जहाँ लकडाउन खुकुलो,  त्यहाँ संक्रमणको उकालो

writer

सम्पूर्ण

शुक्रबार, २६ असार २०७७


लकडाउन खुकुलो पारिएपछि भारत, स्पेन, अस्ट्रेलिया, फिलिपिन्स आदि देशमा संक्रमणमा वृद्धि भएको छ । जहाँ–जहाँ लकडाउन खुकुलो पारेर मानिसको गतिविधि बढाइँदै छ, त्यहाँ पुनः संक्रमणको दर उकालो चढेको देखिएको छ । महामारीको दुर्दशा भोगिसकेर बिस्तारै सामान्य अवस्थातर्फ फर्किंदै गरेको स्पेन पनि केही स्थानमा पुनः लकडाउन गर्न बाध्य भएको छ । 


भारतमा कोरोना संक्रमितको संख्या सात लाख नाघेको छ । यससँगै भारत रुसलाई उछिनेर सबैभन्दा बढी संक्रमित भएका मुलुकमध्ये तेस्रो स्थानमा पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २० हजार नाघिसकेको छ । सोमबार २४ हजारभन्दा बढी मानिस संक्रमित भएका थिए । आइतबार सो संख्या लगभग २५ हजार थियो । भारतभन्दा बढी संक्रमित भएका मुलुक अमेरिका र ब्राजिल मात्र हुन् । 

कोरोना रोकथाम गर्न सवा अर्ब मानिसलाई लामो लकडाउनमा राखेको थियो, भारतले । तर, लकडाउन खुकुलो बनाएसँगै संक्रमितको संख्या निरन्तर बढिरहेको छ । त्यसैले मानिसहरूको आवतजावतलाई सीमित गर्ने कोसिस थालिएको छ । ताजमहल भ्रमणका लागि खुला गर्ने निर्णय तत्कालका लागि स्थगित गरिएको छ । भारतका ठूला शहर महामारीले सबैभन्दा बढी प्रभावित भएका छन् । नयाँ दिल्ली र मुम्बई दुवै शहरमा एक–एक लाख मानिस संक्रमित भएका छन् । दिल्लीमा तीन हजारको ज्यान गएको छ भने मुम्बईमा पाँच हजारको । नयाँ दिल्लीमा हालै १० हजार बेडको अस्थायी अस्पताल बनाइएको छ । केरलाको राजधानी त्रिवेन्द्रममा सोमबारबाट पुनः लकडाउन सुरु गरिएको छ । सार्वजनिक यातायात फेरि बन्द गरिएको छ । औषधि पसल मात्र खोल्ने अनुमति दिइएको छ । राज्यमा सयौँ संक्रमित फेला परेपछि यस्तो कदम उठाइएको हो । 

जहाँ खुकुलो, त्यहाँ ज्यादा संक्रमण  

लकडाउन खुकुलो पारिएपछि संक्रमणमा वृद्धि भएको मुलुक भारत एक्लो होइन । जहाँ–जहाँ लकडाउन खुकुलो पारेर मानिसको गतिविधि बढाइँदै छ, त्यहाँ पुनः संक्रमणको दर उकालो चढेको देखिएको छ । महामारीको दुर्दशा भोगिसकेर बिस्तारै सामान्य अवस्थातर्फ फर्किंदै गरेको स्पेन पनि केही स्थानमा पुनः लकडाउन गर्न बाध्य भएको छ । करिब ७० हजार बासिन्दा रहेको उत्तरपश्चिमी क्षेत्र ग्यालिसियामा आइतबारदेखि लकडाउन गरिएको हो । यो लकडाउनमा काममा जानेहरूलाई मात्र घरबाहिर निस्किन दिइनेछ । पाँच दिनका लागि भन्दै यस्तो प्रतिबन्ध लगाइएको हो, जसमा १० जनाभन्दा बढीको भेला गर्न पाइनेछैन र घरबाहिर निस्किँदा अनिवार्य मास्क लगाउनुपर्नेछ । ग्यालिसियामा अढाई सयभन्दा बढी संक्रमित फेला परेका छन् । 

यसअघि शनिबार कतालोनिया प्रान्तले पनि केही जिल्लामा यस्तै लकडाउन घोषणा गरेको थियो । स्पेनमा हालसम्म २८ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । 
अस्ट्रेलियाको मेलबर्नमा तीन हजार बासिन्दालाई घरभित्रै बस्न बाध्य बनाइएको छ । संक्रमितको संख्या बढेसँगै नौ वटा हाउजिङ ब्लकका ती बासिन्दालाई आवतजावतमा प्रतिबन्ध लगाइएको हो । उता भिक्टोरिया राज्यमा पनि तीन लाख मानिसलाई खुकुलो किसिमको लकडाउनमा राखिएको छ । 

फिलिपिन्समा आइतबार हालसम्मकै धेरै संक्रमित फेला परे । २ हजार ४ सय ३४ नयाँ संक्रमित फेला परेसँगै जम्म संक्रमण ४४ हजार नाघेको छ । आइतबार थप सात जनाको ज्यान गएसँगै मृतक संख्या १३ सय पुगेको छ । त्यस्तै, साउदी अरेबियामा दैनिक चार हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन् । त्यहाँ संक्रमितको संख्या दुई लाख नाघिसकेको छ । यूएईमा संक्रमितको संख्या ५० हजार नाघेको छ, तथापि मंगलबार व्यापारिक केन्द्र दुबई खुला गरिएको छ । 

उता इजरायलका स्वास्थ्यमन्त्री युली एडेल्स्टेनले आफ्नो मुलुक कोरोना भाइरसको दोस्रो लहरसँग जुधिरहेको बताएका छन् । आइतबार त्यहाँ ९ सय ७७ नयाँ संक्रमित फेला परेका छन् । ‘हामी कोरोनाको नयाँ आक्रमणको सामना गरिरहेका छौँ,’ प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले आइतबारको क्याबिनेट बैठकमा भनेका छन्, ‘यो निकै ठूलो महामारी हो, जुन बढिरहेको छ र संसारभर फैलिरहेको छ ।’ गत साता बिहीबार मात्रै दशौँ हजार इजरायलीलाई क्वारेन्टिनमा बस्न आदेश दिइएको थियो । कन्ट्याक्ट ट्रेसिङका लागि गुप्तचर निकायलाई फोन ट्याप गर्न अनुमति दिइएको छ । प्यालेस्टाइनको वेस्ट ब्यांकमा पनि संक्रमण बढिरहेको छ । प्यालेस्टाइनमा हालसम्म संक्रमितको संख्या ३८ सय नाघिसकेको छ । 

इरानमा आइतबार मात्रै १ सय ६३ जनाको जयन गयो । हालसम्म त्यहाँ भाइरसका कारण ११ हजार ५ सयभन्दा बढीको ज्यान गइसकेको छ । सार्वजनिक स्थलमा जाँदा मास्क लगाउन सरकारले जनतालाई आग्रह गरेको छ । राष्ट्रपति हसन रुहानीले मास्क नलगाउनेलाई सेवासुविधा नदिन आह्वान गरेका छन् । 

फ्लोरिडा न्युयोर्क बन्ने बाटोमा 

अमेरिकी राज्य फ्लोरिडामा आइतबार मात्र ११ हजार ४ सय ५८ कोरोना संक्रमित फेला परे । यससँगै सो राज्यमा संक्रमितको संख्या दुई लाख नाघेको छ । त्यति मात्र होइन, फ्लोरिडामा कोरोनाबाट गम्भीर बिरामी हुनेहरूको संख्या पनि दिनहुँ बढिरहेको छ । कतिपय सञ्चारमाध्यमले फ्लोरिडाको अवस्थाको तुलना केही महिनाअघिको न्युयोर्कसँग गरेका छन् । त्यहाँ बिरामीको संख्या अत्यधिक हुँदा अस्पतालमा उनीहरूले बेड नपाउने अवस्था आइपरेको थियो, स्वास्थ्य सामग्रीको चरम अभाव भएको थियो । यस्तो किन भयो त ?

महामारी फैलिँदै गएपछि मार्च महिनामा फ्लोरिडाको मियामी शहरका झिलिमिली नाइट क्लबहरू पनि बन्द गरिएका थिए । तर, देशव्यापी लकडाउन भए पनि मियामीका पार्टी भने रोकिएनन् । समुद्री किनारमा स्पोट्र्स कार चढेर आइपुगेका युवायुवती हप्तामै अनेकौँ पटक घाम नझुल्किउन्जेल रातरातभर पार्टीमा मस्त रहे । वरिपरि सुत्न चाहनेहरूले कान थुनेर बस्नुपर्ने भयो । 

त्यस्ता पार्टीमा आउनेहरूले न मास्क लगाएका थिए, न कुनै सामाजिक दूरीको नियम पालना गरेका थिए । ती एकअर्कासँग एकदम अपरिचित थिए । तिनै पार्टीमा सहभागीहरूका कारण अहिले फ्लोरिडामा संक्रमितको संख्या ह्वात्तै बढेको सरकारी अधिकारीहरू बताउँछन् । 
‘यो टापूमा सयौँ मानिस आउजाउ गरिरहेका छन्,’ बेल्ले मिड आइल्यान्डकी एक नर्स जेरी क्लेमी जायक भन्छिन्, ‘त्यसैले भाइरस फैलिइरहेको छ । मान्छेलाई अरूको अलिकति पनि वास्ता छैन ।’

गत बुधबार मात्र मियामीमा प्रहरीले मध्यरातमा एउटा पार्टी बन्द गरायो । त्यसमा सहभागी कम्तीमा एक सय मानिसलाई प्रहरीले निकाल्यो । तर, उनीहरू पार्टी छोडेर जान मानिरहेका थिएनन् । 

स्वास्थ्य अधिकारीहरू कन्ट्याक्ट ट्रेसिङ गर्न नसकेर हैरान भइसकेका छन् । त्यसैले सरकारले पार्टी आयोजकहरूलाई मुद्दा हाल्ने तयारीसमेत गरेको छ । 
फ्लोरिडामा जुन महिनामा कोरोना संक्रमितको संख्या बढ्न थालेको थियो । राज्यमा आर्थिक क्रियाकलाप खुला गरिएको एक महिनापछि संक्रमण दर वृद्धि भएको थियो । खास गरी, युद्धमा ज्यान गुमाएका सैनिकहरूको सम्झनामा मनाइने स्मृति दिवस र प्रहरी ज्यादतीविरुद्ध भएको लामो प्रदर्शनपछि संक्रमित बढेका हुन् । त्यस्तै, बार, रेस्टुरेन्ट र पार्टीका कारण पनि भाइरसले फैलिने मौका पायो । 

अमेरिकामा जनस्तरबाटै व्यापक मात्रामा लकडाउन तथा सामाजिक दूरीका नियम उल्लंघन भए । लकडाउन सुरु गर्दादेखि नै त्यसको विरोधमा प्रदर्शनहरू आयोजना गरिएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले खुलेआम त्यस्ता प्रदर्शनको समर्थन गरेका थिए । उनले चाँडोभन्दा चाँडो आर्थिक गतिविधि सुरु गर्न आह्वान गरेका थिए । 

तर, आर्थिक गतिविधि सुरु हुनेबित्तिकै कोरोनाको प्रकोप बढ्न थालेपछि केही राज्यहरूले खुला गर्ने निर्णयलाई तत्कालका लागि स्थगित गरेका छन् । क्यालिफोर्निया र टेक्ससमा पनि कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको छ । अमेरिकाको दोस्रो ठूलो शहर लस एन्जेलसमा थिएटर, पार्क र मनोरञ्जन केन्द्रहरू खुला गर्ने समय पछि सारिएको मेयर एरिक गार्सेटीले घोषणा गरेका छन् । 
एरिजोना राज्यमा पनि बार, थिएटर, जिम र वाटर पार्कहरू बन्द गरिएका थिए । त्यस्ता स्थान अब कम्तीमा ३० दिन बन्द रहने जनाइएको छ । 

हावाबाट सर्छ कि सर्दैन कोरोना ? 

कोरोना भाइरस हावाबाट सर्छ कि सर्दैन ? यसबारे महिनौँदेखि वैज्ञानिकहरूमाझ बहस भइरहेको छ । तर, पछिल्लो प्रमाणले यो हावाको माध्यमबाट सर्ने देखिएको छ । किनभने, पछिल्लो समय बार, रेस्टुरेन्ट, अफिस, बजार, क्यासिनोमा जानेहरूमा संक्रमण बढिरहेको छ । त्यसैले कोरोना भाइरस बन्द कोठाको हावामा घुमिरहेको हुन्छ र नजिकैको अर्को व्यक्तिलाई पनि संक्रमित तुल्याउँछ भन्ने तर्क बलियो बन्दै गएको छ ।

विश्व स्वास्थ्य संगठनले भने कोरोना संक्रमणको प्रमुख माध्यम श्वासप्रश्वास भएको बताउँदै आएको छ । खोक्दा, हाच्छिउँ गर्दा निस्केका छिटाबाट सबैभन्दा बढी भाइरस सर्ने मानिँदै आएको थियो । तर, त्यसरी खोक्दा वा हाच्छिउँ गर्दा धेरै बेर हावामा रहने साना अंशहरूले पनि मानिसलाई संक्रमित तुल्याउने भन्दै २ सय ३९ जना वैज्ञानिकले विश्व स्वास्थ्य संगठनलाई पत्र लेखेका छन् । ३२ मुलुकका ती वैज्ञानिकले त्यसरी भाइरस सरेको प्रमाण पेश गर्दै विश्व स्वास्थ्य संगठनलाई आफ्नो मार्ग निर्देशन संशोधन गर्न आह्वान गरेका हुन् । 

यदि भाइरस हावाबाट सर्ने पुष्टि भएमा महमारी रोक्न झनै मुश्किल हुनेछ । किनभने, भीडभाड हुने ठाउँ, राम्रो भेन्टिलेसन नभएका कोठाबाट भाइरस फैलिइरहेका हुन सक्छन् । त्यसो भए घरभित्र पनि मास्क लगाउनुपर्ने आवश्यकता हुन सक्छ । स्वास्थ्यकर्मीहरूले अहिले प्रयोग गरिरहेको मास्क पर्याप्त नहुन सक्छ । बिरामीबाट सर्न सक्ने सानाभन्दा साना कीटाणुलाई छेक्ने मास्क उनीहरूलाई चहिने हुन्छ । त्यस्तै स्कुल, नर्सिङ होम, घर, अफिसका भेन्टिलेसन प्रणाली बदल्नुपर्ने हुन्छ । 
(एजेन्सीको सहयोगमा कवि आचार्य)
 

तपाईको कमेन्ट

मुख्य समाचार