यौन दुर्बलताको उपचार

writer

डा. सुबोधकुमार पोखरेल, वरिष्ठ यौन विशेषज्ञ

आइतबार, २८ असार २०७७


स्वस्थ जीवन व्यतीत गरेमा यौन दुर्बलता हुन पाउँदैन। ८०/९० वर्षको उमेरमा पनि पुरुषमा यौन इच्छा युवावस्थामा जस्तै हुन्छ र उनीहरू सेक्स गर्न सक्षम हुन्छन्।


सन् १९९० को दशकको अन्त्यतिर मात्रै उत्तेजना समस्या (इरेक्टाइल डिस्फंक्सन) बारे व्यापक छलफल र बहस हुन थाल्यो। चलनचल्तीको भाषामा यसलाई नपुंसकता पनि भन्ने गरिन्छ। विश्वका धेरै मानिस यो यौन समस्याबाट प्रताडित छन्। तर, इरेक्टाइल डिस्फंक्सनबारे पुरुषहरू एकदमै कम कुरा गर्थे। किनभने, यसलाई कमजोर पुरुषत्वको प्रमाण मानिन्छ। तर, सन् १९९८ देखि भियग्राको प्रयोग व्यापक भएपछि अवस्थामा नाटकीय परिवर्तन आयो। त्यसबेलादेखि विश्वभर दशौँ लाख डाक्टरले भियग्रालाई करोडौँ पुरुषको लिंग उत्तेजना समस्या र अरू यौन दुर्बलताको उपचारमा प्रयोग गरिसकेका छन्। यूएस फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले यौन दुर्बलताको उपचारका लागि अरू दुइटा औषधिलाई मान्यता दिएपछि इरेक्टाइल डिस्फंक्सनले पीडित धेरै पुरुषले नयाँ जीवन पाएको महसुस गरे। भियग्रा र भियग्राजस्ता औषधिलाई यौन क्रान्तिका रूपमा लिइएको छ। 

नपुंसकता धेरै प्रकारका हुन्छन्। यौनसम्पर्कका लागि मन हुँदाहुँदै पनि लिंग उत्तेजित नहुनु र भएपनि सम्भोगका लागि पर्याप्त समयसम्म लिंगमा उत्तेजना कायम नहुनु एक प्रकारको नपुंसकता हो। सजिलो भाषामा भन्दा लिंगमा कडापन नआउनु या छिट्टै नरम हुनु र वीर्य स्खलनको अवस्थासम्म नपुग्नु इरेक्टाइल डिस्फंक्सन हो। यो समस्या दिन प्रतिदिन बढ्दै जान्छ। यस्तो समस्या प्रायः भइरह्यो भने डाक्टरसँग सल्लाह गर्न ढिला गर्नु हुँदैन। 

पुरुष नपुंसकताका बारेमा खुलेर कुरा गर्दैनन्। नपुंसकताको समस्या भएका अधिकांश पुरुष यससम्बन्धी कुरा गर्न असजिलो र अप्ठ्यारो मान्छन्। तर, यसबारे राम्रो जानकारी राख्नु आवश्यक छ। ध्यान दिनुपर्ने कुरा के छ भने अत्यधिक मदिरा सेवनपछि र दुःखको बेला भावनात्मक चापले गर्दा लिंगमा उत्तेजना (इरेक्सन) नहुनु नपुंसकता होइन। न त स्खलन भइसकेपछि तुरुन्त सम्भोगका लागि तयार हुन नसक्नु नपुंसकता हो। 

नपुंसकताका धेरै कारण हुन्छन्। लिंगमा हुने धमनीमा हुने रक्तसञ्चारको अवरोधले गर्दा पनि इरेक्टाइल डिस्फंक्सन हुनेगर्छ। रक्तसञ्चारको अवरोध मुटुमा पनि हुनेगर्छ, जसले हृदयाघातसमेत गराउँछ। वास्तवमा नपुंसकतासम्बन्धी समस्या भएका ३१ प्रतिशत पुरुषलाई मुटुको समस्या पनि भएको पाइएको छ। नपुंसकताका अरू कारण औषधि, रोग, दुर्घटना र प्रोस्टेट ग्रन्थिको शल्यक्रिया आदि हुन्। चिन्ता, वैवाहिक समस्या र उदासीनता (डिप्रेसन) ले पनि यो समस्या हुनसक्छ। पहिले–पहिले नपुंसकतालाई मानसिक समस्या भनेर चिनिन्थ्यो। केही हदसम्म चिन्ता र राम्रो गर्न सकिन्न कि भन्ने डरले यो समस्या हुन सक्छ। तर, नपुंसकता समस्या भएका ७१ प्रतिशत पुरुषमा शारीरिक कारणले उक्त समस्या भएको पाइएको छ। मधुमेह, मिर्गौलाको समस्या, प्रोस्टेट ग्रन्थीको समस्या, मोटोपन, धमनी र स्नायु समस्या नपुंसकता गराउन सक्ने शारीरिक कारण हुन्। त्यस्तै, अत्यधिक मदिरासेवन र धूम्रपानले पनि नपुंसकता हुन सक्छ। कहिलेकाहीँ शारीरिक र मानसिक समस्या दुवैका कारणले नपुंसकता भए पनि यसको भरपर्दो समाधान छन्। जस्तो, मोटा पुरुषले आफ्नो वजनमात्र घटाए पनि नपुंसकता उपचारमा धेरै मद्दत गर्छ। औषधिले काम नगरेको खण्डमा इन्जेक्सन र अन्य उपाय पनि छन्। 

धेरै मानिसलाई ढल्किँदो उमेरसँगै नपुंसकता पनि बढ्दै जान्छ भन्ने भ्रम हुन्छ। पुरुषमा पाइने टेस्टोस्टेरेन (जुन यौन कार्यका लागि आवश्यक हुन्छ) भन्ने हर्मोन बढ्दो उमेरसँगै शरीरमा घट्दै गए पनि त्यसको शरीरमा हुनुपर्ने सामान्य तह चाहिँ रहिरहेको हुन्छ। शरीरमा बढ्दो उमेरसँगै धेरै परिवर्तन हुन्छन्। तर, पनि नपुंसकता किन हुन्छ भनेर किटान गर्न सकिँदैन। कहिलेकाहीँ नपुंसकता विभिन्न रोगले पनि हुन सक्छ। ती रोगमा प्रयोग हुने औषधिका साइड इफेक्टले पनि हुन सक्छ। तर, स्वास्थ्यवद्र्धक खानेकुरा, व्यायाम र खानपानमा परहेजले उच्च रक्तचाप वा मधुमेहलाई रोक्न र निको पार्न सकिन्छ। स्वस्थ जीवन व्यतीत गरेमा यौन दुर्बलता हुन पाउँदैन। ८०/९० वर्षको उमेरमा पनि पुरुषमा यौनइच्छा युवावस्थामा जस्तै हुन्छ र उनीहरू सेक्स गर्न सक्षम हुन्छन्। 

नपुंसकताकोे उपचार औषधिद्वारा गरिन्छ। तर, सबैलाई औषधिले नै ठीक हुन्छ भन्ने छैन। यो कसरी भएको हो भन्ने कारण पत्ता लगाई उपचार गरेमा उत्तम हुन्छ। कारण थाहा पाउन भिन्दाभिन्दै प्रविधि र सीपको आवश्यकता पर्छ। यससम्बन्धी समस्या छ भन्दैमा भियग्रा खाइहाल्नु हुँदैन। यसका नराम्रा असर पनि छन्। नपुंसकतासम्बन्धी कुनै पनि समस्या देखिएमा डाक्टरसँग राम्रोसँग छलफल गरेर उपचार गराउनु बेस हुन्छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि