निर्धक्क राजधानी : न मास्क, न दूरी

writer

सृजना खड्का/सुमित सुवेदी

बुधबार, २४ असार २०७७


–काठमाडौँका मुख्य–मुख्य स्थानमा ‘सम्पूर्ण’को लाइभ रिपोर्टिङ
–मास्क कहाँ ? चिउँडोमा ! सामाजिक दूरी ? छुमतलब !
–कोरोनालाई जितिसकेजस्तो मान्छेको व्यवहार 


कोरोना संक्रमित पहिलो व्यक्तिभेटिनेबित्तिकै राजधानी काठमाडौँ अकस्मात् सुनसान बन्यो। लकडाउन सुरु भएसँगै मानिसहरूसडकमा निस्किन छाडे। पसलका सटर बन्द भए। रेस्टुरेन्टमा खानेकुरा पाक्न छाडे। स्कुल कलेजमा ताला लागे। सिनेमा हल, पार्टी प्यालेस, डान्स बार सबै बन्द भए। 

लगभग तीन महिनापछि सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गर्‍यो। लकडाउन खुकुलिएसँगै शहर पनि खुल्दै गयो। अहिले शहरबजारमा निस्कँदा मानिसहरूले कोरोना बिर्सिसके कि भन्ने प्रतीत हुन्छ। धेरैको मुखमा मास्क छुटिसक्यो। सामाजिक र भौतिक दूरी भन्ने कुरा उनीहरूको दिमागबाट हटिसकेझैँ लाग्छ। 

–लस्सी पिउनेदेखि लत्ताकपडा किन्नेसम्मको भीड छ, असनमा। 
–कालिमाटीको तरकारी बजार छिरिसाध्य छैन। 
–फुटपाथमा कपडापसलेदेखि मकै पोल्ने र ठेलामा मःम बेच्नेसम्म निस्फिक्री आफ्नो नियमित दिनचर्यामा फर्किएका छन्। 
–मलहरूमा मास्क खोलेर पोज दिँदै फोटो खिच्नेको घुइँचो छ।

कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ, तर काठमाडौँमा भने सजगता र सावधानी बिस्तारै घट्दै गइरहेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशमा मंगलबारसम्म संक्रमितको संख्या १६ हजार १ सय ६४ पुगेको छ भने ३५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्। उपत्यकामा सोमबार र मंगलबार मात्रै ५४ र २८ जना गरेर ८२ जना नयाँ संक्रमित भेटिएका थिए। मन्त्रालयका अनुसार मंगलबारसम्म उपत्यकामा कोराना संक्रमितको संख्या २ सय ६७ जना पुगेको छ।

‘अन्नपूर्ण सम्पूर्ण’ले काठमाडौँ शहरका मुख्य–मुख्यस्थानमा मानिसहरूको चाप र उनीहरू कोरोनाप्रति कति सचेत छन्भनी अवलोकन गरेको थियो। 

‘जे होला–होला भगवान् भरोसा !’
स्थानः कालिमाटी तरकारी तथा फलफूल बजार 
मितिः २०७७ असार २० गते, शनिबार
समयः बिहान ४ः४५ बजे 

कालिमाटी तरकारी तथा फलफूल बजारको चहलपहल मध्यरातबाटै सुरु हुन्छ। शहर सुतेको बेला तरकारी बजार जागेको हुन्छ। रातभर यहाँ तरकारीको व्यापार रमोलमोलाइ चल्छ। 

शनिबार बिहान पौने ४ बजे त्यहाँ निकै भीडभाड थियो। मानिसहरू एकअर्कालाईठेल्दैपेल्दै हिँडिरहेका देखिन्थे। 

गेटैअगाडि एक जना महिला बेस्सरी चिच्याइरहेकी थिइन्– ‘आउनुस्,आरुबखडा लैजानुस्। ढकको सय ! ढकको सय !’ तरकारी बजारमा त्यतिबेला प्रत्येकलाई तरकारी बेच्ने र किन्ने चटारोे देखिन्थ्यो। किट्लीमा चिया बोकेर हिँड्ने चियापसलेदेखि व्यापारीसम्म बेफुर्सद थिए। ‘मर्निङवाक’मा हिँडेका मान्छेहरू बिहानै तरकारी सस्तोमा पाइने आशामा त्यहाँ पुगेका थिए। तरकारी बजारभित्र छिर्दा त्यहाँ मानिसहरूले कोरोना बिर्सिसकेझैँ लाग्थ्यो। व्यापारीलाई कोरोना लाग्ला कि भन्ने भयभन्दा पनि ‘कति व्यापार होला’ भन्ने चिन्ता थियो। 

१० वर्षदेखि काठमाडौँ, टेकुमा तरकारी पसल राख्दै आएकी ५० वर्षीयावृन्दामाया महर्जन भर्खरै नुहाएको चिसो कपालमा पानी चुहाउँदै तरकारी लिन आइपुगेकी थिइन्। उनले न मास्क लगाएकी थिइन्, न पञ्जा। ‘ढिला भयो भने राम्रो–राम्रो तरकारी अरूले नै लैजान्छन्,’ तरकारीको भारी कस्दै उनले भनिन्, ‘बिहान भएपछि कतिखेर बजार पुगौँजस्तो हुन्छ। त्यतिबेला कहाँ मास्क सम्झिन भ्याउनु, कहाँ पञ्जा लगाउन भ्याउनु ?’ उसो त उनलाई कोरोनाको डर नभएको होइन। तर, यसरी बाक्लो बजारमा छिरेर बार्गेनिङ गर्दै तरकारी किन्नुलार्ई उनी बाध्यता ठान्छिन्। ‘तीन महिना सिन्को नभाँची बसियो,’ उनले भनिन्, ‘त्यसरी हात बाँधेर कतिञ्जेल निर्वाह चल्छ र ?’ 

तरकारी बजारको सबैभन्दा बढी भीड हुने ठाँउ ‘कृषि उपज लोड/अनलोड क्षेत्र’ हो। त्यहाँ चारपांग्रे सवारीहरू भ्याइनभ्याइ गरेर तरकारी लोड/अनलोड गरिरहेका थिए। त्यहाँ प्रत्येक व्यापारी भएको ठाँउमा मानिसहरूको भीड देखिन्थ्यो। कागती व्यापारीकहाँ भीड, गोलभेडा व्यापारीकहाँ भीड, आलुप्याज व्यापारीकहाँ भीड। अनि, सिमी–बोडीमा भीड। अदुवा–लसुनमा भीड। भीड नभएको कुनै ठाउँ थिएन। 

काठमाडौँ, नरदेवीदेखि राति २ बजे आएकी ४३ वर्षीया पुष्पा कार्की पनि त्यही भीडमा कुरिलोेको चाङ लिएर बसिरहेकी थिइन्। उनलाई कोरोनाको कुनै भय थिएन। उनको ध्यान कतिबेला कुरिलो सकिएला र घर जाउँला भन्ने मात्रै थियो।त्यसैले उनी मानिसहरूलाई बोलाइरहेकी थिइन्– ‘आउनुस्, आउनुस्, ताजा–ताजा कुरिलो लैजानुस्।’

आधा रातको निन्द्रा माया मारेर तरकारीको थुप्रो लिएर बस्ने पुष्पाको आफ्नै व्यथा छ। उनका श्रीमान् बितेको तीन महिना नहुँदै लकडाउन सुरुभयो। तीन छोराछोरीको जिम्मेवारी उनको काँधमा छ। कोठाभाडा नतिरेको पनि तीन महिना भइसक्यो। ‘तीन महिना एउटा फाइनान्सबाट ऋण गरेर खाइयो,’ ग्राहकलाई कुरिलोको मुट्ठा झोलामा हालिदिँदै उनले भनिन्, ‘तीन महिनामा ४० हजार  सक्किएछ। अब मरे नि मरिन्छ भनेर काममा फर्किएँ।’

लामो समयदेखि तरकारी व्यापार गरिरहेका शिवहरि पाण्डे कागती किनेर झोलामा हालिरहेका थिए। धेरै राम्रा, ठीकै राम्रा र नराम्रा कागती छुट्याएर राखिएका थिए। उनले ठीकै राम्रा कागती झोलामा हाले। पहिलादेखि नै चिनजानको जस्तो लाग्ने कागती साहूलाई उनले हालचाल सोधे। कागती केलाउँदै शिवहरि कागती साहूसँग गुनासो गर्न थाले, ‘भोकले भन्दा रोगले मर्नु जाती रैछ, भाइ।’

‘के गर्नु दाइ, यो पेट नभइदिएको भए मलाई पनि आधा रातमा आएर कति कागती बिक्ला भनेर किन रुँङेर बस्नुपथ्र्यो र?’ कागती व्यापारीले गुनासो गरे, ‘जे गर्नुपरेको छ, सबै यही पापी पेटका लागि गर्नुपरेको छ। रोगले त आफूमात्रै मरिएला,  भोकले परिवारलाई नै सखाप बनाउने भयो।’ 

तरकारी बजारबाट बाहिर निस्किने बाटोमा थैलीमा पैसा थन्काउदै श्रीमाया मगरले एक जना मजदुरलाई अह्राइन्– ‘यो भारी पुर्‍याइसकेर फेरि अर्को भारी पनि लिन आउनू, है ?’ 

पहिले उनी आफैँ तरकारी बोकेर लैजान्थिन्। बुढेसकाल लाग्न थालेपछि उनको शरीरले तरकारीको भारी धान्न छाड्यो। उनले यसरी भरिया लगाएर पसलको लागि तरकारी ओसार्न थालेको चार–पाँच वर्ष भयो। उमेरले ६९ वर्ष लागेकी उनी सबेरै ४ बजे तरकारी छान्न कालिमाटी बजार आइपुग्छिन्। आफू सुरक्षित भएर काम गर्दा कोरोनाले केही गर्न नसक्ने उनले बताइन्। ‘डराएर बस्यो भने झन् कोरोनाले समात्छ,’ भरियाको बाटो हेर्दै उनले भनिन्, ‘आँत दह्रो बनाउनुपर्छ, कुनै रोगले पनि छुँदैन।’ 

तर, कोरोना सर्ने डर श्रीमायालाई नभएको होइन। ‘कोरोनाले बूढाबूढीलाई चाँडै  समात्छ’ भन्ने पनि उनले सुनेकी छिन्। हरेक दिन तरकारी लिन आउँदा त्यही कुरा सम्झिएर उनको मुटु फुल्छ। तर, उनीसँग अर्को विकल्प छैन। ३५ वर्षदेखि गरिआएको पेशा चटक्क माया मारेर बस्न सक्दिनन्। अर्को आम्दानीको बाटो पनि छैन। ‘दुबईमा गएको छोरा उतै अड्किएको छ,’ उनले बह पोखिन्, ‘यता घरबेटीले भाडा तिर्न ढिला भयो भने निस्केर जा भन्छन्। डराएर साध्यभो ?’

केही समयपछि भरिया अर्को भारी पनि बोक्न आइपुगे। ‘खान परिहाल्छ, सरकारले भातको थाल ढोकाढोकामा पुर्‍याउन आउँदैन, अब जे होला–होला, भगवान् भरोसा !’यति भन्दै उनी बाटो लागिन्।’

मास्क कहाँ ?, चिउँडोमा ! 

स्थानः असन, इन्द्रचोक 
मितिः २०७७ असार १९ गते, शुक्रबार
समयः दिउँसो ३ः३० बजे 

रानीपोखरीको दरबार हाइस्कुलबाट असन छिर्ने गल्लीको मुखमै मानिसहरूको भीडभाड छ। सबै हतारोमा, आ–आफ्नै चटारोमाथिए। कोही बाइक र स्कुटरमा हुइँकिइरहेका थिए भने कोही भीड छिचोल्दै र पन्छाउँदै हिँडिरहेका थिए। कोही किनमेलमा व्यस्त देखिन्थे। केहीको मुखमा मास्क थियो, केहीको थिएन। अधिकांशले मुख र नाक ढाकेर लगाउनुपर्ने मास्क चिउँडोमा लगाएर हिँडिरहेका थिए। कतिपयले मुखको मास्क खोलेर हातमा बेरेर हिँडेका थिए। दिनमा सयौँ मान्छेसँग अन्तक्र्रिया गर्ने व्यापारीसमेत मास्कको मामलामा सचेत थिएनन्। 

मास्क नलगाई हिँड्ने केही यात्रुुलाई मास्क किन नलगाउनुभएकोभनी सोध्दा सबैका आ–आफ्नै बहाना थिए। 

ललितपुर, इमाडोलकी आरती कटवालले मास्कले मेकअप बिग्रिएला भनेर नलगाएको बताइन्।काठमाडौँ, पुतलीसडक बस्ने अपिल खनालले मास्क लगाउँदा चस्मामा बाफ भरिएर हेर्नै गाह्रो हुने भएकाले लगाउन नमिल्ने तर्क प्रस्तुत गरे। उता, काठमाडौँ, नागपोखरीका विजय आचार्यले भने, ‘मास्क किन्दाकिन्दा साध्य नभएपछि मास्कै लगाउन छाडिदिएँ।’ 

केहीले भने भर्खरै खोलेर खल्तीमा राखेको भन्दै खल्तीबाट मास्क निकालेर देखाए। उनीहरूमध्ये धेरैले मास्क नलगाउनुको साझा कारणथियो– ‘बानी नभएकाले मास्क लगाउँदा सास फेर्न गाह्रो हुन्छ।’ 

दिनमा सयौँ ग्राहकसँग आमनेसामने हुने असन र इन्द्रचोकका अधिकांश व्यापारीहरूको पनि बहाना उस्तै थियो। उनीहरूले पनि मास्क नलगाउनुका पछाडि आ–आफ्ना तर्क अघि सारे। मास्बारे सोध्दा अकमकाउँदै कसैले ‘घरबाट त लगाएरै निस्केको थिएँ, गर्मी भएर खोलेको’ भने। कसैले ‘उकुसमुकुस भएर लगाउन सकिएन’, त कसैले ‘धेरै लगाएर कान दुखेर खोलेको’ भने। 
०००

इन्द्रचोकको ‘मिठो लस्सी’ खाने ठाउँको भीडभाड बयान गरिसाध्य थिएन। लस्सी खानका लागि मानिसहरूझुम्मिरहेका थिए। न त्यहाँ कुनै भौतिक दूरी थियो, न कसैले सावधानी नै अपनाएको देखिन्थ्यो। ललितपुर, भैँसेपाटीदेखि लस्सी खानकै त्यहाँ पुगेकी थिइन्, भावना अधिकारी। ‘लकडाउनमा मैले सबैभन्दा बढी यहाँको लस्सी मिस गरेँ,’ लस्सीको चुस्की लगाउँदै उनले सुनाइन्, ‘आज पूरा भयो। भोलि कोरोना लागिहाल्यो भने के हो,के हो ! मरे पनि आफूलाई खान मन लागेको चिज खाएरै मर्ने हो।’ 

लस्सी पसलनजिकै रोयल गोल्ड एन्ड सिल्भर पसलअगाडि काठमाडौँ, वसन्तपुरमाडेरा गरी बस्ने राधिका भण्डारी चटपटे बेचिरहेकी थिइन्। उनको हातमा न पञ्जा थियो, न मुखमा मास्क। बानी नभएकाले मास्क लगाउन गाह्रो लागेको उनले बताइन्। ‘सधैँ मास्क लगाएर कहाँ साध्य हुन्छ?’ चटपटे बनाउँदै उनले भनिन्। भीडभाड निकै भएपनि पहिलाको तुलनामा चार भागको एक भाग पनि चटपटे बिक्री नहुने उनले बताइन्। ‘भीडभाडमा डर लागे पनि छोरा र आफ्नो पेट भर्न अनि घरबेटीको भाडा तिर्न काम गरिरहेकी छु,’ उनले भनिन्। 

राधिकाको चटपटे ठेलानजिकै काभ्रेका रामप्रसाद सापकोटा कसैको भारी बोक्न पाइन्छ कि भनेर कुरिरहेका थिए। उनी लकडाउनभरि तीन महिना गाउँमा गएर बसे। कमाइ गर्ने आशमा शहर पसेको १० दिन भइसकेको थियो। ‘यत्रो १० दिनमा पाँच वटा भारी पनि बोक्न पाएको छैन,’ रामप्रसादले भने, ‘पहिला दिनको हजार–पन्ध्र सय कमाइन्थ्यो। अहिले सय रुपैयाँ कमाउन पनि धौधौ छ। शहरमा भीड त बढेछ, तर काम घटेछ।’ 

चाबहिलमा चर्काे हेलचेक्य्राइँ 

स्थानः चाबहिल चोक 
मितिः २०७७ असार २१ गते, आइतबार 
समयः दिउँसो २ बजे 


गाडीको चाप र मान्छेको भीडले चाबहिल चोकलाई अत्यन्त व्यस्त बनाएको थियो। रिङरोड र बौद्ध जाने दुवै बाटोमा मानिस र गाडीको चाप बराबर थियो।मान्छेको चापले गाडीलाई र गाडीको चापले मान्छेलाई अल्मलाइरहेको देखिन्थ्यो। चोकका सम्पूर्ण सटर खुला थिए। अन्यत्रझैँ यहाँ पनि मानिसको हेलचेक्य्राइँ उस्तै थियो। अधिकांशले मुखमा लगाउनुपर्ने मास्क चिउँडोमा लगाएका थिए। सडकपेटीमा पसल र मानिसका लाम थिए। सडकका दायाँबायाँ अव्यवस्थित पार्किङ देखियो। चाबहिल चोकमा धुलो र धुवाँ पनि उस्तै उडेको थियो। लकडाउन भएपछि स्वच्छ हुन थालेको काठमाडौँको हावामा लकडाउन खुकुलो भएसँगै धुवाँ र धुलो मिसिन थालिसकेको देखिन्थ्यो। 

मोबाइलदेखि मासु, भाँडादेखि गरगहना पसलसम्ममा मानिसको चहलपहल बाक्लै देखिन्थ्यो। कोरोना नसरोस् भनेर पसलमा जाँदा मास्क लगाउनुपर्ने हो। तर, अधिकांशले उल्टो गरिरहेका थिए। बाहिर हिँड्दा मास्क लगाएपनि पसलमा छिर्ने बेलामा मास्क खोल्दै छिरेको देखियो। न्यू बीएन बुक्स तथा स्टेसनरीनजिकैको कपडा पसलमा भीड थियो। अधिकांशले न मास्क लगाएका थिए, न दूरी कायम गरेका थिए। 

एकजना मास्क खोल्दै पसलभित्र पसे। 

उनलाई सोधियो, ‘पसलमा छिर्दा झन् मास्क लगाउनुपर्नेमा किन फुकाल्नुभएको ?’

‘मास्क लगाएर बोल्दा बोलेको कुरै सुनिँदैन,’ उनको जवाफ थियो, ‘यस्तो गर्मीमा कहाँ मास्क लगाएर हिँड्न सक्नु ? चौबीसै घण्टा मास्क लगाएर हिँड्यो भने कोरोनाले भन्दा पहिला सास थुनेर मरिन्छ।’ 

केएल टावरमा पनि मानिसहरूको बाक्लो उपस्थिति थियो। टावरको गेटबाट छिर्नेबित्तिकै देब्रेपट्टिको केएल मोबाइल हबमा मोबाइल किन्नेको घुइँचो थियो। जोडीहरू मल घुम्न र फोटो खिच्न व्यस्त देखिन्थे।

केएल टावरको सामुन्ने रहेको मेडिकेयर अस्पतालमा बिरामीहरूको घुइँचो थियो। क्यान्टिनदेखि अस्पतालको सिंगै बिल्डिङ भरिभराउ थियो। इमर्जेन्सी वार्डकी कन्सल्ट्यान्ट फिजिसियन डा. आरती शाहलाई सास फेर्ने फुर्सद पनि थिएन। ‘अस्पतालमा अहिले दैनिक सयभन्दा बढी बिरामी आउने गरेका छन्,’ उनले भनिन्, ‘ती सबै नयाँ बिरामी हुन्। पुराना बिरामी आएका छैनन्।’ 

‘कोरोनासँग पेट डराउँदैन रैछ’

स्थानः नयाँ बसपार्क, गोंगबु 
मितिः २०७७ असार २१ गते, आइतबार 
समयः साँझ ४ः३० बजे 


गोंगबुस्थित नयाँ बसपार्कको बिजी मलअगाडि एक जना युवा बाटोमा उभिएका हरेकलाई सोधिरहेका थिए– ‘पूर्व जाने हो, पूर्व ?हामी पूर्व जाने गाडी मिलाइदिन्छाँै।’ 

उनले वडा अध्यक्षले पठाएको पासको आधारमा प्राइभेट भ्यानमा यात्रु ओसार्ने बताए। ‘तपाईंहरू पनि जाने भए भन्नुस्,’ उनी दुई जना बटुवालाई भन्दै थिए, ‘वडा अध्यक्षलाई सम्पर्क गर्नुस्। तपाईंहरूलाई पुर्‍याइदिने जिम्मा हाम्रो भो।’उनले दुईचार यात्रु पाइहाले। 

बसपार्क क्षेत्रमा बाक्लै भीड थियो। मकै पोलेर बेच्नेदेखि ब्यागहरूको ठूलो भारी बोकेर हिँड्नेसम्म व्यस्त थिए। आकासे पुल र पक्की पुल लत्ताकपडा बेच्ने व्यापारीले खचाखच भरिएका थिए। 

आकासे पुलको ओरालोमा टन्टलापुर घामलाई छाताले छेक्दै एक महिला भन्दैथिइन्– ‘आउनुस्, के–के चाहिन्छ हेर्नुस्, बोहनी गरिदिनुस्।’ उनी त्यहाँ कपडा बेच्न बसेको एक हप्ता भयो। ‘बोहनी मात्रै लागे पनि के–के न होलाजस्तो भएको छ,’ उनले भनिन्, ‘मान्छे त टन्नै घुम्छन्, फिर्छन्। तर, कसैले किन्दैनन्। अहिले खानै धौधौ भएको बेला नयाँ लुगा किनेर कसले पो लगाउला र ? बिक्री नभए पनि बाटोत रुँङ्नैपर्‍यो।’ कोरोना भाइरस संक्रमणको डरबारे उनको यति मात्रै टिप्पणी थियो– ‘मन डराए पनि पेट कोरोनासँग नडराउँदो रहेछ।’ 

पुलको अर्कोपट्टि केसी जडीबुटी खरिद बिक्री केन्द्रको स्पिकर जोड जोडले कराइरहेको थियो– ‘प्यारा दिदीबहिनी तथा दाजुभाइहरू! आउनुस्, ज्वरो आएको छ भने एकचोटि चिराइतो खाएर हेर्नुस्।’ त्यहाँ थुप्रै मानिस झुम्मिएका थिए। 

बिजी मलअगाडि स्ट्यान्डमा चस्मा बेच्नका लागि छाता ओडेर बसिरहेकी थिइन्, पार्वती चौलागाईं। केही पर उनका श्रीमान् पनि चस्माकै स्ट्यान्ड राखेर बसेका थिए। कोठामा हेर्ने मान्छे नभएर उनीहरूले छोराछोरी पनि सडकमै निकालेका थिए। उनीहरू कसैले पनि मास्क लगाएका थिएनन्। दोलखाबाट केही दिनअघि मात्रै काठमाडौँ आएका थिए। ‘बसे पनि नबसेपनि घरबेटीले भाडा लिइहाल्छन् भनेर आइयो,’ चस्मामा लागेको धुलो कपडाले टकटक्याउँदै पार्वतीले भनिन्, ‘बरु, उतै खेती गरेर बस्नुपर्ने रहेछ। रातारात एम्बुलेन्समा थुप्रो पैसा खर्च गरेर आइयो। अहिलेसम्म त्यही खर्च पनि उठेको छैन।’

बेपर्वाह जुलुस 

स्थानः कलंकी 
मितिः २०७७ असार २१ गते, आइतबार 
समयः साँझ ५ः३० बजे 


कलंकी चोकैमा माइकको चर्को अवाज सुनियो। नेपालको झण्डा र प्रधानमन्त्री केपी ओलीको तस्बिरसहितको ब्यानर बोकेर केही युवा नाराबाजी गरिरहेका थिए। 

खुकुलो लकडाउनका बेलामा २५ जनाभन्दा बढी भेला हुन नपाउने भनिएपनि त्यहाँ दुई सयको हाराहारीमा मानिस भेला भएका थिए। केही समय त्यहाँ भाषण चल्यो। त्यसपछि उनीहरू‘भारतीय विस्तारबाद मुर्दावाद, केपी ओली जिन्दावाद’ लगायत नारा लगाउँदै कलंकी परिक्रमा गर्न थाले। भीडमा न व्यक्तिगत दूरीको ख्याल गरिएको थियो, न सबैले उचित ढंगले मास्क नै लगाएका थिए। सरकारको समर्थनमा उत्रिएकाहरू नै सरकारको नियम मानिरहेका थिएनन्। ‘आई एम विद केपी ओली’ लेखेको पर्चा बोकेका अधिकांशले मास्क लगाएका थिएनन्। लगाएका केहीले पनि क्यामराअगाडि तेर्सिनेबित्तिकै फोटो खिच्नका लागि भनेर मास्क खोलेर खल्तीमा हालिरहेको दृश्य अनौठो थियो। 

जसको कामना छ– भीडभाड बढोस्  

स्थानः सुन्धारा 
मितिः २०७७ असार १९ गते, शुक्रबार 
समयः दिउँसो ३ बजे


काठमाडौँ, सुन्धारास्थितसिभिल मलबाहिर एउटा पोलमा अडेस लगाएरएक केस पानी, केही थान मास्क र गुट्खाको पत्ता राखेर बेच्न बसेकी थिइन्, लमजुङकी शोभा अधिकारी। उनलाई मास्क लगाउन मन पर्दैन। त्यसैले सेतो सलले आँखा मात्र देखिनेगरी अनुहार ढाकेकी थिइन्। उनी बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म त्यहीँ बसेर ग्राहक कुर्छिन्। 

गाडी चलाउने उनको छोराको कमाइ अहिले ठप्प छ। नाति–नातिनालाई दूध र पाउरोटी खुवाउन पनि अहिले उनलाई मुश्किल परिरहेको छ। कोरोनामहामारीअघि उनी डालो र नाङ्लोमा बिस्कुट, चाउचाउ, चुरोट राख्थिन्। धरहरामा काम गर्नेले उनको सामान किन्थे। अहिले धरहरा निर्माण रोकिएको छ। उनको व्यापार पनि ठप्प छ। 

उनी केही किलो चामल राहत पाउने आशमा वडा कार्यालयमा धाउनुसम्म धाइन्। तर, उनलाई भनियो– ‘जसले यहाँबाट भोट हालेका छन्, उनीहरूले मात्र राहत पाउँछन्।’ उनी फरक्क फर्किन्।चिनेको पसलबाट उधारोमा चामल ल्याइन्। उधारोमा ल्याएको चामलको बोरा पिँधमा पुगिसक्यो। भाडा तिर्नुपर्छ भनेर उनी घरबेटीसँग भागेको तीन महिना भइसक्यो। 

लकडाउन खुलेर अहिलेभन्दा पनिबेस्सरी मानिस हिँडिदिऊन् भन्ने ५३ वर्षीया शोभाको चाहना छ। ‘ट्याम्पू मात्रै खुलेपनि मेरो पानी बिक्थ्यो,’ उनको चाहना थियो। उनलाई कोरोनाको कुनै डर छैन। ‘यो शरीरले घाम, पानी, धुलो, धुवाँ सबै पचाइसक्यो,’ उनले भनिन्, ‘कोरोना नपचाउने भन्ने कुरै हुँदैन।घरभित्र गुम्सिएर बस्दा बरु रोग लाग्छ। स्वस्थ हुन बाहिर निस्किनुपर्छ। हातगोडा चलुञ्जेल चलाउनुपर्छ।’ 

‘कोरोना–सोरोनाले केही गर्दैन’

स्थानः ठमेल 
मितिः २०७७ असार १९ गते, शुक्रबार 
समयः साँझ ६ बजे


ठमेलमा साँझको चहलपहल सुरु हुन थालेको थियो। केही विदेशी नागरिक सडकमा हिँडिरहेका थिए। केही सटर बन्द थिए भने केही सटर बिस्तारै खुल्न थालेका थिए। सडकमा हिँडडुल गर्ने मानिस बढेपनि पसलमा भने कसैले पनि पुलुक्क नहेर्ने व्यापारीहरूको गुनासो थियो। ‘खानै मुश्किल छ मान्छेहरूलाई, यस्तो बेलामा कसले हाम्रो सामान किनिदेला?’ युनिक मोबाइल सपका रमेश महर्जनले भने,‘अहिले त कसैले पसलमा छिरेर भिजिटिङ कार्डमात्र लगिदिए पनि हामी त ओहो भनेर गद्गद् हुन्छौँ।’ 

रमेशको पसलअगाडि एक जोडी भेटिए। उनीहरूले लामो समयपछि घरबाहिर घुम्न निस्किएको बताए। घुमेर आफूलाई फ्रेस बनाउन आएका उनीहरूको मनमा पनि कोरोनाको डर भागिसक्यो।महिलाले निर्धक्क भनिन्, ‘कोरोना–सोरोनाले केही गर्दैन। अहिलेसम्म जम्मा ५० जना त मरेका छैनन्। छ–सात हजार मान्छे निको भइसके।’ 

‘सधैँ डराएर जिन्दगी चल्दैन’ 
स्थानः सिटिजन्स बैंक, डिल्लीबजार 
मितिः २०७७ असार १९ गते, शुक्रबार 
समयः दिउँसो १ बजे 


सिटिजन्स बैंकको पार्किङमा अटाई–नअटाई बाइक र गाडीहरू पार्किङ गरिएका थिए। पार्किङस्थलमा मानिसको समूह गफिएर बसेको देखिन्थ्यो। एक तलामाथि उक्लिनासाथ सेक्युरिटी गार्डकाठमाडौँ, स्वयम्भू बस्ने सुमित्रा शाही फेस सिल्ड लगाएर बसेकी देखिइन्। उनी एउटा हातमा थर्मल गन र अर्को हातमा ह्यान्ड स्यानिटाइजर लिएर उभिएकी थिइन्। भित्र जाने जो कोहीको उनी पहिला खातामा नाम दर्ता गराउँथिन्, ज्वरो नाप्थिन् र स्यानिटाइजर लगाएर भित्र छिर्न दिन्थिन्। 

बैंकमा थुप्रै सेवाग्राही थिए। कसैले मास्क लगाएका थिए भने कोही बिनामास्क थिए। बैंककी जुनियर असिस्टेन्ट अमुहा आचार्य मास्क लगाएर कम्युटरमा आफ्नो काम गरिरहेकी थिइन्। काठमाडाँै, पेप्सिकोलादेखि अफिस धाउने उनी सचेत छिन्। ‘जो मानिस जहाँबाट पनि आएको हुन सक्छ,’ आफ्नो काम गर्दै उनले भनिन्, ‘मनमा डर त लाग्छ। मास्क लगाएर र दूरी कायम गरेर आफ्नो काम गरिरहेका छाँै। सधैँ डराएर मात्र जिन्दगी नचल्ने रहेछ।’

पोज–पोजको फोटो खिचाउनेको हूल 

स्थानः सिभिल मल, सुन्धारा 
मितिः २०७७ असार १९ गते, शुक्रबार 
समयः दिउँसो २ः३० बजे 


सिभिल मलको गेटमा दुई जना गार्ड पीपीई लगाएर उभिएका थिए। एकले भित्र छिर्नेलाई रजिस्टरमा इन्ट्री गराउँथे भने अर्काले ज्वरो नापेर स्यानिटाइजर लगाउन अनुरोध गर्थे। मल खुलेको २० दिनमा मलमा छिर्नेहरूका नाम मोटामोटा दुई रजिस्टरमा कैद गरिएको थियो।मलका सम्पूर्ण सटर खुलिसकेका थिए। मास्क थन्काएर पोज–पोजले फोटो खिचिरहेका थिए, किशोर–किशोरी। 

सिभिल मलको दोस्रो तलामा रहेको गर्जियस चस्मा तथा घडी पसल स्टक क्लेयर गर्ने तयारीमा छ। तर, मल खोलेदेखि व्यापार भएको छैन। व्यापारी विकास थोकरको दिन मोबाइल चलाएरै बित्छ। ‘मल खोलेदेखि फोटो खिच्न आउनेहरू मात्र छन्,’ उनले गुनासो पोखे, ‘सामान किन्न आउने कोही छैनन्। जो पनि आउँछन्, पोज दिँदै फोटो खिच्छन्, जान्छन्।’ 

ट्रस्ट एन्ड ट्राई लुगा तथा जुत्ता पसलका केशवकुमार बुढाथोकी पनि ग्राहक कुरेर बसिरहेका थिए। उनले व्यवसाय गरेको १६ वर्ष भयो। ‘कोरोनाले गर्दा पसलमा ग्राहक छैनन्,’ उनले भने, ‘आफ्ना ग्राहक अन्त कतै नजाऊन् भनेर पसल खोलेकोहुँ। तर, सबैतिरको व्यवसाय सुचारु नभई हाम्रो व्यवसाय सुरु नहुने रहेछ।कुनै दिन त बोहनी नै नगरी सटर बन्द गरेर जानुपर्छ।’ उनी केही महिना बाटो हेर्ने विचारमा छन्। ‘केही सीप लागेन भने गाँउतिर गएर खेतीकिसानी गर्नुपर्ला,’ उनीसँग ‘प्लान बी’ छ। 

उनी धनुषाबाट श्रीमतीसहित पीसीआर टेस्ट गरेर आएका थिए। ‘धनुषाबाट व्यापार गर्न भनेर पीसीआर गरेर आएको,’ उनले भने, ‘अहिलेसम्म श्रीमती र मेरो पीसीआर गरेको खर्च पनि उठेको छैन।’ 


‘सबैलाई गरिखाने हक छ तर, नियमभित्र बसेर’ 

डा. समीरमणि दीक्षित, जनस्वास्थ्य वैज्ञानिक

पहिले कोरोना संक्रमणको डरले सबैजना घरभित्रै बसे। लकडाउन खुकुलो भएसँगै एकैचोटि सबैजना बाहिर निस्किन थाले। पहिला कोरोनालाई भयावह भनेर तर्साइयो। पछि मानिसहरूले आफूले सोचेजस्तो भयानक स्थिति नपाएपछि बेवास्ता गर्न थाले। कोरोना जति भयावह भनेरनेपालमा प्रचार गरिएको छ, त्यो अनुसारको भयावह छैन। यो कुरा सत्य हो। तर, पनि हामीले बुझ्नुपर्ने कुरा के छ भने अहिले हामीले कोरोना लाग्दैन भनेर निस्फिक्री हिँडेर स्वास्थ्यसम्बन्धी मापदण्डमा ध्यान दिएनौँ भने यसले भयावह अवस्था लिन सक्छ। मिडिया, डाक्टर र विज्ञहरूमार्फत यस्ता खालका सूचना राज्यले जनतामाझ पटक–पटक पुर्‍याउनुपर्छ। समयअनुकूल सूचना नदिनु राज्यको कमजोरी हो। 

अमेरिकामा संक्रमण बढेको बढ्यै छ। युरोपमा घटेर सक्किनतिर लागिसक्यो। किनभने, युरोपेली नागरिकले मास्क लगाएर दूरी कायम गरे। अमेरिकीहरूले न मास्क लगाए, न त दूरी नै कायम गरे। 

अहिलेसम्म हामीएकदमै राम्रो ठाउँमा छौँ। कोरोना नियन्त्रणका लागि  मास्क लगाउने र दूरी कायम गर्ने दुइटा कुरामा राज्यले विशेष ध्यान दिएर कडिकडाउ गर्नुपर्छ। अरू बेला बिनाकारण लौरोले टाउको बजार्न जाने सुरक्षाकर्मीले यस्तो बेलामा दूरी कायम नगर्ने र मास्क नलगाउनेलाई कारबाही गर्नुपर्‍यो। हूलमूलमा चिया गफ गरेर मस्त गफिइरहेकालाई धपाउनुपर्‍यो। जनताले विभिन्न कारणवश सजगताको उपाय नअपनाएका हुन सक्छन्। यस्तो खण्डमा खबरदारी गर्ने काम राज्यको हो। राज्यले सुरुमा सुसूचित गर्ने हो। सूचित गर्दा पनि मानेनन् भने कारबाही गर्ने हो। 

सडकमा निस्किएर भारी बोक्ने, मकै पोल्ने, पानी पुरी बेच्ने, फुटपाथमा लत्ताकपडा बेच्नेलाई रोक्ने कुरा आउँदैन। त्यहाँ कोरोना मात्र नभएर रोजीरोटीको सवाल छ। आर्थिक कठिनाइले धेरै मानिसलाई मानसिक तनाव दिइरहेको छ। त्यसैले उनीहरूलाई पेशा–व्यापार बन्द गर भन्न मिल्दैन। राज्यले उनीहरूको सटर बन्द गर्नेभन्दा पनि मास्क लगाएर दूरी कायम गर्न सिकाउनुपर्‍यो। ग्राहक भएर जानेले पनि यस्ता कुरामा ध्यान दिनुपर्छ। ह्यान्ड स्यानिटाइजर बोकेर हिँड्नुपर्छ।यसमा थोरै पैसा खर्च हुन सक्छ। आज अलिकति पैसा खर्च गरेर भोलि आफू र आफ्नो परिवारको जीवन बच्छ भने किन खर्च नगर्ने ?

लकडाउन चरणबद्ध हिसाबले खोल्नुपथ्र्यो। यहाँनेर राज्यको चरम लापरबाही देखिएको छ। अवस्था हेरेर एक–एक हप्तामा चरणबद्ध हिसावले यो गर, त्यो नगर भन्नुपर्ने थियो। बाँधमा जम्मा भएको पानीलाई थोरै–थोरै गरेर छाड्ने हो। एकैचोटि खोल्दा त्यसबाट निस्किएको प्रवाहले दुर्घटना पनि निम्त्याउन सक्छ। 

अहिले ठूलठूला सुपरमार्केट खुलिसकेका छन्। रेस्टुरेन्टमा मानिसहरू गएर खान थालिसकेका छन्। यो कुनै नराम्रो कुरा होइन। जीवनलाई रोकेर, बन्द गरेर हुँदैन। तर, खोलेपनि सावधानी अपनाएर चल्न सकिन्छ। एकपटकमा १० जना अटाउने रेस्टुरेन्टले तीनजनालाई सेवा दिन सक्छ। तर, राज्य आफैँले बेवास्ता गरेपछि सबैले त्यसको फाइदा लिन थाले। त्यसैले अहिले एयरपोर्ट, लामो दूरीको यातायात, स्कुल कलेज र फिल्म हलबाहेक कहीँ केही बन्द छैन। खुकुलो पार्नु भनेको जे मन लाग्छ, त्यही गर भनेको होइन। सबैलाई गरिखाने हक छ, तर नियमभित्र बसेर।

कोरोना संक्रमणका हिसाबले काठमाडौँ उपत्यका पहिला पनि जोखिममा थियो,  अहिले पनि जोखिममा छ र भोलि पनि उत्तिकै जोखिममा रहनेछ। केही दिनअघि मात्रै ढलको पानी जाँचेर हेर्दा त्यहाँ पनि कोरोना भाइरस संक्रमण देखियो। उपत्यका भनेको शहर हो। हामीले जसरी रोक्न खोजेपनि रोकिँदैन। तराईबाट काम गर्न आउने व्यापारीलाई हामीले रोकेर रोक्न सक्दैनौँ। उनीहरूको रोजीरोटी यहीँ छ। हामीले उनीहरूलाई ‘तिमीहरू काठमाडौँ आउन पाउँदैनौ’ भन्न मिल्दैन। लाखौँ जागिरे र कर्मचारीलाई कसैले पनि रोकेर रोक्न सक्दैन। उनीहरूलाई रोक्नु पनि हुँदैन। नियमबद्ध रूपले उनीहरूलाई भिœयाउनुपर्छ। तर, आँखा चिम्लिएर बस्नु भएन। आउने मान्छेले संक्रमण ल्याउँछन्। हेलमेल गर्छन्। त्यसका लागि तयारी अवस्थामा बस्नुपर्छ।

कोरोनाखतरनाक हुने भनेको जोखिम समूहलाई मात्र हो। बाँकीमा यो रुघाखोकीभन्दा पनि कमजोर छ। कतिले त कोरोना लागेको थाहै पाउँदैनन्। जोखिम समूहलाई बचाएर मास्क लगाउने, हात धुने, दूरी कायम गर्नेजस्ता स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरेर पुरानै जीवनशैलीमा फर्किनेबाहेक हामीसँग अहिले अर्को कुनै उपाय छैन। 
(कुराकानीमा आधारित)

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि