दुनियाँ बदल्दै छन् वामपन्थी

writer

अमना ए अकबर

बिहिबार, ०१ साउन २०७७


वामपन्थी सामाजिक आन्दोलनमा नयाँ धारणा प्रस्तुत भइरहेका छन्। यी आन्दोलनकारी नयाँ समाज निर्माण गर्न चाहन्छन्। उनीहरु जेल र प्रहरी अनि कार्बन र भाडाबाट उन्मुक्ति चाहन्छन्। उनीहरु प्रहरीको स्थानमा परामर्शदातालाई राख्न चाहन्छन्। सबैका लागि घर र जागिरको ग्यारेन्टी होस् भन्ने चाहन्छन्। 


जर्ज फ्लोयडको हत्यापछि अमेरिकामा जुन किसिमको विद्रोह भयो, त्यो विगतका आन्दोलनभन्दा बिलकुलै भिन्न थियो। सम्भवतः यो हाम्रो इतिहासकै ठूलो प्रदर्शन थियो।सात हप्ता नाघिसक्यो, सञ्चारमाध्यमले ध्यान दिन छाडिसके, तैपनि मानिस अझै सडकमा निस्किरहेका छन्। यो आन्दोलन फरक कुन अर्थमा छ भने केही वर्षयता आन्दोलनका आयोजक ठूलो सोचबाट निर्देशित देखिन्छन्।

‘प्रहरीको बजेट कटौती गर’, ‘भाडा रद्द गर’, ‘ग्रिन न्यू डिल पारित गर’ जस्ता माग उनीहरु अगाडि सारिरहेका छन्। यी माग पूरा भए यथास्थितिमा ठूलो परिवर्तन आउनेछ र शक्ति अभिजातको हातबाट कामदार वर्गमा पुग्नेछ। अहिले सामान्य मानिस पनि यी माग गरिरहेका छन्। किनभने, महामारी र प्रदर्शनले परिचालित आम जनतासम्म यी माग पुगेका छन्।

यी फरक–फरक आन्दोलन एकअर्कासँग संवादमा छन्। एकअर्काका मागमासमर्थन जनाएका छन् र आफ्नो जनआधार पनि विस्तार गर्दैछन्।घरभाडा र किस्ता तिर्न नसक्नेलाई छुट दिनुपर्ने मागबाट सुरु भएको ‘क्यान्सल द रेन्ट’ अभियानअहिले प्रहरीको खर्च घटाउनुपर्ने आन्दोलनमा पनि सहभागी भएको छ। यही महिना जातीय, वातावरणीय र आर्थिक न्यायसम्बन्धी संगठनले प्रहरीको खर्च घटाउने सम्बन्धमा चार दिने ‘क्य्रास कोर्स’ आयोजना गर्दैछन्।

यी हरेक मागले वामपन्थी सामाजिक आन्दोलनमा नयाँ धारणा प्रस्तुत गर्छन्। उनीहरु प्रहरीहिंसा न्यूनीकरण गर्न चाहँदैनन्। अथवा, अहिले वातावरणीय रूपमा जोखिमपूर्ण विश्वव्यापी आपूर्ति शृंखलालाई छल्न वा भाडा तिर्ने अवधि थप्न मात्रै चाहँदैनन्। किनभने, यस्ता माग सुधारवादी र सम्भ्रान्त नीति–निर्माताले राख्ने गर्छन्।बरु, यी आन्दोलनकारी नयाँ समाज निर्माण गर्न चाहन्छन्। उनीहरु जेल र प्रहरी अनि कार्बन र भाडाबाट उन्मुक्ति चाहन्छन्। उनीहरु प्रहरीको स्थानमा परामर्शदातालाई राख्न चाहन्छन्।सबैका लागि घर र जागिरको ग्यारेन्टी होस् भन्ने चाहन्छन्। धेरैले यसलाई अबोधपन ठान्न सक्छन्, तर बढीभन्दा बढी मानिस यी मागका पक्षमा देखिन्छन्। विभिन्न सर्वेक्षण, प्रदर्शनमा सहभागिता र सामाजिक आन्दोलनसम्बन्धी संस्थाहरुको बढ्दो सदस्य संख्याले यसलाई पुष्टि गर्छ। यी मागले जनताको ध्यान खिचेको छ र यथास्थितिको आलोचना तथा भविष्यको क्रान्तिकारी ‘भिजन’प्रति समर्थन बढाएको छ।

प्रहरी विघटन गर्ने तथा खर्च घटाउने मागलाई हेरौँ। हरेक वामपन्थी संस्थाले यसलाई समर्थन गरेका छन् र सडकमा त्यही आवाज सुनिएको छ। खर्च घटाउने माग भनेको अन्ततः प्रहरी विघटन गर्ने रणनीतिकै हिस्सा हो। यो मागले प्रहरीमा सुधार गर्नुपर्छ भन्ने तर्कलाई चुनौती दिन्छ। त्यसैले प्रहरीको बजेट कटौती गर्ने मागले के भन्छ भने यो समस्या एक्लो होइन, न त केही खराब अधिकृतका कारण नै हिंसा भएको हो। यसले त प्रहरीको शक्ति, स्रोत र कामलाई नै चुनौती दिन्छ। किनभने, मानसिक स्वास्थ्यसम्बन्धी घटना होस् वा आन्दोलनमा तैनाथ गर्दा होस्, प्रहरीको तालिम र औजारले जहिले पनि हिंसालाई उत्प्रेरित गर्छ।तसर्थ, यो मागले सुझाउँछ, प्रहरीको हिंसा घटाउने एक मात्र उपाय भनेको नागरिकसँग प्रहरीको सम्पर्क हुने अवसरलाई घटाउनु हो।आठ लाखभन्दा बढी प्रहरीको तलब र सयौँ जेलका लागि हामीले खर्बौं डलर खर्च गर्दै आएका छौँ। यसमा पुनर्विचार गर्न जरुरी छ भन्ने यो आन्दोलनले देखाएको छ।

यो विद्रोहले उदारवादी सुधारका असफलतालाई गणना गर्ने समय पनि दिएको छ। साथै, आधारभूत रूपमै फरक तरिकाले ती काम गर्ने सम्भावनालाई पनि अगाडि सारिदिएको छ। तालिम दिँदैमा प्रहरीले नियमित सामाजिक समस्याहरुको समाधानका क्रममा हिंसा प्रयोग गर्दैनन् भनेर हामी ढुक्क हुन सक्दैनौँ।

बरु, प्रहरीको बजेट कटौतीको मागले प्रहरीको कार्यक्षेत्रमाथि नै प्रश्न उठाउँछ। के प्रहरीका कारण हामी बढी सुरक्षित हुन्छौँ ? सामूहिक हेरचाहका लागि सामूहिक जिम्मेवारी उठाउन यसले हामीलाई आग्रह गर्छ। यसले समस्याप्रतिको हाम्रो दृष्टिकोणै बदलिदिन्छ। उदाहरणका लागि, अमेरिकामा रहेका ५ लाख ६७ हजार घरबारविहीन मानिसको समस्या कसरी समाधान हुन्छ? तिनलाई समातेर थुन्दा समस्या समाधान हुन्छ कि तिनको बासको व्यवस्था गर्दा?

आन्दोलनकारीले प्रहरीको बजेट घटाउन मात्र माग गरिरहेका छैनन्। उनीहरुले त त्यो बजेट अन्य क्षेत्र, जस्तै शिक्षा, हाउजिङ र स्वास्थ्य सेवामा खर्च गर्न माग गरिरहेका छन्। र, महामारीले यी मागलाई झनै समयसापेक्ष बनाइदिएका छन्। किनभने, हाम्रो स्वास्थ्य सेवाको ग्यारेन्टी छैन, ज्याला, बास र खानाको पनि ग्यारेन्टी छैन। हामी स्वास्थ्यकर्मीलाई आवश्यक पीपीई पनि उपलब्ध गराउन सक्दैनौँ। राज्यको यो असफलताले खासगरी अश्वेत समुदायलाई हानि गरेको छ।

तर, ‘ब्ल्याक लाइभ्ज म्याटर’का प्रदर्शनकारीलाई पक्रिन, अश्रुग्यास प्रहार गर्न र तिनलाई तितरबितर पार्न प्रहरी उच्च प्रविधिले युक्त भएर सैन्य उपकरण र बख्तरबन्द गाडीमा आइपुग्छ।हामीले कर तिरेको डलर कहाँ खर्च भइरहेको छ, तिनीहरुले स्पष्ट देखाइरहेका छन्। त्यसैले प्रदर्शनकारीले हाम्रो परिकल्पनालाई प्रहरीबाट हटाएर समाजमा स्थानान्तरण गर्न माग गरेका हुन्।

अब भाडा रद्द गर्ने अभियानलाई हेरौँ। यो अभियानले राज्यलाई भन्छ– हरेक महिना भाडामा बस्नेले घरबेटीलाई पैसा तिर्नुपर्ने बाध्यता अन्त्य गर। तर, भाडा त निजीसम्पत्तिसम्बन्धी निजी सम्झौताबाट पैदा भएको हो। त्यो त हाम्रो, सामाजिक, आर्थिक र राजनीतिक व्यवस्थाको आधार हो।त्यसैले भाडा हटाउने मागमार्फत उनीहरु राज्यलाई तर्साइरहेका छन्। राज्यको पहिलो बफादारी नागरिकप्रति हो, नाफाप्रति होइन। यो मागले त्यस्तो संसारको सम्भावनालाई देखाइदिएको छ, जहाँ घर एउटा वस्तु होइन, हक हुने गर्छ। यसको लक्ष्य शक्ति घरमालिकको हातबाट भाडावालमा सार्नु हो, जसले सबैका लागि घरको माग गर्छ।

अथवा, वातावरणकै कुरा गरौँ। ग्रिन न्यू डिलले प्रदूषण घटाउनुप¥यो मात्र भन्दैन। यसका लागि हाम्रो अर्थतन्त्रलाई नै पुनर्संरचना गर्नुपर्ने हुन्छ, ताकि हामी स्वच्छ, नवीकरणीय ऊर्जाका स्रोततर्फ बढ्न सकौँ। त्यहाँसम्म पुग्न ग्रिन न्यू डिलले सार्वजनिक यातायात, सबैका लागि स्वास्थ्य सेवा, निःशुल्क कलेज ट्युसन र हरित क्षेत्रमा दशौँ लाख रोजगारी उत्पन्न गर्न ठूलो लगानीका लागि आह्वान गर्छ।सबैले आफ्नो योजना अघि बढाइरहँदा अश्वेत समुदायका कामदार वर्गलाई केन्द्रीय भूमिकामा राख्न यो अभियानले जोड दिन्छ। यो अध्यादेशको भिजन भनेकै अहिले राज्यले गर्दै आएको अभ्यास र डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीको नारालाई जवाफ दिनु हो। यसलाई बुझ्न तिनले आफ्नो दृष्टिकोण फराकिलो पार्नुपर्ने हुन्छ।

आयोजकहरुले प्रायः आफ्ना मागलाई ‘गैरसुधारवादी सुधार’ भन्ने गरेका छन्। यो पदावली सन् १९६० को दशकमा फ्रान्सेली समाजवादी आन्द्रे गोर्जले प्रयोग गरेका थिए। सुधार भनेको आफैँमा उदारवादी राजनीति र वैधानिकवादको दिक्कलाग्दो निरन्तरता हो।यसलाई विज्ञले अगाडि बढाउँछन् र अभिजातहरु यसको केन्द्रमा हुन्छन्। अहिले पनि प्रहरीसम्बन्धी विज्ञहरू बजेट कटौतीको सट्टा पुरानै सुधारका कुरा गर्दैछन्। मेयरहरु पनि देखावटी खर्च कटौती गरेर वास्तविक मागलाई कमजोर तुल्याउँदैछन्।

यसको बदलामा हामीले समान्यजनमा आन्दोलन कायम राख्न ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। कामदार, गरिब, आदिवासी, दक्षिणी गोलाद्र्ध, महिला, आप्रवासी, जमिनको हेरचाह गर्नेहरु र जमिनका विषयमा हामीले ध्यान दिनुपर्छ।

आजको वामपन्थी आन्दोलनले हाम्रा सबै संकटलाई अन्तरसम्बन्धित मान्छ। प्रहरी हिंसा, विश्वव्यापी तापक्रम वृद्धि र धान्नै नसकिने घर खर्च आपसमा असम्बन्धित समस्या होइनन्। बरु, ती सबै उपनिवेशवाद र पुँजीवादका उत्पादन हुन्।

तिनका माग जेसुकै भएपनि तिनले सुरु गरेको नयाँ राजनीतिक क्षण देखेर हामी चकित हुनैपर्छ। यतिखेर वामपन्थीले यथास्थितिको चर्को आलोचना मात्र गरिरहेका छैनन्, आमूल परिवर्तनकारी दृष्टिकोणसमेत प्रस्तुत गरिरहेका छन्। यी मागले बहुजातीय जनआन्दोलनको आधार तयार गरिरहेको छ। र, न्यायपूर्ण भविष्यका लागि हाम्रो एक मात्र आशा भनेको त्यही आन्दोलन हो।
(‘द न्युयोर्क टाइम्स’बाट। प्राध्यापक अकबर ओहायो विश्वविद्यालयमा कानुन पढाउँछिन्।)  अनुवाद: कवि आचार्य 
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि