सुदूरपश्चिममा साँच्चै घटेको हो त कोरोना ?

writer

शिवराज भट्ट/धनगढी

बिहिबार, ०१ साउन २०७७


सुदूरपश्चिममा कोरोना संक्रमणको दर घट्दो छ। तर, कोरोना घटेको भनेर ढुक्क हुने स्थिति भने छैन। किनभने, परीक्षण पनि घटेको छ। 


सुदूरपश्चिममा असारको ४ गतेदेखि उकालो लागेको कोरोना संक्रमणको तथ्यांक पछिल्लो एक हप्तायता घटिरहेको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार मंगलबारसम्म प्रदेशमा ३ हजार ७ सय ८३ जनामा कोरोना पुष्टि भएको छ। सात प्रदेशमध्ये सुदूरपश्चिम तेस्रो बढी कोरोना संक्रमित प्रदेशमा परेको छ।

चैत १५ गते सुदूरपश्चिममा दुबईबाट आएका हसनपुरका ३४ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो। असार ३ गतेसम्म त्यहाँ सत्रंmमणको उग्र रूप देखिएको थिएन। लकडाउनका कारण भारतबाट आउनेलाई सीमापारि नै रोकेपछि त वैशाख १ गते एक जनाबाहेक त्यो महिना सुदूरपश्चिमभरि कोरोनाका बिरामी नै भेटिएनन्। वैशाख १ गते परीक्षणमा एक जना र त्यसपछि जेठ ९ गते छ जनामा कोरोना संक्रमण देखिएको थियो।

भारतबाट आएका सबैलाई परीक्षण नगरिएको र समुदायमा पनि परीक्षण नगरिएको भन्दै सरकारको आलोचना भएको थियो। संघीय सरकारले जेठ २ र ३ गते सीमापारि रहेका नेपालीको उद्धार गरेर स्वदेश ल्यायो। जेठ ७ गतेदेखि कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको पुलघाट र बैतडीको झुलाघाट नाका नेपालीका लागि मात्रै खुला ग¥यो।त्यही बेला भारतबाट आएका नेपालीमा कोरोनाको संक्रमण भेटिएपछि तथ्यांक उकालो लागेको हो। 

असार ४ देखि १९ गतेसम्म १६ दिनमा मात्रै सुदूरपश्चिममा ३ हजार ३६ जनामा कोरोना पुष्टि भएको थियो। ‘त्यतिबेला भारतबाट आएका व्यक्तिहरूको परीक्षण गरिएको थियो, उनीहरू क्वारेन्टिनमा थिए, परीक्षणको दायरा पनि बढाइएको थियो,’ सुदूरपश्चिम स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले भने,‘तर, अब क्वारेन्टिनमा बसेकाहरू पनि घर गइसके। थोरै मात्रामा छन्। त्यसैले संक्रमणको दर घट्दो छ।’

असार२० देखि २३ गतेसम्म १ सय ८ जनामा कोरोना संक्रमण देखिएकोमा त्यसपछि प्रदेशमा तेहरो अंकको संक्रमण देखिएको छैन। असार २४ गते ६४ जना, २५ गते ३६ जना, २६ गते दुई जना, २७ गते तीन जना, २८ गते छ जना र २९ गते १५ जनामा कोरोना पुष्टि भएको छ। 

प्रदेशको स्वास्थ्य निर्देशनालयले यसलाई सकारात्मक त भनेको छ, तर अझै कोरोना घटेको भनेर ढुक्क हुने स्थिति भने नरहेको जनाएको छ। ‘यो सकारात्मक र आशलाग्दो कुरा हो,’ डा. अवस्थीले भने, ‘तर, कोरोना घटिरहेको छ भनेर ढुक्क हुने स्थिति भने होइन।’ 

‘भारतबाट स्वदेश फर्किनेको संख्या घटिरहेको छ, त्यसकारण परीक्षणको दायरा पनि घटेको छ,’ उनले थपे, ‘कम परीक्षणमा कम संक्रमित देखिएका हुन्। अब हामीले समुदायको परीक्षणमा जानुपर्छ। त्यसका लागि तयारी भइरहेको छ।’

परीक्षण समुदायमा लैजाने तयारी
सुदूरपश्चिम प्रदेश सरकारले अब थोरै व्यक्ति क्वारेन्टिनमा रहेकाले उनीहरूको पनि थ्रोट स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी गरेको छ। ‘भारतबाट लाखौँ मानिस आएर क्वारेन्टिनमा बसेकाले त्यतिबेला सबैको स्वाब संकलन गर्न सकिएन,’ डा. अवस्थीले भने,‘अब प्रदेश सरकारले क्वारेन्टिनमा भएका सबैको स्वाब संकलन गरीपीसीआरको तयारी गरेको छ।’

सुदूरपश्चिमका ३ हजार ७ सय ८३ जना संक्रमितका परिवारका सदस्यको पनि स्वाब संकलन गरेर समुदायको संक्रमणको विश्लेषण गरिने बताए। ‘अहिलेसम्म बाहिरबाट आएर क्वारेन्टिनमा बसेका, संक्रमितको सम्पर्कमा आएका व्यक्तिको परीक्षणमा बढी फोकस गरियो,’ उनले भने,‘तर, अब समुदायमा संक्रमणको अवस्था विश्लेषण गर्न जरुरी छ। त्यसैले संघीय सरकार र प्रदेश सरकारसँग हरेक संक्रमितका परिवारका सदस्यको पनि पीसीआर गर्नुपर्ने गरी छलफल भइरहेको छ।’ 

अबको दुई हप्तामा समुदायमा गरिएको परीक्षणपछि मात्रै कोरोना घटेको वा बढेको भनेर यकिनसाथ भन्न सकिने बताए। ‘अहिले क्वारेन्टिनमै भएकाको पीसीआर भइरहेको छ,’ डा. अवस्थीले भने,‘भारतबाट लाखौँ मानिस आएका बेला आठ हजारभन्दा बढी स्वाबका नमुना काठमाडौँ पठाएका थियौँ। तर, अहिले स्वाब संकलन पनि घटेको छ। अब हामी समुदायमा जान सक्छौँ। त्यसपछि मात्रै वास्तविक तथ्यांक आउनेछ।’

स्वास्थ्य निर्देशनालयले १५ दिनभित्र समुदायमा जाने गरी तयारी गरिरहेको जनाएको छ। ‘हामीले पाँच सय कोरोना संक्रमित भएका जिल्ला, त्यसभित्र पनि बढी संक्रमित भएको स्थानीय तहमा गएर परिवारको पनि स्वाब लिने, छिमेकी आफन्तको पनि स्वाब लिने तयारी थालेका छौँ,’ डा. अवस्थीले भने।

सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी जिल्लामा पाँच सयभन्दा बढी संक्रमित फेला परेका छन्। 

चुस्त व्यवस्थापन 
भारतबाट फर्किनेको चापका कारण अस्तव्यस्त बनेका क्वारेन्टिन महिनौँसम्म पनि पीसीआर रिपोर्ट नआएका कारण घर गइसकेका व्यक्तिमा संक्रमण देखिनु, संक्रमण देखिनुअगाडि नै उक्त व्यक्ति समुदायमा घुलमिल हुनुजस्ता कारणले पछिल्लो महिना कोरोनाको रोकथामका प्रयास फितलो भएको भन्दै आलोचना भएको थियो। तर, स्वास्थ्यविज्ञहरू अब भने भारतको आवागमन पनि व्यवस्थित गर्नुपर्ने, क्वारेन्टिनमा पनि राम्रो व्यवस्थापन गर्नुपर्ने र व्यापक रूपमा समुदायमा परीक्षणका लागि जानुपर्ने सुझाव दिन्छन्। 

सेती प्रादेशिक अस्पतालका कोभिड–१९ को उपचारमा खटिएका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले पनि असारको मध्यतिर परीक्षणको दायरा ह्वात्तै बढेकाले संक्रमित पनि बढेको बताए। ‘संक्रमण कम भयो भनेर अहिले नै भन्न सकिन्न,’ उनले भने,‘किनकि, असारको मध्यतिरका दुई हप्ता ठूलो संख्यामा परीक्षण भयो र त्यसबाट बढी मानिस संक्रमित फेला परे। तर, अहिले परीक्षण घटेको छ, यसलाई बढाउनुपर्छ।’

डा. कमरले स्वास्थ्य निर्देशनालयले बनाएको मापदण्डमा पनि समयअनुसार परिवर्तन हुनुपर्ने बताए। अहिलेको मापदण्डले भारतबाट आएर आरडीटी पोजिटिभ भएका व्यक्ति, संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्ति, अग्रपंक्तिका स्वास्थ्यकर्मी, क्वारेन्टिनमा खटिने, संक्रमणबाट मृत्यु भएकाकोे दाहसंस्कारमा खटिने व्यक्ति, संक्रमित बोक्ने एम्बुलेन्स चालकको मात्रै पीसीआर गर्ने प्रावधान छ।

‘अब कोरोना भएका व्यक्तिको परिवारका सदस्य, सार्वजनिक यातायातका कर्मचारी, भीडभाड हुने कार्यालय, बैंकका कर्मचारी, बढी संक्रमित देखिएको स्थानीय तहमा पीसीआर गर्नुपर्छ,’ डा. कमरले भने,‘बल्ल समुदायमा भएको संक्रमणको दर थाहा हन्छ।’

‘खतरामुक्त भन्न सकिन्न’ 
कोरोनाको संक्रमण घट्दा सन्तोष मान्ने एउटा आधार त भयो तर प्रदेश सरकारले पनि अहिलेको अवस्थालाई खतरामुक्त भन्न नमिल्ने बताएको छ। सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले अहिलेको अवस्थालाई खतरामुक्त भन्न नमिल्ने बताए।‘हामी खतरामुक्त छैनौँ,’ उनले भने,‘पछिल्लो एक हप्तामा मात्रै संक्रमितको दर घटेको हो। समुदायमा संक्रमण छ÷छैन, त्यो हेर्न बाँकी छ। भारतमा तीव्ररूपमा कोरोना बढिरहेका बेला दैनिक पाँच सय मानिस स्वदेश फर्किरहेका छन्। कसैले लापर्बाही गरिदियो भने यो संक्रमण समुदायमा जानसक्ने खतरा अझै छ।’

चैतदेखि पीसीआर मेसिनको खरिदका लागि टेन्डर गरिएपछि बल्ल तीन वटा पीसीआर मेसिन धनगढी पुगेका छन्। यद्यपि, ती मेसिन पूर्वाधार अभावका कारण जोड्नमा ढिलाइ भइरहेको छ। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले धनगढी, डोटी र बैतडीका लागि तीन वटा अत्याधुनिक पीसीआर मेसिन आपूर्ति महाशाखामा आइसकेको जनाएको छ। 

चैतमा बसेको प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले धनगढी, डोटी र बैतडीमा पीसीआर मेसिन जडान गर्ने निर्णय गरेको थियो। टेन्डर प्रक्रियामा भएको ढिलाइ, सप्लायर्सले समयमा सामान नदिएकाले मेसिन नै आउन ढिलाइ भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।तर, अहिले पनि धनगढीको साबिकको स्वास्थ्य कार्यालयको भवनमा नयाँ मेसिन जडानका लागि पूर्वाधार निर्माण हँुदैछ भने डोटी र बैतडीमा अझै पूर्वाधारको काम हुन सकेको छैन। ‘पूर्वाधार निर्माण भएको दिनदेखि सात दिनमा हामीले मेसिन जडान गरिदिने हो,’ स्वास्थ्य निर्देशक डा. अवस्थीले भने, ‘पूर्वाधार निर्माण भइरहेका छन्।’

अहिले आएका मेसिन २४ घण्टामा एक हजार स्वाब परीक्षण गर्ने क्षमताका भएका डा. अवस्थीले बताए।‘तीन वटा मेसिनले दैनिक तीन हजार नमुना परीक्षण गर्नेछन्,’ उनले भने, ‘अब समुदायमा गइयो भने स्वाबको नमुना बढी आउने भएकाले मेसिन जडानको प्रयासमा छौँ।’ 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि