असावधान हुने छुट छैन

writer

सम्पूर्ण

बिहिबार, २५ असार २०७७


सर्वसाधारण नागरिक र सरकारकै पनि दैनिक खर्च नचल्ने अवस्था आएपछि सरकारले असार १ गतेदेखि विभिन्न शर्त राखेर लकडाउन खुकुलो बनाएको छ । साउन ७ गतेसम्म जारी लकडाउन अवधिमा गर्न पाइने र नपाइने बुँदा स्पष्टसँग लेखिएका छन् । तर, खुकुलो भएको लकडाउनलाई कतिपयले लकडाउन पूरै खुलेको जसरी लिइरहेका छन् । विशेष गरेर, संघीय राजधानी काठमाडौँलगायत देशका विभिन्न शहरमा सरकारले तोकेको मापदण्ड उल्लंघन गरेर असावधानीपूर्वक हिँडडुल गर्ने र भीड जम्मा हुने क्रम बढेको छ । 

सरकारले खुला गर्ने निर्णय गरेका पेशा तथा व्यवसायमा काम गर्ने जनशक्तिलाई ‘सिफ्टवाइज’ काम लगाउनुपर्ने भनिएको छ । रेस्टुरेन्टबाट खानेकुरा लैजाने पाइने (टेक अवे सर्भिस) भने पनि काठमाडौँका अधिकांश रेस्टुरेन्टमा ग्राहकले बसेरै खाना खाइरहेको दृश्य सामान्य भएका छन् । सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार गर्न नपाइने भनिए पनि विभिन्न किसिमका कार्यक्रम भइरहेका छन् । 

कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विरोधमा उत्रिएका युवाहरूले व्यक्तिगत दूरी कायम गरेर प्रदर्शन गरेका थिए । तर, सरकारले लकडाउनका बेला भीडभाड गरेको भन्दै सिर्जनात्मक ढंगले विरोधमा उत्रिएकालाई धरपकड गरेको थियो । अहिले देशभर नै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उनका समर्थकले प्रदर्शन गरिरहेका छन् । तर, सरकारले यसरी प्रदर्शनमा उत्रिएकालाई पक्राउ गर्ने र तितरबितर पार्ने गरेको छैन । विरोधमा उत्रिएकालाई दमन गर्ने तर समर्थन गर्नेलाई जति नै भीडभाड गरे पनि छोडिदिने सरकारको चरित्रले अन्य क्षेत्रमा पनि तोकिएका मापदण्ड उल्लंघन गर्ने क्रम बढेको छ । 

जनस्वास्थ्यविद्हरूले यही गतिमा मापदण्ड उल्लंघन गर्दै जाने, सरकारले रोकथामको दर्बिलो उपाय नअपनाउने र राजधानीवासीले स्वास्थ्य सावधानी नअपनाउने हो भने काठमाडौँ उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ हुने भन्दै सचेत गराइरहेका छन् । देशको सबैभन्दा बढी जनघनत्व भएको काठमाडौँमा कोरोना निर्मूल भएजसरी आम मानिसले व्यवहार गर्न थाल्दा स्थिति भयावह हुने सम्भावना छ । 

स्पा, सैलुन, ब्युटिपार्लर, जिमखाना, हेल्थ क्लब, सपिङ मललगायत जमघट हुने ठाउँ खोल्न नपाइने भनिए पनि बिस्तारै खुल्न थालेका छन् । मुख्य सडक र चोकमा रहेका यस्ता व्यवसाय नखुले पनि भित्री सडकमा खुलिरहेका देखिन्छन् । सरकारले सपिङ मल बन्द गर्ने भने पनि काठमाडौँ उपत्यकामा रहेका कतिपय मल खुलेका छन् । महिनौँसम्म सबै पेशा तथा व्यवसाय ठप्प पारेर जनजीवन चल्न सक्दैन । रोगले भन्दा भोकले मानिस मर्ने अवस्था आएपछि पेशा तथा व्यवसाय खोल्नुपर्ने बाध्यता पनि छ । तर, सरकारले हरेक क्षेत्रका लागि छुट्टाछुट्टै मापदण्ड बनाएर संक्रमण फैलिन नदिन अधिकतम सुरक्षा प्रबन्ध गरेर मात्र पेशा तथा व्यवसाय सञ्चालन गर्न सकिने वातावरण बनाउनुपर्छ । रेस्टुरेन्टमा बसेर नै खाना खाने व्यवस्था मिलाउने हो भने ‘सिटिङ अरेन्जमेन्ट’देखि, ग्राहक तथा कर्मचारीले पालना गर्नुपर्ने नियम कडाइका साथ लागू गरिनुपर्छ । लुकीछिपी सबै खुला गर्दै जाने हो भने संक्रमण दिन दुई गुना रात चौगुनाका दरले बढ्दै जाने निश्चित छ ।

गृह मन्त्रालयले सोमबार कोरोना संक्रमण नियन्त्रणका लागि जारी गरेको स्वास्थ्य मापदण्डमा मास्क नलगाएका तथा हिँडडुल गर्दा सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गरिने उल्लेख छ । सरकारले यसअघि राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा प्रतिबन्ध लगाएको थियो । संक्रमण बढ्न थालेपछि उसले केही कडाइ गर्न खोजेजस्तो देखिन्छ । तर, कुन–कुन क्षेत्रमा के कस्ता मापदण्ड अपनाउने र मापदण्डलाई कसरी पूर्ण रूपमा कार्यान्वयन गर्ने भन्नेमा ऊ अझै पनि अलमलमा देखिन्छ । 
अहिले सार्वजनिक यातायात सञ्चालन कसरी गर्ने भन्नेमा छलफल चलिरहेको बताइएको छ । चार महिनादेखि थन्किएका सार्वजनिक यातायात यसै गरी थन्किरहे भने अर्बाैं रुपैयाँको लगानी डुब्ने र लाखौँ श्रमिकको रोजीरोटी पनि गुम्ने स्थिति छ । तर, निजी सवारी साधानलाई जोर÷बिजोर प्रणालीमा सञ्चालन गर्न दिँदा त काठमाडौँमा भीड सामान्य अवस्थामा जस्तो छ भने सार्वजनिक यातायात सञ्चालन भएपछि यो अझै बढ्नेछ । त्यसैले व्यक्ति–व्यक्ति बीचको भौतिक दूरी कायम हुने र सरसफाइको गतिलो व्यवस्था हुने शर्तमा मात्र पेशा तथा व्यवसाय सञ्चालन गर्दा संक्रमणको जोखिम कम हुन्छ । 

उच्च स्वास्थ्य सुरक्षामा रहेका विमानका चालकदेखि कर्मचारीसम्मलाई कोरोना संक्रमण देखिएको छ भने काठमाडौँका सडकमा निस्फिक्री हिँडडुल गरिरहेकाहरू जति बेला पनि संक्रमणको चपेटामा पर्ने खतरा छ । आफूबाहेक अरू सबैमा संक्रमण पो छ कि भनेर सावधानी अपनाएर दैनिक क्रियाकलाप गर्दा नै हामी संक्रमणको जोखिमबाट जोगिन सक्छौँ । अहिले नै कोरोना संक्रमितका लागि काठमाडौँमा छुट्याइएका अस्पतालका शड्ढया भरिइसकेका छन् । त्यसैले घरबाहिर निस्कनैपर्ने अवस्थामा बाहेक हिँडडुल नगरेर हामी भीडभाड कम गर्न सक्छौँ । संक्रमणको जोखिम कम गर्न प्रत्येक व्यक्तिको सजगता आवश्यक छ । जबसम्म ‘मलाई केही भएको छैन’ भन्ने भावमा हाम्रा व्यवहार जारी रहन्छन्, तबसम्म हामी उच्च जोखिममा हुन्छौँ । ‘मबाट अरू र अरूबाट म जतिसुकै बेला संक्रमित हुने खतरा छ’ भन्ने सोचेर नै सावधानी अपनाउनुपर्छ । 

तपाईको कमेन्ट

मुख्य समाचार