महिनावारीमा यौनसम्पर्क

writer

डा. सुमनराज ताम्राकार

आइतबार, २८ असार २०७७


रजस्वला महिलामा हुने प्राकृतिक शारीरिक प्रक्रिया हो। मासिक रूपमा डिम्ब निष्कासनपछि कथंकदाचित शुक्रकीटसँग मिलन हुन पाएन अर्थात् गर्भ रहेन भने डिम्ब निस्केको दुई हप्तापछि रजस्वला हुन्छ।रजस्वला आफैँमा कुनै अपवित्र वा दूषित कुरा होइन। रजस्वलाको बेला खेर जाने रगत खराब खालको होइन। रजस्वला हुने कुरा प्राकृतिक भएपनि यसलाई अपवित्र मान्ने चलन छ। नेपाली समाजमा अभैm पनि रजस्वलाका बेला धेरै कुरा बार्ने चलन छ। महिनावारी भएकी महिलाले पानी नछुने, पूजा नगर्ने र पवित्र कार्यमा सरिक नहुने प्रचलन छ। तर, शहरी क्षेत्रका धेरैजसो एकात्मक परिवारमा यो सम्भव छैन। रजस्वलालाई महिलामा हुने स्वाभाविक प्रक्रिया मानेर एकाधबाहेक अन्य दैनिक क्रियाकलापमा सहभागी गराउने गरिएको छ।

महिनावारी हुँदा स्वस्थ दम्पतीले यौन सम्पर्क राख्न मिल्छ। तर, कतिपय धार्मिक आख्यानले रजस्वलाका बेलाको यौनसम्पर्कलाई पाप नै मान्ने गरेका छन्। रजस्वलाका बेला यौनसम्पर्क राख्यो भने पुरुष तथा समाजलाई नराम्रो होला कि भन्ने अन्धविश्वास छ।त्यसो त गर्भावस्थामा तथा योनिमार्गबाट कुनै कारण रगत बगेको अवस्थामा यौनसम्पर्क राख्नुहुँदैन। रजस्वलाबाहेक अन्य बेला यौनसम्पर्कका क्रममा योनिमार्ग रसिलो बनाउन र यौनकार्यलाई सहज बनाउन योनिरस उत्पादन हुन्छ। यस हिसाबले रजस्वलामा आउने रगत र योनिरसबीच खासै भिन्नता हुँदैन। भन्नुको तात्पर्य यी दुवै स्रावले पुरुष लिंगलाई खासै नकारात्मक असर पुर्‍याउँदैनन्।

वर्तमान समाजमा श्रीमान्–श्रीमती सधैँभरि सँगै रहन नपाउन पनि सक्छन्। लामो समयपछि घर फर्किंदा श्रीमती रजस्वला भइरहेको हुन सक्छ। यस्तो बेला यौनेच्छा दबाउन गाह्रो पर्नसक्छ। यस्तो बेला पुरुष लिंगमा रगत लागेमा असहज मान्नुपर्दैन। त्यसो त हनिमुनका बेला पहिलो पटक हाइमेन च्यातिँदा पनि रगत लाग्ने हुनसक्छ।

त्यसो हुँदाहुँदै कतिपय सावधानी अपनाएको खण्डमा राम्रै हुन्छ। रगतको मात्रा बढी बगेको बेलामा यौनसम्पर्क राख्नु हुँदैन। यस्तो बेला योनिरस वा रजस्वलाको रगतमिश्रित स्रावको गन्ध पृथक् हुनसक्छ। कतिपय पुरुष पार्टनरलाई अप्रिय लाग्न सक्छ। रजस्वलाको बेला रगत र रोगसँग लड्ने क्षमता पनि कम हुने कुराको हेक्का राख्नुपर्छ।रजस्वला भइरहँदा कतिपय महिलाले कमजोरी वा थकान महसुस गर्ने हुनाले यौनसम्पर्क राख्न अनिच्छा हुनसक्छ। त्यसैले महिला पार्टनरको इच्छाविपरीत करबल गर्नु हुँदैन। श्रीमतीको स्वीकृतिमा मात्र रजस्वलाका बेला यौनसम्पर्क राख्नु राम्रो हुन्छ।

महिनावारीका बेला वैकल्पिक खालका यौन उपाय अपनाएर पनि दम्पतीले यौन आनन्द लिन सक्छन्।रजस्वला हुँदा यौन सम्पर्क राखेपनि सरसफाइमा बढ्ता ध्यान पुर्‍याउनुपर्छ।यो बेला यौनसम्पर्क राख्ने क्रममा गर्भ रहने सम्भावना नभएपनि यौनजन्य रोगबाट बच्न कन्डम भने अनिवार्य प्रयोग गर्नुपर्छ।

रजस्वला हुँदा कतिपय महिलामा स्त्री जननेन्द्रिय क्षेत्रमा बढ्ता रक्तप्रवाहसँगै यौन चाहना बढ्ने हुन्छ। महिला पार्टनरको यस अपेक्षालाई नजरअन्दाज गर्न मिल्दैन। यौनसम्पर्कका क्रममा प्राप्त हुने चरमसुखले रजस्वलाका बेला तल्लो पेट दुख्ने समस्या (डिस्मेनोरिया) मा कमी आउने, राहत मिल्ने, गर्भ नरहने वास्तविकताले ढुक्कका साथ बिनासाधन यौन सम्पर्क राख्न सकिन्छ। तर, यौन क्रियाकलापमा सतर्कता अपनाउनुपर्ने हुन्छ। कतिपय पुरुष पार्टनरलाई रजस्वलाको रगत असहज लाग्ने र रगत देखेर आत्तिने हुन्छ। यसबेला रजस्वलाको रगतबाट पृथक् गन्ध आउन सक्छ। भरसक कन्डम प्रयोग गर्नुपर्छ। 

यौन सम्बन्धका लागि लिंग–योनि सम्पर्क नै गर्नुपर्छ भन्ने छैन। पारस्परिक हस्तमैथुन, चुम्बन, स्पर्शलगायत यौन आनन्दका वैकल्पिक उपाय अवलम्बन गर्न सकिन्छ। रजस्वलामा महिला पार्टनर तनावमा हुन सक्छन्। जिम्मेवार पुरुष

पार्टनरले आलिंगन, स्पर्श, चुम्बन गरेको खण्डमा दाम्पत्य जीवन सुखमय बन्छ। सामाजिक मूल्य–मान्यताअनुरूप चौथो दिनमा चोखिने अर्थात् त्यो दिनसम्म सरसफाइ नगरी बस्नुपर्ने प्रथालाई समयानुकूल परिवर्तन गर्नुपर्छ।रजस्वलाको बेला श्रीमान्–श्रीमती दुवैको सहमतिमा मात्र यौन सम्पर्क राख्नु राम्रो हुन्छ। त्यसका लागि दुवै पार्टनरबीच पर्याप्त छलफल हुन जरुरी छ।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि