दन्तबजान होइन, विमर्श जरुरी

writer

सम्पूर्ण

बिहिबार, ०१ साउन २०७७


फिल्म क्षेत्रलाई निकटबाट बुझेकाहरूले केही वर्षयता नेपाली फिल्मले निरन्तर लय गुमाउन थालेको टिप्पणी गरिरहेका थिए। न बजारका लागि बनाइएका ‘कमर्सियल’ फिल्मले बजार बनाउन सकेका थिए, न कलाका लागि बनाइएका भनिएका फिल्म कलात्मक थिए। नयाँ पुस्ताको आगमनपश्चात् नेपाली फिल्मले देशको बजारसँगै विश्व सिनेमामा पनि उपस्थिति जनाउने धेरैको अपेक्षा थियो। तर, विगतका केही वर्षमा नेपाली फिल्म दुवै लक्ष्यमा कमजोर देखिन थालेको थियो। अन्तर्राष्ट्रिय बजार त परको कुरा, नेपाली फिल्मलाई देशकै बजारमा पनि दुई दिनभन्दा बढी टिक्न मुश्किल हुन थालेको थियो। बर्सेनि जति पनि फिल्म बनिरहेका थिए, तिनले असफलताकै पिरामिड खडा गरिरहेका थिए। नेपाली फिल्म यो असफलतालाई क्रमभंग गर्ने झिनो प्रयत्नमा थियो। तर, बीचैमा सुरु भएको कोरोना महामारीले यो क्रमभंगताको प्रतीक्षालाई झन् लम्ब्याएको छ नै, अझ यही बीचमा सुरु भएको कलाकारको दन्तबजानले यो क्षेत्रको ‘इमेज’मा गम्भीर धक्का पुगेको विश्लेषण गरिँदै छ। कुनै समय नेपाली समाजको ठूलो हिस्सा नेपाली फिल्म र यसमा संलग्न कलाकार भनेपछि नाक खुम्च्याउँथ्यो। बीचमा नयाँ पुस्ताका प्रतिभाशाली फिल्मकर्मी र उनीहरूको मिडिया ‘प्रेजेन्स’ले यो छविमा उल्लेख्य सुधार आएको थियो। तर, लकडाउनको समयमा चलेका अनेक काण्ड र तिनमा फिल्मकर्मीको लाजमर्दो सहभागिताले यो क्षेत्र फेरि पुरानै दिनमा फर्किएकोमा विज्ञहरू चिन्तित छन्। 

विश्वका फिल्ममेकर यतिबेला महामारीसँग जुध्ने योजना निर्माणमा दत्तचित्त छन्। महामारीले फिल्म र दर्शकको सम्बन्धमा खलल पुग्ला कि भनेर त्यसको निकासका लागि रातदिन छलफलमा जुटिरहेका छन्। तर, नेपालमा भने फिल्मकर्मी यतिबेला  को एक नम्बर र को दुई नम्बर खुट्याउन न्वारनदेखिको बल लगाएर अर्थहीन उद्यममा लागिपरेका छन्। फिल्मको भविष्यलाई लिएर बृहत् छलफलमा जुट्नुपर्ने समयमा फिल्मकर्मी भने अनावश्यक विवादमा तानिएका छन्, एकापसमा हिलो छ्यापाछ्याप गरिरहेका छन् र मानमर्दनको लिगलिगे दौडमा सामेल छन्। यो दौडले कुनै एक जना कलाकारको पदवी वा प्रतिष्ठा त स्थापित होला, तर समग्र उद्योगलाई भने यी सारा विवादले पछाडि धकेल्ने निश्चितप्रायः छ। 

लकडाउनका कारण फिल्ममा आश्रित हजारौँ मानिसले रोजगारी गुमाएका छन्। दर्शक र कलाकारलाई जोड्ने सेतु सिनेमा हल यो महामारीका कारण गोदाममा परिणत हुने खतरामा छ। तर, फिल्मकर्मीको ध्यान यी समस्यामा रत्तिभर पनि केन्द्रित छैन। उनीहरू केन्द्रित छन् त, को महानायक र को खलनायक भन्ने छुट्याउनमा ! अनि, यही समयमा केही कलाकार दर्शकले सम्मान गरेनन् भनेर दर्शकलाई सामाजिक सञ्जालमा बन्देज लगाउने अभियानमा पनि सक्रिय छन्। यी कलाकारले बुझ्न जरुरी छ, सम्मान कसैको अभिव्यक्ति स्वतन्त्रतालाई हनन गरेर आर्जन गर्न सकिन्न। त्यो त आफूले रोजेको पेशामा आफूलाई अब्बल साबित गरेर, निष्ठापूर्वक काम गरेर मात्र आर्जन हुन्छ। 

