सेलिब्रिटीलाई ‘एङ्जाइटी’ले त विवादमा धकेलिरहेको छैन ?

writer

सामीप्यराज तिमल्सेना

शुक्रबार, २६ असार २०७७


नेपालमा चार महिनादेखि चलिरहेको लकडाउनले सेलिब्रिटीमा चिन्ता र बेचैनी बढाएको छ। घर भित्र बसिरहँदा एङ्जाइटीले विकराल रूप लिन थालेको छ।  उनीहरू भोलिको पर्वाह नगरी सामाजिक सञ्जालमा खुल्न थालेका छन्, जसले यस क्षेत्रका ‘स्टेकहोल्डर’बीच अविश्वास पैदा गर्न थालेको छ। 


नेपालमा कतिवता प्रदेश छन् ?
७२ वटा। 
नेपालमा कति जिल्ला छन् ?
जिल्ला त केरे १४ वटा छन्।

यो प्रश्नोत्तर टेलिभिजन प्रस्तोता प्रकाश सुवेदी र अभिनेत्री पूजा शर्माबीचको हो। कुनै समय टेलिभिजन पत्रकारितासमेत गरेको बताउने पूजाले अन्तर्वार्तामा प्रकाशले बताउँदाबताउँदै पनि सञ्चारमन्त्रीको नाम भन्न सकिनन्। बरु उल्टै पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेललाई सञ्चारमन्त्री भएको बताइन्। केही समयअघि लकडाउनका समयमा पूजा र  निकितासँगै रसबरी पार्टी गरेकोमा विवादमा परेका थिए। 

आफूलाई नम्बर वान नायिका भनाउन न्वारनदेखिको बल निकालेर प्रयास गरिरहेकी पूजा यही कारणले सर्वसाधारणको तारोमा परिन्। पूजाको पक्षमा बोल्ने केहीले कलाकारलाई राजनीतिबारे थाहा हुन जरुरी नभएको तर्क गरे पनि समाजलाई बाटो देखाउने भूमिका अपेक्षागर्ने समाजले उनको यो तहको अज्ञानलाई क्षम्य मानेको छैन। 

नेपालमा कतिवटा जिल्ला र कतिवटा प्रदेश छन् भन्ने कुरा भर्खर विद्यालय गइरहेको बच्चालाई पनि थाहा हुन्छ भन्ने आलोचकको तर्क छ। 

हाललाई यो विषय दीपाश्री निरौलाको महानायक विवाद र भुवन केसी र साम्राज्ञीराज्यलक्ष्मी शाहको विवादले ओझेलमा परेको छ। तर पनि, यो प्रकरणपछि सेलिब्रिटीको चेतनास्तरलाई लिएर सुध्रन थालेको छविमा भने ठूलै प्रश्नचिह्न खडा भएको छ। 

पूजा विवादित शृंखलाकी पछिल्लो कडी हुन्। कोभिड–१९ का कारण लकडाउन सुरु भएसँगै सेलिब्रिटी एकपछि अर्को विवादमा आउने शृंखला सुरु भएको छ। यस बीचमा भुवन केसी, राजेश हमाल, दीपकराज गिरी, पल शाह, दीपाश्री निरौला, वर्षा राउत, साम्राज्ञीराज्यलक्ष्मी शाह, वर्षा शिवाकोटी, रिमा विश्वकर्मा, निशा अधिकारी,नम्रता सापकोटा आदि कलाकार विवादमा परेका छन्।

चियादेखि सीमासम्मका विवाद     
यो विवादशृंखलाको खाता खोलेकी थिइन्, रिमाले। उनले फेसबुक लाइभमा आफूले लकडाउनको समयमा बल्ल कालो चिया पकाउन सिकिरहेको बताएपछि सारा मानिस सामाजिक सञ्जालमा उनीविरुद्ध खनिएका थिए। उनको यो गफ नपचेपछि केही समय सामाजिक सञ्जाल थरिथरिका परिकार बनाउन सिकेको स्ट्याटसले रंगिएको थियो। 

रिमाको यो प्रसंग मुश्किलले के सेलाएको थियो, वर्षा राउत विवादमा आइन्। नेपाल–भारत सीमा विवादको विषयमा बोल्ने क्रममा उनले मिडियाका कारण नेपाल र भारतको झगडा परेको तर्क गर्दै आफूलाई भारतीय साथीसँग मुख देखाउन पनि गाह्रो हुने बताएकी थिइन्। तर, उनको यो अभिव्यक्तिमा सारा देश तरंगित भयो। वर्षालाई देशनिकाला गर्नेसम्मका कुरा भए। पछि उनले लाइभ कार्यक्रममा बोल्ने क्रममा जिब्रो चिप्लिएर अन्यथा हुन गएको भन्दै माफी मागिन्। 

अहिले यो प्रकरण सेलाइसकेको छ तर पनि सेलिब्रिटीको राजनीतिक चेतनाको स्तरमा उठ्ने गरेको प्रश्नलाई यो प्रकरणले झन् गहिरो बनाएको छ। 

मानसिक सञ्चो/बिसञ्चो 
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्याको तोडबाट बलिउड अझै तंग्रिन सकेको छैन। त्यहाँको फिल्म उद्योग नातावादको बहसमा नराम्ररी विभाजित भएको छ। नातावादको विरोध गर्ने र पक्षपोषण गर्ने अघोषित युद्ध भइरहेको छ। तर, यो युद्ध त्यहाँ मात्र सीमित भएन। हामीकहाँ पनि आइपुग्यो। थुप्रै महिला कलाकार नातावादसँगै नेपाली फिल्म उद्योगमा समूहवाद पनि हाबी रहेको भन्दै मुखरित भए। नम्रता सापकोटा, वर्षा शिवाकोटी, एलिजा गौतमजस्ता कलाकारले मुखै फोरेर उद्योगमा व्याप्त विकृतिका सम्बन्धमा आवाज उठाए। यही सिलसिलालाई निरन्तरता दिने क्रममा साम्राज्ञीले आफूलाई केही फिल्मको सुटिङको समयमा दुव्र्यवहार गरेको सुनाइन्। उनको बयानमा भुवन केसीले आपत्ति जनाएपछि अहिले यी दुईबीच सामाजिक सञ्जालमा जुहारी चलिरहेको छ। तर, यस प्रकरणले पनि प्रकारान्तरमा सेलिब्रिटीको सार्वजनिक छविलाई उजिल्याउने होइन, खुइल्याउने काम गरिरहेको भन्दै यो क्षेत्रका मानिस चिन्तित छन्। 

हिजोका दिनमा पनि सेलिब्रिटी लुगा चिप्लिँदा (वार्डरोब मालफंक्सन) र बोली लर्बरिँदा (टङ स्लिप) विवादमा पर्ने गरेका थिए। तर, आज जसरी दिनैपिच्छे कलाकार नयाँ–नयाँ विवादमा फस्न थालेका छन्,यसले उनीहरूको मानसिक स्वास्थ्यमा कुनै समस्या त छैन ? भन्ने शंका उब्जाएको छ। कतिपयले भने यसलाई लकडाउनको प्रभाव भनेर सामान्यीकरण पनि गर्ने गरेका छन्। तर, सत्य के हो ? बाहिर आउन जरुरी छ।

नेपालमा अहिले सेलिब्रिटी दुई कारणले विवादमा आएका देखिन्छन्। एउटा टेलिभिजन वा युट्युबमा अन्तर्वार्ताका कारण र अर्को उद्योगका विकृतिमाथि प्रश्न उठाएका कारण। 

सेलिब्रिटीसँग दक्षिण एसियाली समाजको खास अपेक्षा हुन्छ।खास गरी, भारतीय समाजमा ‘सेलिब्रिटी सर्वगुणसम्पन्न हुनुपर्छ’ भन्ने बलियो मान्यता छ। त्यहाँ अधिकांश फिल्मप्रेमी ‘सेलिब्रिटी वर्सिप सिन्ड्रोम’बाट ग्रस्त देखिन्छन्। व्यावसायिक फिल्ममा पर्दामा हिरो वा हिरोइन सर्वगुणसम्पन्न व्यक्तिका रूपमा चित्रित हुन्छन्।दर्शकले उनीहरूलाई त्यसरी नै ग्रहण गरेका हुन्छन्। यसले वास्तविक जीवनमा पनि उनीहरू यत्तिकै सक्षम छन् भन्ने विश्वास उनीहरूमा पर्न गएको हुन्छ। 

हरेक फिल्म उद्योगमा केही यस्ता सेलिब्रिटी हुन्छन्, जसलाई दर्शक भगवान्सरह मान्छन्। भारतको दक्षिण भारतीय फिल्म उद्योगमा रजनीकान्तलाई भगवान मानिन्छ। ठाउँठाउँमा उनका मूर्तिसमेत बनाइएका छन्। यो यही ‘सेलिब्रेटी वर्सिप सिन्ड्रोम’का कारण हो। 

नेपालमा राजेश हमाललाई आदर्श मान्ने जमात ठूलो छ। जब उनको महानायकत्वलाई लिएर प्रश्न उठ्छ, हमाल केही बोल्नैपर्दैन, उनका फ्यान उनको सुरक्षामा छाती थाप्न आउँछन्। हालसालै मात्र दीपाश्री निरौलाले उनको महानायक पदवीमाथि प्रश्न तेस्र्याउँदा हमालका फ्यान उनको सुरक्षामा तैनाथ भए। तर, उनको पदवीमाथि यसअघि धिरेन शाक्य, रेखा थापा, निश्चल बस्नेतले पनि प्रश्न उठाएका थिए। त्यो समयमा राजेश हमालका फ्यान यतिविधि उग्र भएका थिएनन्। तर, दीपाश्रीका विरुद्ध उग्र भए। कारण,उनलाई उनीहरूले प्रश्न उठाउन लायक पनि ठानेनन्। सत्य हो, दीपाश्री नेपालका सर्वाधिक कमाउने केही फिल्मकी निर्देशक हुन्, तर यसको एक्लो क्रेडिट उनले पाएकी छैनन्। फिल्मकर्मीलाई मात्र होइन, दर्शकलाई पनि उनको सफलतामा धेरै हिस्सा दीपकराज गिरी र जितु नेपाल–केदार घिमिरे समूहको योगदान रहेको विश्वास छ। 

मनोविद्हरूका अनुसार सामान्य मानिसभन्दा सेलिब्रिटी मानसिक अस्वस्थताको अधिक जोखिममा हुन्छन्। स्टारडम र व्यक्तिगत जीवन सन्तुलनमा राख्न नसक्नु यसको मुख्य कारण हो। तर, नेपालमा भने सेलिब्रिटीको सामाजिक अपेक्षा र यथार्थको ग्यापले धेरैलाई पोल्ने गरेको छ। हामीकहाँ सानो उपलब्धिमा पनि सेलिब्रेटीले मिडियाबाट पर्याप्त कभरेज पाउँछन्, तर त्यसबापत पाउने आर्थिक उपलब्धि भने अति नै न्यून छ। उनीहरू आफूले पाएका हरेक उपलब्धिलाई आर्थिक उपलब्धिसँग तुलना गर्छन्। जब त्यसमा गहिरो खाडल देखापर्छ, सेलिब्रिटीमा डिप्रेसन र एङ्जाइटीका लक्षण सक्रिय हुन थाल्छन्। 

अझ नेपालमा चार महिनादेखि चलिरहेको लकडाउनले सेलिब्रिटीको एङ्जाइटीमा आगो लगाउने काम गरेको छ। काम नभएर घर भित्र बसिरहँदा एङ्जाइटीले विकराल रूप लिन थालेको छ। यसले उनीहरू भोलिको पर्वाह नगरी सामाजिक सञ्जालमा खुल्न थालेका छन्, जसले यस क्षेत्रका ‘स्टेक होल्डर’बीच अविश्वास पैदा गर्न थालेको छ। 

निशा अधिकारी, रिमा विश्वकर्मा आदिले ‘जिरो टोलरेन्स’ भन्दै युट्युब अन्तर्वार्ता र यसमा गरिने फोहोरी कमेन्टलाई निषेध गर्नुपर्ने माग राखेपछि युट्युबर तर्सिएका छन् भने त्यसमा सही थाप्दै साम्राज्ञीको ‘आफूहरूको अनुहार बेचेर आफूलाई नै बदनाम गर्ने गरेको’ आरोपले उनीहरूको मन कुँडिएको छ। यसले भोलि नेपाली फिल्मको कास्टिङमा प्रत्यक्ष असर गर्ने सम्भावना देखिन्छ। त्यो किनभने अहिले पनि निर्माताहरू आफ्नो फिल्मभन्दा ‘पब्लिसिटी’मा ज्यादा भरोसा राख्छन्। त्यसैले पत्रकारसँग विवादमा आउने कलाकार उनीहरूको रुचिमा खुशीसाथ नअटाउन सक्छन्। 

सामूहिक रूपमा गर्नुपर्ने काम
अहिले चलिरहेको विवादले दुइटा कुरा स्पष्ट संकेत गर्छ। पहिलो कुरा,नेपालका सेलिब्रिटी ‘पब्लिक प्रेजेन्स’मा कमजोर छन्। त्यसैले यसमा सतर्क हुनुपर्छ। दीपकराज गिरीले भनेझैँ‘अन्तर्वार्ता भन्दैमा कुदिहाल्ने प्रवृत्ति’ले उनीहरूलाई थप हानि गर्छ। दोस्रो कुरा, उद्योगमा केही संरचनागत समस्या छन्, तिनमा काम गर्नुपर्ने देखिन्छ। यसमा आर्थिक र मनोवैज्ञानिक शोषण मुख्य हुन्। यीबाहेक वर्षा शिवाकोटी, नम्रता सापकोटाले उठाएको ‘ग्रुपिजम’को सवालमा पनि उद्योगले सामूहिक रूपमा काम गर्नुपर्ने देखिन्छ। नत्र भने यस क्षेत्रमा आउन चाहने मानिस यस्ता समस्या रहिरहँदा आउन चाहँदैनन् र यस क्षेत्रले आजजस्तै सधैँ कम ‘अप्सन’मा काम गर्नुपर्ने बाध्यता रहिरहन्छ। कालान्तरमा यसले उद्योगको विकासमा धक्का पुग्छ। 

फिल्म क्षेत्रको विशेषताको कुरा गर्दा, अर्को एउटा कुरा नलुकाई उल्लेख गर्नुपर्ने हुन्छ। यस क्षेत्रमा टिक्न जति प्रतिभा चाहिन्छ, त्योभन्दा बढी ‘एटिक्वेट’ चाहिन्छ। अहिले देखिएका केही समस्या यही ‘एटिक्वेट’सँग पनि जोडिएका छन्। त्यसैले आफ्ना आङमा भैँसी हिँडिरहेको महसुस नहुँदासम्म अरूको जीउमा जुम्रा देख्नुले समस्या बल्झाउँछ मात्र, घटाउँदैन।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि