‘मुला चोर्न जाँदा फसियो'

writer

सम्पूर्ण

सोमबार, २८ फागुन २०७४


स्कूलमा हुँदा म चञ्चले स्वभावको थिएँ। मैले तीन वटा स्कुल चेन्ज गरेँ। कक्षा एकदेखि तीनसम्म बागबजारस्थित शहीद शुक्र माध्यमिक विद्यालयमा पढेँ। कक्षा चार र पाँच जावलाखेलमा रहेको माउन्ट भ्याली बोर्डिङ स्कुलमा पढेँ। एसएलसी महाराजगञ्जस्थित भानुभक्त मेमोरियल माध्यमिक विद्यालयबाट दिएँ।

 

सानैदेखि गीत गाउन औधी मन पथ्र्यो। नाटक पनि खूब खेल्थेँ। २०४२/४३ सालमा नाटकमा उत्कृष्ट बालकलाकारको पुरस्कार पनि जितेको थिएँ। गीत–संगीत प्रतियोगिता सक्रिय भएर भाग लिन्थेँ। केही न केही पुरस्कार पनि जित्थेँ। मलाई अंग्रेजी विषय एकदम मन पथ्र्यो। ‘फिजिक्स’ भनेपछि टाउको दुुखेर आउँथ्यो। कक्षामा तेस्रो, चौथो पोजिसनमा हुन्थेँ। स्कुलमा फटाइँ पनि उत्तिकै गरियो। स्कुलका तीता–मीठा थुप्रै सम्झना छन्।

dhiraj

त्यतिबेला केटाहरूको ग्रुप बसेर छलफल गथ्र्यौं। केटा साथीबीच ‘ऊ त्यो केटी मेरो, ‘ऊ त्यो केटी तेरो' भन्दै बस्थ्यौँ। तर, केटीसामु प्रेम प्रस्ताव राख्ने कसैसँग हिम्मत हुँदैनथ्यो। एक जना दश कक्षामा पढ्ने केटी थिइन्। त्यतिबेला म चाहिँ कक्षा छमा पढ्थेँ। उनलाई सबैले ‘बुल डग' भनेर जिस्काउँथे। काली–काली राम्री हिस्सी परेकी थिइन्, उनी। म मात्र नभई सारा स्कुलका केटा उसका ‘दिवाना' थिए। बुल डग आयो भनेपछि उसको कक्षा कोठाबाहिर केटाहरू लाइन ढुकेर बस्थौँ।

 

सात/आठ कक्षामा हुँदा एकताका स्कुलभरि मेरै चर्चा थियो। अन्य कक्षाका केटाहरूले स्टाइल–स्टाइलका कपाल बनाउँथे। मैले चाहिँ चिटिक्क पारेर छोटो कपाल काट्थेँ। एक जना सरले मलाई लिएर सबै कक्षापिच्छे डुलाउनुहुन्थ्यो। अनि भन्नुहुन्थ्यो, ‘सबै जनाले चाम्लिङको जस्तो कपाल बनाउनुपर्छ।' मेरो खूब प्रशंसा गर्नुहुन्थ्यो। मेरो थर ‘चाम्लिङ' कै नामबाट स्कुलमा परिचित थिएँ।

dhiraj-rai

भानुभक्त स्कुलमा हुँदा ‘डिसिप्लिन' हेर्ने आले सर भन्ने हुनुहुन्थ्यो। उहाँको प्रायः हामीले हात हेथ्र्यौं। लामो खाले सर्ट लगाउनुहुन्थ्यो। सर्टभित्र कुनै बेला पाइपको लट्ठी लुकाउनुहुन्थ्यो, कुनै बेला खाली नै हुन्थ्यो। खाली भएको बेलामा चाहिँ हामी बढी चकचक गथ्र्यौं। सर्टभित्र पाइप भएको बेलामा भने टक्क ज्ञानी भएर बस्थ्यौँ।

 

त्यति बेला हामी साथी–साथीबीच रबरको झुप्पा बनाएर चुंगी खेल्थ्यौँ, गुच्चा खेल्थ्यौँ। याक चुरोटको बट्टाहरू कलेक्सन गथ्र्यौं। कक्षामा सरले पढाइरहेको बेलामा कागजको ‘एरोप्लेन' बनाएर उडाउने बदमासी पनि गरियो। हरेक सरको हामी नाम राखिदिन्थ्यौँ। विज्ञान विषय पढाउने एक जना सर हुनुहुन्थ्यो। उहाँले महात्मा गान्धीको जस्तो गोलो–गोलो चस्मा लगाउनुहुन्थ्यो।

dhiraj-rai-1

हामी उहाँलाई ‘गान्धी सर' भनेर जिस्काउँथ्यौँ। तर, उहाँले केही भन्नुहुँदैनथ्यो। शुक्रबार हाफ छुट्टी हुन्थ्यो। स्कुलभन्दा केही पर खेतबारी थियो। एक दिन स्कुल छुटेपछि तीन जना साथी मिलेर मुला चोर्ने प्लान बनायौँ। साथीहरूले मलाई ‘राईको छोरो त बहादुर हुन्छ’ भनेर उक्साउँथे। एक जना पर्खालमा बस्ने। एक जना पर्खालबाहिर बसेर मुला जम्मा गर्नेमा पर्‍यो।

 

म चाहिँ खुरुखुरु मुला तान्नेमा परेँ। मुला तान्दातान्दै अलि पर उखुको झ्याङ थियो। साथीले ‘उखु पनि लिएर आइजु भन्यो। उखु उखेल्न गएँ। उखुको जरा बलियो हुँदो रैछ, तान्दै थिएँ। पछाडि फर्केर हेर्दा त साथीहरू गायब। लास्टमा मै फसेँ।

 

त्यहाँको साहूजीले एक घण्टासम्म उखुकै बोटमा बाँधे। त्यो क्षण कहिल्यै बिर्सन सक्दिनँ। स्कुलमा हुँदा साह्रै नक्कलझक्कल पार्नुपथ्र्यो, मलाई। फेसनेबल पनि थिएँ। उट्पट्याङ काम गरे पनि शिक्षकहरूको प्रिय विद्यार्थीमै गनिन्थेँ।

 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि