी सिजनको च्याम्पियन्स लिग पनि खेल्न पाउने भएको हो।

आर्थिक अनुशासन उल्लंघन गरेको आरोपमा युरोपेली फुटबल महासंघ (यूईएफए)ले गत फेब्रुअरीमा म्यानचेस्टर सिटीलाई आगामी दुई वर्षसम्म कुनै पनि युरोपेली प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो।

यूईएफएको प्रतिबन्धविरुद्घ सिटीले सीएएसमा पुनरावेदन गरेको थियो। क्लबमाथि सन् २०१२ देखि २०१६ का बीचमा आर्थिक अनुशासनसम्बन्धी नियम उल्लंघन गरेको आरोप लगाइएको थियो। सोही आरोपमा यूईएफएले सिटीलाई तीन करोड युरो जरिवाना तिराउने निर्णय पनि गरेको थियो।

तर, सीएएसले जरिवाना रकम पनि घटाउने निर्णय गरेको छ। सीएएसको पछिल्लो निर्णयपछि अब म्यानचेस्टर सिटीले एक करोड युरो मात्र जरिवाना तिरे पुग्छ। सीएएसको उक्त निर्णयपछि क्लबले आफूले न्याय पाएको प्रतिक्रिया दिएको छ। क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘क्लबले न्याय पाएको छ। यो निर्णयपछि क्लबका समर्थक पनि खुशी भएका छन्। निष्पक्ष न्यायका लागि हामी न्यायालयप्रति आभार व्यक्त गर्न चाहन्छौँ।’ 

छ पटकको प्रिमियर लिग विजेता म्यानचेस्टर सिटी यो सिजन उपविजेता बन्ने निश्चित भइसकेको छ। प्रिमियर लिगको उपाधि भने लिभरपुलले जितिसकेको छ।

सीएएसको पछिल्लो निर्णयपछि अब म्यानचेस्टर सिटीले सन् २०२०÷२१ सिजनको च्याम्पियन्स लिग पनि खेल्न पाउनेछ। जारी सिजनको च्याम्पियन्स लिगमा पनि सिटी प्री–क्वार्टरफाइनलमा पुगिसकेको छ। प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको सिटीले प्री–क्वार्टरफाइनलको पहिलो लेग खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई २–१ गोलले हराएको थियो।

त्यसपछि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण च्याम्पियन्स लिगका बाँकी खेल स्थगित भए। अब प्री–क्वार्टरफाइनलको दोस्रो लेग खेल आगामी अगस्ट ७ मा सिटीको घरेलु मैदानमा खेलिने तय भएको छ।

फैसलाको पूर्ण पाठ भने सीएएसले केही दिनपछि उपलब्ध गराउनेछ। सीएएसको उक्त निर्णयमा चित्त नबुझे यूईएफएले स्विट्जरल्यान्डको संघीय अदालतमा पुनरावेदन गर्न पाउनेछ। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि