छटपटाइरहेका छन् नेपाली क्लबका विदेशी खेलाडी

writer

विष्णु थापा

शुक्रबार, २६ असार २०७७


नेपाली क्लबहरूबाट फुटबल खेल्न आएका विदेशी खेलाडी अहिले संकटमा छन्। अधिकांश खेलाडी स्वदेश फर्किन खोजे पनि अन्तर्राष्ट्रिय उडान नहुँदा र महँगो शुल्क तिर्नुपर्ने भएपछि उनीहरू अप्ठ्यारोमा फसेका छन्।


कोरोना भाइरसको महामारी सुरु भएको छ महिना बितिसकेको छ। भाइरस संक्रमण रोक्न नेपालमा पनि गत चैत ११ गतेदेखि लकडाउन भएको छ। कोरोनाको त्रास र लकडाउनका कारण विश्वका विभिन्न देशमा झैँ नेपालमा पनि खेलकुदका गतिविधि ठप्प छन्। प्रतियोगिता अनिश्चित बनेका छन् भने खेलाडीले पनि प्रशिक्षण गर्न पाएका छैनन्। बढ्दो संक्रमण र लगातारको लकडाउनका कारण खेलाडीहरूलाई फिटनेसका साथै आफ्नो फर्मको चिन्ताले पनि सताउन थालेको छ। यो चिन्ता नेपाली खेलाडीलाई मात्र परेको छैन, नेपाली फुटबलमा प्रभावशाली प्रदर्शन गरिरहेका अफ्रिकी खेलाडीलाई पनि परेको छ।

महामारीका समयमा विदेशी खेलाडीहरू होटल, अपार्टमेन्ट र कोठामैै थन्किएका छन्। विदेशी खेलाडीलाई नेपालमा ल्याउन सहजीकरण गर्दै आएका फुटबल एजेन्ट नेपालका सञ्चालक सगुन तन्डुकारका अनुसार नेपालमा ४० जना विदेशी फुटबल खेलाडी रहेका छन्। ‘नेपालमा अहिले ४० जनाको हाराहारीमा विदेशी खेलाडी छन्,’ तन्डुकारले भने, ‘उनीहरूमध्ये १० जना मात्रै क्लबमा आबद्ध छन्। धेरैको क्लबसँगको कन्ट्र्याक्ट सकिएको छ भने कोही लकडाउनअघि मात्र आएका पनि छन्।’

‘ए’ डिभिजनमा ३३ विदेशी खेलाडी

शहीद स्मारक ‘ए’ डिभिजन लिग गत फागुन ३ मा सकिएको थियो। मच्छिन्द्र क्लबले पहिलो पटक लिग जितेको प्रतियोगितामा ३३ जना विदेशी खेलाडीले विभिन्न क्लबबाट प्रतिस्पर्धा गरेका थिए। स्वदेशका चर्चित खेलाडीले भरिएको मच्छिन्द्र क्लबको उपाधि यात्रामा अफ्रिकी मूलका तीन खेलाडीको भूमिका पनि महŒवपूर्ण रहेको थियो। लिग च्याम्पियन मच्छिन्द्रसँगै ११ वटै क्लबको प्रदर्शनमा विदेशी खेलाडीले दमदार प्रदर्शन गरेका थिए। यस पटकको शहीद स्मारक लिगमा अफ्रिकी देशका साथै जापान, भारत, ब्राजिललगायत देशका खेलाडी पनि सहभागी भएका थिए। ‘ए’ डिभिजन लिगमा सहभागी १४ क्लबमध्ये तीन विभागीय टोलीले भने आफूसँग आबद्ध नेपाली खेलाडीलाई मात्र खेलाउँदै आएका छन्।

‘ए’ डिभिजन लिगमा एउटा क्लबले दक्षिण एसियाका एकसहित चार जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ । ‘ए’ डिभिजनका १४ मध्ये ११ क्लबले दक्षिण एसियाबाहिरका ३३ खेलाडीलाई अनुबन्ध गरेका थिए। च्यासल युवा क्लबले जापानका तीन र फ्रेन्ड्सले ब्राजिलका तीन खेलाडी ल्याएका थिए । बाँकी २७ मध्ये क्यामरुनका १२, नाइजेरियाका नौ तथा आइभोरी कोस्ट, तान्जानिया, गिनी, माली, मोजाम्बिक र इजिप्टका एक–एक जना थिए । यसै गरी, छिमेकी मुलुक भारतबाट पनि सात जना खेलाडी लिग खेल्न नेपाल आएका थिए।