पछिल्ला केही वर्षमा नेपाली फिल्मको व्यापारमा उल्लेख्य कमी आएको छ। नेपाली फिल्मतिर आकर्षित हुँदै आएका दर्शक फेरि टाढिन थालेको यथार्थ छ। धेरैको अपेक्षा थियो, लकडाउनले दिएको अवसरलाई नेपाली फिल्मकर्मीले आत्मसमीक्षाका रूपमा प्रयोग गर्छन्। तर, भइरहेको छ ठीक उल्टो ! फिल्म कसरी राम्रो बनाउने र दर्शकलाई यो क्षेत्रमा थप आकर्षित गर्ने चिन्तनमा घोत्लिनुको साटो कोही भारतीय फ्यानको चिन्तामा मग्न छन् भने कोही महानायकको बहसमा अल्झिएका छन्। अनि कोही चाहिँ देश र भूगोलको सामान्यज्ञानमा पनि चिप्लिएर आफ्नो अज्ञानको पोल खोलिरहेका छन्। तर, यी सबै हुँदा पनि न उनीहरूलाई कुनै पछुतो छm न खेद नै। एउटा अन्तर्वार्ताले निम्त्याएको विवाद बासी भइनसक्दै कलाकारहरू अर्को विवादमा हाम्फाल्ने हतारोमा देखिन्छन्।

यो समयमा फिल्मकर्मीले विवादका सन्दर्भमा राजनीतिकर्मीलाई पनि उछिनिरहेका छन्। दिन बिराएर कलाकार कुनै न कुनै विवादमा पर्ने गरेका छन्। यसमा पनि धेरैजसो विवाद कलाकारले दिएका अन्तर्वार्ताले सिर्जेका छन् भने केही विवाद चाहिँ सामाजिक सञ्जालमा अभिव्यक्त विचारले। तर, यी विवादमा न कुनै विषयप्रतिको ज्ञान देख्न सकिन्छ, न गम्भीर चिन्तन। देखिन्छ त खालि आफूलाई ब्रान्ड घोषणा गर्ने कलाकारको प्रयत्न। 

संस्कृत सुक्ति छ– ‘वादे वादे जायते तत्त्वबोध।’ वादविवादले नै तत्त्वको गहिराइमा पुग्ने सत्यलाई यसले प्रकट गरेको छ। तर, कतिपय विवाद यस्ता हुन्छन्, जसले तत्त्वबोध होइन, हाम्रो अज्ञान छर्लङ्ङ पार्छन्। यहाँनेर ग्रिक दार्शनिक प्लेटोको भनाइ स्मरणीय छ– ‘बुद्धिमान् मानिस बोल्छ, किनभने ऊसँग भन्नका निम्ति केही हुन्छ। तर, मूर्ख केही भन्नका निम्ति मात्रै बोल्छ।’ अहिले फिल्म क्षेत्रमा चलिरहेका अनेक विवादले कतिपय फिल्मकर्मीका मूखर्ता र अज्ञान प्रकट भएका छन्। सँगसँगै, उनीहरू अबको बाटोलाई लिएर गम्भीर नभएको पनि स्पष्ट भएको छ। सिंगो फिल्म क्षेत्रले मनन गर्नुपर्ने कुरा के छ भने यो अनावश्यक र झिनामसिना विवादमा अल्झिने समय होइन। यो समय त सिंगो उद्योगलाई कसरी पुनः उकास्ने भन्ने विषयमा चिन्तन गर्ने समय हो। हजारौँ प्राविधिकका घरमा कसरी चुलो बाल्ने, दर्शकसँग दूरी घटाउन के गर्ने, अबको नेपाली फिल्मले समाउनुपर्ने विषय र मुद्दा के–के हुन सक्छन्, यी यावत् विषयमा फिल्म क्षेत्रले चिन्तन गर्न थालिहाल्नुपर्ने देखिन्छ।

तपाईको कमेन्ट