एक महिना पनि चलेन सिजन

शहीद स्मारक ‘ए’ डिभिजन लिग सकिएपछि फुटबलको सिजन मोफसलमा सुरु भएको थियो । तर, त्यो सिजन एक महिना पनि चल्न सकेन । कोरोना भाइरसको महामारीसँगै सरकारले लकडाउन घोषणा गरेपछि सम्पूर्ण खेलकुदका गतिविधि प्रभावित भएका थिए। लकडाउनसँगै मोफसलका चर्चित नकआउट प्रतियोगिताहरू स्थगित भएका थिए। नेपालमा फुटबल खेलेरै राम्रो कमाइ गर्ने आशामा आएका अफ्रिकी खेलाडीहरू चैतयता प्रतियोगिता ठप्प भएपछि समस्यामा परेका छन् ।

नेपाली क्लबहरूका लागि विगत सात वर्षदेखि अफ्रिकी खेलाडी ल्याउन सहजीकरण गरिरहेका नेपाल फुटबल एजेन्टका सञ्चालक तन्डुकार ‘ए’ डिभिजन लिग खेलेका २३ जना विदेशी खेलाडी नेपालमा रहेको बताउँछन्। यीबाहेक अरू १७ जना खेलाडी मोफसलमा हुने नकआउट प्रतियोगिता खेल्न नेपाल आएका थिए। उनका अनुसार अफ्रिकी खेलाडीहरू काठमाडौँका नयाँ बजार, स्वयम्भू, ठमेल र ललितपुरका भैँसेपाटी, कुमारीपाटीलगायत स्थानका अपार्टमेन्ट र होटलमा बसिरहेका छन् ।

क्लबबाट राम्रै सुविधा

क्लबसँगको कन्ट्र्याक्ट बाँकी रहेका खेलाडीले भने राम्रै सुविधा पाइरहेका छन्। उनीहरूलाई होटल तथा अपार्टमन्टमा राखिएको छ। उनीहरूले क्लबसँगको सहमतिअनुसार नै सेवासुविधा पाइरहेका छन्। क्लबसँग १० जना खेलाडीको मात्र कन्ट्र्याक्ट बाँकी रहेको नेपाल फुटबल एजेन्टका सञ्चालक तन्डुकारले जानकारी दिए। ‘क्लबसँग सम्झौता बाँकी रहेका खेलाडीले राम्रै सेवासुविधा पाइरहेका छन्,’ उनले भने, ‘क्लबबाहिरका खेलाडीलाई मात्र समस्या परेको छ।’

मनाङ मस्र्याङ्दी क्लबले तीन खेलाडी र एक प्रशिक्षकलाई लकडाउन सुरु भएदेखि नै अपार्टमेन्टमा राख्दै आएको छ। उनीहरूलाई लामो समयदेखि अपार्टमेन्टमा राखे पनि क्लबलाई खासै गाह्रो नभएको मनाङका अध्यक्ष छिमी उर्गेन गुरुङले बताए। ‘क्लबले आफ्नो दायित्व निर्वाह गरिरहेको छ,’ उनले भने, ‘हाम्रो समस्या बुझेर उनीहरूले पनि ‘नेपालीले जे खान्छन्, त्यही खान्छौँ’ भनेका छन्। त्यसैले उनीहरूलाई राख्न गाह्रो परिसकेको छैन।’

मनाङले ‘ए’ डिभिजन लिगका लागि प्रशिक्षक पनि विदेशी ल्याएको थियो। नाइजेरियाका तोपे फुजाले मनाङको प्रशिक्षण सम्हालेका थिए। साबिक विजेता मनाङले यस पटक भने पुरानो लयलाई समात्न सकेन। लिगअघि चर्चित नेपाली खेलाडी मच्छिन्द्र क्लबमा गएका कारण पनि मनाङले सोचेअनुरूप प्रदर्शन गर्न सकेन। साबिक विजेता मनाङ यस पटक तेस्रो भएको थियो।

स्वदेश फर्किन आतुर

नेपालमा रहेका अधिकांश खेलाडी जतिसक्दो चाँडो स्वदेश फर्किन चाहन्छन्। नेपालमा अन्तर्राष्ट्रिय उडान सुरु नहुनु र त्यहाँ पुगेपछि क्वारेन्टिनका लागि चर्को शुल्क तिर्नुपर्ने भएपछि धेरै खेलाडी निराश बनेको तन्डुकारले बताए। ‘अहिले अन्तर्राष्ट्रिय उडान पनि सुरु भएको छैन,’ उनले भने, ‘उडान भए पनि महँगो भाडा र क्वारेन्टिनको समेत चर्को शुल्कका कारण खेलाडीहरू अप्ठ्यारो महसुस गरिरहेका छन्।’

नेपालसँग सीधा हवाई सम्पर्क नभएका कारण पनि महँगो हवाई भाडा तिर्नुपर्ने बाध्यता विदेशी खेलाडीलाई छ। हवाई भाडासँगै १४ दिनको क्वारेन्टिनको शुल्क पनि पहिले नै तिर्नुपर्ने भएकाले उनीहरू झस्किएका छन्। मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष गुरुङ नेपालमा रहेका विदेशी खेलाडीलाई अगस्टसम्म फर्काउन सकिनेमा आशावादी छन्। ‘उनीहरूलाई अगस्टसम्ममा फर्काउन सकिन्छ कि भन्ने आशा गरेका छौँ,’ उनले भने, ‘जति खर्च भए पनि क्लबले सम्झौताअनुरूप नै काम गर्नेछ।’

तन्डुकारका अनुसार च्यासल, फ्रेन्ड्स र एनआरटीले लकडाउनअघि नै विदेशी खेलाडीलाई फर्काइसकेका छन् । ‘केही क्लबले लकडाउन सुरु हुनुअगाडि नै विदेशी खेलाडीलाई स्वदेश फर्काइसकेका छन्,’ उनले भने, ‘नेपालमा नै लामो समय फुटबल खेल्ने हिसाबले आएकाहरू अहिले समस्यामा परेका छन्।’

नेपाली खेलाडी पनि समस्यामा

अहिले ११ वटै ‘ए’ डिभिजन क्लबले खेलाडीसँग गरेको सम्झौता सकिसकेको छ। केही क्लबसँग एक÷दुई जना विदेशी खेलाडी भए पनि नेपाली खेलाडी भने कुनै क्लबसँग पनि आबद्ध छैनन्। तीन विभागीय टोलीका खेलाडी मात्र उनीहरूसँगै छन्। शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि क्लबहरूले सरदर २० जना नेपाली खेलाडी अनुबन्ध गरेका थिए। उनीहरूले मासिक २५ हजारदेखि एक लाख रुपैयाँसम्म पारिश्रमिक पाएका थिए।

क्लबहरूले नेपाली खेलाडीलाई तीनचार महिनाका लागि मात्रै अनुबन्ध गर्ने गरेका छन्। शहीद स्मारक लिगअघि एक महिना प्रशिक्षण, दुई महिना लिग र एक महिना मोफसलमा हुने गोल्डकप प्रतियोगिताका लागि खेलाडी अनुबन्धित हुने गरेका छन्। अहिले विभागीयबाहेक सबै क्लबले नेपाली खेलाडीसँग गरेको सम्झौता सकिसकेको छ। उनीहरू खेलाडीसँग तत्कालै सम्झौता नवीकरण गर्ने पक्षमा छैनन्। कोरोना महामारी र लगातारको लकडाउनका कारण स्थानीयदेखि राष्ट्रिय स्तरका खेलाडी बेरोजगार बनेका छन्।

राष्ट्रिय खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट मासिक भत्ता पाउने गरे पनि त्यो पर्याप्त भने छैन। एन्फाले पुरुषतर्फका राष्ट्रिय टोलीका सदस्यलाई मासिक १५ हजार र महिलालाई सात हजार रुपैयाँ दिँदै आएको छ।

खेलाडीको मुख्य आम्दानी भनेको प्रतियोगितामा खेल्दा आउने म्याच फी, क्लोज क्याम्पमा रहँदा प्राप्त गर्ने दैनिक भत्ता, विभिन्न व्यापारिक कम्पनीसँगको सहकार्य र उपाधि जित्दा प्राप्त हुने रकम हो। नेपाली खेलाडीले यसअघि त्यही रकमबाट गुजारा गर्दै आएका थिए। कोरोना भाइरसको महामारीपछि आम्दानीका सबै स्रोत ठप्प हुँदा खेलाडीहरू समस्यामा परेका छन्।

कोरोनाका कारण नेपाली खेलाडीले चरम आर्थिक संकट बेहोरिरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले बताए। ‘व्यावसायिक नबनिसकेको नेपाली खेलकुदमा कोरोनाले गम्भीर प्रभाव पारेको छ,’ उनले भने, ‘नेपाली खेलाडी आर्थिक संकटमा छन्।’

नेपाल फुटबल एजेन्टका सञ्चालक तन्डुकारले विदेशीजस्तै नेपाली खेलाडी पनि निकै समस्यामा रहेको बताए। ‘अहिले विदेशी मात्र होइनन्, स्वदेशी खेलाडी पनि समस्यामा छन्,’ उनले भने, ‘क्लबसँगको कन्ट्र्याक्ट पनि सकिएकाले उनीहरू निकै पीडामा छन्।’ उनले केही चर्चित खेलाडीहरूलाई समावेश गरेर सर्ट मुभी र टेलिशृंखला बनाउन लागेको जानकारी दिए।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि